एघार घण्टाभन्दा बढी विद्यालय खाेलेर नमुना बनाइँदै जीवनज्याेति

वालिङ,२ फागुन- शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमुना अभ्यास थालेको छ । स्याङ्जाको बिरुवा गाउँपालिका ७ कुसुमभञ्ज्याङमा रहेको जीवनज्योति माविले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई झण्डै १२ घण्टा विद्यालय हाताभित्रै शिक्षकको निगरानीमा राखेर सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने मुख्य उद्देश्यसहित विद्यार्थीलाई विद्यालयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिने गरिएको विद्यालयका प्रधानाध्यापक सामबहादुर गुरुङले बताउनुभयो । “यस विद्यालयमा ६ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थी बिहान ७ बजेदेखि बेलुका साढे ६ बजेसम्म विद्यालयमै हुन्छन्” उहाँले भन्नुभयो, “शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको छलफलबाट अतिरिक्त समयमा पनि विद्यार्थी विद्यालयमै रहने निर्णय गरेको हो ।”
अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई घरमा किताव पढाउन तथा सोधेका कुराहरु सिकाउन नसक्ने भएकाले विद्यालयमै राखेर सिकाउने गरिएको हो । बिहानदेखि साँझसम्म विद्यार्थीले सैद्धान्तिकका साथै व्यावहारिक ज्ञान लिने गरेका छन् । अतिरिक्त समयमा पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत आयमूलक तरकारी, मौरी, च्याउ, फलफूल, सिलाइ बुनाइलगायत सीप सिक्ने गरेका छन् ।
“बिहान ७ बजे विद्यालय आएका विद्यार्थी एकैचोटी साँझ साढे ६ बजे विद्यालयबाट घर जान्छन्” उहाँले भन्नुभयो, “गृहकार्य पनि विद्यालयमै गर्छन्, जसले गर्दा नजानेका केही कुरा भए विषयसँग सम्बन्धित शिक्षकलाई प्रत्यक्षरुपमा सोध्न पाउँछन् ।” जीवनज्योतिमा विद्यालय समय १०-४ भन्ने छैन । बिहानदेखि साँझ अबेरसम्म दैनिक कक्षा सञ्चालन हुने गरेको छ । शिक्षकले बिहानैदेखि साँझसम्म तालिका मिलाएर अध्यापन गराउँदै आएका छन् ।
शनिबारको दिनमासमेत ‘सामाजिक आन्दोलन’ नाम दिई खेलकुद, नयाँ नयाँ खोज तथा रचनात्मक कार्य, नयाँ प्रतिभाको खोजी हुँदै आएको छ । यहाँ अध्ययनरत विद्यार्थी आफैँले आफ्ना लागि शैक्षिक सामग्री किन्न सक्ने बनाउन पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी भएको उहाँले बताउनुभयो । विद्यालयले च्याउ खेती, सिलाइबुनाइ, वेल्डिङ, मौरीपालन जस्ता काम गरिसकेका छन् ।
अब केही दिनमा नै ह्याचरीबाट कुखुराका चल्ला उत्पादन गरी विद्यार्थीलाई उपलब्ध गराउने तयारीमा विद्यालय रहेको छ । बिहानैदेखि साँझ अबेरसम्म विद्यालय सञ्चालन हुने भएपछि विद्यालयले एउटा सवारी साधन खरिद गरी सञ्चालनमा ल्याएको छ । स्याङ्जाको विकट ग्रामीण भेगमा रहेको जीवनज्योतिले शैक्षिक क्षेत्रमा उदाहरणीय काम गर्दै आएको छ । ग्रामीण भेगबाट बसाइँ सरी शहरी क्षेत्रमा जाने क्रमलाई रोक्न गाउँमै गुणस्तरीय शिक्षा दिने अभियान थालिएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले दश लाख, बिरुवा गाउँपालिकाले पाँच लाखको सहयोग र स्थानीय समुदाय, अभिभावक, शिक्षकले दिएको चन्दाबाट तीस लाखमा बस खरिद गरेको छ । विद्यालयमा दैनिक प्रधानाध्यापक फेर्ने गरिएको छ । शिक्षकभित्रैबाट दैनिक प्रधानाध्यापक फेरी आलोपालोमा प्रशासन चलाउने अभ्यास पनि जीवनज्योतिले गरेको छ । रासस

ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
२०८२ असार ३१ गते, मंगलवार
सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
२०८२ असार ३१ गते, मंगलवार
स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
बुद्धको प्रतिमा र राताम्मे पहाड
२०८२ असार २५ गते, बुधबार
स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित
२०८२ असार २५ गते, बुधबार
मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
२०८२ असार २४ गते, मंगलवार
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
२०८२ असार २४ गते, मंगलवार
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती
२०८२ असार २० गते, शुक्रबार
मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद
२०८२ असार २० गते, शुक्रबार
भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
२०८२ असार १९ गते, बिहीबार