सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’
भरत केसी
लुम्बिनी,११ माघ- राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने कामa सकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम छ ।
आयोजनाका योजनाप्रमुख कृष्णराज अधिकारीले आज प्रधानमन्त्रीबाट अन्तिम ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो ।
यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो । यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।
विस २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्न थालेको हो । आयोजना प्रमुख कृष्णराज अधिकारीले सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक थ्रु भइसकेका छन् ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।
स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन ९एसडिसी० ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० तयार गरेको थियो । उक्त कम्पनीले सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको दुई हजार सात सय मिटर सडकक्षेत्र जोखिमयुक्त रहेको जानकारी सरकारलाई दिएको थियो । सोही सुझावअनुसार सुरुङमार्ग निर्माणको निर्णय भएको हो ।

विशाल चट्टानले युक्त भिरमा रक सेटअर्थात् स्लोप प्रोटेक्सनको काम गर्न सम्भव नभएको क्षेत्रमा सुरुङको प्रस्ताव भएअनुसार यो सुरुङ खन्न थालिएको हो । २०७६ मङ्सिर २ गते सुरुङमार्गका लागि रु १० अर्ब १५ करोड स्रोत सुनिश्चित भएको थियो । हाल यहाँ दैनिक ४० जना चिनियाँ र नेपाली दक्ष, अर्धदक्ष र अदक्ष गरी एक सय ५० जनाले नियमित काम गरिरहेका छन् । छिचोलिएको सुरुङभित्र पसेर सेकेण्डरी सपोर्टको काम भइरहेको छ ।
सुरुङका दुवै मोहोडामा ‘रक सेट र स्लोप प्रोटेक्सन’
सिद्धबाबा सुरुङमार्ग निर्माण गर्दा सडकमा मुख्य जोखिम क्षेत्रलाई छाडेर छोटो सुरुङ बनाइएको आम बुझाइ छ । सुरुङमार्गको बुटवल र तानसेनतिरका दुवै मोहोडामा जोखिम क्षेत्रमा तीन हजार पाँच सय मिटर लामो रकनेट ९जाली० र स्लोप प्रोटेक्सन गरिनेछ । यो सुरुङमार्गमा पुग्ने बुटवलतिरको खण्ड र सुरुङमार्गबाट निस्किएर तानसेनतिरको खण्डको जोखिमको सडकलाई माथि भिरसम्मै सुरक्षा गर्ने प्रविधि प्रयोग गरिने छ । अष्ट्रियाको ‘न्याथम मेथड’ नामको नयाँ डिजाइनमा सुरुङमार्ग बनेको छ । सोहीअनुसारका नयाँ डिजाइनमा रकसेट र स्लोप प्रोटेक्सनको काम हुने सुरुङमार्गका इञ्जिनियर श्रीजेस पौडेलले बताउनुहुन्छ । यसअघि इञ्जिनियर पौडेल नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माणमा संलग्न हुनुहुन्थ्यो । दुवै मोहोडामा सडकदेखि करिब ३५ मिटर माथिसम्मै स्लोपलाई सुरक्षा प्रदान गरिने इञ्जिनियर पौडेलले बताउनुभयो ।

अग्लो भिर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा पहिरो झरिरहन्छ । दोभानदेखि बुटवलको चिडियाखोलासम्मको पाँच किलोमिटर क्षेत्र जोखिमपूर्ण मानिन्छ । बाह्रै महिना पहिरो झरेर हरेक वर्ष मानवीय क्षति हुने यो खण्डलाई सुरक्षित बनाउन सुरुङ निर्माण थालिएको हो ।
बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति हुँदै
प्रधानमन्त्री ओलीले आजै पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । उक्त आयोजनाका प्रमुख इञ्जिनियर कुशलता न्यौपानेले बुटवल उपमहानगरपालिका–१३ जितगढीमा प्रधानमन्त्रीले शिलान्यास गर्नुहुने बताउनुभयो ।
सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक स्तरोन्नति गर्दैछ । बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमाक्षेत्र कोठीनदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इञ्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरेको यो सडक स्तरोन्नति गर्दा सञ्चालनमा रहेको यातायात सेवा अवरुद्ध नहुने गरी निर्माण गरिने आयोजना प्रमुख न्यौपानेले बताउनुभयो ।
आयोजना प्रमुख न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग सडक स्तरोन्नतिका लागि कार्यादेश लिएको कम्पनीले ल्याब, क्रसर र कङ्क्रिट बनाउने ठाउँ बनाइसकेको छ । निर्माण कम्पनी एउटै भए पनि दुई भागमा विभाजन गरी अलगअलग ठेक्का भएकाले काम पनि दुईतर्फबाट एकैपटक हुनेछ । पचास किलोमिटर सडकअन्तर्गत सालझण्डी–पिपरा र वनगाई–गोरुसिङ्गेसम्म करिब २० किलोमिटर जङ्गल क्षेत्र छ । यो खण्डमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ ।
पूर्व–पश्चिम राजमार्ग खण्ड भएकाले बजार तथा बस्ती क्षेत्र पर्ने ३० किलोमिटरमा भने दुवैतर्फ सर्भिस लेनसहितको छ लेन सडक बन्ने आयोजना प्रमुख न्यौपानेले जानकारी दिनुभयो । यो सडक सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ । ठूला चोकहरुमा अन्डर पास र ओभर पास हुनेछन् ।रासस
ताजा
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित
२०८३ जेष्ठ २४ गते, आईतवार
भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता
२०८३ जेष्ठ १९ गते, मंगलवार
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार





















