तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह
स्याङ्जा,२० कात्तिक- जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नेपालीहरूको महान् चाड तिहार (दीपावली), नेपाल संवत् तथा छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ।
कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै चाडपर्वका अवसरमा सम्पूर्ण जिल्लावासीमा सुख, स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै पर्व मनाउँदा प्रचलित परम्परा, सामाजिक तथा सांस्कृतिक पहिचान र कानुनको पालना गर्न अनुरोध गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा चाडपर्वका नाममा कानुनविपरीतका गतिविधि नगर्न तथा सामाजिक सद्भाव र शान्ति सुरक्षामा असर पर्ने क्रियाकलाप नियन्त्रण गर्न विभिन्न नौ बुँदे आग्रह गरिएको छ।
सूचनाअनुसार देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा आपसी भाइचारा र आत्मीयता अभिवृद्धि हुने तथा आफ्नो संस्कृतिको संरक्षण हुने गरी अन्य धर्म, संस्कृति र परम्पराप्रति ठेस नपुग्ने गरी सौहार्दपूर्ण वातावरणमा पर्व मनाउन आग्रह गरिएको छ।
त्यस्तै, देउसीभैलो तथा नाचगानजस्ता कार्यक्रम सार्वजनिक यातायात र जनजीवनमा असर नपर्ने गरी मर्यादित एवं अनुशासित रूपमा राति १० बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ। दीपावलीका अवसरमा बिजुली तथा मैनबत्तीको प्रयोग गर्दा पनि सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।
सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने, भिडभाड तथा हुलहुज्जतजन्य गतिविधि गरी समाजमा अशान्ति सिर्जना गर्ने र अशोभनीय क्रियाकलाप नगर्न पनि सूचनामार्फत सचेत गराइएको छ।
यस्तै, सवारीसाधनको छतमा बसेर तथा झुण्डिएर यात्रा नगर्न, यात्रुसँग तोकिएकोभन्दा बढी भाडा असुल गर्ने, दुर्व्यवहार गर्ने तथा क्षमताभन्दा बढी यात्रु राख्ने कार्य नगर्न आग्रह गरिएको छ। यस्ता गतिविधि भएको पाइएमा प्रहरी कन्ट्रोल नम्बर १०० मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
दीपावलीका क्रममा प्रयोग हुने भुइँचम्पा, पटाका तथा आतसबाजीजन्य विस्फोटक पदार्थको अवैध आयात, ओसारपसार, बिक्रीवितरण तथा प्रयोग नगर्न प्रशासनले सचेत गराएको छ। त्यसैगरी, तिहार तथा दीपावलीका अवसरमा कानुनविपरीत जुवातास, कौडा, लङ्गुरबुर्जाजस्ता पैसाको हारजित हुने खेल नखेल्न पनि आग्रह गरिएको छ।
बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी, कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि गर्ने कार्य नगर्न र म्याद गुज्रिएका भाइ मसला तथा अन्य उपभोग्य वस्तुको खरिदबिक्री नगर्न व्यवसायीलाई अनुरोध गरिएको छ।
परिवारसहित घर छोडेर बाहिर जानुपर्ने अवस्थामा घरको सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन तथा यात्रा गर्दा बहुमूल्य गरगहना प्रयोगमा उचित सावधानी अपनाउनसमेत प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सूचनामा उल्लेखित आग्रह बेवास्ता गरी कानुनविपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।
ताजा
तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह
२०८३ कार्तिक २० गते, शुक्रबार
तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह
२०८३ कार्तिक २० गते, शुक्रबार
राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद
२०८३ कार्तिक २० गते, शुक्रबार
तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण
२०८३ कार्तिक १९ गते, बिहीबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ६ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ४ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ४ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक २ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ आश्विन ३१ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ आश्विन ३१ गते, शनिबार





















