स्वर्ग हो दामोदर कुण्ड

डा. बिपी बडाल

आदरणीय गुरु प्राध्यापक प्रेम शर्मासँगको दामोदर कुण्ड यात्रा अविस्मरणीय रह्यो । गुरुको ७० वर्षको त्यो जोस मेरो प्रेरणाको स्रोत बन्यो । दामोदर कुण्डको यात्रा पटक्कै सहज छैन । कठिन छ । चानचुने मुटु र कमजोर स्वास्थ्यले यो यात्रा सम्भव छैन । यात्रा कठिन छ तर अद्भुत छ । यो अत्यन्त चुनौतीपूर्ण, रोमाञ्चक र साहसिक यात्रा हो । सामान्य मानिसले यो हिम्मत नगरे नै हुन्छ । यद्यपि खाने मुखलाई जुँगाले छेक्दैन, घोडा तथा हेलिकोप्टरको पनि प्रयोग गर्न सकिन्छ, स्वस्थ मन चाहिन्छ । लेखक विष्णुप्रसाद शर्मा पराजुली भन्नुहुन्छ, “समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्ला दुई भन्ज्याङ पार गर्नुपर्ने, बाटोमा होटलको व्यवस्था नभएको, उकालो, ओरालो र भिरको बाटो हिँड्नुपर्ने, लेक लाग्न सक्ने भएकाले खाना, औषधी र कपडाको राम्रो व्यवस्था गरेर मात्र यो यात्रा सुरु गर्नु पर्छ । उत्तर, पूर्व र दक्षिण तीन दिशामा रहेका बाक्ला हिमचुचुराले घेरिएको भए पनि दामोदर कुण्ड भएको स्थल भने पाटन परेको उपत्यका हो । दामोदर कुण्ड यात्राको सबैभन्दा अग्लो धुरी बस्याक ला, बस्याकको लेक, जसलाई दामोदर पास पनि भनिन्छ, जुन ५,४५० मिटरको उचाइ पार गरेर अगाडि बढ्नु पर्दछ ।” गुरु अघि अघि म पछि पछि १६–२२ सेप्टेम्बर २०२२ को यो यात्रा साँच्चै रोमाञ्चक थियो । 

“ओ डा. साब सुन्नुस्, दामोदर कुण्डमा म¥यो भने सिधै वैकुण्ठ… के छ त नि विचार,” सरको यो ठट्टा निकै गम्भीर थियो । म केही बोलिनँ । दामोदर कुण्ड अन्नपूर्ण, धौलागिरि, नीलगिरि, भृकुटी र दामोदर जस्ता मुख्य हिमालले घेरिएको सानो उपत्यका हो । सामान्यतया देवता बस्ने स्थानलाई स्वर्ग भनिन्छ । दामोदर कुण्ड कालीगण्डकी नदीको शिर हो । यहाँ पवित्र शालिग्रामको पर्वत नै रहेको छ । बाटोमा हिँड्दा, जताततै शालिग्राम नै शालिग्राम भेटिन्छ, खुट्टाले कुल्चिनै पर्छ । के गर्नु र ? भगवान्सँग क्षमा माग्दै हिँड्नु पर्छ । संस्कृतमा यसलाई ‘शालग्राम’ भनिन्छ । यो भगवान् विष्णुको घर अर्थात् वैकुण्ठ नै हो जस्तो अनुभूति हुन्छ । यो क्षेत्र भगवान् शङ्कर मुक्तिनाथको शिर हो । यस्तै बोन्पो, बौद्ध तथा गुरु पद्मसम्भवको तपस्थल हो । यो सम्पूर्ण जीवात्मा जगत्को पहिलो उद्गम स्थल हो । शालिग्रामभित्रको फोसिल विश्वको पहिलो जीवको फोसिल हो । लगभग २० करोड वर्षअघि जुरासिक युगमा नेपालको हिमालय क्षेत्रमा टेथिस सागर थियो । टेथिस सागरमा जन्मेका जलचरहरूको अवशेष (जीवाश्म) नै शालिग्राम हो । त्यसैले यो नै विश्वको पहिलो प्राणी उत्पत्ति भएको क्षेत्र हो । विश्वको पहिलो प्राणीको अवशेष नै शालिग्राम हो । आत्मा तथा परमात्माको उद्गमस्थल हो । कालो रङको एमोनोइड जीवाश्मालाई भगवान् विष्णुको प्रतिनिधि स्वरूप मानिन्छ । त्यसैले ज्यादै मनमोहक दामोदर हिमालको काखमा अवस्थित दामोदर कुण्ड वास्तवमै स्वर्ग हो । पवित्र वैकुण्ठ हो । यहीँबाट सुरु हुन्छ कालीगण्डकीको स्वर्गीय यात्रा । दामोदर कुण्डमा गोलो आकारको एक चव्रm पनि देख्न सकिन्छ । यस क्षेत्रमा शिव, ब्रह्मा, विष्णु, देवता, ऋषि, यक्ष बास बस्न थालेको कुरा वराह पुराणमा उल्लेख गरिएको छ । सम्पूर्ण देवताको भव्य बासस्थान कैलाश पर्वत, मानसरोवर, गोसाइँकुण्ड, पाँचपोखरीजस्तै दामोदर कुण्ड हिन्दु–बोन–बौद्ध धर्मावलम्बीको एकीकृत पवित्र तीर्थस्थल भूस्वर्ग नै हो भन्न सकिन्छ । यात्रामा गुरुका यी ज्ञानगुनका खस्रा कुरा मननयोग्य छन् । 

दामोदर कुण्ड किन जाने ?

“रौसी खाएर नदी किनारमा रमाइलो गरेको छ कि छैन ?” प्राध्यापक प्रेम शर्माको प्रश्नमा मसँग फेरि पनि जवाफ थिएन । सुन्नुस् सत्ययुगमा सुन्दर लक्ष्मीतीर्थ भनिने गङ्गा नदीको किनारमा दुई युवा मस्त मदिरा पिएर नग्न रम्भा उर्वशी जस्ता युवतीसहित रमाइरहेका थिए । वातावरण पूर्ण मदमस्त थियो । अकस्मात् ‘नारायण नारायण’ भन्दै नारदमुनि स्नान गर्न आइपुग्नु भयो । नारीहरूले हतार हतार आफ्नो वस्त्र समेटेर ऋषिको सत्कार गर्न भ्याए तर पुरुषहरू भने मदिरामा मस्त थिए, होसमा आउन सकेनन् । ती दुई व्यक्ति श्रीमद्भागवत पुराणअनुसार विश्व ब्रह्माण्डकै धनी कुबेरका दुई पुत्र नलकुवर र मणिग्रीब थिए । तिनलाई नारदको श्राप प¥यो र ती दुई युवा वृक्ष भए । दाम+उदर = दामोदर– दाम्लोले पेटमा बाँधिएका भगवान् बालकृष्णकै अर्को नाम हो । त्रेतायुगमा यशोधाले श्रीकृष्णलाई ओखलमा बाँधिदिनुभएको थियो । उक्त दुई रुखमा उक्त ओखल अड्कियो । अड्किएको ओखल तान्दा ती दुई रुख ढले । त्यस स्थानबाट दुई युवा निस्किए । उनीहरूको श्राप मोचन भयो । उक्त डोरीलाई झिकेर फुत्त फालिदिनुभयो । त्यो डोरी पुगेको स्थान नै दामोदर कुण्ड हो । यसरी उक्त डोरीले गर्दा मुक्ति मिलेको हुनाले अर्थात् श्राप मोचन भएको हुनाले दामोदर कुण्डमा पुगेर स्नान गर्नाले मुक्ति प्राप्त हुन्छ । श्राप मोचन हुन्छ । जीवनमा दुःख मोचन गरेर सुखशान्ति प्राप्तिका लागि स्वर्ग जस्तो पवित्र धार्मिकस्थल दामोदर कुण्डको यात्रा गर्नै पर्छ । हुन पनि हामीलाई शुद्ध मनमा जे चिताएर गइन्छ, त्यो प्राप्ति हुन्छ भनेर बाटोमा भेटिएका धेरै यात्रीले सुनाएका थिए ।

कसरी जाने ?

यारा गाउँबाट चार वटा घोडामा हामी अगाडि बढ्यौँ । मुस्ताङ जिल्लाको लोघेकर दामोदर कुण्ड गाउँपालिकालाई चराङ, घमी, घिलिङ, सुर्खाङ र ताङ्‍ग्या गरी पाँच वटा वडामा विभाजन गरिएको छ । २०७८ को जनगणना अनुसार गाउँपालिकाको कुल क्षेत्रफल १,३४४ वर्ग किलोमिटर र जनसङ्ख्या एक हजार ४२३ रहेको छ । यस पालिकाको उत्तरमा लोमन्थाङ गाउँपालिका, दक्षिणमा वारागाउँ मुक्तिक्षेत्र गाउँपालिका, पूर्वमा मनाङ जिल्ला र पश्‍चिममा डोल्पा जिल्ला रहेको छ । यसले मनाङ र डोल्पा जिल्ला छुन्छ । लेखक विष्णुप्रसाद शर्मा पराजुलीका अनुसार समुद्री सतहदेखि चार हजार ८९० मिटरको उचाइमा हिमनदी र दामोदर हिमाल अन्तर्गतका थुप्रै हिमचुचुराले घेरिएको पाटनसहितको उपत्यकामा अवस्थित दामोदर कुण्ड गोलाकारको छ । दामोदर कुण्डमा गोलो आकारको एक चक्र देख्न सकिन्छ । फोटोमा नै उतार्न सकिने चक्र आकारको त्यो पहेँलो चव्रmलाई विष्णुको सुदर्शन चक्र भनेर पनि विश्वास गरिन्छ । कुण्डबाट निस्केको पानीले सुन र चाँदी नामका अन्य दुई कुण्ड निर्माण गरी पश्चिम दक्षिणतिर बग्दछ ।

मुक्तिनाथसम्म आफ्नो सुविधा अनुसार हवाईजहाज, सार्वजनिक यातायात तथा निजी सवारीसाधनबाट सजिलै यात्रा गर्न सकिन्छ । जोमसोमबाट जिपमा आनन्दसँग चराङ हुँदै यारा गाउँसम्म पुग्न सकिन्छ । याराबाट लुरी गुम्बा हुँदै भीमेठाँटीसम्म पनि गाडीको बाटो त बनेको छ तर अत्यन्तै डरलाग्दो छ । त्यसैले याराबाट दुई दिन जान र दुई दिन फर्किन गरी चार दिनका लागि घोडा बुकिङ गर्नु सबैभन्दा राम्रो हुन्छ । औषधी, प्रशस्त खानेकुरा, तातो पानीको थर्मस, न्यानो कपडा, बर्सादी, टेन्ट, ट्रेकिङ किट्स, नक्सा आदि अनिवार्य बोक्नु पर्दछ भनेर लक्ष्मण गोदार थापाले आफ्नो पुस्तकमा लेख्नुभएको छ । 

अनुसन्धान तथा पर्यटन 

प्राध्यापक प्रेम शर्माका अनुसार दामोदर कुण्ड क्षेत्र अद्वैत वेदान्तको प्रमाणित दर्शन क्षेत्र हो । आदि पुरुष शङ्कराचार्यको मुक्ति क्षेत्र हो । त्यसैले अद्वैत वेदान्तका विद्यार्थी तथा अनुयायीले अनिवार्य रूपमा भ्रमण गर्नु पर्दछ । वैष्णव, शैव, प्रणामी, मानव धर्मी, जैन, बौद्ध सबैको साझा तीर्थ भएको हुनाले सबैले अनिवार्य पुग्नु पर्दछ । यो क्षेत्रमा शालिग्राम, हिन्दु, बौद्ध, जैन, बोनको धार्मिक, आध्यात्मिक, वैज्ञानिक अध्ययन अनुसन्धान अत्यन्तै आवश्यक छ । द्वापर युगको समाप्तिको समयमा श्रीकृष्णद्वैपायन वेदव्यासले यज्ञानुष्ठानको उपयोगलाई एक वेदको चार विभाग गरे र यी चारै विभागहरूको शिक्षा चार शिष्यलाई दिए । यो नै चार विभाग ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको नामले प्रसिद्ध छ । पैल, वैशम्पायन, जैमिनि र सुमन्तु आदि ऋषिहरूले ती वेदको प्रचारप्रसार गरेका थिए । 

वराह पुराण, हिमवतखण्ड, गण्डकी महात्म्यको पाँचौ अध्यायमा स्पष्टसँग लेखिएको छ कि वेद व्यासको जन्म तनहुँ क्षेत्रको व्यास नगरपालिकामा भएको हो । यद्यपि कुलराज चालिसे आफ्नो लेखमा शङ्का गर्नुहुन्छ । थप अनुसन्धान गर्न पाइन्छ तर अब शङ्का गर्नु जरुरी छैन । वेद व्यासको जन्म यही पुण्य भूमिमा भएको हो । हिन्दु सनातन सभ्यताको अझै भन्नु पर्दा गङ्गा तथा सिन्धु नदी किनारमा उत्पत्ति भएका मानव सभ्यताको उद्गम बिन्दु नेपालको गण्डकी क्षेत्र हो । कसले बुझ्ने ? कसले सुन्ने ?

निष्कर्ष

गण्डकी प्रदेश स्वर्ग हो । गण्डकी प्रदेशमा जन्मेको मान्छेले फेरि जन्म मरणको चव्रmमा पर्नु पर्दैन तर गण्डकी महात्म्य बुझेको हुनु पर्छ । मुक्तिनाथदेखि कोरोला पाससम्म नै राम्रो सडक बनिसकेको छ । तिब्बतको मानसरोवर तथा कैलाश पर्वत जान यो मार्ग सबैभन्दा छोटो, सस्तो र सुरक्षित पर्दछ । लाखौँ भारतीय धार्मिक पर्यटकलाई मुक्तिनाथ, दामोदर कुण्ड हुँदै कैलाश पर्वत मानसरोवर पु¥याउन सकिन्छ तर यसतर्फ ध्यान पुग्न सकेको छैन । सम्पूर्ण सनातन हिन्दु सभ्यताको अध्ययन, अनुसन्धान तथा धार्मिक तथा पर्यटनको केन्द्र आज सुनसान छ । सरोकारवाला निकायको ध्यान यसतर्फ आकृष्ट होस् ।स्रोतःगोप

ताजा

किन गर्नुपर्छ वास्तुशास्त्र अध्ययन ?

२०८१ बैशाख २ गते, आईतवार

किन गर्नुपर्छ वास्तुशास्त्र अध्ययन ?

२०८१ बैशाख २ गते, आईतवार

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

२०८१ बैशाख २ गते, आईतवार

सेतीवेणीमा दर्शनार्थीकाे भिड फाेटाे फिचर भिडियाे सहित

२०८१ बैशाख १ गते, शनिबार

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

२०८० चैत्र ३० गते, शुक्रबार

गल्याङ महाेत्सव आजदेखि सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

नयाँ वर्षका अवसरमा होमस्टेमा घुइँचो

२०८० चैत्र ३० गते, शुक्रबार

जंगलमा लागेको आगो गाउँमा पसेपछि ढिकिडाँडामा १ घर सहित ४ गोठ जल्याे

२०८० चैत्र २७ गते, मंगलवार

आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

२०८० चैत्र २७ गते, मंगलवार

निशुल्क शिक्षाको प्रावधान भित्रका केहि लुप्त चुनौतिहरु

२०८० चैत्र २५ गते, आईतवार

एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे

२०८० चैत्र २५ गते, आईतवार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal