ढोरपाटनमा विदेशी पर्यटकलाई सिकारका लागि खुला गर्ने तयारी

बागलुङ,१ असोज– ढोरपाटन सिकार आरक्षमा सिकार खेलाउन पाँच कम्पनीले दरभाउपत्र बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गतेदेखि शुक्रबारसम्मलाई दरभाउपत्र पेश गर्न समय तोकेको थियो ।
विभागका अनुसार सिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्स, हिमालयन सफारिज र ग्लोबल सफारिजले बोलपत्रमा भाग लिएको हो । बोलपत्रको प्रक्रिया पूरा गरेपछि मात्र कम्पनीले सिकारका लागि अनुज्ञापत्र पाउँछन् ।
प्रतिस्पर्धाबाट शिकार गराउनका लागि हरेक शिकार याममा विद्युतीय बोलपत्र आव्हान गर्ने गरिएको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिनुभयो । “प्रतिस्पर्धाबाट छानिएका कम्पनीले तोकिएको कोटाअनुसार आरक्षमा शिकार गराउन पाउँछन्”, उहाँले भन्नुभयो । आरक्षमा वर्षेनी (असोज–मङ्सिर), (फागुन–वैशाख) गरी दुई याममा नाउर र झारलको सिकार खुला हुन्छ । बोलपत्रको प्रक्रिया टुङ्गिएपछि पेशेवर विदेशी शिकारी, कम्पनीका प्रतिनिधिसहितको टोली सिकार खेल्न आरक्षमा पुग्ने विभागका सूचना अधिकारी आचार्यले बताउनुभयो ।

हरेक वर्ष असोज दोस्रो हप्तातिरबाट आरक्षमा सिकार खेल्न शुरु हुन्छ । गतवर्ष यही याममा भने ढिलो गरी सिकार खुलेको थियो । कोरोना महामारीलाई हेरेर स्वास्थ्य सुरक्षाको सुनिश्चितता र शर्तसहित सिकार खुला गरिएको थियो । गत (फागुन–चैत) याममा भने नौ नाउर र चार झारलको सिकार गरिएको थियो । विभागले अनुमति दिएकोमध्ये एउटा मात्र झारलको सिकार हुन नसकेको आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभागले दुवै याममा गरी वर्षमा २० नाउर र ११ झारलको शिकार कोटा निर्धारण गर्नेगर्छ । सिकारको सबै काम विभागमार्फत हुने गरेको छ । स्थानीय व्यवस्थापन र अनुगमन मात्र आरक्ष कार्यालयले गर्छ । “सिकारका लागि आरक्षभित्रको सबै प्रबन्धका लागि हामी तयारी अवस्थामा छौँ”, सहायक संरक्षण अधिकृत खड्काले भन्नुभयो ।

विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर घटबढ हुने गर्छ । कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहन्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन् । तीन वर्षअघि (फागुन–वैशाख) को याममा एउटा नाउर सिकारको रु १३ लाख ५१ हजार र झारल सिकारको रु. १३ लाख ५० हजारसम्म राजस्व बुझाउन कम्पनी तयार भएका थिए । अहिले कोरोना महामारीको जोखिम घटेको, यात्रा प्रतिबन्ध पनि हटेको स्थितिमा विदेशी सिकारका लागि ढोरपाटन आउन आतुर छन् । फलस्वरुप बोलभाउपत्रमा प्रतिस्पर्धा हुने देखिएको छ । सिकार खेलाएर आरक्षले वर्षेनी कराडौँ रुपैयाँ राजस्व राज्यको ढुकुटीमा योगदान गर्दै आएको छ ।

व्यवस्थित सिकारका लागि आरक्षभित्र सुर्तीबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात ‘ब्लग’ तोकिएको छ । सिकारीले रोजेको ठाउँमा कम्पनीले सिकार गराउने गर्छन् । सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त सिकारी ढोरपाटन आउँछन् । सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एउटै सिकारीले रु. ३० देखि ३५ लाखसम्म सिकारमा खर्चने गरेको कम्पनी बताउँछन् । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् ।

सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् । १,३२५ वर्ग किमिमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भूभागमा अवस्थित छ । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ ।रासस

ताजा

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal