एमालेले सरकारलाई बुझायो ७५१ वटा माग सहितको ज्ञापन पत्र

काठमाडौं,९ माघ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जनताका मागसहितको ज्ञापन पत्र सरकारलाई बुझाएको छ । 

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनताका मागसहितको ध्यानाकर्षण पत्र बुझाएको हो । गत मङ्सिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सम्पन्न गरेको सङ्कल्प यात्रामा स्थानीयहरूले माग गरेका विषय र आफूहरूको अध्ययन र अनुभवले देखाएका कुराहरू समेटेर ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अभियानको क्रममा अनुभूत गरेका यहाँका सम्भावना र चुनौतीहरू समेटेर ध्यानाकर्षण पत्र बुझाएको बताउनु भयो । उहाँले विभिन्न ४६ क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग बुझाएको बताउनु भयो । उहाँले जसमध्ये गण्डकीबाट १६१, कोशीबाट १७०, सुदूरपश्चिमबाट १३५, बागमतीबाट ११३, कर्णालीबाट ८९, लुम्बिनीबाट ७५, मधेस प्रदेशबाट ८ वटा रहेको बताउनु भयो । सडक, शिक्षा, पर्यटन, कृषि, फलफूल र स्वास्थ्य बढी माग रहेको बताउनु भयो । उहाँले उद्योग, ऊर्जा, मोटरेबल पुल, सिँचाइ, भवन निर्माण, संस्कृति संरक्षण, भूमि व्यवस्था, बस्ती विकास, खेलकुद, जातीय विभेद, छुवाछुत र हिंसाको विरुद्ध, खानेपानी व्यवस्थापन, श्रोत संरक्षण, भूकम्पको पुनः निर्माण, सुरुङ मार्ग निर्माण, भूक्षय नियन्त्रण, तटबन्ध लगायतका विषयहरू पनि जनताको प्राथमिकतामा रहेको बताउनु भयो । पूर्वाधारका हिसाबले मध्यपहाडीमा धेरै कामहरू अघि बढेको र ठुलो सकारात्मक परिवर्तन ल्याएको, कृषि, फलफूल र पशुपालनका दृष्टिले उर्वर क्षेत्रका रूपमा मध्यपहाड रहेको बताउनु भयो । उहाँले जलश्रोतको भण्डार भएको, पर्यटनको सम्भावना बढी भएको, खानी र खनिज रहेको हिसाबले मध्यपहाड समृद्धिको सेन्टर बन्नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सम्पन्न गरेको मङ्सिर १४ देखि पुस १ गतेसम्मको सङ्कल्प यात्राका क्रममा जनताबाट प्राप्त भएका माग, सुझावहरू र पार्टीले यो अभियानको क्रममा अनुभूत गरेका यहाँका सम्भावना र चुनौतीहरू समेटेर ध्यानाकर्षण पत्र बुझाएका छौँ । हामीले मध्यपहाडी लोकमार्गको एलाइमेण्ट चेन्ज गर्नुपर्ने कुराहरू समेत उल्लेख गरेका छौँ । यी विषयको कार्यान्वयनको लागि पार्टी उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेललाई जिम्मेवारी तोकिएको प्रधानमन्त्रीलाई जानकारी गराएका छौँ । यो अभियानको क्रममा जनसमर्थन जुन प्राप्त भयो त्यसलाई एमालेको मात्रै नभएर लोकतन्त्र, गणतन्त्रप्रति नै जनताको समर्थनको रूपमा बुझेका छौँ । हामीलाई कुल ७५१ वटा मागहरू प्राप्त भएका थिए । ती विभिन्न ४६ क्षेत्रसँग सम्बन्धित छन् । गण्डकीबाट १६१, कोशीबाट १७०, सुदूरपश्चिमबाट १३५, बागमतीबाट ११३, कर्णालीबाट ८९, लुम्बिनीबाट ७५, मधेस प्रदेशबाट ८ वटा गरेर यी मागहरू प्राप्त गरेका थियौँ । कुनैकुनै मागहरूमा यति ठुलो जनसमर्थन छ, एउटा मागमा १ हजार ४ सय ४२ जनाले समर्थन गरी हस्ताक्षर गर्नुभएको छ ।

प्राथमिकतामा हेर्दा सडक, शिक्षा, पर्यटन, कृषि, फलफूल र स्वास्थ्य बढी छ । उद्योग, ऊर्जा, मोटरेबल पुल, सिँचाइ, भवन निर्माण, संस्कृति संरक्षण, भूमि व्यवस्था, बस्ती विकास, खेलकुद, जातीय विभेद, छुवाछुत र हिंसाको विरुद्ध, खानेपानी व्यवस्थापन, श्रोत संरक्षण, भूकम्पको पुनः निर्माण, सुरुङ मार्ग निर्माण, भूक्षय नियन्त्रण, तटबन्ध लगायतका विषय छन् । ध्यानाकर्षण पत्रमा हामीले मध्यपहाडमा देखेको विकासका सम्भावनाहरू समेटेका छौँ । पूर्वाधारका हिसाबले मध्यपहाडमा धेरै कामहरू अघि बढेको यसले ठुलो सकारात्मक परिवर्तन ल्याएको, कृषि, फलफूल र पशुपालनका दृष्टिले असाध्यै उर्वर क्षेत्रका रूपमा रहेको छ । जलश्रोतको भण्डार भएको, पर्यटनको सम्भावना बढी भएको, खानी र खनिज रहेको हिसाबले मध्यपहाड समृद्धिको सेन्टर बन्नसक्छ ।’

उपमहासचिव ज्ञवालीले मध्यपहाडी क्षेत्रमा आफूहरूले अभियानका क्रममा बसाइसराइको समस्या ठुलो चुनौतीको रूपमा रहेको पाएको बताउनु भयो । उहाँले बसाइसराइ रोक्नका लागि सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको पनि बताउनुभयो । उहाँले वस्तुहरूको उत्पादन भएर पनि उचित मूल्य नपाएको देखिएको बताउनुभयो । कृषि सामग्रीको उचित मूल्य निर्धारण, बिचौलियाहरूको नियन्त्रण, विदेशी उत्पादनलाई कर लगाएर भएपनि स्वदेशी उत्पादन संरक्षण गर्नुपर्ने सरकारसँग माग गरिएको बताउनुभयो । मध्यपहाडी क्षेत्रमा भूमिहीनहरू ठुलो सङ्ख्यामा रहेको, ऊर्जा नपाएका मानिसहरू ठुलो सङ्ख्यामा देखिएको र उनीहरूको समस्या समाधानका लागि ध्यानाकर्षण गराएको बताउनुभयो ।

बाँदर, बँदेल, दुम्सी जस्ता कारणले पनि खेतीपाती लगाउन मानिसहरू निरुत्साहित भएको बताउनुभयो । जलवायु परिवर्तनले मध्यपहाडमा ठुलो असर पारेकाले सरकारले यसमा ठोस कदम चाल्न सुझाव दिएको बताउनुभयो । उद्यमी व्यवसायी बैङ्कको ब्याजदर, कर प्रशासकहरूको अमैत्रीपूर्ण व्यवहार, भ्रष्टाचार, कुशासनले व्यवसाय बन्द गर्ने अवस्थामा पुगेको कुरा पनि सरकारलाई ध्यानाकर्षण गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चुनौतीहरू पनि छन् । सबैभन्दा पहिलो चुनौती बसाइसराइ, जसले गर्दा श्रम शक्तिकै अभाव हुने । बस्ती नै निर्जन हुने स्थिति छ । त्यसो हुनुमा केही बाध्यात्मक कारण छन्, केही पछिल्लो समय निर्माण गरिएको नेपाल बन्दै बन्दैन भन्ने भाष्य छ । विदेशमै सबै छ भन्नेगरी निर्माण गरिएको मनोवृत्ति चिर्न सरकारले ठोस कदम चालोस् । वस्तुहरूको उत्पादन भएर पनि त्यसले उचित मूल्य नपाएको कुरालाई जोड दिएका छौँ । कृषि सामग्रीको उचित मूल्य निर्धारण, बिचौलियाहरूको नियन्त्रण, विदेशी उत्पादनलाई कर लगाएर भएपनि स्वदेशी उत्पादन संरक्षण गर्नेकुरा गरेका छौँ । भूमिहीनहरू ठुलो सङ्ख्यामा देखिएका छन् । ऊर्जा नपाएका मानिसहरू ठुलो सङ्ख्यामा देखिए ।

उनीहरूको समस्या समाधानका लागि ध्यानाकर्षण गरेका छौँ । बाँदर, बँदेल, दुम्सी जस्ता कारणले पनि खेतीपाती लगाउन मानिसहरू निरुत्साहित भएको देख्यौँ । जलवायु परिवर्तनले ठुलो असर पारेकाले सरकारले यसमा ठोस कदम चालोस् । उद्यमी व्यवसायी र असाध्यै निरुत्साहित भएको बैङ्कको ब्याजदर, कर प्रशासकहरूको अमैत्रीपूर्ण व्यवहार, भ्रष्टाचार, कुशासनले व्यवसाय बन्द भएको कुरामा ध्यानाकर्षण गरेका छौँ ।’

उहाँले मध्यपहाडमा विकास निर्माणका कामहरू ठप्प रहेको र बजेट विनियोजनमा पूर्वाग्रह राखिएको पाइएको बताउनु भयो । एमालेको नेतृत्वमा सुरु भएका केही रूपान्तरणकारी योजना  असफल पार्न खोजिएको, आधारभूत अस्पताल लगायतका विषयमा ध्यानाकर्षण गराएको बताउनुभयो । भूकम्पपछिको पुनः निर्माणमा सरकार असक्षम भएको र चिसोका कारण ३४ बढी भूकम्पपीडितको ज्यान जानु लज्जाको विषय भएको ठहर एमालेको रहेको बताउनु भयो । मध्यपडाही लोकमार्गको विभिन्न ठाउँमा रिएलाइमेण्ट गर्नुपर्ने, १० वटा सहर बसाल्ने योजनाको काम अघि बढ्न नसकेको कुरा पनि सरकारलाई ध्यानाकर्षण गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विकास निर्माणका कामहरू ठप्प छन् । बजेट विनियोजनमा पूर्वाग्रह राखिएको छ । एमालेको नेतृत्वमा सुरु भएका केही रूपान्तरणकारी योजना असफल पार्न खोजिएको, आधारभूत हस्पिटल लगायत यो विषयमा हामीले ध्यानाकर्षण गराएका छौँ । भूकम्पपछिको पुनः निर्माणमा सरकार एकदमै असक्षम र असफल भयो । भूकम्पले १५३ जना मान्छे मरे, तर पछि न्यानो कपडा दिन नसकेर अस्थायी आवास दिन नसक्दा ३४ जना भन्दा बढीको चिसोले ज्यान गयो । यो लज्जास्पद कुरा हो ।

यो विषयमा ध्यानाकर्षण गराएका छौँ । मध्यपडाही लोकमार्गको विभिन्न ठाउँमा रिएलाइमेण्टको कुरा गरेका छौँ । त्यसमा १० वटा सहर बसाल्ने भनेको त्यसको काम अघि नबढेको कामबारे ध्यानाकर्षण गराएका छौँ । यी विषय सबैको भएकाले कार्यान्वयनका लागि अध्यक्षले जोड दिनुभएको छ । प्रधानमन्त्रीज्यूले यी विषयलाई आफूले गम्भीरताका साथ लिएको र एमालेको अभियानले लोकतन्त्र बलियो बनाउन मद्दत गरेको । यी विषयहरु दराजमा थन्क्याउन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।’

ज्ञापन पत्र ग्रहण गरेसँगै प्रधानमन्त्री दाहालले यी विषयलाई आफूले गम्भीरताका साथ लिएको र एमालेको अभियानले लोकतन्त्र बलियो बनाउन मद्दत गरेको बताउनुभएको पनि उपमहासचिव ज्ञवालीले बताउनु भयो । सुझावलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिनुभएको बताउनुभयो ।

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal