प्रत्यक्षदर्शी भन्छन्- ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखिएको थिएन’

ऋषिराम बराल–धनबहादुर गुरुङ

लेखनाथ,१ माघ– “घरको आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिएँ, आइतबार बिहान ११ बजे एक्कासि जहाज घरको छतलाई नै छुनेगरी उत्तर तर्फबाट कोल्टिँदै आयो, हेर्दाहेर्दै घरको एक सय मिटर पूर्वको सेती डिलको बाँस घारीमा ठूलो आवाज दिँदै बजारियो । जहाजको एक टुक्रा म बसिरहेको कुर्ची नजिकै आएर बजारियो”, जहाज दुर्घटना स्थलको एक सय मिटर पश्चिम स्यालदुले निवासी ८७ वर्षीय बबरजङ्ग गुरुङले भन्नुभयो, “आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखेको थिइनँ ।”

“जहाज बजारिएपछि आगोको मुस्लोसहित धुवाँले गाउँ नै ढाक्यो, केही समयपछि पुलिस र आर्मी आइपुगे, मसहित मेरो परिवार र वरपरका छिमेकीसमेत ठूलो कालले बाच्यौँ भनेर घरभित्र पस्यौँ तर आगो फैलिन्छ कि भन्ने चिन्ता झन् बढ्न थाल्यो । पछि जहाजमा लागेको आगो नियन्त्रणमा आयो”, उहाँले भन्नुभयो ।

सेती खोँचको पूर्वी भागमा डिलको बाँसको थानमा बजारिएको विमानका केही टुक्रा सेती खोँच वारि, केही टुक्रा पारि र केही टुक्रा खोँचमा खसेका छन् । शवहरु केही डिलमा अड्किएको भए पनि अधिकांश सेती खोँचमा नै खसेका छन् ।

आज बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोँचमा विमान दुर्घटना भएको थियो । विमानमा ६८ यात्रु र चारजना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । दुर्घटनाग्रस्त ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलबीचको नयाँगाउँस्थित सेतीको खोँचमा दुर्घटनामा परेको थियो ।

दुर्घटनास्थल नजिकै नयाँगाउँ निवासी विष्णुहरि सापकोटाले भन्नुभयो, “उत्तरतर्फको काहूँ डाँडातर्फबाट पुरानो विमानस्थलमा आज जहाज आयो भनियो । तर, जहाज पुरानो विमानस्थलबाट पश्चिम मोडेर नयाँ विमानस्थलमा लाने क्रममा एक्कासि ढलपल ढलपल हुँदै सेती नदीको खोँच डिलको बाँसको थानमा छुन पुग्यो । अनि ठूलो आवाजसहित भुईमा खस्यो । हामी दौडेर त्यहाँ पुग्दा आगोको मुस्लोसहित धुवाँ आइरहेको थियो”, उहाँले भन्नुभयो ।

“दुर्घटनास्थलमा जान सक्ने अवस्था थिएन । केही समयपछि आएका सुरक्षाकर्मीले पानीको फोहोराले आगो निभाउने प्रयास गरे, केही समयपछि आगो नियन्त्रणमा आएको भए पनि सेती खोँचमा रहेको लास जलेको गन्ध आइतबार दिनभरि आइनै रहेको छ”, स्थानीय सापकोटाले भन्नुभयो । सेती खोँचको पूर्वी भागका एक दर्जन घर विमानचालकले बचाएर सेती खोँचमा खसालेको अनुमान स्थानीय प्रीती गुरुङ गर्नुहुन्छ ।

अर्का प्रत्यक्षदर्शी स्थानीय मनिषा परियारले भन्नुभयो, “हामी त घाम तापेर बसिरहेका थियौँ, जहाज कोल्टे–कोल्टे हुँदै आयो, के भएछ भनेर हेरियो”, उहाँले भन्नुभयो, “त्यसको एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो, अनि त हामी झनै आत्तियौँ ।”

विमान कोल्टे परेको दुईतीन मिनेटमै सेतीको खोँचमा ठोक्किएको उहाँले जानकारी दिनुभयो । विमान खोँचमा खसेकाले बस्ती जोगिएको उहाँको भनाइ थियो । “कोल्टे कोल्टे हुँदै वारि ठोकिएर पारि जोतिन पुग्यो, अनि आगो बल्न सुरु भइहाल्यो”, मनिषाले भन्नुभयो, “धन्न हाम्रै घरमाथि खसेन जहाजको क्षति त हुन्थ्यो नै हाम्रो पनि बिचल्ली हुन्थ्यो ।”

आगो बल्न थालेपछि बाल्टीमा पानी लिएर गए पनि उद्धार गर्न नसकेको उहाँले बताउनुभयो । केही स्थानीयले प्रहरीलाई खबर गरे पनि जलिरहेको जहाज हेर्नुभन्दा अर्को उपाय नभएको उहाँको भनाइ थियो । “एकै छिनमा आगो बल्न सुरु भयो । हामीले बाल्टीमा पानी बोकेर त गयौँ तर त्यसले के हुन्थ्यो रु” उहाँले भन्नुभयो, “कसैले प्रहरीलाई फोन गर्न तिर लाग्यौँ । केही छिनमा बोरिङको ट्याङ्कर पनि आयो त्यसपछि दमकल, एम्बुलेन्स, प्रहरी, आर्मी सबै आए । अनि बल्ल हामीलाई बाँच्नेहरु बाँच्छन् कि भन्ने भयो ।”

पोखराको सेती खोँचमा आज बिहान भएको विमान दुर्घटनामा परेकामध्ये ४ः३० बजेसम्म ६२ वटा शव निकालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो ‘डेमो’ उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटिआर विमान दुर्घटना भएको यो पहिलो घटना भएको बताइएको छ ।

उक्त विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए । जहाजमा नेपाली ५३, भारतीय नागरिक पाँच, रसियन चार, आयरल्यान्डका एक, अस्ट्रेलियन एक, अर्जेन्टिनी एक, कोरियन दुई, फ्रान्सेली एक गरी ६८ यात्रु र चालक दलका चारसदस्य थिए । जहाज खोँचमा परेकाहरूकाले उद्धारमा कठिनाइ आएको उद्धारमा खटिएका सुरक्षाकर्मी बताउँछन् ।रासस

ताजा

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन

२०८३ जेष्ठ १५ गते, शुक्रबार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal