गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन

काठमाडौँ,१५ जेठ-

“पर्दा बेग्लै झ्याल उही

खोपडी बेग्लै ख्याल उही

जिब्रो बेग्लै ¥याल उही

छाला बेग्लै स्याल उही

सत्र साल भाग दुई !” 

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अनेक दुःख र दमन सहेर सडक–सडकमा पुगेर चेतनायुक्त  कविताका स्वर घन्काउनेमध्येमा कवि अर्जुन पराजुली छुटाउन नमिल्ने नाम हो । आन्दोलनको सफलता र परिवर्तनपछि पनि भूइँ तहका जनताको आवाजलाई व्यङ्ग्य चेतसहित सशक्त र सरल कविता प्रवाहको उहाँको यात्रा अविरल बगिरहेको छ । 

खराब प्रवृत्तिलाई आफ्ना शब्दका माध्यमबाट ताकेर प्रहार गर्ने उहाँका कलमले भ्रष्टाचार, कुशासन, विकृति र विसङ्गतिका पहाडहरुलाई हल्लाइरहेको हुन्छ । जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्ने सङ्कल्प बोकेर चुनावमा होमिएका र जितेर शासन सत्तामा पुगेकाहरुले बाचाअनुसार काम नगरेको वा गर्न नचाहेको देखेर होला कवि पराजुलीका कलम नरोेकिएका हुन् । उस्तै परे दिनमा दुई/तीन वटासम्म व्यग्ङ्य कविताका हस्तलिखित तस्बिर उहाँले सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आउनुभएको छ ।  ती रचनाहरुमाथि क्रिया–प्रतिक्रिया र चर्चाको क्रम चलिरहेको हुन्छ । 

समालोचक प्रा डा रामप्रसाद ज्ञवालीले ‘जनमत’ साहित्यिक मासिक पत्रिकामा २०६३ असोजमा लेख्नुभएको छ, “कवि अर्जुन पराजुली जीवन भोगाइले घनीभूत भएर, अनुभूतिले परिपक्व भएर बनेका स्रष्टा हुन् । कुनै वाद वा सिद्धान्त पढेर, त्यसबाट प्रभावित भएर वा त्यसप्रतिको प्रतिबद्धता र अभिप्रेरणाले नभई आफ्नै जीवन सङ्घर्षको सम्प्रेषणले बनेका कविका रूपमा उनलाई लिनुपर्छ ।

आर्थिक रूपमा विपन्न परिवारमा जन्मेका अर्जुन पराजुली अन्धविश्वास, अज्ञानता र कुरीतिहरूको आदर्श बोकेको पछौटे समाजमा जन्मी, कुटो कोदालो, घाँस, वन जङ्गल, दाउरा, मेलापातको ग्रामीण परिवेशमा, धार्मिक आडम्बर बोकेको आध्यात्मिक परिवेशमा, दुई छाक खानका निम्ति कल्पिनुपर्ने अवस्थामा बाल्यकाल बिताएर हुर्केका व्यक्ति हुन् । यिनै दुःख, दर्द, अभाव, अपमान र जीवन पीडाले उनलाई सानैदेखि भावुक, दयालु र मानवीय बनाएका हुन् ।” सार्वजनिक मञ्च, भाषण, सम्मान वा लोकप्रिय हुने नाममा दिइने अन्तर्वार्ताहरुबाट टाढा रहन रुचाउने काभ्रेपलाञ्चोकको ज्याम्दीमा जन्मिएका कवि पराजुलीले रासससँग मुलुककको वर्तमान परिस्थित र जनाकाङ्क्षाबारे खुलेर कुरा गर्नुभएको छ । 

मुलुकले १७ औँ गणतन्त्र दिवस मनाएरहँदा मध्यवानेश्वरस्थित पाठशाला स्कुलको परिसरमा फूर्तिलोरुपमा संवाद गर्दै कवि पराजुलीले गणतन्त्र आउनु ठूलो परिवर्तन भए पनि त्यस अनुसार काम हुन नसकेकामा राजनीतिक दल र नेताहरुप्रति तीव्र असन्तुष्टि व्यक्त छाड्नुभएन । जनताका हितका पक्षमा काम नभएकाले जिम्मेवारी लिनेहरुले गर्न नसकेको भन्दै उहाँ जवाफ दिने क्रममा आक्रामक देखिनुभयो । 

कविता वाचन गर्दा औँला ठड्याएर ठूलो ठूलो स्वर निकाले झैँ अन्तर्वार्ताका क्रममा पनि उहाँ उस्तै भावमा प्रस्तुत हुनुभयो । उहाँको यो आफ्नै शैली पनि हो । उमेरले साठी पुगे पनि जोश, जाँगर र चेतनाले युवा देखिने पराजुलीले गणतन्त्र आउनुलाई सुकुम्बासीले जग्गा पाएको अवस्थासँग तुलना गर्दै घर बनाउन भने अझै बाँकी रहेको टिप्पणी गर्दै भन्नुभयो, “हामी हिजो सुकुम्बासी थियौँ । आन्दोलन गरेर घडेरी जोड्यौँ । टेक्ने जमिन पाइयो तर घर बनाउन सकिएन । घर बनाउने जिम्मा लिएकाहरुले बनाउन सकेनन् वा बनाउन चाहेनन् । हामी अझै घरबारविहीन छौँ ।”

कुनै बेला सरकारी कर्मचारी रहेका पराजुली आफूभन्दा नराम्रा मान्छेको मुन्तिर बसेर काम गर्न नसकिने ठानेर र कर्मचारीतन्त्रभित्रका विकृतिबाट वाक्क भएर जागिरे जीवन छाड्नुभयो । २०४६ सालको जनआन्दोलनमा पूर्णरुपमा नागरिक अभियान र साहित्यसँग जोडिनुभएका उहाँको अनुभवमा ‘धेरै पटक प्रधानमन्त्री, मन्त्री र सांसद भइसकेकाहरुले मुलुक बनाउने जिम्मा अब युवा पुस्तालाई सुम्निुपर्छ । युवा पुस्ता र साँच्चीकै काम गर्ने इमान्दार निःस्वार्थी र सक्षमलाई नेतृत्व सुम्पनुपर्छ ।’ 

लामालामा दाह्री र पातलो अनि अग्लो शरीरको पहिचान बोेकेका पराजुलीले छोटाछोटा, प्रश्नात्मक र बिम्बात्मक उत्तर दिने गर्नुहुन्छ । सिस्नुपानी नेपालका संस्थापकसमेत रहेका उहाँले थप्नुभयो, “हाम्रो गाई बाँझो रहेको हामीले पत्ता लगाइसकेका छौँ, यो अब ब्याउन सक्दैन । फेरि यसलाई कति पटक गोरु लगाउने रु यहाँ त ब्याउनसक्ने गाईहरुलाई थुनेर राखिएको छ, उनीहरुलाई छाडिदिनुपर्छ ।”

उहाँले नेताहरुलाई नै बढी प्रहार गरेर प्रायः कविता लेख्ने गर्नुहुन्छ :

“जो खेती गर्दैन ऊ किसानको नेता !

जो मजदूरी गर्दैन

ऊ मजदूरको नेता १

जो पढाउँदैन

ऊ प्राध्यापकको नेता !

जो पढ्दैन

ऊ विद्यार्थीको नेता १

जो सबैभन्दा बुढो छ

ऊ युवाको नेता !”

तपाईं अलि धेरै नै आक्रोसित हुनुभएको हो भन्ने प्रश्न खस्न नपाउँदै उहाँको जवाफ हुन्छ, “यो मेरो आक्रोस होइन, समाजको यथार्थ हो । मलाई त केही पद वा लाभ चाहिएको छैन । म कसैलाई केही भनसुन गर्न पनि जान्न । मैले तर आवाजविहीन जनताको आवाज मात्रै बोकेको हुँ । उनीहरुको दिमागमा चेतना भर्न मात्रै कलम चलाउने गरेको हुँ ।”

तपाईंका कतिपय कवितामा अलि बढी नै पूर्वाग्रह पाइन्छ नि रु भनेर सोध्दा उहाँले सजिलै उत्तर दिनुभयो, “एउटा भित्तोमा टाँसिएर हेर्दा पूर्वाग्रह लाग्न सक्छ । तर पूर्वाग्रह घुमिरहन्छ । कुनै कुरामा पूर्वाग्रह देख्नेले उसले विपक्ष देखेकालाई प्रहार गर्दा ठीक मान्न सक्छ । मैले त जो बदमासीको शिरमा छ उसलाई हान्ने हो । अर्को कुरा पनि के हो भने अरु बेला विवाद र तमासा गरे पनि देशलाई लुट्न पल्किएकाहरु खाने र लुट्ने विषयमा एक हुन्छन् । त्यस्ता स्वार्थीहरुलाई म छाड्दिन । गरिब जनताका लागि मेरा कविताहरु औषधि बन्न सकुन् भन्ने ठान्छु । त्यसैले मलाई वा मेरा रचनालाई टाढाबाट हेरेर बुझ्न सकिँदैन । नजिकै आएर छाम्नुपर्छ ।”

देशका नेताहरुले ‘सरकारमा तँ किन गएको, म जानुपथ्र्यो, मलाई छोड’ भन्ने कुरामा हानथाप गरेर जनताका लागि काम नगरे पनि देश बिगार्ने काम नगरिदिए हुन्थ्यो भन्ने सोचका कवि पराजुली राजनीतिक दल र नेताहरु सच्चिएर जनताका पक्षमा काम गर्नुको विकल्प देख्नुहुन्न । समाजको विकासमा अरुको पनि भूमिका हुन्छ तर राज्यले नै नेतृत्व लिनुपर्ने भएकाले अरुले गरेर पार नलाग्ने अनि सरकार इमान्दार भएमा जनताले साथ दिने उहाँको भनाइ छ । बागमती सुधार अभियानका क्रममा वर्षौ काम भए पनि नदी शुद्ध नभएको उदाहरण दिँदै उहाँले मुहान नै शुद्ध हुनुपर्ने तर्क प्रस्तुत गर्नुभयो ।

राजनीतिक दलका नेतृत्वकर्ताले सँधै आफूले नेतृत्व लिने र जनताका काम नगर्ने हो भने देश र गणतन्त्रको हालत झन् खराब हुने चिन्ताले पराजुलीको टाउने दुखिरहन्छ । उहाँलाई माइग्रेन्टको समस्या पनि छ । “दलहरुभित्रका युवा र इमानदारहरु ढुङ्गाले थिचेको पहँलो दूबो भएर रहेका छन् । ढुङ्गा हटाइदिने हो भने दूबोले हरियो भएर निस्कन पाउँथे ।” चित्त नबुझे साहित्य र पत्रकारिता क्षेत्रमाथि पनि प्रहार गर्न पछि नपर्ने स्रष्टा पराजुलीले भन्नुभयो, “हिजो आन्दोलनमा नेतृत्व गरेको थिएँ भन्दैमा त्यसलाई उपदानका रुपमा खान पाउनुपर्छ भन्ने सोच्नु हुँदैन । युवाहरु देशमा दाल, भात खान नपाएर विदेशमा काम गर्न लाइन लागेर गइरहेका छन् । जनता भोकै बसेर हिजोका त्यागीका पूजा मात्रै गरेर बस्न सक्दैनन् । सानो उपलब्धि भए पनि खुसी हुने जनतालाई आधारभूत आवश्यकता पूरा गर्न हाम्रा नेताहरु सक्षम हुनुपर्छ ।”

स्वतन्त्र र सार्वभौम नेपाललाई विकसित हुन नदिने कुनै विदेशी तत्व भए पनि त्यसलाई नेताहरुले जनताको साथ लिएर चिरेर अघि बढ्न आग्रह गर्ने कवि पराजुली गणतन्त्रको लटरम्म फल लाग्ने बेला बालीमा असिना परेर सबै बाली नष्ट भए जस्तो आउन नहुनेमा सचेत हुनुहुन्छ । अन्त्यमा उहाँले जनतामा चेतनाका शक्ति कामय रहनुपर्ने आह्वानसति सटिक जवाफ दिनुभयो, “हामीले हाम्रो टाउको लाई टाउको रहन दिनुप¥यो । दिमागलाई विकृतिको कन्टेनर बनाउनु भएन । जसले जे भने पनि पत्याउनु भएन । सत्य र गलत पहिचान गरेर देश बचाउन लाग्नुपर्यो ।” रासस

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal