सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

तस्बिर सौजन्य : नेपाली सेना ।

मित्र भण्डारी

काठमाडौँ,१५ भदौ- रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोज तथा उद्धारलाई नेपाली सेनाले तीव्र बनाएको छ । हवाई तथा स्थलगत उद्धारसँगै बाढीका कारण प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरी खोजी कार्य अघि बढाइएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाले सोमबार हवाई साधनमार्फत एक जना जर्मन नागरिकसहित १०९ जनाको उद्धार गरेको छ ।

बाढी प्रभावित क्षेत्रका जङ्गल, डाँडाकाँडा, खोला तथा बस्तीमा समेत पैदल गस्ती गरी बेपत्ताको खोजी, उद्धारको आवश्यकता पहिचान र स्थानीय बासिन्दालाई सुरक्षा प्रत्याभूति दिलाउने काम भइरहेको छ ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा टनेल हेड फेला परेको छ । सुरुङभित्र कम्प्रेसरमार्फत हावा पठाउने कार्य भइरहेको तथा जमेको पानी निकाल्ने काम जारी रहेको निर्देशनालयले जनाएको छ । सुरुङको पछाडितर्फबाट वैकल्पिक मार्ग खोल्न तीन वटा एक्स्काभेटर प्रयोग गरी करिब १५ मिटर भाग खोलिएको छ ।

त्यस्तै, त्रिशूली–३ ‘बी’ को सुरुङमा विज्ञसहितको नेपाली सेनाको टोली एक्स्काभेटर प्रयोग गरी खोज तथा उद्धारमा खटिएको छ । चिलिमे हाइड्रोको सुरुङमा विदेशी विज्ञसहितको संयुक्त उद्धार टोली करिब ३५ मिटरसम्म प्रवेश गरी अगाडिको भाग सफा गर्ने काममा जुटेको छ ।

अपर त्रिशूली–१ आयोजनाको मैलुङतर्फ करिब २०० मिटर र हाँकूतर्फ करिब तीन सय मिटरसम्म पुगेर खोजी गरिएको छ । रसुवागढी हाइड्रोको सुरुङमा संयुक्त उद्धार टोली करिब २५० मिटरसम्म पुगेपछि सुरुङको बन्द भाग फेला परेको छ ।

लाङटाङ हाइड्रोको सुरुङमा पनि संयुक्त उद्धार टोली करिब ६५ मिटरसम्म प्रवेश गरी एक शव सङ्कलन गरेको निर्देशनालयले जनाएको छ ।

टिमुरेमा पाँच सेफ फेला

खोज तथा उद्धारका क्रममा नेपाली सेनाको टोलीले टिमुरे क्षेत्रमा पाँच वटा सेफ फेला पारेको छ । तीमध्ये तीन वटामा नेपाली भाषाका अक्षर र दुई वटामा चिनियाँ भाषाका अक्षर रहेको पाइएको छ । फेला परेका सेफ सशस्त्र प्रहरी बल नेपाललाई भरपाईसहित बुझाइएको छ ।

त्यस्तै, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्रबाट सोमबार १६५ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ हजार नौ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन् ।

सेनाका टोलीले सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन् ।

बाढीबाट सडक तथा भौतिक संरचनामा व्यापक क्षति पुगेका कारण प्रभावित क्षेत्रमा स्थलमार्गबाट पुग्न कठिन भइरहेका बेला नेपाली सेनाले हवाई, जमिनी तथा सुरुङमार्गबाट खोज तथा उद्धारलाई एकीकृत रूपमा अघि बढाएको हो ।

विशेषगरी सुरुङभित्र फसेका व्यक्तिको सम्भावित उद्धारका लागि स्वदेशी तथा विदेशी विज्ञको प्राविधिक सहयोगमा पहुँच विस्तार गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।स्रोतःगोप

ताजा

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

२०८३ कार्तिक २५ गते, बुधबार

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

२०८३ कार्तिक २५ गते, बुधबार

तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह

२०८३ कार्तिक २० गते, शुक्रबार

राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद

२०८३ कार्तिक २० गते, शुक्रबार

तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण

२०८३ कार्तिक १९ गते, बिहीबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ६ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ४ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ४ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक २ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ आश्विन ३१ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ आश्विन ३१ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal