भीरकोटमा विपन्न परिवारलाई ब्लाङ्केट वितरण
वालिङ,१७ पुस– भीरकोट नगरपालिका ६ मा आर्थिक अवस्था कम्जोर भएका विपन्न परिवारलाई ब्लाङ्केट वितरण गरिएको छ
छिमेकी प्रतिष्ठान स्याङ्जाले भीरकोट नगरपालिका वडा नम्बर ६ का पिन्न परिवारलाई ४७ थान ब्लाङ्केट वितरण गरेको हो । प्रतिष्ठानले वडा कार्यालयको समन्वयमा ब्लाङ्केट वितरण गरेको वडा सदस्य अशोक खत्रीले जानकारी दिनुभयो ।
यसैगरी प्रतिष्ठानले ८ र ६ नम्बर वडाका आर्थिक अवस्था कम्जोर भएका बिरामीहरूलाई आर्थिक सहयोग गरेको छ । संस्थाले टुल्की माझीलाई नगद ५ हजार रूपैयाँ, जितेन्द्र नेपालीलाई नगद १० हजार रूपैयाँ र कुल बहादुर कामीलाई नगद ५ हजार रूपैयाँ प्रदान गरेको हो ।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले प्रतिष्ठानको सामाजिक र मानवीय कार्यको प्रशंसा गर्दै समाजलाई आत्मनिर्भर बनाउन समेत सबैले योगदान दिनुपर्ने बताउनुभयो । संस्थापक सदस्य शेषकान्त रेग्मीले विरामी, विपन्नलाई सहयोग गर्नु सबैको दायित्व भएको बताउँदै प्रतिष्ठानले आयआर्जन नभएका परिवारलाई सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा पूर्व नगरप्रमुख छाँयाराम खनाल वडा अध्यक्षहरू लक्ष्मण खत्री, नन्दलाल खनाल, दिपेन्द्र केसी, समाजसेवी तोयनाथ अर्याल लगायतले संस्थाले गरेको सामाजिक कार्यको प्रशंसा गर्नुभएको थियो ।