एमाले अध्यक्षमा पुन: ओली निर्वाचित यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा

प्रकाश सिलवाल

काठमाडौँ,३ पुस- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली मुलुकको राजनीतिक क्षेत्रमा एक जुझारु, सङ्र्षशील एवं जेलनेल भोगेको नेताका रुपमा स्थापित हुनुहुन्छ । यसैगरी अध्ययनशील, निर्णयमा अडिग र आफूलाई विश्वास गर्ने नेता, कार्यकर्ता र शुभेच्छुकलाई साथसहयोगसहित यथासक्य संरक्षण गर्न कन्जुस्याइँ नगर्ने नेताका रुपमा चिनिनुहुन्छ ।

एमाले पार्टीको यसअघि दुई कार्यकाल नेतृत्व गरिसक्नुभएका नेता ओली काठमाडौमा सम्पन्न ११ औँ महाधिवेशनमा प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दा १०९९मत बढी प्राप्त गरी तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । झापा विद्रोहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै जेलनेलसहित अनेकौँ आरोहअवरोह झेलेर मुलुकको राजनीतिक केन्द्रमा रहन सफल अध्यक्ष ओलीले तीनपटक देशको नेतृत्व गरिसक्नुभएको छ ।

पछिल्लो पटक २०८१ असार ३१ मा नेपाली कांग्रेससँगको सहकार्यमा चौथो पटकका लागि मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका ओलीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

गत मङ्सिर २७ गतेदेखि काठमाडौँमा सुरु भएको ११औँ महाधिवेसनमा पार्टीभित्र पुस्तान्तरण र हस्तान्तरणको आवाज उठे पनि देश र प्रदेशबाट छानिएर आएका महाविेशन प्रतिनिधिहरूले पुनः ओलीलाई नै नेतृत्वको जिम्मेवारी सुम्पेका छन् । विघटित प्रतिनिधिसभामा दोस्रो ठुलो दलका रुपमा रहेको एमालेलाई विशेष गरी जेन्जी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटना, परिघटनाबीच नेतृत्व गर्ने चुनौती ओलीसमक्ष रहेको छ ।

अध्यक्ष ओली विसं २०७१ साउन १ गते काठमाडौँमा सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनमा पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएको थयो । यसैगरी २०७८ मङ्सिर दोस्रो साता चितवनामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट उहाँ अध्यक्ष हुनुभएको थियो ।

समृद्धि, विकास र राष्ट्यिताका पक्षमा स्पष्ट अडान राख्ने नेताका रुपमा छवि कमाउनुभएका अध्यक्ष ओली आत्मविश्वाससहित हठी नेताका रुपमा चिनिनुहुन्छ ।

नेपालको वर्तमान संविधान जारी भएसँगै २०७२ असोज २४ गते अध्यक्ष ओली पहिलो पटक मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो । यसैगरी, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को समर्थनमा २०७४ फागुन ३ गते झन्डै दुई तिहाइ बहुमतसहित उहाँ दोस्रो पटक सरकारको नेतृत्वमा पुग्नुभएको थियो ।

विसं २०७५ जेठ ३ मा एमाले र तत्कालीन माओवादी केन्द्रको एकतापछि पहिलो वरियताको अध्यक्ष हुनुभएका उहाँ पार्टीभित्रको विवाद तथा विभाजनबीच संसद् विघटन गर्ने उहाँको निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि सरकार बाहिर पुग्नुभएको थियो ।

निम्नमध्यम् वर्गीय परिवारमा बुबा मोहनप्रसाद र आमा मधुमायाका सुपुत्र पूर्व प्रधानमन्त्री ओली लोकतन्त्रका लागि लामो सङ्घर्ष, जेलनेल, पटक पटक कठोर यातना भोग्ने नेता हुनुहन्छ । पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराईस्थित इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ मा जन्मनुभएका ओली चार वर्षको उमेरमै मातृस्नेहबाट विमुख हुन पुग्नुभएको थियो । हजुरआमा रमादेवी ओलीको पालनपोषणमा हुर्किएका ओली आफ्नो बाल्यकालमा पढाइका साथै ग्रामीण किसान परिवारमा गरिने सबै काम गरेको अहिले पनि स्मरण गर्ने गर्नुहुन्छ ।

तेह्रथुम छोडेर २०२० सालमा उहाँको परिवार झापा बसाइँ सर्यो । झापाको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक परिवेशमा अन्तर घुलित हुँदै जिज्ञासु स्वभावका ओलीले किशोर अवस्थामै समाजभित्र हुने असमानता, विभेद र पक्षपातलगायतका प्रश्नहरूको उत्तर खोज्नतिर केन्द्रित हुनुभएको थियो ।

अध्यक्ष ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षबाट भएको हो । राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको विरोधसहित देशभक्ति, लोकतन्त्र, समानता, सामाजिक न्याय, भेदभावरहित समाज र जनजागरणका पक्षमा भएका आन्दोलनमा सदैव उहाँ नेतृत्वदायी भूमिकामा हुनुहन्छ ।

अध्यक्ष ओलीले लोकतान्त्रिक संरचनाहरूको सबलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको मूल्यमान्यताप्रति प्रतिबद्धता, उग्रता र भड्काउहरुबाट समाजको रक्षा र जनताको जीवनमा सुखशान्तिका लागि अविचलित रूपमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पलाई काँधमा बोकेर मुलुक र जनताको सेवाका लागि सरकारको नेतृत्वमा रहँदा र नरहँदा पनि अहोरात्र खट्ने अध्यक्ष ओली कुशल वक्ता, तार्किक र अध्ययनशील नेतासमेत हुनुहुन्छ ।

पन्ध्र वर्षको किशोर उमेरमा २०२३ सालमा उहाँ रामनाथ दाहालको अगुवाइमा रहेको माक्र्सवादी अध्ययन दलमा सामेल हुनुभएको थियो । नेता दाहालसहित पाँच योद्धालाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा गोली हानी हत्या गरेको थियो ।

माक्र्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै पूर्णकालीन राजनीतिमा जोडिएर २०२६ माघमा उहाँले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । कम्प्युनिष्ट आन्दोलनमा होमिनुभएका ओली २०२६ सालमा पहिलो पटक पञ्चायती सरकारको गिरफ्तारीमा पर्नुभएको थियो ।

पञ्चायती व्यवस्थाको विरोधका क्रममा नेता ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरू २०३० सालमा पक्राउ पर्नुभएको थियो । त्यसपछि चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन ओलीले बिताउनुभएको छ ।

अध्यक्ष ओली जेलमा रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिष्ट पार्टी (माले)को संस्थापक र २०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा (माले)को केन्द्रीय कमिटी बैठकबाट उहाँ केन्द्रीय सदस्य हुनुभयो । यसैगरी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालकका लागि लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी संहाल्नुभयो ।नेकपा (माले) समेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते नेता ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष हुनुभयो ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच पार्टी एकीकरण भएर नेकपा (एमाले) बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य हुनुभयो ।

बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ६ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित ओली २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य हुनुभयो । यसैबीच पार्टी जिम्मेवारीका क्रममा पोलिटब्यूरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुखको जिम्मेवारी उहाँले सम्हाल्नुभयो । पछि उहाँ उपप्रधानमन्त्री र परराष्ट्र पनि बन्नुभयो ।

बहुदलीय व्यवस्थाको पुनः स्थापनापछि २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको प्रथम जननिर्वाचित कम्युनिष्ट सरकारमा उहाँ पहिलो पटक मुलुकको गृहमन्त्री हुनुभयो ।

ताजा

नेल्टाद्वारा आयाेजित हिज्जे रनिङ शिल्डको उपाधि त्रिभुवन आदर्श माविलाई

२०८२ फाल्गुन २ गते, शनिबार

नेल्टाद्वारा आयाेजित हिज्जे रनिङ शिल्डको उपाधि त्रिभुवन आदर्श माविलाई

२०८२ फाल्गुन २ गते, शनिबार

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

२०८२ फाल्गुन १ गते, शुक्रबार

एकासी अर्ब घनमिटर ग्यास भण्डारण पुष्टि

२०८२ फाल्गुन १ गते, शुक्रबार

वालिङमा सिप प्रमाणीकरणः ३९ जनाले पाए सिटीभिटी लेभल–२ प्रमाण पत्र

२०८२ फाल्गुन १ गते, शुक्रबार

पूर्ण शिक्षाको जिम्मा निजी विद्यालयले लिन तयार हुनुपर्ने–अध्यक्ष अधिकारी

२०८२ फाल्गुन १ गते, शुक्रबार

कार्य सम्पादन  मूल्याङ्कनमा गण्डकी प्रदेशमा पहिलो बन्याे कालीगण्डकी गाउँपालिका

२०८२ फाल्गुन १ गते, शुक्रबार

स्थायी सरकार दिनुस, काम गर्न नसके घण्टीले बजाउनुहोलाः रवि लामिछाने

२०८२ माघ २९ गते, बिहीबार

ट्राफिक व्यवस्थापन सहज हुने

२०८२ माघ २६ गते, सोमबार

नवाैँ वालिङ महाेत्सव सम्पन्न, दस कराेड बढिकाे काराेबार र तीन लाख दर्शकले अवलाेकन गरेकाे आयाेजककाे दावी

२०८२ माघ २६ गते, सोमबार

वालिङ उद्याेग वाणिज्य संघले भन्याे अवान्छित गतिविधिमा सहभागी हुनेलाई सम्मान गरिएकाे छैन, कानूनी उपचार खाेज्छाैँ

२०८२ माघ २४ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal