सनातन सभ्यताको जीवित केन्द्र
देवभूमि नेपालको धार्मिक, सांस्कृतिक र सभ्यतागत पहिचानका केन्द्रविन्दुमध्ये पशुपतिनाथको मन्दिर सर्वाधिक महत्वपूर्ण धरोहर हो । पशुपतिनाथको मन्दिर नेपाली सभ्यता, सनातन संस्कृति, आध्यात्मिक चेतना र राष्ट्रिय एकताको प्रतीक पनि हो । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा मात्र नभई नेपालको ऐतिहासिक, सांस्कृतिक र धार्मिक गौरवको प्रतिनिधि स्थलका रूपमा स्थापित छ । प्रत्येक वर्ष लाखौँ श्रद्धालु तथा पर्यटकले दर्शन र अवलोकन गर्ने यस क्षेत्रको महत्व दिनप्रतिदिन बढिरहेको छ । यसको महत्व अनुसार व्यवस्थापन, संरक्षण र दीर्घकालीन विकासका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन ।
किराँतकाल अगाडिदेखिकै इतिहास बोकेको पाशुपत क्षेत्रको संरक्षण/संवर्धनका लागि पछिल्लो समयमा राजा महेन्द्रबाट विसं २०१४ मा सुधार समिति गठन भएको थियो । २०३२ सालमा स्थानीय व्यक्तिको सक्रियतामा गठित सुधार तथा विकास समिति, २०३४ सालमा सरकारीस्तरबाट गठित पाशुपत क्षेत्र सुधार तथा विकास समिति, २०३८ सालमा सरकारीस्तरबाटै नवगठित पशुपति क्षेत्र सुधार तथा विकास समिति जस्ता विभिन्न समिति गठन गरी आन्तरिक सुधार तथा बाह्य व्यवस्थापनका अनेक प्रयास भएका थिए । त्यसै क्रममा २०४३ पुस १ गते राजा वीरेन्द्रबाट पशुपति क्षेत्र विकास कोष खडा गर्ने घोषणा भयो । २०४३ फागुन १४ गते कोषसम्बन्धी अध्यादेश र २०४४ साउन ९ गते जारी पशुपति क्षेत्र विकास कोष ऐनसहित पशुपति क्षेत्र विकास कोष स्थापना भएको पनि चार दशक बितिसकेको छ । यस अवधिमा पनि विभिन्न व्यक्तिले नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन् । उनीहरू मार्फत अनेकौँ कार्यक्रम सञ्चालन भए । केही भौतिक संरचना पनि निर्माण भए । पशुपति क्षेत्रलाई स्पष्ट दीर्घकालीन दृष्टिकोणका साथ विश्वस्तरीय धार्मिक÷सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने अभियान अझै अधुरै छ । पशुपति क्षेत्रलाई मन्दिरपरिसरको व्यवस्थापनमा मात्रै सीमित राख्ने होइन, सम्पूर्ण सनातन सभ्यता, संस्कृति, अध्यात्म, अनुसन्धान, पर्यटन र सामाजिक जागरणको केन्द्रका रूपमा विकास गर्न आवश्यक छ ।
पशुपति क्षेत्रको विशेष धार्मिक मर्यादा र पूजा पद्धतिको संरक्षण पहिलो सर्त हुनु पर्छ । धार्मिक गतिविधि नै पशुपति क्षेत्रको आत्मा भएकाले यसको संरक्षणबिना कुनै पनि विकासको कल्पना पूर्ण हुन सक्दैन । यहाँ सञ्चालन हुने पूजाआराधना, पर्व, जात्रा, उत्सव तथा धार्मिक विधिको शुद्धता र मौलिकता कायम राख्नु कोषको पहिलो दायित्त्व हुनु पर्छ । धार्मिक परम्परा र व्यवस्थापनबिच सन्तुलन कायम गर्दै पूजा पद्धतिलाई थप व्यवस्थित, अनुशासित र मर्यादित बनाइनु पर्छ । अर्को महìवपूर्ण पक्ष सरसफाइ र सौन्दर्य व्यवस्थापन हो । विश्वभरका प्रमुख धार्मिक केन्द्रको सफलताको आधार त्यहाँको स्वच्छता, अनुशासन र व्यवस्थापन रहेको पाइन्छ । पशुपति क्षेत्रमा प्रवेश गर्ने प्रत्येक व्यक्तिले पवित्रता र शान्तिको अनुभूति गर्न सक्नु पर्छ । मन्दिरपरिसर, धर्मशाला, घाटक्षेत्र, सडक, सार्वजनिक स्थल र बागमती नदीको सरसफाइलाई विशेष अभियानका रूपमा सञ्चालन गर्नु पर्छ । फोहोर व्यवस्थापनका लागि आधुनिक प्रणाली लागु गरी पशुपति क्षेत्रलाई नेपालकै नमुना स्वच्छ धार्मिक क्षेत्रका रूपमा विकास गर्न सकिन्छ ।
सुरक्षा र दर्शनार्थी व्यवस्थापन अर्को महवपूर्ण विषय हो । पशुपतिनाथ ऐतिहासिक सम्पदा मात्रै नभई जीवित धार्मिक परम्पराको केन्द्र हो । यहाँ दैनिक हजारौँ र विशेष पर्वमा लाखौँ भक्तजनको उपस्थिति हुने भएकाले सुरक्षा व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्न आवश्यक छ । डिजिटल निगरानी प्रणाली, आपत्कालीन उद्धार संयन्त्र, भिड व्यवस्थापन तथा सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाइनु पर्छ । वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिका लागि सहज दर्शनको व्यवस्था गरिनु पर्छ । धार्मिक आस्थालाई सम्मान गर्दै व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउन सकियो भने पशुपति क्षेत्रको प्रतिष्ठा अझ उच्च हुने छ ।
पशुपति क्षेत्रको दीर्घकालीन विकासका लागि सबैभन्दा महत्वपूर्ण काम अलपत्र रहेको गुरुयोजनाको पुनरवलोकन र कार्यान्वयन हो । जनसङ्ख्याको चाप, धार्मिक पर्यटन, सम्पदा संरक्षण तथा वातावरणीय चुनौतीलाई समेत समेटेर मौलिकता प्रवर्धन हुने गरी समयसापेक्ष गुरुयोजना परिमार्जन गर्नु पर्छ । यस्तो गुरुयोजना निर्माण गर्दा व्यक्तिकेन्द्रित नभई संस्थाकेन्द्रित र कम्तीमा आगामी सय वर्षलाई दृष्टिगत गरेर निर्माण गरिनु पर्छ । जसबाट राजनीतिक परिवर्तन वा नेतृत्व परिवर्तनसँगै योजना परिवर्तन हुने प्रवृत्तिको अन्त्य गरी दीर्घकालीन विकासको मार्गचित्र तय होस् ।
स्वच्छ बागमतीबिना समृद्ध पशुपति क्षेत्रको कल्पना गर्न सकिँदैन । पशुपति क्षेत्रको आधुनिक विकासलाई पनि बागमती सभ्यताको पुनर्जागरणसँग जोड्न अत्यावश्यक छ । बागद्वारबाट उत्पत्ति भएको बागमती नदी जलस्रोत मात्र होइन; नेपालको धार्मिक, सांस्कृतिक परम्परा र इतिहासको अभिन्न अङ्ग हो । पशुपति क्षेत्र र बागमती एकअर्काका परिपूरक पनि हुन् । बागमती नदीको संरक्षण, सरसफाइ, घाटको व्यवस्थापन तथा नदी सभ्यताको अध्ययन र पुनर्जीवनलाई पशुपति क्षेत्र विकासको प्रमुख एजेन्डा तथा संस्थागत कर्तव्यका रूपमा स्थापित गर्नु पर्छ । जसबाट देश दुनियाँबाट आएका भक्तजनले बागमतीको पवित्र जलमा स्नान गरी जल लिएर पशुपतिनाथमा अर्पण गर्न सक्ने वातावरण बन्ने छ । पशुपति क्षेत्रसम्बन्धी इतिहास, संस्कृति, पुरातìव, धार्मिक परम्परा, अभिलेख तथा सभ्यतागत अध्ययनका लागि विशेष अनुसन्धान केन्द्र स्थापना गर्न आवश्यक छ । आजका पुस्तालाई पशुपतिनाथ र यहाँका सांस्कृतिक सम्पदाको महìवबारे ऐतिहासिक र वैज्ञानिक ढङ्गले जानकारी दिन सकियो भने यस क्षेत्रको संरक्षणमा उत्साहजनक रूपमा जनसहभागिता स्वतः बढ्छ ।
पशुपति क्षेत्रलाई विश्वका हिन्दु सनातनीको आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य निर्धारण गरिनु पर्छ । अन्तर्राष्ट्रिय सनातन सम्मेलनलगायतका विविध कार्यक्रमको आयोजना, गुरुकुलको विस्तार, संस्कृत विद्याका वेद, वेदान्त, साङ्ख्य, वैशेषिक, न्याय, तन्त्र, मन्त्र, ध्यान, योग आदि विषयका दर्शनको अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना गरी आधुनिक विज्ञानसँग जोडेर युग सुहाउँदो व्याख्या गर्नु पर्छ । यसबाट विश्वभर रहेका सनातन हिन्दु धार्मिक संस्थासँग सहकार्य गरी पशुपति क्षेत्रलाई विश्वव्यापी धार्मिक वैज्ञानिक संवाद केन्द्र बनाउन सकिन्छ । सनातन शैव परम्परामा सौराष्ट्रको सोमनाथदेखि वेरुलको घृष्णेश्वरसम्मका सोमनाथ (गुजरात), मल्लिकार्जुन (आन्द्रप्रदेश), महाकालेश्वर (उज्जैन), ओमकारेश्वर (मध्यप्रदेश), केदारनाथ (उत्तराखण्ड), भीमाशङ्कर (महाराष्ट्र), काशी विश्वनाथ (वाराणसी), त्रयम्बकेश्वर (नासिक), वैद्यनाथ (देवघर), नागेश्वर (द्वारका), रामेश्वर (रामेश्वरम्) र घृष्णेश्वर (वेरुल) द्वादश ज्योतिर्लिङ्ग शिवतìवका सार्वभौम आध्यात्मिक केन्द्रका रूपमा प्रतिष्ठित छन् ।
शैव चेतनाको हिमवत् दार्शनिक केन्द्रका रूपमा पशुपति क्षेत्रलाई यी तीर्थको सारतत्व समाहित गर्ने परम पावन धाम तथा शिरो भागका रूपमा मानिँदै आइएको छ । बृहत् पाशुपत क्षेत्र र यहाँ अवस्थित चतुःषष्टि (सिद्ध, स्वयम्भुव र ज्योति) लिङ्ग तथा बृहत् पशुपति परिक्रमा परम्पराले शिवचेतनाको बहुआयामिक एकत्वलाई अभिव्यक्त गर्छ । यसरी द्वादश ज्योतिर्लिङ्ग र चतुःषष्टि (सिद्ध, स्वयम्भुव र ज्योति) लिङ्गको समन्वयले पशुपति क्षेत्रलाई तीर्थस्थल मात्रै नभई समग्र सनातन सभ्यताको केन्द्रीय आध्यात्मिक संरचना र जीवित चेतना केन्द्रका रूपमा प्रतिष्ठित गरेको छ । यी तीर्थको दर्शनपश्चात् पशुपतिनाथको दर्शनलाई आध्यात्मिक पूर्णताको प्रतीकका रूपमा स्वीकार गर्ने परम्पराले यसको दार्शनिक र आस्थागत महìवलाई अझ सुदृढ बनाएको छ । शास्त्रीय र परम्परागत दुवै पक्षबाट चलिरहेको पशुपतिनाथको दर्शन गर्ने परम्परालाई समयसापेक्ष व्यापकता दिने र ‘शिव सर्किट’ अवधारणामार्फत यी सम्पूर्ण पवित्र तीर्थलाई एकीकृत प्रणालीमा आबद्ध गर्दै पशुपति क्षेत्रलाई यसको केन्द्रीय अक्षका रूपमा विकास गर्न सकिएमा पाशुपत क्षेत्र विश्वभरका सनातन धर्मावलम्बीको साझा आध्यात्मिक केन्द्रका रूपमा अझ सुदृढ, सङ्गठित र सार्वभौमिक रूपमा प्रतिष्ठित गराउन सकिन्छ ।
पशुपति क्षेत्रको संस्थागत सुशासन अर्काे महत्वपूर्ण पक्ष हो । जनताको आस्था र विश्वाससँग प्रत्यक्ष रूपमा जोडिएको यस्तो पवित्र संस्थामा पारदर्शितालाई हल्का रूपमा लिन मिल्दैन । कुनै पनि संस्था व्यक्तिको सक्रियता वा व्यक्तिगत प्रयासभन्दा संस्थागत प्रणाली बलियो भए मात्र दीर्घकालीन रूपमा सफल हुन सक्छ । विगतका अनुभवलाई गम्भीरतापूर्वक मनन गर्दै कोषको सम्पूर्ण आर्थिक, प्रशासनिक तथा विकास निर्माणसम्बन्धी गतिविधिलाई समेत पूर्ण रूपमा पारदर्शी बनाउनु आवश्यक छ । यसका लागि डिजिटल प्रशासन प्रणालीको प्रभावकारी कार्यान्वयन, नियमित सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, आवधिक प्रतिवेदन प्रकाशन तथा नागरिक सहभागिताको संस्थागत अभ्यासलाई अनिवार्य रूपमा स्थापित गर्नु पर्छ । सार्वजनिक जीवनमा नैतिकता, पारदर्शिता र जवाफदेहिता अनिवार्य सर्त हुन् । अझ विशेष गरी ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहरसँग सम्बन्धित संस्थामा कार्यरत सबै तहका व्यक्तिको जीवनपद्धति सत्य, धर्म, न्याय र सदाचारमा आधारित हुनु पर्छ । यस्तो मूल्य–आधारित आचरणले मात्र संस्थाप्रति जनविश्वास मजबुत बनाउँछ । पशुपति क्षेत्र जस्तो पवित्र धरोहरको गरिमा पनि दीर्घकालीन रूपमा सुरक्षित रहन सक्छ ।
पशुपति सम्पूर्ण राष्ट्रको सम्पत्ति भए पनि यसको जीवन्तता र दैनिकी स्थानीय समुदायसँग प्रत्यक्ष रूपमा जोडिएको छ । पशुपति क्षेत्रको विकास स्थानीय समुदायको सहभागिताबिना सम्भव छैन । यहाँका गुठी, मठमन्दिरका पुजारी, स्थानीय बासिन्दा, धार्मिक सङ्घ संस्था, विद्वान् तथा सरोकारवालालाई विकास प्रक्रियामा अनिवार्य सहभागी गराइनु पर्छ । संरक्षण र विकासका कार्यक्रममा स्थानीय स्वामित्वको भावना निर्माण गर्न सकियो भने योजना अझ प्रभावकारी हुने छन् ।
पर्यटन प्रवर्धन पनि पशुपति क्षेत्र विकासको महत्वपूर्ण आयाम हो । यस क्षेत्रभित्रको पर्यटनलाई आर्थिक लाभको दृष्टिले मात्रै हेर्नु हुँदैन । धार्मिक, सांस्कृतिक र आध्यात्मिक पर्यटनको अवधारणालाई सन्तुलित रूपमा अगाडि बढाउनु पर्छ । पशुपति क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकले नेपालको धार्मिक–सांस्कृतिक सम्पदाको वास्तविक अनुभूति गर्न सक्ने वातावरण निर्माण गरिनु पर्छ । यसका लागि धर्मशाला, सूचना केन्द्र, बहुभाषिक सामग्री, मार्गदर्शक सेवा तथा सांस्कृतिक प्रदर्शनीको विविध व्यवस्था गर्न सकिन्छ ।
पशुपति क्षेत्रसँग सम्बन्धित गुठी जग्गा तथा सम्पत्तिको व्यवस्थित अभिलेखीकरण, संरक्षण र सदुपयोग सुनिश्चित गर्नु आवश्यक छ । यस क्षेत्रको धार्मिक, सांस्कृतिक, परम्परागत तथा प्राकृतिक परिवेशसँग अभिन्न रूपमा जोडिएका नन्दी, गाई, मृग, वानर, कुकुरलगायत पशुपन्छीको संरक्षण र कल्याणलाई समेत कोषको नेतृत्वले आफ्नो मानवीय, सांस्कृतिक र नैतिक दायित्वका रूपमा अनिवार्य ग्रहण गर्नु पर्छ । आराध्यदेव भगवान् पशुपतिनाथ क्षेत्रको विकासको लक्ष्य भौतिक संरचना निर्माण गर्नु मात्रै होइन । यसको मूल उद्देश्य धार्मिक आस्थाको संरक्षण, सांस्कृतिक पहिचानको संवर्र्धन, सभ्यताको पुनर्जागरण र भावी पुस्ताका लागि गौरवपूर्ण सम्पदा हस्तान्तरण गर्नु हो । पशुपति क्षेत्रलाई शुद्ध पूजा, स्वच्छ वातावरण, सुरक्षित सम्पदा, समृद्ध संस्कृति, पारदर्शी व्यवस्थापन र विश्वस्तरीय आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न सकियो भने यसले धार्मिक क्षेत्रलाई मात्र नभई सम्पूर्ण राष्ट्रलाई नयाँ दिशाबोध गराउने छ ।
पशुपति क्षेत्र नेपाल राष्ट्रको आत्मासँग गहिरो रूपमा जोडिएको इतिहास, कला, संस्कृति, सभ्यता र धर्मको अनुपम धरोहर हो । यसको संरक्षण र विकास कुनै एक व्यक्ति, संस्था वा सरकारको मात्र दायित्व नभई सम्पूर्ण राष्ट्रको साझा उत्तरदायित्व हो, जसमा प्रत्येक नागरिकको चेतना, सहभागिता र प्रतिबद्धता समान रूपमा महìवपूर्ण हुन्छ । यस्तो पवित्र र ऐतिहासिक महत्व बोकेको संस्थामा अब आउने नेतृत्वले अल्पकालीन लोकप्रियता वा तात्कालिक उपलब्धिमा सीमित नभई दीर्घकालीन दृष्टिकोण, सुदृढ सुशासन, गहिरो सांस्कृतिक चेतना र प्रभावकारी कार्यान्वयन क्षमताका आधारमा पशुपति क्षेत्रलाई नयाँ युगको दिशातर्फ अगाडि बढाउनु पर्छ ।स्रोतःगोप
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार





















