गल्याङ बजारको फोहोर व्यवस्थापन चुनौती बन्दै

गल्याङ,३१भदौ- गल्याङ नगरपालिले बजार क्षेत्रको फोहोर लामो समयदेखि वडा नं ११ को छरछरेमा व्यवस्थापन गर्दै आएको थियो । गएको जेठ २७ गते नगरपालिकाले सङ्कलन गरेको फोहोरमा अज्ञात समूहले आगो लगाएको वातावरणीय संरक्षण मञ्चका सदस्य निर्मल भट्टराईले बताउनुभयो । उहाँका अनुसार आगो १५ दिनपछि मात्र नियन्त्रणमा आएको थियो ।

आगलागीका कारण स्थानीय बासिन्दा, वायुमण्डल, वनस्पति र आँधीखोलाका जलचर प्राणीमा प्रत्यक्ष असर परेको भन्दै मञ्चले दोषीलाई कारबाही गर्न र फोहोरको उचित व्यवस्थापन गर्न नगरपालिकासहित वडा नं ३ मा निवेदन दिएको भट्टराईले बताउनुभयो ।

नगरपालिकाले आगो लगाउनेलाई कारबाही गर्न नसकेको, फोहोरको उचित व्यवस्थापन नभएको भन्दै उक्त ठाउँमा फोहर फाल्न स्थानीयले रोक लगाएका उहाँले जानकारी दिनुभयो । वातावरणीय संरक्षण युवामञ्च, स्थानीय र जनप्रतिनिधिले पटक-पटक छलफल गरेर फोहोर व्यवस्थापनको समस्या समाधान गर्न खोजे पनि सहमति जुट्न नसकेको मञ्चले जनाएको छ । बजारको फोहोर नउठ्दा गल्याङका बजारवासी कष्ट भोग्न बाध्य छन् ।

नगरपालिकाले फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने उद्देश्यसहित सुरेश सुवेदीको संयोजकत्वमा गल्याङ नगर सरसफाइ समितिसमेत बनाएको जनाइएको छ । मञ्च, स्थानीय र जनप्रतिनिधिबिच कुहिने र नकहिने फोहोर छुट्याएर मात्र साउन ७ गतेसम्म नजिकै फोहोर विसर्जन गर्ने सहमति बनेको संयोजक सुवेदीले बताउनुभयो ।

नगरपालिका र नगर समितिले वडा नं ३ छर्तिघाटमा डोजर लगाएर सरसफाइ केन्द्र निर्माण सुरु गरेको स्थानीय प्रवेश अर्यालले बताउनुभयो । “कालीगण्डकी नदीस्थित छर्तिघाट नजिकै कालीगण्डकी गुरुकुल, उत्तरबाहीनी क्षेत्र र मृत्युपछि अन्तिम संस्कार गर्ने थलो भएकाले यहाँ फोहोर विसर्जन गर्दा नदीको सभ्यतामा आँच आउँछ”, उहाँले भन्नुभयो, “फोहोर व्यवस्थापनका लागि अन्य विकल्प खोज्नु पर्छ । हामीले यहाँ विसर्जन गर्न नदिने भनेर विरोध जनाएका हौँ ।”

वडा नं ३, ७ र ११ को अन्तिम संस्कार गर्ने स्थान छर्तिघाट भएकाले यहाँ फोहोर फाल्न रोक लगाउनुपर्ने माग राख्दै वडा नं ३ का स्थानीयले जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई ज्ञापन पत्र बुझाएको स्थानीय कमल बस्यालले बताउनुभयो । नगरपालिकाले वैज्ञानिक ढङ्गबाट वातावरणलाई नबिगार्ने गरी सङ्कलन केन्द्र बनाए आफूहरूले स्वीकार गर्ने उहाँले बताउनुभयो ।

पाल्पाको रम्भा गाउँपालिका–१ ले पनि उक्त स्थानमा फोहोर नफाल्न माग राख्दै गल्याङ नगरपालिका–३ कार्यालयलाई ध्यानाकर्षण बुझाएले वडाध्यक्ष ईश्वरी काफ्लेले जानकारी दिनुभयो ।

छर्तिघाटमा फोहर विसर्जन गर्दा कालीगण्डकी नदीको सभ्यतामा असर पर्ने भन्दै उक्त काम रोक्न माग गर्दै नगरपालिकालाई विपक्षी बनाएर प्रवेश अर्यालले उच्च अदालत पोखरामा रिट निवेदन दिनुभएको थियो । अदालतले अर्यालले दिनुभएको रिटमाथि गत भदौ २६ गते सुनुवाइ गर्दै छर्तिघाटमा फोहोर विसर्जन सहितका सबै काम रोक्न अन्तरिम आदेश दिएको अदालतका न्यायधीश श्रीधराकुमारी पुडासैनीले जानकारी दिनुभयो ।

अदालतले फोहोर विसर्जन सहितका कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको तीन दिनपछि नगरपालिकाले सरसफाइ केन्द्र निर्माणको काम रोकेको स्थानीय अर्यालले बताउनुभयो । उहाँका अनुसार उच्च अदालत पोखराले दुवै पक्षलाई असोज १० गते सुनुवाइका लागि बोलाएको छ ।

नगरपालिका र नगर सरसफाइ समितिले कालीगण्डकीको ४८ मिटरको दूरीमा रहेको सार्वजनिक वन फँडानी गरी फोहोर फाल्ने ठाउँ निर्माण गर्न लागेकाले अदालतमा निवेदन दिनुपरेको निवेदक अर्यालले बताउनुभयो । “कालीगण्डकी नदीको धार्मिक, वातावरणीय, मानव स्वास्थ्य र पर्यटकीय दृष्टिकोणले निकै महत्त्व छ,” उहाँले भन्नुभयो, “यहाँ फोहोर विसर्जन सहितका काम नगर्न पटक-पटक नगर प्रमुखलाई भेटी वार्ता र पत्राचार गर्दा पनि काम नरोकिएपछि कानुनी उपचार खोज्न बाध्य भयौँ ।”

नगरपालिकाले फोहोर व्यवस्थापन वैज्ञानिक र वातावरण मैत्री तवरले गर्न खोजेको नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने तिमल्सिनाले दाबी गर्नुभयो । उहाँले छर्तिघाटस्थित सरसफाइ केन्द्रमा फोहर विसर्जन गर्ने नभएर फोहरलाई वर्गीकरण गरिने बताउनुभयो ।

“देशका कतिपय पालिकाहरूमा फोहोरलाई मोहोरमा परिणत गरेको अवस्थामा गल्याङ नगरपालिकाले पनि त्यस्तै अभ्यास गरिने योजनाका साथ सरसफाइ केन्द्र निर्माणको काम थालिएको हो”, उपप्रमुख न्यौपाने भन्नुभयो, “फोहर सङ्कलन केन्द्र बनाउन लागिएको विषयलाई अतिरञ्जित गर्न खोजिएको हो ।”

उहाँले कुहिने फोहोरको कम्पोस्ट मल बनाउने, पुनः प्रयोग गर्न मिल्नेलाई प्रयोग गर्ने र नमिल्नेलाई कच्चापदार्थका रूपमा विभिन्न उद्योगमा पठाउने तयारीअनुरूप काम अगाडि बढाइएको बताउनुभयो । न्यौपानेले गल्याङको फोहर व्यवस्थापन सबैको साझा विषय भएकाले सहमति र सहकार्यको बाटोमा लाग्न सकिने बताउनुभयो ।रासस

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal