बोलौं, बेला यही हो

देश चुनावी संघारमा छ। राजनीतिक दलहरू घरआँगन छिरेका छन्। पाँच वर्षदेखि हराएका नेताहरू धनुष्टंकार भई नमस्कार गर्दै झुपडीमा प्रकट भएका छन्। हामीले ठान्यौं– जनतालाई सिकाउने, नेतालाई चेताउने बेला यही हो।

नेपाली बृहत् शब्दकोशले ‘राजनीति’ लाई यसरी अथ्र्याएको छ, ‘१. प्रजाको शान्तिसुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति। २. राज्यको शासन व्यवस्थासम्बन्धी नीति, राज्य सञ्चालन प्रणाली। ३. राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त।’ 

माफ गर्नुहोला, हामी आज यस विशेष संस्करणमार्फत नेपाली राजनीतिको निर्मम समीक्षा गरिरहेका छौं। किनकि, राजनीति राज्य सञ्चालनको मियो हो। यसको वरिपरि दाइँ गरिरहेका नेताहरू आचारहीन बन्दै गए। जनताले लडेर प्रजातन्त्र ल्यायौं। उन्नत लोकतन्त्र बनायौं। देशलाई गणतन्त्रसम्म पुर्या‍यौं। संविधानसभाबाट उत्कृष्टतम् संविधान पायौं। संघीयता, समावेशिता र समानता अक्षरमा लेख्यौं। तर, सुशासन देखेनौं। प्रजा र शासित नै भइरह्यौं। सार्वभौम नागरिक हुनुको अनुभूति गर्न पाएनौं। किन ? के अझै उत्तर नखोजेर प्रश्नमै अल्झिइरहने ? देश चुनावी संघारमा छ। राजनीतिक दलहरू घरआँगन छिरेका छन्। पाँच वर्षदेखि हराएका नेताहरू धनुष्टंकार भई नमस्कार गर्दै झुपडीमा प्रकट भएका छन्। हामीले ठान्यौं– जनतालाई सिकाउने, नेतालाई चेताउने बेला यही हो। पाँच वर्षपहिलाका आश्वासन एवं वाणी खोतल्ने साइत यही हो। नत्र हामी नागरिक सधैं रैती भइरहने छौं। भोटका नाममा छक्किइरहने छौं। 
त्यसैले, राजनीतिक वृत्तबाट वर्तमानमा यी प्रश्नको जवाफ खोज्नैपर्ने हुन्छ–

  • देशमा स्थिरता के भएर आउन सकेन ?
  • सुशासन किन पाउन सकिएन ?
  • नेताहरू कुन प्रेरणाले अहंकारी भए ?
  • पारदर्शिता कता हरायो ?
  • माफियाकरण कसरी मौलायो ?
  • चुनाव किन महँगियो ?
  • जताततै चरम राजनीतीकरण के आवश्यक हो ?
  • राज्यका तीनै अंग किन लथालिंग भए ?
  • सेटिङबिना कामै नहुने ? कस्तो परिपाटी हो यो ? 
  • राजनीतिमा अपराधीकरण कसरी मौलायो ? 
  • भागबन्डा लोकतान्त्रिक संस्कृतिको पहिचानै हो त ?
  • निजीकरणका नाममा सरकारी सम्पत्ति कसरी निख्रिए ?

अनि, जनतामा वितृष्णा जगाउने कारण यिनै होइनन् ? यसको ख्याल राख्नु पर्दैन ? 

यो विशेषांक आम वुद्धिजीवी र सर्वसाधारणका यस्तै जिज्ञासाको अभिलेख हो। हामीले आशय र अभिप्रायबिनै गुम्सिएका यस्ता आवाज राजनीतिक क्षेत्रमा प्रतिध्वनित गरिदिन चाहेका मात्र हौं। किनकि, नेताहरू किन स्वार्थलिप्सामा चुर्लुम्म भए ? राजनीतिलाई व्यापार मात्र होइन, ‘कालो–व्यापार’ बनाउन किन उद्यत् देखिए ? नियम, कानुनको लगामले थेग्न छाड्यो राजनीतिका बाईपंखी धावकहरूलाई। यो जनकेन्द्रित होइन, धनकेन्द्रित भयो।

वास्तवमा राजनीतिक बेथितिकै कारण पछिल्लो समय राज्यसंयन्त्र खल्बलिएको छ। कार्यपालिका अति अस्थिर भयो। व्यवस्थापिका स्वयंमा अव्यवस्थित बन्यो। न्यायपालिकाभित्र न्याय शिला खोज्नुपर्ने स्थिति आयो। संविधान, कानुन र विधिको होइन, शक्ति–पहुँचको शासन मौलायो। यसका दूषित छिद्रहरू किन टाल्न सकिएन ? व्यवस्था फेरिँदा अवस्था किन फेरिन सकेन ? खोज्नुपर्ने उत्तर यही हो।  महात्मा गान्धीले भनेका थिए, ‘धरतीले हरेक मानिसका आवश्यकता परिपूर्ति गर्न सक्छ, तर हरेकका लोभ पूरा गर्न सक्दैन।’ नेपाली राजनीति वास्तवमा लोभ–पापको व्यवसाय बन्दै गएको छ। यो राष्ट्रभूमि तिनको चाहना परिपूर्तिमा सधैं मूकदर्शक नहुन सक्छ। 
त्यसैले राजनीति सुध्रियोस्। देश समृद्ध, सुसंस्कृत र लोकतान्त्रिक बनोस्। लडेर ल्याएको व्यवस्थामाथि निरंकुश शक्तिले प्रश्न उठाउन नपाओस्। शासक र शासित नामक विभेदीय शासनशैली निमिट्यान्न होस्।स्रोतःअन्नपूर्ण पोष्टको विशेष सम्पादकियबाट

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal