आँखाको नानीमा नेपाल आत्मनिर्भर

काठमाडौं,२५ जेठ-आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैङ्कले बताएको छ। आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैङ्कका व्यवस्थापक शङ्करनारायण तवयनाले बताउनुभयो।

आज यहाँ आयोजित ‘आँखादान तथा सामूहिक श्रद्धाञ्जलि सभा सम्बन्धी पत्रकार सम्मेलन’ मा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “बैङ्कमा आँखाको नानी सुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने अहिले आँखाको नानी देश भित्रबाटै सङ्कलन हुन्छ।” उहाँका अनुसार अहिले बैङ्कले देशभित्र अन्य अस्पतालमा समेत प्रत्यारोपणका लागि आँखाको नानी उपलब्ध गराउँदै आएको छ। 

नेपाल आँखा बैङ्कमा हालसम्म एक लाखभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेको र भने १२ हजारभन्दा बढीले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेको उहाँले जानकारी दिनुभयो।

बैङ्कले सन् १९९४ मा दुई दाताबाट आँखाको नानी सङ्कलन सुरु गरेको थियो। बैङ्कले हाल वार्षिक एक हजार तीन सय दाताबाट आँखाको नानी सङ्कलन गर्दै आएको छ। सन् २०१८ मा एक हजार एक सय ७८ दाता र सन् २०२२ मा एक हजार ४३ दाताबाट आँखाको नानी संलग्न गरेर प्रत्यारोपण गरिएको छ। 

बैङ्कका निर्देशक डा लिना बज्राचार्यले आँखा दानप्रतिको बढ्दो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढेको बताउनुभयो। उहाँले भन्नुभयो, “सुरुआतमा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाउँमा गएर आँखा दानसम्बन्धी मानिसमा जनचेतना जगायौँ। अहिले मन्दिरदेखि अस्पतालसम्म दाताका आफन्तलाई ‘काउन्सिलिङ’ गरिरहेका छौँ। आँखा दानप्रतिको सोचमा सकारात्मक  परिवर्तन पाएका छौँ।”

आँखा दानसम्बन्धी सचेतना बढे पनि अन्धविश्वास चुनौती बनेको उहाँ बताउनुहुन्छ। “मृत्युपछि आँखाको नानी दान गर्नेको सङ्ख्या दोब्बरले बढेको छ। तर कतिपय अझै पनि अन्धविश्वासका कारण दान गर्न हिचकिचाउनुहुन्छ। उहाँहरूलाई हामी सक्दो काउन्सिलिङ गर्दै आएका छौँ”, उहाँले भन्नुभयो। 

नेपाल आँखा बैङ्कले सन् १९९४ देखि नै मृत्युपश्चात आँखाको नानी दान गर्ने दाताबाट नानी सङ्कलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने कार्य गर्दै आएको छ। बैङ्कले स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लहान, हेटौँडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी सङ्कलन केन्द्रबाट आँखाको नानी सङ्कलन गरिरहेको छ।

“अहिले यी सँगै आर्यघाट, विद्युतीय शवदाह गृहलगायत काठमाडौँमा रहेका चार वटा ठुला अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, गङ्गालाल मुटु अस्पताल र पाटन अस्पतालमा आँखा बैङ्कबाट खटाइएका परामर्शदाताबाट परामर्श तथा जानकारी दिने काम भइरहेको छ”, बैङ्कका व्यवस्थापक त्वयनाले भन्नुभयो।

चिकित्सकका अनुसार आँखाको नानीमा सङ्क्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा, अज्ञानता र गरिबीको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य हानिकारक परम्परागत उपचारका कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ। 

आँखाको नानी रोग विशेषज्ञ चिकित्सक डा वन्दना खनालले नेपालमा दृष्टिविहीनको दोस्रो मुख्य कारण आँखाको नानी बिग्रिनु भएको बताउनुभयो। उहाँले आँखाको नानीको प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउन सकिने भन्दै आँखा दानसम्बन्धी सचेतना बढाउनुपर्नेमा जोड दिनुभयो।  

पत्रकार सम्मेलनमा मृत्युपछि आँखाको नानी दान गर्ने दाताको सम्झना र सम्मानमा उनीहरूको परिवारको उपस्थितिमा शनिबार सामूहिक श्रद्धाञ्जलि सभाको आयोजना गरिने बैङ्कका व्यवस्थापक त्वयनाले जानकारी दिनुभयो। उहाँले  भन्नुभयो, “कोरोनाका कारण तीन वर्षमा सामूहिक श्रद्धाञ्जलि सभा हुन सकेन। यही परम्परालाई निरन्तरता दिँदै यस वर्ष तिलगङ्गा आँखा अस्पतालमा सामूहिक श्रद्धाञ्जली सभाको आयोजना गर्दछौँ। सभामा दाताका आफन्त र आँखाको नानीबाट पुनः दृष्टि पाएका सहभागी हुनुहुनेछ।” उहाँले यस सभाले आँखादानको महत्त्वबारे पनि सु–सूचित गर्ने विश्वास व्यक्त गर्नुभयो।  रासस  

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal