मनाङको यात्रा: कटे मनाङ, झरे मर्स्याङ्दीमा

जनक श्रेष्ठ

लमजुङ,१६ असार- घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्यो भन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी । माथि उस्तै अजङ्गको चट्टानी पहरो । यो अवस्था हिमालपारीको जिल्ला मनाङ जाने सडकको हो ।

उतिबेला अहिले जस्तो डोजर र एस्काभेटर चलाएर सडक बनाइदैनथ्यो । साँघुरो कच्ची सडक, हरेकपटक जोखिम मोल्नुपर्ने अवस्था । ठाउँठाउँमा बगेको पहिराका कारण थप जोखिमपूर्ण यात्रा । अहिले वर्षाको समयमा यही जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्रु यात्रा गर्न बाध्य छन् । यही सडक भएर दैनिक दर्जनौँ सवारीसाधन लमजुङ मनाङ आवतजावत गर्दछन् ।

मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै बेँसीसहर–चामे सडक हो । भिरैभिर र मस्र्याङ्दी नदी माथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा बेँसीसहर–चामे सडकमा ज्यानको बाजी राख्दै भगवान्को भरोसामा यात्रा गर्न यात्रु बाध्य छन् । यात्रुले यस सडक पार गरे मनाङ पुग्छन्, सडकबाट तल झरे सिधै मर्स्याङ्दी नदीमा पुग्छन् । यस्तो जोखिम मोल्नुको विकल्प छैन मनाङवासीलाई ।

जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो । जनयुद्ध र अन्य विभिन्न कारणले उक्त सडक निर्माणको जिम्मेवारी विसं २०५७ देखि तत्कालीन नेपाली सेनाले पायो । तत्कालीन सेनाले शान्ति प्रक्रिया पछि मात्रै सडक निर्माण कार्यलाई निरन्तरता दिएको थियो ।

सेनाले उक्त जोखिमपूर्ण भिरमा ज्यानको बाजी राखेर सडक निर्माण गर्न सफल भयो । सरर मटर चढेर मनाङ आवतजावत गर्ने मनाङवासीको सपना पूरा भयो । नेपाली सेना कार्यगणले विसं २०६९ मा सडक निर्माण कार्यसम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । गणका इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको नेतृत्वमा सडक निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

बेँसीसहर–चामे सडक ६५ किलोमिटर रहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । उक्त सडक लमजुङतर्फ ३५ किलोमिटरसम्म र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।

सडक निर्माण भए पनि भौगोलिक कारणले यहाँको यात्रा जोखिमपूर्ण रहँदै आएको छ । सडकको स्तरोन्नति हुन नसक्दा यहाँका स्थानीय निराश बनेका छन् । मनाङवासीसँगै, लमजुङवासी, आन्तरिक तथा बाह्य पर्यटक समेत चिन्तित छन् । यात्राका क्रममा सबैको चाहना सडक गुणस्तरीय होस् र दुर्घटना र जोखिम न्यून रहोस् भन्ने हुन्छ ।

बेँसीसहर–चामे सडक पार गर्न झन्डै छ घन्टा समय लाग्ने सवारी चालक सोम मगारातीले बताउनुभयो । “ठूलाठूला चट्टान ढुङ्गाको बीचैबीच । मस्र्याङ्दी नदीबाट तीन सयदेखि एक हजार फिटभन्दा माथिमाथि हुँदै सवारीसाधन चल्छन्”, उहाँले भन्नुभयो । यात्रा नसकिञ्जेलसम्म डराइडराइ यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।

विभिन्न कामलगायत घरायसी समान लिनका लागि जोखिमको यात्रा गर्न बाध्य भएको मनाङकावासी बताउँछन् ।

भौगोलिक संरचनाले जोखिमपूर्ण बनेको सडक बर्खायाममा बाढीले खोतलिदिने र पहिरो आउने भएकाले थप जोखि बनेको चालक मगारातीले बताउनुभयो । उहाँले समय–समयमा सडक स्तरोन्नति गरे सडक गुणस्तरीय हुने र जोखिम कम हुनेमा जोड दिनुभयो ।

“बेलाबेला ठाउँठाउँमा अवरुद्ध सडकले सवारीसाधन रोकेर बस्दा सडक भासिने हो कि ? माथिबाट पहिरो आएर ज्यानै लैजाने हो कि ? भन्ने जोखिम छ”, यस सडकखण्डका चालक रामबहादुर तामाङले भन्नुभयो । उहाँले यात्राका क्रममा माथिबाट पहिरो आउने सम्भावना बढी भएको भन्दै सडक भासिए मस्र्याङ्दीमा पुग्ने खतरा पनि उत्तिकै रहेको बताउनुभयो ।

“हामीले दैनिक जोखिमपूर्ण यात्रा गरिरहेका छौँ । पहिरो, बाढीको जोखिमका साथै सडक भासिने सम्भावना पनि छ”, तामाङले भन्नुभयो । यात्राका क्रममा बाटोमा घाइते भए वा बिरामी परेमा थप समस्या हुने गरेको उहाँको भनाइ छ । विगतको तुलनामा केही ठाउँमा सडक स्तरोन्नति भए पनि अधिकांश ठाउँमा सडक जीर्ण हुँदै जाँदा यात्रु दिनहुँ त्रसित हुँदै यात्रा गर्न बाध्य भएका उहाँले बताउनुभयो ।

ताजा

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal