बोलौं, बेला यही हो
देश चुनावी संघारमा छ। राजनीतिक दलहरू घरआँगन छिरेका छन्। पाँच वर्षदेखि हराएका नेताहरू धनुष्टंकार भई नमस्कार गर्दै झुपडीमा प्रकट भएका छन्। हामीले ठान्यौं– जनतालाई सिकाउने, नेतालाई चेताउने बेला यही हो।
नेपाली बृहत् शब्दकोशले ‘राजनीति’ लाई यसरी अथ्र्याएको छ, ‘१. प्रजाको शान्तिसुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति। २. राज्यको शासन व्यवस्थासम्बन्धी नीति, राज्य सञ्चालन प्रणाली। ३. राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त।’
माफ गर्नुहोला, हामी आज यस विशेष संस्करणमार्फत नेपाली राजनीतिको निर्मम समीक्षा गरिरहेका छौं। किनकि, राजनीति राज्य सञ्चालनको मियो हो। यसको वरिपरि दाइँ गरिरहेका नेताहरू आचारहीन बन्दै गए। जनताले लडेर प्रजातन्त्र ल्यायौं। उन्नत लोकतन्त्र बनायौं। देशलाई गणतन्त्रसम्म पुर्यायौं। संविधानसभाबाट उत्कृष्टतम् संविधान पायौं। संघीयता, समावेशिता र समानता अक्षरमा लेख्यौं। तर, सुशासन देखेनौं। प्रजा र शासित नै भइरह्यौं। सार्वभौम नागरिक हुनुको अनुभूति गर्न पाएनौं। किन ? के अझै उत्तर नखोजेर प्रश्नमै अल्झिइरहने ? देश चुनावी संघारमा छ। राजनीतिक दलहरू घरआँगन छिरेका छन्। पाँच वर्षदेखि हराएका नेताहरू धनुष्टंकार भई नमस्कार गर्दै झुपडीमा प्रकट भएका छन्। हामीले ठान्यौं– जनतालाई सिकाउने, नेतालाई चेताउने बेला यही हो। पाँच वर्षपहिलाका आश्वासन एवं वाणी खोतल्ने साइत यही हो। नत्र हामी नागरिक सधैं रैती भइरहने छौं। भोटका नाममा छक्किइरहने छौं।
त्यसैले, राजनीतिक वृत्तबाट वर्तमानमा यी प्रश्नको जवाफ खोज्नैपर्ने हुन्छ–
- देशमा स्थिरता के भएर आउन सकेन ?
- सुशासन किन पाउन सकिएन ?
- नेताहरू कुन प्रेरणाले अहंकारी भए ?
- पारदर्शिता कता हरायो ?
- माफियाकरण कसरी मौलायो ?
- चुनाव किन महँगियो ?
- जताततै चरम राजनीतीकरण के आवश्यक हो ?
- राज्यका तीनै अंग किन लथालिंग भए ?
- सेटिङबिना कामै नहुने ? कस्तो परिपाटी हो यो ?
- राजनीतिमा अपराधीकरण कसरी मौलायो ?
- भागबन्डा लोकतान्त्रिक संस्कृतिको पहिचानै हो त ?
- निजीकरणका नाममा सरकारी सम्पत्ति कसरी निख्रिए ?
अनि, जनतामा वितृष्णा जगाउने कारण यिनै होइनन् ? यसको ख्याल राख्नु पर्दैन ?
यो विशेषांक आम वुद्धिजीवी र सर्वसाधारणका यस्तै जिज्ञासाको अभिलेख हो। हामीले आशय र अभिप्रायबिनै गुम्सिएका यस्ता आवाज राजनीतिक क्षेत्रमा प्रतिध्वनित गरिदिन चाहेका मात्र हौं। किनकि, नेताहरू किन स्वार्थलिप्सामा चुर्लुम्म भए ? राजनीतिलाई व्यापार मात्र होइन, ‘कालो–व्यापार’ बनाउन किन उद्यत् देखिए ? नियम, कानुनको लगामले थेग्न छाड्यो राजनीतिका बाईपंखी धावकहरूलाई। यो जनकेन्द्रित होइन, धनकेन्द्रित भयो।
वास्तवमा राजनीतिक बेथितिकै कारण पछिल्लो समय राज्यसंयन्त्र खल्बलिएको छ। कार्यपालिका अति अस्थिर भयो। व्यवस्थापिका स्वयंमा अव्यवस्थित बन्यो। न्यायपालिकाभित्र न्याय शिला खोज्नुपर्ने स्थिति आयो। संविधान, कानुन र विधिको होइन, शक्ति–पहुँचको शासन मौलायो। यसका दूषित छिद्रहरू किन टाल्न सकिएन ? व्यवस्था फेरिँदा अवस्था किन फेरिन सकेन ? खोज्नुपर्ने उत्तर यही हो। महात्मा गान्धीले भनेका थिए, ‘धरतीले हरेक मानिसका आवश्यकता परिपूर्ति गर्न सक्छ, तर हरेकका लोभ पूरा गर्न सक्दैन।’ नेपाली राजनीति वास्तवमा लोभ–पापको व्यवसाय बन्दै गएको छ। यो राष्ट्रभूमि तिनको चाहना परिपूर्तिमा सधैं मूकदर्शक नहुन सक्छ।
त्यसैले राजनीति सुध्रियोस्। देश समृद्ध, सुसंस्कृत र लोकतान्त्रिक बनोस्। लडेर ल्याएको व्यवस्थामाथि निरंकुश शक्तिले प्रश्न उठाउन नपाओस्। शासक र शासित नामक विभेदीय शासनशैली निमिट्यान्न होस्।स्रोतःअन्नपूर्ण पोष्टको विशेष सम्पादकियबाट
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















