रारामा तैरिएको सम्भावना
मौसम चिसो थियो, गमगढीको सडक किनारमा केही ठाउँमा बरफ सिसा झैँ टल्किन्थ्यो । मुगुको आकाशमा माघ १ गते बिहान हलुका बादलसँगै सूर्यका किरण देखा परेका थिए । रारा घुम्न जाने योजना अघिल्लो दिन नै बनिसकेको र कार्यालय बिदाको मौकामा घुम्ने योजनामा खासै असर गरेन जाडोले । काठमाडौँबाट आएका पदमराज जोशी, नगेन्द्रप्रसाद भट्ट र गोकर्णप्रकाश भट्टसँगै म पनि त्यो दिन पाँचौँ पटक रारातालको यात्रामा निस्किएँ । त्यो दिनको गन्तव्य केवल यात्रा मात्रै थिएन, त्यो यात्रा अनुभूति, संवाद र सम्भावनाको खोज पनि थियो ।
हाम्रो यात्रा गमगढीबाट सुरु भएको थियो । गमगढी मुगुको प्रशासनिक केन्द्र मात्र होइन, गमगढी आफैँमा कर्णालीको एउटा जीवित कथा हो– जहाँ पहाडका सुस्केरा, मानिसका सपना र सीमितताबिचको सङ्घर्ष एकसाथ देख्न सकिन्छ । बिहानको चिसोमा न्यानो कपडा समाल्दै हामीले यात्रा सुरु गर्दा गमगढीका सडक किनारमा आगो तापेर पातलो लुगामा बसेका मानिस पनि देखिन्थे ।
त्यो दिन माघीपर्व भएकाले नगरबस चलेको थिएन । भाडामा चल्ने जिपका चालक पनि माघी मनाउन घर जाने हतारमा थिए । सल्लेरीसम्म जान जिप खोज्दै गर्दा प्रतिव्यक्ति पाँच सय रुपियाँ भाडा दिए जाने भनेर एक जना जिपचालकले सहमति जनाए तर पेट्रोल हाल्ने समयमा जिपमा समस्या आएर जिप जान्छ कि जाँदैन ? भनेर केही समय तनावमा बस्नु प¥यो । बल्ल ९ बजेतिर जिपमा गमगढीबाट सल्लेरीको यात्रा तय भयो । पदमराज जोशीले सडक, बाटो, मानिस र परिवेशको फोटो, भिडियो मोबाइलमा कैद गरिरहनुभएको थियो । नगेन्द्रप्रसाद भट्टको दृष्टि विकास र सामाजिक संरचना, धार्मिकतातर्फ केन्द्रित थियो, “यहाँको पर्यटनसँग स्थानीयको जीविकोपार्जन कसरी जोडिन्छ ?” भन्ने प्रश्न बारम्बार उठाउनुहुन्थ्यो । गोकर्णप्रकाश भट्ट राजनीतिक र नीतिगत कोणबाट कर्णालीलाई पढिरहनुभएको थियो । गमगढीबाट ४९ मिनेटको यात्रापछि हामी सल्लेरी पुग्यौँ । सल्लेरी कुनै ठुला संरचनाले होइन, सादगीले सुन्दर लाग्ने ठाउँ हो, राराको प्रवेशद्वार हो । त्यहाँको चिया पसलमा बसेर लिएको तातो चियाको चुस्कीले शरीरसँगै रारा घुम्न जाने भनी मन तताएको थियो, मन फुरुङ्ङ बनाएको थियो । सल्लेरीमा नेपाली सेनाको प्रवेशद्वारबाट अगाडि बढ्दै मिलीचौरसम्म गाडीमा गयौँ । यहाँबाट अगाडि गाडी नजाने भएकाले पैदलयात्रा गर्दै अघि बढ्यौँ । हिँड्दै हामीले यात्राका दृश्य भिडियोमा कैद गर्न थाल्यौँ । गोकर्ण भट्टले भ्लगसमेत बनाउनुभयो । बाटोछेउमा भेडा चराउँदै गरेका भेडा गोठाला, हावामा हल्लिएका रुख, टाढा देखिने पहाड– यी सबै क्यामरामा मात्र होइन, मनमा पनि सुरक्षित हुँदै गए ।
क्यामरा चलिरहँदा संवाद पनि चलिरह्यो । “यी दृश्य केवल सुन्दरता होइनन्,” गोकर्णप्रकाश भट्टले भन्नुभयो, “यी राज्यले हेर्नुपर्ने सम्भावना हुन् ।” त्यो भनाइले यात्रालाई अझ अर्थपूर्ण बनायो । मिलीचौरबाट लगभग ३९ मिनेटको हिँडाइपछि रारातालछेउ पुग्यौँ । रारालाई यस पटक देख्दा शब्द थोरै भए, अनुभूति धेरै । निलो पानी, वरिपरि उभिएका वन र त्यसको काखमा फैलिएको शान्ति– रारा केवल ताल होइन, प्रकृतिको मौन कविता हो । यो त धर्तीकी अप्सरा नै हो । पहिलो पटक रारा देख्ने सहयात्रीले त्यो प्रकृतिको अनुपम सौन्दर्य देखेर हर्षविभोर हुनुभयो । जीवनमा सबैले एक पटक आफ्नै आँखाले देख्नैपर्ने सुन्दर ताल रहेछ भन्न थाल्नुभयो । तालछेउ उभिएर फोटो, भिडियो खिच्यौँ । क्यामराको फ्रेमभित्र राराको सौन्दर्य कैद भयो तर त्यो सौन्दर्यको गहिराइ क्यामराले मात्र समेट्न सक्दैनथ्यो । पदमराज जोशीले भन्नुभयो, “रारा फोटोमा सुन्दर देखिन्छ तर प्रत्यक्ष अनुभव त अझै गहिरो छ ।” राराको पानी कञ्चन देखिन्थ्यो । बिचसम्म निलोकालो फरक फरक रङ देखा परेको थियो ।
तालको चारैतिर हरियाली एकनासको जङ्गल, चराचुरुङ्गीको चिरबिर आवाज, माछा र हाँसको तालमा पौडाइ, डुङ्गाबाट ताल परिक्रमा, घोडचडी, मौसम अनुसारका रङ्गीबिरङ्गी सयौँ प्रकारका फूल अनि तालको छाल, तालको चारैतिर घुम्ने बाटो, आकाशको तालमा पर्ने प्रतिविम्ब यी सबै दृश्य साँच्चै लोभलाग्दा, सबैलाई मन्त्रमुग्ध पार्ने राराताल स्वर्गकी अप्सरा रानीका रूपमा परिचित प्रकृतिको अनुपम उपहार जस्तै छ ।
अटल, शान्त अवस्थामा विराजमान राराताल नेपालको सबैभन्दा ठुलो ताल हो । यो ताल समुद्री सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा अवस्थित छ । लगभग १९.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारातालको अधिकतम लम्बाइ पाँच किलोमिटर र अधिकतम चौडाइ ३.२ किलोमिटर छ भने गहिराइ १६७ मिटर छ । विश्वमै दुर्लभ स्नो ट्राउट (असला) जातको माछा यसै रारातालमा पाइन्छ । राराताल अद्भुत स्वरूपमा छ । छिन छिनमा रङ बदल्नु, वातावरण बदल्नु राराको विशेषता रहेछ ।
राराताल र तालवरिपरिका अन्य प्राकृतिक सम्पदा संरक्षण गर्न २०३२ सालमा स्थापना भएको रारा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज हो । यस राष्ट्रिय निकुञ्जभित्र विभिन्न थरीका गुराँस तथा ऋतु अनुसार फुल्ने सयौँ प्रजातिका रङ्गीबिरङ्गी फूल, वनस्पति रेड पान्डा, काँडेभ्याकुर, हिमाली कालो भालु, घोरल, मृग, कस्तुरी, रतुवा, हिमचितुवा, डाँफे, कालिज, चिर, ग्रीष्मयाममा साइबेरियाबाट समेत साइबेरियन चरा आउने गरेको स्थानीय बताउँथे ।
राराको किनारमै बसेर हामीले यसको सौन्दर्यसँगै पर्यटनका सम्भावनाबारे चर्चा ग¥यौँ । नगेन्द्रप्रसाद भट्टले स्थानीय समुदायको भूमिकाबारे जोड दिादै भन्नुभयो, “तालको सुन्दरता अनुसारको पर्यटकीय गतिविधि बढ्न नसकेको र राज्यले पनि केही गर्न नसकेको रहेछ । पोखराको फेवाताल र भारतको नैनीतालभन्दा त रारामा पर्यटकीय गतिविधि बढ्नुपर्ने हो, स्वर्गीय आनन्द प्राप्त गर्ने ठाउँ रहेछ ।”
सँगै राष्ट्रिय निकुञ्ज हुनु नेपाली सेनाको नियममा चल्नुपर्ने भौगोलिक कठिनाइलगायतका विषयमा पनि बहस भयो । यसरी गफ गर्दै जाँदा पारिबाट डुङ्गा आयो । गफ गर्दै डुङ्गामा टिकटक बनाउँदै करिब एक घण्टा लगाएर राष्ट्रिय निकुञ्जको कार्यालय भएतिर डुङ्गा सयर ग¥याँै । रारा, चङ्खेली हिमाललगायत सुन्दर ठाउँ देखिने मुर्माटप जान समय अभाव भयो तर डुङ्गाचालक स्थानीयले मुर्माटपको अनुभवसमेत लिन जोड गरिरहेका थिए । पानीमाथि डुङ्गा बग्दा राराको विशालता झन् प्रस्ट भयो । तालपारि सयर केवल मनोरञ्जन थिएन, त्यो रारालाई बुझ्ने अर्को माध्यम थियो । हरेक पलमा राराले हावाको वेगसँगै आफूलाई फरक फरक रूपमा प्रस्तुत गरिरहेको थियो । डुङ्गा सयर सकिएपछि रारा क्षेत्रमै अवस्थित नेपाली सेनाको हुटु ब्यारेकमा कार्यरत बैतडीका कृष्णानन्द जोशी र नेपाली सेनाका गुल्मपतिसँग परिचय गरेर केही समय ब्यारेकभित्र बसेर चिया पियौँ । त्यो भेटले राराको अर्को पाटो देखायो– सुरक्षा र व्यवस्थापन । चियाको कपसँगै सुरक्षा, पर्यटकको आवागमन र संरक्षणबारे कुरा भयो । सेनाका गुल्मपतिले भन्नुभयो, “पर्यटन बढ्नु पर्छ तर सुरक्षा, सरसफाइ र संरक्षणसँग सन्तुलन चाहिन्छ ।” त्यो सन्तुलन नै राराको भविष्यको आधार हो भन्ने हामी सबैले महसुस ग¥यौँ ।
चिया सकेपछि ब्यारेक हुँदै लामाचौर निस्किने बाटो तालको छेउछाउ हिँडेर आयौँ । बाटोमा त्यो दिन खासै मानिसको चहलपहल थिएन । हिँड्दा हरेक मोडमा नयाँ दृश्य भेटिन्थ्यो । कहिले पानीमा परावर्तित आकाश, कहिले वनभित्रको शान्ति– रारा एकैचोटि धेरै रूप देखाइरहेको थियो ।
एक घण्टाको हिँडाइपछि लामाचौर पुग्यौँ । त्यहा पुग्दा बेलुकाको ४ बजिसकेको थियो । दिनभरिको थकाइ र भोकले लामाचौरमा नै खाना खाने निर्णय ग¥यौँ । त्यहाँको खाना साधारण थियो तर स्वादमा आत्मीयता थियो । दिनभरको यात्रापछि त्यो भोजनले शरीरलाई मात्र होइन, मनलाई पनि विश्राम दियो ।
साँझ पर्न थाल्यो । बिस्तारै पहाडतिर अध्यारो झर्दै गयो । फेरि लामाचौरबाट हामी गमगढीतर्फ फर्कियौँ । बाटोमा पदमराज जोशीले भन्नुभयो, “कर्णालीका कथा धेरै छन् तर ती कथा राष्ट्रिय मिडियामा र नेपाल सरकारको नजरमा कमै पुग्छन् ।”
त्यो वाक्यले हामी सबैलाई केहीबेर मौन बनायो । कच्ची पहाडको ओरालो बाटो बेलुकाको चिसो हावा यो समयलाई रमाइलो मान्दै गमगढी–ताल्चा सडकखण्डको तुमगाउँमा पुग्यौँ । त्यहाँ पुग्दा अँध्यारो भइसकेको थियो । त्यहाँबाट गाडीमा केही समयमा गमगढी बजार पुगेका थियौँ । यो यात्रा केवल गमगढीदेखि रारासम्मको भौतिक यात्रा थिएन । यो संवादको यात्रा थियो, सम्भावनाको यात्रा थियो । राराको सौन्दर्यले हामीलाई मोहित ग¥यो तर त्यससँगै यसलाई दिगो रूपमा विकास गर्न तिनै तहका सरकारले धेरै गर्न बाँकी रहेछ भन्ने प्रश्नले पनि पछ्याइरह्यो ।गोप
ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















