मुक्तिनाथमा दर्शनार्थीको घुइँचो
गण्डकी,५ असोज- प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ । विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन् ।
यस वर्ष सोह्र श्राद्ध सुरु भएयता मुक्तिनाथमा आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । “सोह्र श्राद्ध सुरु भए यता देशका विभिन्न स्थानबाट आउने दर्शनार्थीहरू बढ्दै गएका छन्”, उहाँले भन्नुभयो, “पितृ पक्ष अवधिभर नै यहाँ दर्शनार्थी आउने गर्दछन् ।”
मुस्ताङ आएका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहिआएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो । प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ आउने गरेको उहाँले बताउँदै उहाँले यहाँ आएर कागबेनी श्राद्ध गरी मुक्तिनाथ भगवान्को दर्शन गरेमा पितृले मोक्ष प्राप्त गरी भावी सन्ततिलाई सुख, शान्ति र समृद्धि हुने विश्वास रहेको बताउनुभयो ।
मन्दिरमा आइसकेपछि दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन् । एक सय आठ धाराको पानीलाई घरघरमा तीर्थ जलका रूपमा लैजाने प्रचलन छ । प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मुक्तिनाथ धार्मिक दृष्टिका साथै पर्यटकीय रूपमा पनि उत्तिकै महत्त्वपूर्ण छ ।
हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रूपमा लिइन्छ । तपस्याका क्रममा विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको एक सय आठ धारा यहाँ रहेको प्राचीन किंवदन्ती छ । समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मन्दिर परिसरका धारामा बाह्रै मास पानी आइरहनुलाई धार्मिक महत्त्वका रूपमा हेरिन्छ ।
पछिल्ला समयमा पर्यटकको बढ्दो चापलाई लक्षित गरी मुक्तिनाथको प्रवेशद्वार रानीपौवा र आसपासका क्षेत्रमा पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्नेक्रम बढिरहेको होटल व्यवसायी जयेश गुरुङले बताउनुभयो । उहाँका अनुसार अहिले रानीपौवा क्षेत्रमा साना तथा ठुला गरी ३२ होटेलले सेवा दिइरहेका छन् ।
सामान्यदेखि राम्रो अत्याधुनिक सेवा सुविधा भएका होटेलका कारण यहाँ आउने पर्यटकलाई समस्या नहुने उहाँले बताउनुभयो । साढे चार चार दशक अघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेडी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्नुपर्दथ्यो । ठाउँठाउँबाट आएका तीर्थयात्रीले त्यहाँको रानीपौवा धर्मशाला खचाखच भरिन्थ्यो । त्यस समयमा खानेकुराका साथै ओढ्ने ओछ्याउने सामग्री पनि आफैँ घरबाट लिएर जानुपर्ने बाध्यता रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ९ का स्थानीय उमादेवी भट्टराईले अनुभव सुनाउनुभयो । पछिल्ला वर्षमा बन्दै गएका सुविधा सम्पन्न होटेलले उक्त बाध्यताको अन्त्य गरिदिएको छ ।

यहाँस्थित रानीपौवा यहाँको ऐतिहासिकताको ज्वलन्त उदाहरण पनि हो । तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुगेछन् । रानी सुवर्णप्रभासँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गरेछन् ।
सोही अनुरोधकै आधारमा सुवर्णप्रभाको निर्देशनमा मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गरिएको हो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा यहाँ धर्मशाला निर्माण गर्दा कुष्मा अर्मादीका काठ प्रयोग गरिएको हो ।
रानीले बनाइदिएको धर्मशाला भएकाले तत्कालीन समयदेखि नै यो ठाउँको नाम रानीपौवा रहन गएको हो । तत्कालीन समयदेखि नै यो धर्मशाला मुक्तिनाथमा आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको स्थानीयवासी बताउँछन् ।
मुस्ताङमा मुक्तिनाथ मन्दिरसँगै यहाँको विविधता र हिमाली जीवन अवलोकन गर्न स्वदेशी एवं विदेशी पर्यटक आउने गरेको जनप्रिय युवा क्लब ठिनी मुस्ताङका उपाध्यक्ष नीरज थकालीले बताउनुभयो ।
मुस्ताङमा सुविधा सम्पन्न होटेलसँगै ठाउँठाउँमा घरवास सुविधा पनि उपलब्ध भएको जानकारी दिँदै उहाँले केही दिन यता ठिनीस्थित थकाली सामुदायिक होमस्टे पर्यटकले भरिभराउ हुने गरेको बताउनुभयो ।
हिमाली संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्न सक्ने गरी होमस्टेले पर्यटकलाई लोभ्याइरहेको बताउँदै उहाँले परम्परागत हिमाली संस्कृतिमा आधारित घरसँगै यहाँ नजिकै रहेको हिमचितुवा गुफाले पर्यटकलाई लोभ्याइरहेको जानकारी दिनुभयो । स्थानीयले हिमाली संस्कृतिलाई जीवन्त राख्ने उद्देश्यका साथ थकाली सङ्ग्रहालय पनि सञ्चालनमा ल्याएका छन् ।
ठिनीको पर्यटनसँग हिमचितुवा गुफालाई जोड्ने प्रयास गरिएको बताउँदै उहाँले यसको पूर्वाधार व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारबाट यस आर्थिक वर्षमा २० लाख रुपियाँ विनियोजन भएको बताउनुभयो ।
सोह्र श्राद्धका कारण मुक्तिनाथ आउने पर्यटकसँगै यस क्षेत्रको अवलोकनका लागि उपयुक्त समय भएका कारण मुस्ताङभित्रने पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ”, उहाँले भन्नुभयो, “यही असोज १ गते बाट स्याउ टिप्न पनि खुला भएकाले यहाँ आएका पर्यटकले स्याउ कोसेलीका रूपमा लैजान सक्नेछन् ।”रासस
ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















