पार्टी एकताको पक्षमा
इन्दिरा पन्त
हिजो बेलुका एउटा फोन आयो । फोन गर्ने व्यक्तिको स्वर मलिन र निरास थियो । उहांले अवरुद्ध गलावाट भन्नुभयो, ‘यो पार्टीका लागि जीवन नै उत्सर्ग गरियो, यही पार्टीले नेपाल र नेपालीको हित गर्छ भन्ने एउटा सपना थियो तर ती सपना र म जस्ता हजारौ कार्यकर्ताको रगत पसिना अव विलिन हुने भयो ।’
पक्कै पनि नेकपा (एमाले)संग सम्वद्ध धेरै नेता कार्यकर्ताहरुलाई अहिले विकसित पार्टीभित्रको विवाद मन परेको छैन । उनीहरु चाहन्छन्, नेताहरु मिलुन्, एक वनुन् । नेताहरु मिल्दा हुने फाइदा नेताहरुलाई नै हो, आम कार्यकर्ता त पार्टीलाई चाहिंदा अगाडि आउने हुन्, सत्ताको उपभोग त नेताहरुले नै गर्ने हुन् । अहिले पार्टी विभाजित हुंदा रमाउने सानो वर्ग छ, जो सत्ताको वरीपरी छ र विभाजनभित्र नै केही लाभ लिन पाइरहेको छ, अन्यथा त सवै नेता कार्यकर्ता आफुले निर्माण गरेको पार्टी सम्वृद्ध होस् भन्ने पक्षमा नै छन् ।
फोन गर्ने व्यक्तिले अहिलेको परिस्थितिको विश्लेषण गर्दै भन्नुभयो, ‘एमाले अहिले विभाजनको डिलमा छ जस्तो लागिरहेको छ । एउटा पक्ष लगातार अर्को पक्षलाई अलिकति पनि स्थान दिन तयार भएको छैन, एकपक्षीय वैठक आयोजना गर्ने, एक पक्षीय रुपमा जिम्मेवारी दिंदै जाने, एकपक्षीय रुपमा अन्तरपार्टी निर्देशन जारी गर्ने काम गर्दैछ भने अर्को पक्ष पनि समानान्तर कमिटी निर्माण गरेर फुटको दिनलाई नजिक ल्याउंदै छ, केही नेता कार्याकर्ताहरु चाहि आफ्नो स्वार्थका लागि एक अर्को पक्षलाई गालीगलौज गरेर विभाजनका लागि मलजल गर्दैछन् । विपक्षीहरुले एमाले चांडै फुटोस् भनेर वलवुताले भ्याएसम्म दुवै पक्षलाई उकासिरहेका छन्।’
अध्यक्ष केपी ओली नजिकका नेता कार्यकर्ताहरुको बुझाइ एमाले नाम र सुर्य चिन्ह, जनताको बहुदलीय जनवादको नारा, मदन भण्डारी र मनमोहन अधिकारी जस्ता नेताहरुको लिगेसी र पार्टीका संपत्ति र संरचाना आफुहरुसंग भएकोले विभाजनले असर गर्दैन भन्ने छ । पार्टी अध्यक्ष केपी ओलीले नै गत निर्वाचनमा टिकट बाँडेको कारण स्वभाविक रुपमा ओली पक्षधर जनप्रतिनिधि नै धेरै निर्वाचित भएका छन् । शिलन्यास र उद्घाटन गरेर विकासको लहर ल्याइएको छ, सरकार हाम्रो छ, सत्ताको राप र तापले सबैलाई पगाल्न सकिन्छ भन्ने भ्रम छ । लोकप्रिय बजेट ल्याएर जनमत प्रभावित गर्न सकिन्छ भन्ने बुझाई देखिन्छ । माधव नेपाललाई पार्टीबाट निकालेर पनि, सके पहिलो नसके दोस्रो पार्टी बनाउन सकिन्छ भन्ने अध्यक्ष ओलीलाई लागेको छ वा उहाँलाई निकटस्थहरुले यो भ्रममा पारेका छन् । यसैले अध्यक्ष ओली कुनैपनि सर्तमा माओवादीसंगको एकतापुर्वको (२०७५ जेठ २ गतेको) अवस्थामा फर्कन तयार देखिनुहुन्न ।
पार्टीका तेस्रो, चौथो, पाँचौ…. बरियताका नेताहरुलाई संसद विगठनको प्रस्तावदेखि फागुन २८ को निर्णय सही भयो भन्ने अनुभुति त छैन तर वहाँहरु अध्यक्षका अगाडी आफ्ना धारणा राख्ने हिम्मत राख्नुहुन्न । बाहिर निरीहता प्रष्टै देखिन्छ । यसका दुईवटा कारण हुनसक्छन् । पहिलो, उहांहरुमा आफ्नो राजनीतिक असुरक्षाको डर छ वा भविष्य प्रतिको मोह छ भने दोश्रो, माधव नेपाल समुहलाई पार्टीवाट निकालेपछि नेतृत्वको संभावना वोकेका धेरै नेताहरु उता लाग्छन्, त्यसपछि निर्विकल्प रुपमा नेतृत्व आफ्नो पोल्टामा आउछ भन्ने मनोविज्ञानले पनि काम गरेको हुनसक्छ । आफ्नो राजनीतिक भविश्यको स्वार्थले गर्दा कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने काम भइरहेको छ ।
माधव नेपाल समुहपनि बैचारिक र सैद्धान्तिक विषयभन्दा बढी व्यक्तिगत रुपमा आक्रामक शैलीमा प्रस्तुत हुंदै आएको छ । सो समुहवाट भए गरिएका प्रधानमन्त्री ओली विरुद्धको आरोपपत्र, पार्टी सदस्य नै नरहने गरी निष्काशन, व्यक्ति र संस्था विरुद्ध गरिएका असहिष्णुतापूर्ण अभिव्यक्ति सही थिएनन् । यो समुहले केपी ओली सैद्धान्तिक रुपमा विचलित भएको, पार्टी नीति, विधी, पद्धति एवं बिधान अनुसार नचलेको र संविधानले प्रत्याभुत गरेको समाजबाद उन्मुख अर्थव्यवस्थाका पुर्वाधार निमार्ण गर्न नलागेको भन्ने आरोप लगाएको छ । असल कम्युनिष्ट त हामी हौं, जनतालाई यिनै कुरा बताएर आकर्षित गर्छौ भन्ने मनसाय यो समुहमा पनि देखिन्छ । समानान्तर कमिटीहरु बनाएकै छौं, एमाले इतर कम्युनिष्टहरुको कार्यगत एकता गर्यौं भने पनि राम्रै मत प्राप्त गर्न सक्छौं, कतिपय ठाँउमा चुनाव जित्छौं, कतिपय ठाँउमा केपी ओली समुहलाई हराउन त काफी छौं भन्ने भ्रम पाल्नेहरु यो समुहमा प्रसस्तै छन् ।
अव कार्यकर्ताहरुको कुरा गरौं । माक्र्सवादी लेनिनवादी बैज्ञानिक सिद्धान्त र यसको मागर्दशन, द्वन्दात्मक भौतिकवादी विश्व दृष्टिकोण, जनताको वहुदलीय जनवाद, कम्युनिष्ट पार्टीको आन्तरिक लोकतान्त्रिककरण जस्ता विषयमाथि पार्टीमा छलफल हुन छाडेको धेरै समय भइसक्योे । पार्टी बैठकहरु त आफु वा आफ्ना गुटका मान्छेलाई कसरी व्यक्तिगत लाभ लिन वा दिन सकिन्छ भन्ने कुरामा सिमीत भए । कम्युनिष्ट विचारधारप्रतिको आस्था र विश्वासले कम्युनिष्ट भएका कार्यकर्ताहरु किनारा लाग्न थाले वा त्यो कित्तामा उभिएर आफ्ना व्यक्तिगत आकांक्षा पुरा गर्न थाले ।
नाममा कम्युनिष्ट पार्टी भएपनि एमाले सर्वहारा र श्रमजिवी वर्गको प्रतिनिधिमुलक पार्टी रहेन । राजनीति पेशा बन्दै गयो । श्रम गरेर खाने, उत्पादनमा सरिक हुने, आर्थिक आत्मनिर्भरतामा सृजना गर्ने, उद्यमशील र स्वाभलम्बी बनेर राज्यलाई कर तिर्ने, स्वाभिमानपुर्वक बांच्नुपर्छ भन्ने सिकाइ नै भएन । कार्यकर्तामा आत्मनिर्भता र स्वभिमान भन्दा पनि विचौलिया र दास प्रवृत्ति बढ्दै गयो । पार्टी र विचार प्रतिको आस्था विश्वास, बैचारिक बहस र सृजनात्मकता समाप्त भयो । कुनै पनि घटना वा विषयलाई माक्र्सवादी द्वन्दवादी बैज्ञानिक दृष्टिकोणको कसीमा परिक्षण गर्ने, प्रश्न गर्ने, आफ्ना धारणा राख्ने, आजका मुद्धाहरुको प्रतिनिधित्व गर्ने आँट र क्षमताबाट च्युत हुंदैगयो । पार्टीका प्राण वा आधारस्तम्भ मानिने कार्र्यकर्ता पंक्तिले न त पार्टी एकता हुँदा प्रश्न गर्यो न त विभाजन हुँदा नै । कार्यकर्ता पंक्तिलाई त गुटले यस्तो अन्धो वनाइदियो कि यो वा त्यो नेताका नाममा धरहराबाट हाम्फाल्न तयार हुने दस्ता बनाउदै लगियो ।
हिजो कम्युनिष्ट पार्टीको सदस्य बन्न यस्तो सजिलो थिएन । थुप्रै अग्नि परीक्षा पास गर्नुपथ्र्यो । लामो समय कुर्नुपथ्र्यो । आज पार्टीको सदस्यता मात्रै होइन, पदहरु अफर हुन थाले । टिकट लिन र चुनाव लड्न आर्थिक हैसियत आवश्यक हुन थाल्यो । कम्यूनिष्ट आन्दोलनलाई हुर्काउन र यो व्यवस्था प्राप्त गर्नका लागि लागि एक थोपा योगदान नगरेको मान्छेहरुले पार्टी र सरकारमा सहज पहुँच विकास गरे । विचौलियाहरु, कम्यूनिष्ट दर्शन, सिद्धान्त, मूल्य, मान्यताका बारेमा सामान्य ज्ञान नराख्नेहरु नेताहरुका सल्लाहकार र साझेदार बन्न थाले । यस्तै व्यक्तिहरुले राजनीतिक आन्दोलनमा आफ्नो जीवन समर्पित गरेका, इमान्दारिता र निष्ठाको जीवन बांचेका नेतालाई राजनीतिक इमान्दारीताको पाठ सिकाउन थाले, यो पाच्य हुने कुरा होइन । नेकपा एमालेको एकतालाई टुक्र्याउन यी र यस्तै केही व्यक्तिहरुको व्यवहारले पनि भुमिका खेलेको छ ।
पार्टी सरकारको नेतृत्व गर्दा कस्तो खालको ज्ञान, शीप र कला आवश्यक पर्छ ? कुन कुन क्षेत्रमा कस्तो खालको विषयगत विज्ञता आवश्यक हुन्छ ? पार्टी र सरकारको सम्बन्ध कस्तो हुनपर्छ ? विभिन्न निकायहरुमा नियुक्तिको विधि र प्रकृया कस्तो बनाउने ? पार्टीका नीति विचार र घोषणापत्र कार्यान्वयनको रणनीति कस्तो बनाउनु पर्छ ? एउटा कम्यूनिष्ट पार्टीले सरकारको नेतृत्व गरिरहँदा प्राथामिकताका विषय के के हुनुपर्छ ? पार्टी भित्र नेतृत्व विकासको विधि, प्रकृया र योजना कस्तो बनाउने ? आजको परिस्थितिमा विद्यार्थी, युवा, महिला लगायतका जनसंगठनले के भूमिका खेल्नुपर्छ ? अन्य दल र सामाजिक सँस्थाहरु, संचार क्षेत्रसंगको संवाद र सहकार्य कसरी गर्ने ? यी र यस्ता तमाम प्रश्नहरुको विषयमा पार्टी र सरकारसंग खास तयारी देखिएन । यसले पनि पार्टी र सरकारको सम्बन्ध विग्रन पुग्यो । सरकारले पनि विश्वास आर्जन गर्न सकेन । यो गम्भिर समिक्षाको विषय हो ।
दुबै समुह अव कसरी अगाडी बढ्ने भन्ने आ–आफ्नो रणनीतिमा होलान् । तर सत्य के हो भने पार्टी विभाजित भयो भने कम्युनिष्टकै नाममा अव राजनीति गर्न सजिलो छैन । २०५४ सालमा नेकपा (एमाले) विभाजन भयो । एक अर्कालाई नंग्याउन केही कसर वांकी रहेन । २०५६ को निर्वाचनमा दुबै समुह एक अर्कालाई हराउन कार्यकतालाई रुख वा अन्य दलका चुनाव चिन्हमा भोट हाल्न लगाइयो । अव पनि त्यही हुन्छ । कोही अलि बलियो देखियोस् वा कमजोर । जित्न नसकेपनि हराउन त्यो शक्ति काफी हुनेछ ।
संसारमा केही चिज पनि स्थायी छैन । हाम्रा पदहरु मात्रै होइन जीवन पनि अस्थायी हो भन्ने अन्तिम सत्य बुझ पचाएर जे जस्ता हर्कत भैरहेका छन् त्यसले कम्युनिष्ट आन्दोलनलाई तमासा बनाएको छ । हरेक कुराको परिवर्तन अपरिहार्य छ । जतिसुकै असहज लागेपनि यो वास्तविकता स्वीकार गर्नुको विकल्प छैन । परिवतर्नको प्राकृतिक र स्वाभाविक बग्ने गतिलाई ठप्प पारिदिन्छु भन्नु मुर्खता सिवाय केही होइन ।
अझै पनि समय छ । सोचौं । आ–आफ्नो ठाँउबाट एकताको पक्षमा बोलौं । आजको एमाले बनाउनका लागि थुप्रैको रगत बगेको छ । जीवन गुमेको छ । जीवनको स्वर्णिम समय लगानी भएको छ । नेताहरुमा देखिएको असमझदारीले पार्टी छिन्नभिन्न बनाएर जगत हंसाउने काम नगरौं । आन्दोलनका उपलव्धिहरुको रक्षा गरौं ।
नेकपा एमाले र माओवादी एकता संसारलाई चकित पार्ने उदाहरण बनेको थियो (यद्यपी त्यो एकता जसरी भयो, त्यसको प्रकृयाप्रति थुप्रै असहमति पनि थिए) । तर त्यो चमत्कारिक एकता प्रयोगशालामा असफल भयो । जनताले कम्युनिष्ट पार्टीलाई दुइ तिहाई नजिकको मत दिएर ठुलै अवसर दिएका हुन । कम्युनिष्ट पार्टी र सरकालाई आफुलाई पारित गर्ने स्वर्णिम अवसर थियो । हामीले त्यो अवसर र जनताको विश्वासलाई गुमायौं । कहां कहां कमजोरी भए, गहन अध्ययन आवश्यक देखिन्छ । आ–आफ्ना गल्ती कमजोरी स्वीकार गर्दै आत्मालोचना गरेर अगाडि बढ्नुमा नै महानता छ ।
राजनीतिमा पर्दा पछाडि शक्तिहरु निरन्तर कृयाशील हुन्छन् । पर्दा पछाडिबाट ठुला ठुला शक्तिहरु यो व्यवस्था समाप्त गर्न कृयाशील छ । यदि नेकपा एमाले विभाजन भयो भने आजसम्मका उपलब्धीहरु पनि सकिन्छन् । गणतन्त्र नेपालको संविधान नै संकटमा पर्छ । र, यो व्यवस्था समाप्त गर्न भूमिका खेलेको र प्रतिक्रान्तिका लागि योगदान गरेको खेलेको दोष आजको नेतृत्वलाई लाग्न सक्छ । विभाजित पार्टीको झण्डा बोकेर जनताका अगाडि के भनेर जाने ? आफ्नै पार्टी वनाउन र जोगाउन नसक्ने नेतृत्वले देश जोगाउंछौ र वनाउंछौ भन्दा कसले विश्वास गर्ने ? भोलिको पुस्तालाई के जवाफ दिने ? हामीहरु प्रश्नहरुको सामना गर्ने नैतिक धरातल गुमाउदै छौं । जनताको मत र विश्वासलाई उपेक्षा गरेको, इतिहासको एउटा स्वर्णिम अवसर गुमाएको र एउटा कम्युनिष्ट पार्टीलाई समेत वचाउन नसकेको आरोप लाग्नेछ । जवाफ दिनका लागि हामीसँग आधिकारिक उत्तरहरु हुनेछैनन् र हाम्रो लज्जित अनुहारलाई छोप्न माक्स काफी मात्रै हुने छैन ।
एकपटक शिखरबाट झरेपछि फेरी माथि उठ्न कठिन हुन्छ । गल्ती कमजोरी दुबै पक्षबाट भएका छन् । आत्माआलोचना गरौं । पार्टीका आधिकांश कार्यकर्ता पार्टी विभाजन हुनु हुँदैन भन्ने पक्षमा छन् । इमान र निष्ठापुर्वक लागेको कुनैपनि नेता वा कार्यकर्ताको मनले यो मतभेद र विभाजनको अवस्थालाई स्विकार गर्न सकिरहेको छैन । पछिल्ला राजनीतिक घटनाले कार्यकर्ताको मनोवल घटेको छ । नेतृत्वप्रतिको विश्वास घटेको छ र कार्यकर्ताको आत्मविश्वास कमजोर बनेको छ । आत्मबल गुमाएका सिपाही लिएर युद्ध जित्ने कल्पना नगरौं । यो अवस्थामा पार्टी फुटाएर कसैले पनि जित्दैन । नेकपा (एमाले)को एकतालाई जोगाएर लैजाऊं । पार्टीलाई पार्टी जस्तो बनाऊं । पार्टी एकता मात्र होइन, पार्टीलाई वैचारिक, सैद्धान्तिक, साँगठनिक हिसाबले पुनगर्ठित गरौं । हाम्रा शैली र व्यवहार रुपान्तरण गरौं ।
(पन्त नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटी, सचिवालय सदस्य एवं नेकपा एमाले एकता राष्ट्रिय अभियान, केन्द्रिय सदस्य हुनुहुन्छ ) स्रोत इनेप्लिज डटकम ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















