बिक्नै छाडे दारका ठेका र निगालोका डाला

रामकृष्ण बोहरा
बागलुङ,१९ चैत– बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरका टिकाराम चुदाराले दारको काठबाट बन्ने ठेका, मदानी, पुङ र पुचाइको व्यापार थालेको ५० वर्ष बित्यो। उहाँ हरेक वर्ष चैत्राष्टमीदेखि पाल्पा र गुल्मीको रिडीमा लाग्ने माघे सङ्क्रान्ति मेलासम्म यस्ता सामग्री बिक्री गर्न पुग्नुहुन्छ। यही व्यापारले उहाँको परिवारको जीविकोपार्जन धानेको छ।

तर पछिल्लो समय स्थानीय सीपबाट उत्पादित सामग्रीको व्यापार निराशाजनक बन्दै गएको छ। दारको काठबाट बन्ने सामग्रीलाई स्टिलका भाँडाकुँडाले विस्थापित गर्न थालेपछि व्यापार घट्दै गएको उहाँ बताउनुहुन्छ।

“बाउबाजेको पेसालाई चटक्कै माया मार्न नसकेर जसोतसो ठेकाको व्यापारलाई निरन्तरता दिइरहेको छु,” चैत्राष्टमी मेलामा ठेका बिक्री गर्दै भेटिनुभएका चुदाराले भन्नुभयो, “स्थानीय उत्पादनप्रति उपभोक्ताले बेवास्ता गर्दा मन खिन्न हुन्छ।”

उहाँका अनुसार २०४० देखि २०६० सालसम्म ठेकाको व्यापार निकै राम्रो थियो, तर अहिले एकाएक घटेको छ।

“ठेका खरिद गर्न पर्वत, स्याङ्जा, कास्की, तनहुँ, नारायणघाटदेखि बुटवलसम्मका मान्छे चैत्राष्टमी मेलामा आउँथे। आफ्नै लागि मात्र होइन, छिमेकीका लागि पनि किनेर लैजान्थे,” विगत सम्झँदै उहाँले भन्नुभयो, “यहाँका ठेकाले माग धान्न नसक्दा दाङ र सल्यानबाट आयात गरेरसमेत बिक्री गर्नुपर्ने अवस्था थियो।”

अहिले गाउँघरमै वस्तुभाउ पाल्ने चलन हराउँदै गएपछि ठेका–मदानी लोप हुने अवस्थामा पुगेको उहाँको बुझाइ छ। बजारमा सस्तो मूल्यमा स्टिलका भाँडा पाइने भएपछि २ हजारदेखि २४ हजार रुपियाँसम्म पर्ने दारका ठेका महँगा लाग्न थालेका छन्।

हाल भने दारको काठबाट बन्ने ठेका, मदानी, पुङ र पुचाइ घर सजावट तथा उपहारका रूपमा केही उपभोक्ताले खरिद गर्ने गरेको उहाँले बताउनुभयो।

“पहिले मेलामै दुई लाखभन्दा बढीको व्यापार हुन्थ्यो, अहिले ३०–४० हजार रुपियाँ पनि हात लाग्दैन,” उहाँले दुःखेसो गर्नुभयो।

यस्तै, बडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका ६९ वर्षीय गाडरे बुढाथोकी निगालोबाट बनेका डाला–डाली बिक्री गर्न चैत्राष्टमी मेलामा आएको एक साता बितिसकेको छ। तर सोचेजस्तो व्यापार नहुँदा उहाँ पनि खिन्न मुद्रामा भेटिनुभयो।

“पहिले २५ हजार रुपैयाँसम्मको व्यापार हुन्थ्यो, अहिले सोचेजस्तो भएन,” उहाँले भन्नुभयो, “प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दा गाउँघरमा उत्पादित वस्तुको बिक्री घटेको छ।”

मेला–महोत्सवमा स्थानीय उत्पादनको व्यापार निरन्तर घटिरहँदा यही पेसामा आश्रित परिवारको जीविकोपार्जनमा समस्या भएको उहाँले सुनाउनुभयो।

आरन पेसाबाट परिवार पाल्दै आउनुभएका बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाका ७२ वर्षीय खेमबहादुर विकले मेलामा घरायसी तथा कृषि औजार बिक्रीका लागि ल्याए पनि सोचेजस्तो व्यापार नभएको बताउनुभयो।

“सामग्री ढुवानीको गाडी भाडासमेत तिर्न नपुग्ने अवस्था छ,” उहाँले भन्नुभयो, “आधुनिक भान्साका सामान बहुउपयोगी हुँदा घरेलु उद्योगमा बन्ने भडाली, झाँगा र हँसियाको प्रयोग घट्दै गयो।”

मेलामा बागलुङको ताराखोला, माझखर्क, काठेखोला गाउँपालिकाको तंग्राम, बडिगाडको जलजला, तमानको लामेला, धादिङ र तनहुँबाट घरायसी तथा कृषिमा प्रयोग हुने सामग्री बिक्रीका लागि ल्याइने गरिन्छ।

बसाइँसराइले गाउँबस्ती रित्तिँदै जानु र बढ्दो वैदेशिक रोजगारीका कारण युवा पलायन हुँदा परम्परागत सामग्री लोप हुन थालेको विकले बताउनुभयो।

स्थानीय उत्पादनको घट्दो व्यापारले परम्परागत पेसा नै लोप हुने अवस्थामा पुगेको गलकोट नगरपालिका वडा नं. ४ नरेठाँटीका मादल व्यवसायी अमृत बोहोरा बताउनुहुन्छ।

गाउँघर र मेलापातमा झ्याउरे तथा दोहोरी गाउने प्रचलन घट्दै जाँदा डम्फु–मादलको व्यापारसमेत घटेको उहाँले बताउनुभयो।
“पुँजी पलायन रोक्न र गाउँघरमै स्वरोजगार बढाउन घरेलु उद्योगलाई प्रवर्धन गर्न स्थानीय सरकारले चासो दिनुपर्छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार स्थानीय उत्पादनको व्यापार घट्दा पुख्र्यौली पेसामा आश्रित परिवारलाई वैकल्पिक पेसा अपनाउनुपर्ने बाध्यता बढेको छ। प्लास्टिकजन्य सामग्रीको प्रयोग कम गर्दै परम्परागत सामग्रीको प्रयोग बढाउने नीति आवश्यक रहेको उहाँको सुझाव छ।गोप

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal