सेतो पुतलीका कारण आँखामा लाग्ने रोग ‘सापू’ फैलँदै

बुनु थारु

काठमाडौँ,३० भदौ सोमबार लुम्बिनी आँखा केन्द्रमा गुल्मीका एक १० वर्षीय बालक आँखाको सबै पत्रमा पिप जमेको लक्षण लिएर आए । उनलाई चिकित्सकले ‘सापू’को शंका गर्दै शल्यक्रिया गरे ।  चिकित्सकका अनुसार उनमा सुधार आउन ३–४ दिन लाग्नसक्छ तर, आँखा नदेख्ने सम्भावना प्रबल छ ।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)की सहप्राध्यापक तथा तिलगंगा प्रतिष्ठानकी युभिआइटिस विशेषज्ञ डा. अनु मानन्धरका अनुसार सापुका लक्षण देखिएका तुरुन्तै अस्पताल जानुपर्छ । त्यसका लक्षणहरु भनेका अचनाक एउटा मात्र आँखा रातो हुने, उज्यालो हेर्दा गाह्रो हुने, आँखाको गेडी दुख्ने र दृष्टि एकदम छिटो कम हुने हुन्छन् ।‘यो रोग लागेको आँखामा सबैलाई दुखाइ नहुन पनि सक्छ । चिप्रा लाग्दैन । आँखाको डिल सुनिनसक्छ । आँखाको नानीमा सेतो टल्किएमा त्यो सापु हुनसक्ने सम्भावना धेरै हुन्छ,’ उनले भनिन् ।

सामान्यतया प्रत्येक दुई वर्षमा देखिने आँखा रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) हाल देखिन थालेको छ । यो आँखाको रोग प्राय भदौदेखि मंसिर महिनामा देखिन्छ ।

नेपालमा मात्रै देखिने रोग ‘सापू’ कस्तो हो ?

आँखारोग विशेषज्ञ डा. मदन उपाध्यायले यो रोग सन् १९७५ मा पत्ता लगाएका हुन् । यो रोग पहिलोपटक पोखराको नारायणटार भन्ने ठाउँमा देखिएको थियो र अहिले पनि बढी केस पोखरा आसपासका क्षेत्रमा देखिँदै आएको छ ।

सापू नेपालमा मात्र देखा परेको एउटा यस्तो रोग हो जुन विगत ४६ वर्षदेखि वर्षायामपश्चात एक–एक वर्ष बिराएर बढीजसो बालबालिकाहरुमा देखिने गरेको छ । खासगरी मध्य नेपालको पहाडी भेगमा धेरै देखिएको यो रोगका बिरामीहरु वर्षायाम सकिनेबित्तिकै अर्थात भदौदेखि मंसिरमा महिनामा देखापर्छन् ।

बीपी कोइराला लायन्स नेत्र अनुसन्धान केन्द्रकी सहप्राध्यापक तथा युभिआइटिस स्पेसलिस्ट डा. रञ्जु खरेल सिटौला भन्छिन्– ‘अहिलेसम्म देखिएका केसअनुसार यो रोग सधैं एउटै आँखामा हुन्छ र अर्को आँखाबाट अर्कोमा सर्दैन । साथै एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्दैन र प्राय: बालबालिकामा नै देखिएको छ । यो रोग लागेर पीडित हुनेमा ६० देखि ७० प्रतिशत बालबालिका नै छन् भने बाँकी वयस्क छन् ।

उनले उपचारको क्रममा अस्पतालमा भएका बिरामीहरुको जाँच गर्दा आँखामा पुतलीका रौँहरु पनि पाइएको बताइन् । तर, सेतो पुतलीको सम्पर्कमा नआएका वयस्कमा पनि यो समस्या देखा परेको छ ।

तिलगंगाकी युभिआइटिस स्पेसलिस्ट डा. अनु मानन्धर भन्छिन्– ‘यो रोगलाई सिजनल एन्डप थालमाइटिस पनि भनिएको छ । यो रोग लागेको आँखाभित्र पिप भरिन्छ । सापू रोग लागेका आँखाहरुमा कडा खालको ब्याक्टेरियाको संक्रमणको पनि पुष्टि भएको छ । अनुसन्धानबाट एक प्रकारको सेतो पुतली (बत्तीमा आउने पुतली) यस रोगको प्रमुख जोखिम कारक रहेको पत्ता लागेको छ ।’

सेतो धर्से पुतलीको संसर्गबाट यो रोग लाग्ने अध्ययनहरुले पनि देखाएका छन् । नेपालमा खासगरी पोखरा आसपासका जिल्लाहरुमा बढी मात्रामा देखा पर्ने दृष्टिनाशक आँखाको रोग हो ।

यो रोग संक्रमण गराउने पुतली कसरी चिन्ने त ? ‘अहिलेसम्मको अध्ययनले सेतो पखेटामा कालो तेर्सो धर्को भएको सेता पुतली संक्रमणको मुख्य कारक मानिएको छ । यसको शरीरको अन्तिम भागमा बाक्लो खैरो रौँजस्तो थुप्रिएको हुन्छ । त्यो रौँभित्र विषादी हुन्छ,’ डा. रञ्जुले भनिन् ।

डा. रञ्जुका अनुसार छिट्टै नै सिक्वेन्सिङबाट सापूको यकिन कारण पत्ता लगाउने काम भइरहेको छ । जनचेतना पुगे धेरैहदसम्म यसको केस घट्ने उनको भनाइ छ ।

तत्काल उपचार नपाए आँखाको ज्योति गुम्ने

चिकित्सकहरुका अनुसार धेरै संख्यामा यो रोग नदेखिए पनि यसको प्रभाव भने ठूलो रहेको छ । उनीहरुका अनुसार यो आँखाको एक डरलाग्दो रोग नै हो । यो रोग लक्षणहरु देखा परेको गम्भीर केसमा २ देखि ४ घण्टामै आँखाको दृष्टिसमेत गुम्न सक्छ ।

तिलगंगाकी डा. अनु भन्छिन्– ‘यसको उपचार आँखामा आइ ड्रप्स मात्र हालेर हुँदैन । एन्टिबायोटिक इन्जेक्सन हाल्छौँ । बिरामी समयमा आए परिणाम राम्रै आउँछ । ढिलो भए आँखा भित्रको पिप पानी सफा गर्ने सर्जरी भिट्रेक्टोमी गरिन्छ । तैपनि आँखालाई पहिलाकै जस्तो सामान्य रुपमा राख्न सकिँदैन । ज्योति पनि आंशिक रुपमा मात्र आउन सक्छ ।’

विशेषज्ञका अनुसार आँखामा हुने ३ पत्रमा पिप जमेको खण्डमा तुरुन्त अपरेशन गरेर पिप फाल्नुपर्ने हुन्छ । ४८ घण्टा देखि ७ दिनमा आँखाको भित्री पत्र कुहिने र अन्धोपन नै हुन्छ । साथै महिनादिन पछि आँखै सुकेर जाने समेत हुनसक्छ ।

गण्डकी प्रदेशमा धेरै

बीपी कोइराला लायन्स नेत्र अनुसन्धान केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार मंगलबारसम्मको तथ्यांकमा भदौको २ हप्तामा ४२ जना यो समस्या लिएर अस्पताल पुगेका छन् ।

सबैभन्दा बढी ३२ जना गण्डकी प्रदेशका रहेका छन् । पोखरा आसपासको क्षेत्रमा बढी देखिने यो रोग अहिले बाग्लुङमा पनि धेरै संख्यामा देखिएको तथ्यांकले देखाउँछ । ३२ जनामा ६० प्रतिशत बाग्लुङका रहेका छन् । लुम्बिनी प्रदेशका पनि ७ जनामा यो समस्या देखिएको छ । यस्तै वाग्मती प्रदेशमा २ जनामा तथा प्रदेश १ मा एकजना यो समस्या देखिएको छ । यो तथ्यांक २ वर्ष अगाडिको भन्दा बढेको पाइएको छ ।

बीपीकी डा. रञ्जुका अनुसार २ वर्षअघि ४ महिनामा ३५ जनासम्म बिरामी देखिएकोमा अहिले दुई हप्तामै ४२ जना पुगिसकेका छन् । उनले यस रोगबारे जनचेतना फैलाउन टिकटक, पम्पलेट, सामाजिक सञ्जालबाट सचेतनाको कार्यक्रमहरु अगाडि बढाइरहेको बताइन् ।

कसरी बच्ने ?

तिलगंगाकी डा. मानन्धरले यो रोगबाट केही हदसम्म बच्न सेतो पुतलीबाट टाढा बस्न सुझाव दिन्छिन् । उनका अनुसार सेतो पुतली देखिएमा बच्चालाई छुन नदिने, सेतो बत्तीमा पुतलीहरु आकर्षित हुने भएकाले घरबाहिर सकेसम्म सेतो सीएफएल बत्ती नबाल्ने, घरभित्र आए पनि किटनाशक स्प्रे गर्ने वा कागजले टिपेर फाल्ने र हात राम्रोसँग साबुपानीले धुने गर्नुपर्छ ।

यसका लक्षण तथा चिन्हरु के हुन्?

  • एक्कासि एउटा आँखा रातो हुनु
  • कडा प्रकाशमा हेर्न नसक्नु
  • कचेरा वा चिप्रा नलाग्ने
  • आँखाको दृष्टिमा तत्काल कमी हुनु
  • आँखाको कालो नानीभित्र पिप जमेको देखिनु
  • आँखाको नानी सेतो देखिनु वा सेतो भएर टल्किनु

के छन् रोकथामका उपाय?

  • सेतो धर्से पुतलीको संसर्गबाट टाढा रहने
  • सुत्ने बेला बत्ती निभाएर झुलको प्रयोग गरेर सुत्ने
  • धेरै उज्यालो सेतो बत्ती नबाल्ने
  • झ्याल, ढोकामा जाली राख्ने वा बेलुका झ्याल ढोका बन्द राख्ने
  • यो रोगको शंका लागेमा तुरुन्त आँखा उपचार केन्द्र वा आँखा अस्पताल लाने   स्रोतः कान्तिपुर

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal