नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

प्रगति ढकाल

काठमाडौँ,११ साउन- “धन्न, आजसम्म बाचेँ र यस्तो चमत्कार देख्न पाएँ ।”

चन्द्रागिरि नगरपालिका–१ का ७९ वर्षीय इन्द्र पण्डितको यो अभिव्याक्तिले जो कोहीलाई भावुक बनाउँछ । सात दशकभन्दा लामो नेपालको विकास यात्राको साक्षी बन्नुभएको छ पण्डित । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुङ्गा सुरुङमार्ग’ उद्घाटन समारोहमा सहभागी हुँदा उहाँको अनुहारमा देखिएको मुस्कानले विकासको बेग्लै सकारात्मक सन्देश प्रवाह गरेको देखिन्थ्यो ।

नवीनतम प्रविधिको प्रयोग, आधुनिकता र सडक यातायातले फड्को मारिरहेको हालको दुनियाँमा पण्डितलाई भने अझै पनि आफ्नो किशोर अवस्थाको यात्रा सम्झना छ । धादिङको गजुरीबाट काठमाडौँ आउँदा दुई दिन पैदल हिँड्नुपरेको स्मृति अझै उहाँको मनष्पटलमा ताजै छ । त्यस बेला गोरेटोे, खोल्सा र जङ्गल अनि उकालो–ओरालो पार गर्दै राजधानी आइपुग्न कम्ती सकस थिएन ।

त्यतिबेला डाँडो छेडेर सुरुङमार्ग निर्माण होला र सवारीसाधन गुड्लान् भन्ने कल्पना पनि गर्नुभएको थिएन पण्डितले । “त्यो बेला काठमाडौं आउनु भनेको कठिन थियो”, उहाँ सम्झनुहुन्छ, “अहिले यस्तो दिन आउला भन्ने कल्पना पनि गरेको थिइन ।”

नागढुङ्गाको उकालो, घुम्ती मोड्दै, जाममा पर्दै उपत्यका उक्लनुपर्ने सकसबाट मुक्त भएकोमा झै बढी उत्सााह छ उहाँमा । त्यसमाथि आफ्नो जन्मस्थान जाने बाटो छोटिएकोमा अझै बढी उत्साहित बन्नुभएको छ पण्डित जी ।

मुसुक्क मुस्कुराउँदै पण्डितले भन्नुभयो, “डाँडो छेडेर सुरुङमार्ग बनेको छ । केही मिनेटमै गन्तव्य पुग्न सकिने भएको छ । यात्राको कठिनाइ हटेको छ । अनि खुसी नहुने कुरै भएन ।” त्यस्तै काठमाडौँ थानकोटकै दिलबहादुर श्रेष्ठ पनि उमेरले ८१ पुग्नभयो । सुरुङमार्गको उद्घाटनलाई निहाल्दै पट्ट ताली बजाउँदै हुनुुहुन्थ्यो । उहाँलाई पनि सायद लाग्दो हो ढिलै भए पनि परिवर्तन भइरहेको छ ।

“अहिलेका पुस्ताले नेपालमा केही भएन मात्रै भन्छन्”, उहाँले भन्नुहुन्छ, “हाम्रो पालासँग तुलना गर्ने हो भने त धेरै परिवर्तन भएको छ । सडक बने, पुल बने, गाउँगाउँमा गाडी पुगे, अहिले त सुरुङ पनि बन्यो ।”

उहाँ केहीबेर रोकिनुभयो । त्यसपछि फेरि भावुक हुँदै भन्नुभयो, “हामी त अब डाडाँमाथिको घाम भइसक्यौँ । तर हाम्रा पछिल्ला पुस्ताका लागि केही हुँदैछ भन्ने भानलाई यो सुरुङ निर्माणले चिरिदिएको छ । हामीले नमर्दै आफ्नै ठाउँमा यति ठूलो विकास भएको देख्न पाइयो ।”

अभाव, कठिन यात्रा र सीमित पूर्वाधारबाट गुज्रिएको पुस्ताले परिवर्तनलाई फरक आँखाले हेर्छ भन्ने पुरानो पुस्ताको अनुभव हुन यी । उद्घाटन समारोहमा सहभागी स्थानीय कलाधार गैरेले सुरुङमार्ग निर्माणलाई मुलुकको परिवर्तनको सङ्केतको रुपमा लिनुभएको छ । विकासले गति लिन थालेको अनुभव भएको छ । तर अपेक्षाअनुसार तीव्रतामा भने अझै पुग्न नसकेको उहाँको गुनासो छ ।

“आधुनिक सुरुङमार्ग मुलुकमा परिवर्तनको घण्टी बजेको सङ्केत हो”, उहाँले भन्नुभयो, “जति हुनुपथ्र्यो, त्यति हुन सकेको छैन । अझ धेरै गर्न सकिन्थ्यो । तर केही पनि भएन भनेर निराश हुनुपर्ने अवस्था छैन । काम भइरहेको छ । मात्रै अपेक्षाभन्दा केही ढिला भएको हो ।”

गैरेका अनुसार विकासले दीर्घकालसम्म नागरिकलाई लाभ पु¥याउने, वातावरण संरक्षण गर्ने र भावी पुस्ताका लागि सुरक्षित भविष्य निर्माण गर्ने उद्देश्य बोकेको हुनुपर्छ । “अबको विकास दिगो र वातावरणमैत्री हुनुपर्छ”, उहाँले भन्नुभयो, “प्राकृतिक सम्पदाको संरक्षण गर्दै, वातावरणलाई कमभन्दा कम असर पर्ने पूर्वाधार निर्माणमा राज्यले ध्यान दिनुपर्छ । विकास आजका लागि मात्र होइन, भोलिका पुस्ताका लागि पनि हुनुपर्छ ।”

गैरेको भनाइले अहिलेको नेपालको विकासप्रति आम नागरिकको सन्तुलित दृष्टिकोण झल्काउँछ । एकातिर देशमा परिवर्तन हुँदै गएको अनुभूति छ भने अर्कोतिर त्यो परिवर्तन अझ योजनाबद्ध, दिगो र प्रभावकारी बन्नुपर्ने अपेक्षा उत्तिकै बलियो छ ।

सुरुङमार्ग उद्घाटन समारोहमा सहभागी स्थानीय बालकुमारी डङ्गोल पनि उक्त पूर्वाधारले देशमा सकारात्मक परिवर्तनको सन्देश दिएको विश्वास गर्नुहुन्छ । “यस्ता विकासका कामले अब केही सुधार हुन्छ कि भन्ने आशा जागेको छ”, उहाँले भन्नुभयो, “देशमै रोजगारी र अवसर प्राप्त होस् । हाम्रा छोराछोरीले आफ्नो भविष्य खोज्न विदेश जानु पर्ने अवस्था अन्त्य होस् भन्ने चाहना छ ।”

डङ्गोलका यी भनाइले भौतिक पूर्वाधारसँगै आर्थिक अवसर र रोजगारी सिर्जनाको आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण रहेको सन्देश दिन्छ ।

स्थानीय पम्फा भुजेलले आफ्नै गाउँठाउँमा यति आधुनिक पूर्वाधार बन्ने कल्पना कहिल्यै गर्नुभएको थिएन । नेपालकै अत्याधुनिक सुरुङमार्ग निर्माण भएको देख्दा उहाँ उत्साहित हुनुहुन्छ । सुरुङमार्गबाट यात्रा गर्ने अवसरको प्रतीक्षामा रहेनुभएकी भुजेलका लागि यो आयोजना मुलुकको प्रगतिको प्रतीक बनेको छ ।

“हाम्रो ठाउँमा यस्तो सुरुङमार्ग बन्ला भन्ने त कहिल्यै सोचेको पनि थिइनँ”, उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो, “अहिलेसम्म फोटो र भिडियो मात्रै हेरेकी छु । अब कहिले सुरुङमार्ग हुँदै यात्रा गर्न पाइएला भन्ने उत्सुकता छ ।”

उहाँलाई यस्ता आधुनिक पूर्वाधारले नेपाल विकासको नयाँ चरणतर्फ अघि बढिरहेको अनुभूति गराएको छ । “सुरुङमार्ग देख्दा नेपाल विस्तारै विकसित मुलुकजस्तै बन्दै गएको हो कि भन्ने आशा पलाएको छ”, भुजेलले भन्नुभयो ।

पण्डित, डङ्गोल, गैरे, भुजेलका लाागि मात्र होइन आज सम्पूर्ण नेपालीलाई उक्त सुरुङ निर्माणबाट मुलुकले अब परिवर्तनको बाटो समातेको विश्वास जगाएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको संयुक्त रूपमा आज सुरुङमार्ग औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो ।

समारोहमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सुरुङ सञ्चालनसँगै यात्राको समय उल्लेखनीय रूपमा घट्ने तथा वर्षौँदेखिको ट्राफिक जाम र जोखिमपूर्ण यात्राको समस्या न्यूनीकरण हुने बताउनुभयो ।

“नागढुङ्गा नाका दशकौँदेखि काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वार भए पनि अत्यधिक सवारी चाप र जोखिमपूर्ण सडकखण्डका रूपमा परिचित रहेको छ, अब सडक दुर्घटनासमेत न्यूनीकरण हुन्छ”, उहाँले भन्नुभयो ।

जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताउनुभयो । नेपालका लागि जापानी राजदूत माएदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता (ओडीए) तथा नेपाली प्राविधिक र श्रमिकको अथक परिश्रमबाट सुरुङ निर्माण भएको बताउनुभयो ।

दुई हजार ६८८ मिटर कूल लम्बाइ रहेको उक्त सुरुङको सुरुआती ठेक्का सम्झौताअनुसार २६ अप्रिल २०२३ भित्रै सम्पन्न गरिन पर्नेमा पटकपटक समय बढाउँदासमेत कामले गति लिन नसकेपछि पछिल्लो पटक २०८२ कात्तिक ८ गतेसम्मका लागि म्याद थपिएको थियो ।

यसैबीच, विसं २०८२ चैत २६ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्कसमेत निर्धारण गरेको छ । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्नेका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ ।

कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेशमा रु ६५ र सोही वर्गका सवारीसाधन काठमाडौँबाट बाहिरिँदा रु ६० शुल्क तोकिएको छ ।

त्यस्तै मिनीबस, मिनी टिपर÷ट्रकका लागि काठमाडौँ प्रवेशमा रु १२५ र काठमाडौँबाट निस्कदा रु ८० शुल्क तोकिएको छ ।

त्यसैगरी बस, ट्रकलगायतका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा रु २६० शुल्क छ भने तिनै सवारीसाधनलाई काठमाडौँबाट निस्कदा रु २०० दस्तुर तोकिएको छ ।

मल्टिएक्सल ट्रक, सवारीसाधन, भारीउपकरणका लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० दस्तुर छ भने काठमाडौँबाट निस्कदा रु २५० शुल्क तोकिएको छ ।

ताजा

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

धुर्कोट ग्रेटवाल निर्माण

२०८३ श्रावण ६ गते, बुधबार

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

२०८३ श्रावण ६ गते, बुधबार

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८३ श्रावण ५ गते, मंगलवार

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal