गाउँको शिरमा भिर छ, त्यही भिर कतिबेला खस्ने हो राम्चेगाउँवासीलाई पिर छ’

विष्णुप्रसाद गौडेल

मध्यविन्दु (नवलपरासी),२२ साउन- बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आउनुभएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आउनुभएका उहाँलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ ।

“गाउँको शिरमा भिर छ । त्यही भिर कतिबेला खस्ने हो भन्ने सधैँभरिको पिर छ । पानी पर्यो कि त बस्ती बगाउने हो कि भन्ने चिन्ताले रातमा निद्रा नै पर्दैन”, उहाँले भन्नुभयो । हुप्सेकोट गाउँपालिका–५ को राम्चेगाउँको सिरानमा राम्चेभिर छ । केरुङ्गेखोलाको मुहानमा रहेको राम्चेको पहिरोले जयबहादुर चितौरे मात्र होइन राम्चेगाउँका ३५ घरपरिवार बर्खा लागेसँगै पहिरोका डरमा बस्न बाध्य भएका छन् । हुप्सेकोट गाउँपालिका वडा नं ५ को राम्चेगाउँ पहिरोको उच्च जोखिममा छ । गाउँ नजिकै बर्सेनि सानाठूला पहिरो जान थालेपछि डाँडो नै खस्ने खतरा बढ्दै गएको स्थानीयहरू बताउँछन् ।

राष्ट्रिय पहिरो भनेर चिनिने राम्चे पहिरो विसं २०३८ मा काउले बस्ती नै विस्थापित हुनेगरी गएका कारण अहिले पनि सो क्षेत्रका अन्य बस्ती पहिरोको जोखिममा पर्दै आएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदम रानाले बताउनुभयो । “पहिरोका कारण कच्ची सडक पनि भत्किराख्ने र जमिनमा धाँजा फाट्ने गरेको छ । बर्खामा मात्र होइन, हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ”, उहाँले भन्नुभयो, “राम्चेवासी बर्खामा मात्र होइन, अन्य समयमा पनि रातदिन त्रासमा बाँच्नुपरेको छ ।”पहिरोको त्रासले सक्ने जतिले गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन् । तर आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै यही पहिरो हेर्दै दैनिकी कटाइरहेका छन् । बाजेबराजुको पालादेखि सोही ठाउँमा बसोबास गर्दै आएका स्थानीयवासीले सरकारले सुरक्षित स्थानमा बस्ती सारिदिने आशा भने मारेका छैनन् ।

स्थानीय आसबहादुर चितौरेमगरका अनुसार, “सुक्खा पहिरोसमेत गएर गाउँको नजिकै धेरै धाँजा फाटेको छ । ठूलो पहिरोले कतिबेला गाउँ नै सोहोरेर लैजान्छ भन्ने डर र त्रासमा स्थानीय बासिन्दाले दैनिकी कटाइरहेका छन् ।” पहिरोकै कारण एकपछि अर्को संरचनासँगै गाउँ नै सखाप पार्ने पहिरो नियन्त्रण गर्न माग गर्दा पनि कसैले नसुनेको स्थानीयको भनाइ छ । पहिरो रोक्न केही बजेटसहित तारजालीको काम हुने गरे पनि त्यो प्रभावकारी बन्न नसकेको स्थानीय हरि मगरले बताउनुभयो ।

“पहिरो रोक्नै नसक्ने खालको छ, बजेटमात्र सकिने भएकाले पनि हामीलाई अन्तै सारिदिनुपर्यो”, उहाँले भन्नुभयो, “पहिरो रोक्नका लागि सरोकारवालालाई भनेको वर्षौँ भयो तर कतैबाट पनि सुनुवाइ भएन ।”हुप्सेकोट गाउँपालिकाले पहिरोको जोखिम रहेको राम्चेगाउँलाई रुद्रपुरगढी धौवादीमा स्थानान्तरण गर्ने योजना बनाएको थियो । विसं २०७६ भदौमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ल्याएर गाउँपालिले बस्ती सार्न धौवादी एकीकृत नमूना बस्ती योजनाको शिलान्याससमेत गरिएको थियो । तर त्यो योजना शिलान्यास भएको पाँच वर्ष हुँदा पनि सुरु हुनसकेको छैन ।

राम्चेगाउँका पहिरो जोखिम घरपरिवारलाई स्थानान्तरणको योजना बनाएको भए पनि बस्ती स्थानान्तरण गर्न स्थानीयले नमानेका कारण योजना अलपत्र परेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । सोही वडाको अर्को गाउँमा राम्चे क्षेत्रका घरपरिवारलाई स्थानान्तरण गर्ने प्रयास गरिए पनि अहिले अलपत्र परेको अध्यक्ष पाण्डेले बताउनुभयो ।रासस

ताजा

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन

२०८३ जेष्ठ १५ गते, शुक्रबार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal