मेरी पुलिस दिदी घाटामा सुरक्षा दिइरहेकी छे

 नवराज पराजुली

मेरी दिदीलाई कोरोना लाग्यो । मेरी दिदी पुलिस हो । पुलिसलाई कोरोना लाग्यो । 

कोरोनाले मेरी दिदीको जिन्दगीलाई जिस्क्यायाे । अरुले जिस्क्याएको भए गाली गर्न मिल्थ्यो, ‘तेरो घरमा दिदीबहिनी छैनन् ?’

दिदीबहिनी नभएको कोरोनालाई के भनेर गाली गर्नु ? 

तर, दिदीलाई यो कोरोना कोबाट सर्‍याे होला त ?

त्यो बेला सडकमा ड्युटी गर्दैगर्दा एउटा मोटरसाइकल दुर्घटना भएको रहेछ । मोटरसाइकलबाट लडेका दुई केटाहरूलाई दिदीले उठाएर अस्पताल पुर्‍याएकी रै’छ । ती केटाबाट पो सर्‍याे  कि ! तर, ती केटाहरूलाई त उनीहरूलाई मद्दत गर्ने पुलिस को थियो भन्ने याद पनि छैन होला । उनीहरूका लागि त उनीहरूलाई अस्पताल पुर्‍याउने कोही पुलिस थिए । ड्युटी गरे । सरकारले त्यै ड्युटी गरेबापत त पैसा दिन्छ । हामीले तिरेको करबाटै तिनीहरूले तलब पाउने हो ।  सक्कियो ।

नेपाल सरकारले मेरी दिदीलाई ३० दिन/रात ड्युटी गरेबापत मासिक तलब २० हजार २ सय रुपैयाँ दिन्छ ।

घर पुगेर दिदी दु:खी हुँदै सासूआमालाई भनी, ‘मेरो भाइजस्तै दुइटा भाइहरू आज बाइकबाट लडे । अस्पताल पुगेर आउँदा ढिला भयो । तिनीहरूलाई केही नहोस् !’

यो प्रार्थना पनि त्यै २० हजार २ सयभित्रै पर्छ ।

देशमा ‘जनयुद्ध’ भयो ।

‘हान् हान् हान् । त्यसलाई गोली लागेको छ । छट्पटाउँदै छ । तर, जिउँदै छ । आँखामै ताकेर हान् ।’ पेटभरि गोली लागेको पुलिसलाई माओवादीले आँखामा गोली थपे ।

राजतन्त्र बचाउन खोज्ने पुलिस मर्‍याे ।

दुस्मन मर्‍याे ।

सरकारको खातामा एउटा शहीद थपियो । माओवादीको खातामा एउटा विजय थपियो ।

(म माओवादी थिएँ भने कसलाई गोली हान्थेँ हुँला ?)

त्यतिखेर शहीद हुँदा पुलिसको परिवारले पाउने रकम ८ लाख रुपैयाँ थियो । नेपाल सरकारले मेरी दिदीलाई ३० दिन/रात ड्युटी गरेबापत मासिक तलब २० हजार २ सय रुपैयाँ दिन्छ ।

कोरोना लागेको कुरा दिदीले माइततिर कसैलाई भनिन, काठमाँडौ बस्ने उसको भाइलाई बाहेक । माइतमा बुढा बाआमा आत्तिन्छन् भन्ने पिरले होला । त्यसमाथि पुलिसलाई कसरी कोरोना लाग्न सक्छ ?

पुलिससँग त सबै डराउँछन् ।

डरलाई कसरी कोरोना लाग्न सक्छ ?

अनि पुलिसले दुख्यो भनेको कहाँ सुहाउँछ ?

महिनौँ लगाएर त्यत्रो तालिम केका लागि दिएको ?

त्यै दु:ख लुकाउनलाई हैन ?

देशमा २०६२/६३ मा विशाल जनआन्दोलन भयो ।

‘हान् हान् हान् । ढुङ्गाले हान् । लात्तले हान् । फुटा त्यसको टाउको । हामीमाथि गोली चलाउने यिनै हैनन् ? ढुङ्गैले किचेर मार् ।’ आन्दोलनकारीको ढुङ्गाले टाउको फुटेको पुलिस पिचमा लडेको थियो । आन्दोलित आन्दोलनकारीले झन् ढुङ्गा थपे ।

लोकतन्त्र ल्याउन नदिने पुलिस ढल्यो ।

राजा उभ्याइरहन खोज्ने पुलिस ढल्यो ।

(२०६२/०६३ मा मैले ढुङ्गा हानेका पुलिस कसका दाजु थिए होलान् ?)

कोरोनाले थलिँदा दिदीलाई यति फाइदा भयो कि उसले भान्जाभान्जीलाई दिनरात परैबाट भए पनि हेरिरहन पाई । भान्जा र भान्जीको अनलाइन क्लास चलिरहेको थियो । त्यसका लागि दिदीले मोबाइल डाटामा महिनाको ५ सय रुपैयाँ तिरी । नेपाल सरकारले मेरी दिदीलाई ३० दिन र राति ड्युटी गरेबापत २० हजार २ सय रुपैयाँ तलब दिन्छ ।

देशबाट राजा फालिए । जङ्गलबाट आएकासँग मिलेर सडककाहरूले राजालाई जङ्गल पठाए ।

पुलिस अब नेपाली जनताका भए । मधेस आन्दोलन सुरु भयो । मधेसको एउटा आन्दोलनमा खेदीखेदी पुलिसहरू मारिए ।

‘एकतन्त्र’ बचाउन खोज्ने पुलिस मारिए । जनताका पुलिस जनताद्वारा मारिए ।

(आन्दोलनमा नभएर तिनै प्रहरी मधेसको त्यही गाउँ घुम्दै आएका भए मारिन्थे होला ?)

कोरोना लागेकै बेला दिदीले भान्जा र भान्जी दुई जनाको स्कुलको शुल्क मासिक ८ हजार रुपैयाँको दरले तिरी । घरको खानाखर्च महिनाको ८ हजार रुपैयाँ भएछ । ४ हजार ७ सयजति खानाखर्च उसको राशन खर्चबाट आउने भएकाले खानामा ३ हजार रुपैयाँ मात्रै खर्च भयो ।

सुरुमा त कोठा लिएरै बसी । तर, भान्जाभान्जी हुर्किंदै गरेपछि दिदीभिनाजुले ऋण गरेर एउटा सानो घर बनाउनु भयो । दिदीले ऋणको मासिक किस्ता ६ हजार तिरी । मोबाइल पुरानो भएर बिग्रिरहन्छ । दसैँसम्म अर्को नकिन्ने अरे । फलफूल माछामासु पाहुना हुन् । भान्जाभान्जी खासै बिरामी हुँदैनन् । रोगलाई पनि थाहा छ, यी केटाकेटी क्यै गरी बिरामी भैहाले भने फेरि ऋण काड्नुपर्छ । फेरि किस्ताको पैसा । रोग बुझकी छ ।

देशमा गणतन्त्र आयो । जसले पुलिसहरूलाई पैले मार्न खोज्थे, अब पुलिसहरूले उनीहरूकै सुरक्षा दिनुपर्ने भयो ।

गणतान्त्रिक सरकारविरुद्ध फेरि सडकमा आन्दोलन भयो । माथिबाट पानीको फोहोरा चलाउने आदेश आयो । पुलिसहरूले फोहोरा चलाए । भीड तितरबितर भएन । आन्दोलनकारीले निषेधाज्ञा तोडे । माथिबाट लाठीचार्ज गर्ने आदेश आयो । पुलिसहरूले लाठीचार्ज गरे । आन्दोलनकारीले पुलिसलाई ढुङ्गाले हाने । एक पुलिस हुत्तिएर आन्दोलनकारीतिर पुगे । आन्दोलनकारीले फुटबल जसरी सडकमा लात हान्दै गुडाए ।

गणतन्त्रको जय  भन्नेहरूले जय नेपाल भन्नेहरूलाई थङ्थिलो हुञ्जेल कुटे ।

(म गएको आन्दोलनमा ममाथि बल प्रयोग गर्नेलाई म छोड्छु होला ? मेरो जायज आन्दोलनमा मैले जे गरेँ, त्यो नै जायज होला नि । जायज आन्दोलन रोक्न खोज्ने हरेक बल नाजायज हो । मैले पुलिसको घर गएर रिस पोख्या हो र ?)

लाठीचार्जमा मेरी दिदीले पनि एउटा भाइको घुँडा मुन्तिर लाठ्ठीले हानी । हुत्तिएर त्यो भाइ लड्यो । पिचमा । टाउकोमा चोट लाग्यो । निधारबाट तररर खुन बग्यो । दिदीले  उसैलाई फेरि एम्बुलेन्समा हालेर अस्पताल पठाई । राति घर फर्किँदा बाटोभरि त्यो भाइको अनुहार सम्झिई । तिहारमा उसले उसकाे भाइको निधारमा लामो सप्तरङ्गी टीका लगाइदिएकी थिई । अनि उसैको लट्ठीले घाइते भएको भाइ सम्झिई । उसले आफ्नो भाइको निधारको सप्तरङ्गी टीकाबाट रातो रङ तरर बगेको देखी ।

उसले उसको भाइलाई भिडियो कल गरी । अनि आन्दोलनका बारेमा केही भनिनँ ।

दिदीले हरेक महिनाजस्तै माइतमा बुबाको मोबाइलमा २ सय रुपैयाँको रिचार्ज हालिदिई । वर्षौंपहिले ‘म पुलिसमा लाग्छु’ भन्दा खुसी भएका बुबाको अनुहार सम्झिई । उसले गाउँकी निर्मला दिदी पुलिसमा लागेर नीलो बर्दी लगाएको देखेकी थिई । आइरन लगाएको त्यही चिल्लो नीलो बर्दीले ऊभित्र  पुलिस हुने रहर जगाएको थियो । ऊ कसैलाई मार्न कुट्न पुलिसमा लागेकी थिइनँ । राजतन्त्र होस् कि लोकतन्त्र होस् कि गणतन्त्र होस्, उसलाई खासै फरक पर्थेन । ऊ केवल पैसाका कारणले भान्जाभान्जी भोकले र रोगले नमरून् भन्ने चाहन्थी । 

पुरानो कुरा सम्झिँदै उसले बुबासँग लामो कुरा गरी । तर, आन्दोलनका बारेमा केही भनिनँ । कमजोर भएको नदेखाउनका लागि उसलाई महिनौँको तालिम दिइएको छ ।

उसलाई कसरी सहने भन्ने महिनौँको तालिम दिइएको छ । धुलो सहने । पानी सहने । घाम सहने । निन्द्रा सहने ।

दसैँमा अरुलाई घर पठाएर आफू सडकको धुलो सहने । छोरी बिरामी हुँदा पनि ड्युटीमै बसेर आँखाको अमिलो सहने ।

हिजो आज काठमाडौंको बाटोमा उभ्याइएका ट्राफिक पुलिसका पुतलाहरू देख्छु । केही पुतला महिला ट्राफिक प्रहरीको देख्छु । ती पुतलालाई घाम र धुलोले खाइरहेझैँ देख्छु । स्वरसम्राट नारायणगोपालकी पत्नी पेमाला जब जाडो महिनामा वा पानी परेको बेला पतिको सालिक देख्नुहुन्थ्यो, तब ‘चिसो लाग्यो होला, स्वेटर लगाइदिऊँ’ जस्तो लाग्थ्यो रे । ती पुलिसका पुतला देख्दा मलाई त्यस्तै हुन्छ ।  मलाई नुहाउन कर गरिरहने दिदीको कपाललाई धुलोले पुर्‍याेजस्तो लाग्छ ।

अरुलाई पुतला केही नलाग्दो हो । जिउँदा प्रहरी नै रातभरि अनिदो रहेको देख्दा, धुलो, पानी, घाम खाइरहेको देख्दा लाग्दो हो, पुलिस हुन् । यै त ड्युटी हो । सरकारले त्यै ड्युटी गरेबापत त पैसा दिन्छ । हामीले तिरेको करबाट त तिनीहरूले पैसा पाउने हो ।  सकियो ।

नेपाल सरकारले मेरी दिदीलाई ३० दिन र रात ड्युटी गरेबापत २० हजार २ सय तलब दिन्छ । 

यतिखेर मेरी दिदी ड्युटी जाने बुटमा काली दल्न लागेकी हुँदी हो । तर, काली सकिन लागेको हुँदो हो । ऊ बट्टा पुछपाछ पारेर काम चलाउँदी हो । बुट टलक्क टल्काउँदा हरेक १० दिनमा एक बट्टा काली सकिन्छ । महिनामा ३ बट्टा । काली बुटको राशन हो । बुटको मासिक राशन खर्च १ सय ५० हो । हरेक महिना बुटमा जति खर्च हुन्छ, यति खर्च त ऊ आफ्नो टाउकोमा पनि गर्न पाउँदिनँ ।

नीलो बर्दी लगाएर बुटमा काली दल्दा उसलाई पुलिस भएको मज्जा लाग्छ रे । ऊ बुट टल्काउञ्जेल हरेक दिन उसको भाइको प्रहरी कविता सुन्छे रे :

‘… यो देशको भेट्नु बनेर झुप्पाको सुरक्षा गर्छु

सधैँ फेद बनेर टुप्पोको सुरक्षा गर्छु

मलाई नै ढुङ्गा हान्ने हातहरूको सुरक्षा गर्छु

ढुङ्गाले लाग्ने टाउकाहरूको सुरक्षा गर्छु

मन्दिरबाहिर बसेर

मन्दिरभित्रका ईश्वरहरूको सुरक्षा गर्छु

बुट टल्किन्छ । नीलो बर्दीमा ऊ ड्युटीमा निस्किन्छे । र, हरेक पाइलामा एक महिनाको तलब र खर्च जोडघटाउ गर्छे ।

अनि थाहा पाउँछे– ऊ त हरेक महिना घाटामा सुरक्षा गरिरहेकी रहिछ ।

दुई छोराछोरी, पति र सासूसहितको पाँच जनाको परिवार । ३० दिनरात, चौबीसै घण्टा तैनाथ हुनुपर्ने जागिर । २० हजार २ सय तलब ।

ऊ हरेक महिना सिधासिधा घाटामा यो देशको सुरक्षा गरिरहेकी छे ।

ऊ हिँड्दाहिँड्दै एक्कासि एउटा गाडी हुइँकिन्छ । सेतो प्लेटमा रातोले नम्बर लेखेको गाडी । त्यो गाडीले उसले बुटमा दलेको कालीभन्दा कालो धुवाको मुस्लो फालेर जान्छ । धुवाँले उसको आइरन गरेको चिल्लो नीलो बर्दीलाई कालो बनाइदिन्छ । स्रोत शिलापत्र

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal