भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा

वासुदेव पौडेल

गण्डकी,११ साउन- तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् ।

प्रकृतिका साथी संस्थाको आयोजनामा हरेक वर्ष उक्त क्षेत्रमा गर्दै आइएको वन्यजन्तु अनुसन्धान विधि तालिमका क्रममा उक्त सङ्ख्यामा चराका प्रजाति फेला परेका हुन् । प्रकृतिका साथी संस्थाले देशका विभिन्न जिल्लाबाट सहभागी १३ जनालाई उक्त क्षेत्रमा १९ दिने तालिम प्रदान गर्दै आएको संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।

तालिमका क्रममा सहभागीलाई जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधिलगायत वन्यजन्तुका विषयमा जानकारी दिने गरिएको उहाँले बताउनुभयो । “नेपालमा मात्रै पाइने काँडे भ्याकुर भैँसेगैँडामा पर्याप्त पाइन्छन्”, उहाँले भन्नुभयो, “चाइना मङ्गोलियाबाट बसाइँ सर्ने सिकारी प्रजातिका चराहरू पनि यही स्थान भएर नेपालको तराईका साथै भारततिर जाने भएकाले चरा अध्ययनका लागि यो महत्वपूर्ण गन्तव्य हो ।”

तनहुँ र स्याङ्जाका विभिन्न भागलाई जोड्ने कूल ७२ किलोमिटरअन्तर्गत रहेको सहश्राब्दी पदमार्गको ५२ किलोमिटर वनजङ्गल क्षेत्रमा पर्ने भएकाले चराचर, पर्यावरणलगायत वन्यजन्तु र वातावरण सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि यो आकर्षक गन्तव्य बन्दै गएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो ।

यस क्षेत्रमा काँडे भ्याकुरदेखि धेरै प्रजातिका चरा, वन्यजन्तु र वनस्पति पाइने भएकाले पर्यावरणीय अध्ययन तथा अनुसन्धानका लागि यो स्थल महत्वपूर्ण रहेको उहाँको भनाइ छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ‘मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टे’ सञ्चालन गरिएको गुरुङले बताउनुभयो । उहाँका अनुसार होमस्टेमा २० जनासम्म पर्यटक अटाउँछन् ।

अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खलाका साथै पहाडी दृश्यावलोकनका लागि पनि भैँसेगौँडा पुग्नैपर्ने गन्तव्य भएको बताउँदै गुरुङले पछिल्लो समय यहाँ आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको बताउनुभयो । गाउँको विकासका लागि सामूहिक प्रयासमा मेकाडामिया नटको खेतीसमेत गरेको भन्दै उहाँले स्थानीय उत्पादनमा जोड दिइएको बताउनुभयो ।

पछिल्ला केही वर्षयता दुःख गरेर लगाएको खेती बाँदरले खाइदिने र असिनाले झारिदिँदा किसान मर्कामा पर्न थालेका भन्दै अध्यक्ष गुरुङले स्थानीयको जीवनस्तार सहज बनाउन सामूहिक प्रयासमा मेकाडामिया नटको खेती सुरु गरिएको बताउनुभयो । बाँदरले धेरै क्षति पुर्‍याउन नसक्ने भएकाले स्थानीय पनि यस खेतीतर्फ आकर्षित बन्दै गएका उहाँको भनाइ छ । 

‘राङभाङ मेकाडामिया नट उत्पादन कृषक समूह’मा आबद्ध भई यहाँका २५ कृषकले पाँच सय बिरुवा लगाएकामा केहीले उत्पादनसमेत दिन थालेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार भैँसेगौँडा आसपासका ओरष्टे, कोल्मा, काउले, बाकोटलगायत स्थानमा व्यक्तिगतरुपमा पनि कृषकले यो खेती गरेका छन् । भैँसेगौँडालगायत आसपासका क्षेत्रमा हालसम्म एक हजार पाँच सयभन्दा बढी बोट लगाइसकिएको उहाँले बताउनुभयो ।

अध्यक्ष गुरुङका अनुसार विसं २०७२ मा कृषि अनुसन्धान केन्द्र, मालेपाटन पोखराको पहलमा साविक राङभाङ गाविसका २५ कृषकले सामूहिकरुपमा मेकाडामिया खेतीका लागि पहिलोपटक नर्सरी तयार गरेका थिए । उत्पादनसँगै वरपरका पर्यटकीय सम्भावनायुक्त स्थललाई संरक्षण र विकास गर्न पनि यहाँका स्थानीयले जागरुकता देखाएका छन् । भैँसेगैँडासँगै जोडिएको स्याङ्जाको बिरुवा गाउँपालिका–३ स्थित रहस्यमय भ्वाङलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने प्रयास थालिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

सयौँ वर्ष पुरानो अनुमान गरिने भ्वाङलाई साहसिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्न स्थानीय राङभाङ युवा क्लबले सक्रियता देखाएको छ । प्राचीनकालमा यस ओडारमा भूत बस्छ भन्दै बालबालिकालाई जान रोक्ने गरिएको स्थानीय बताउँछन् । 

ठाढो भ्वाङ रहेको यस ठाउँमा विसं २०७० मा केही युवाले डोरीको सहायताले प्रवेश गरेका थिए । त्यसपछि भ्वाङभित्रको वास्तविक अवस्थाबारे थप अध्ययन एवं अनुसन्धान गर्ने उद्देश्यका साथ दुई वर्षअघि साहसिक पर्यटनमा काम गरेका प्राविधिक समेतको उपस्थितिमा थप अध्ययन गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

“डोरीको सहायताले लभगभग ९० फिट गहिराइको भ्वाङमा जान सकिन्छ । तल झरेपछि दायाँबायाँतर्फ दुई जना छिर्नसक्ने अरु प्वाल पनि छन्”, उहाँले भन्नुभयो, “बुढापाकाका अनुसार भित्रबाट दायाँतर्फ अघि बढेको प्वाल हुँदै जङ्गलतर्फ र बायाँतर्फको प्वालबाट स्याङ्जाको बिरुवा निस्कन सकिने किंवदन्ती रहँदै आएको छ ।” 

भ्वाङलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले राङभाङमा स्थायी बसोबास भई हाल हङ्कङमा विभिन्न पेसा तथा व्यवसाय गर्दै आएकाको आर्थिक सहयोगमा दुई वर्षअघि तारबार गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा थप सम्भावना खोज्न विभिन्न पक्षबाट अध्ययन तथा अनुसन्धान पनि भइरहेका छन् ।

मिलेनियम ट्रेकअन्तर्गत ठाउँठाउँमा रहेको पर्यटकीय गन्तव्यलाई संरक्षण र प्रवर्द्धनमा जोड दिइएको व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो । “प्रकृति र संस्कृतिका विविधता अवलोकन गर्दै पदयात्रा गर्न पाइनु यस पदमार्गको विशेषता हो”, उहाँले भन्नुभयो, “जुनसुकै मौसममा जुनसुकै उमेर समूहका व्यक्तिलाई हिँडाउन सकिने यो पदमार्गलाई प्रवर्द्धन गर्ने कुरामा जोड दिँदै आएका छौँ ।”

नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुरदेखि अन्य विभिन्न प्रजातिका चरा, वन्यजन्तु वनस्पतिसँगै हिमाली र पहाडी भूभागको अवलोकन पनि सँगै गर्न सकिने भएकाले यहाँको पदयात्राको प्रचारप्रचारमा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।रासस 

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal