स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

वालिङ,९ असार– स्याङ्जका अधिकांश स्थानीय तहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् भने केही पालिकाहरु ल्याउने तयारीमा रहेका छन् ।
आर्थिक वर्ष २०८३÷०८४को नीति तथा कार्यक्रम प्रस्तुत गरेका पालिकाहरुले घिल्ला वर्षहरुमा समेटिएका विषयहरुलाई निरन्तरता दिदै केही नयाँ कार्यक्रमहरुलाई समेटेर आ–आफ्नो पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
जिल्लाको मध्य भागमा रहेको वालिङ नगरपालिकाले “म स्वस्थ, मेरो नगर स्वस्थ” भन्ने नारा सहित स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको हो ।
वालिङ नगरपालिकाले २०औँ नगरसभा मार्फत आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तत गरेको छ । नगर प्रमुख कृष्ण खाँणले नगरबासीको स्वास्थ्य क्षेत्रमा आमूल सुधार ल्याउने लक्ष्यका साथ “म स्वस्थ, मेरो नगर स्वस्थ” अभियानलाई विशेष प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाले विगतदेखि सञ्चालन गर्दै आएको विद्यालय र समुदायमा सामुदायिक नर्स परिचालन गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारी विद्यालयहरूमा सफल देखिएको यस कार्यक्रमलाई आगामी वर्षदेखि निजी विद्यालयहरूमा समेत विस्तार र प्रोत्साहित गरिने नगर प्रमुख खाँणले घोषणा गर्नुभयो । किशोर–किशोरीको स्वास्थ्य, महिनावारी स्वच्छता र सामुदायिक स्वास्थ्य सचेतनाका लागि यो कार्यलाई निरन्तरता दिइएको नगरप्रमुख खाँणले बताउनुभयो ।

यसैगरी पछिल्लो समय चुनौतीका रूपमा देखा पर्दै गएका नसर्ने रोगहरू (जस्तैः मुटु रोग, मधुमेह, उच्च रक्तचाप, क्यान्सर आदि) न्यूनीकरणका लागि नगरका विभिन्न वडाहरूमा विशेष स्वास्थ्य शिविरहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खाँणले वालिङको समग्र विकास, आर्थिक समृद्धि, र सुशासनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले नगरबासीको स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासमा केन्द्रित हुँदै उत्पादनमुखी कार्यक्रमहरूलाई विशेष जोड दिइने उल्लेख गर्नुभयो ।

“हामीले वालिङलाई समृद्ध र नमुना नगर बनाउने संकल्पका साथ व्यावहारिक र कार्यान्वयनयोग्य नीति तथा कार्यक्रम ल्याएका छौँ,“ नगर प्रमुख खाँणले भन्नुभयो, “स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै नगरबासीको जीवनस्तर उकास्न यो नीति सहयोगी हुनेछ ।”

भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, पूर्वाधार विकास, स्वास्थ्य सेवा र सुशासनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख गोविन्दकुमार कर्मचार्यले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “समृद्ध भीरकोटको आधारः कृषि, पर्यटन आँधीखोलाको उपहार” भन्ने मूल नारालाई आत्मसात गरिएको छ ।

नगर प्रमुख कर्मचार्यले सीमित स्रोत–साधनका बिच पनि नागरिकको अपेक्षा सम्बोधन गर्ने प्रयास गरिएको उल्लेख गर्दै कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, धार्मिक पर्यटन एवं होमस्टेको प्रवद्धन, सडक सञ्जाल विस्तार, स्वास्थ्योपचार, खानेपानी पहुँच र डिजिटल सेवा प्रवाहलाई आगामी वर्षको मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो ।
नगरपालिकाले आगामी वर्षमा सबै नगरबासीको घर–घरमा खानेपानी पहुँच र्पुयाउने लक्ष्य राखेको छ । मुख्य सडकहरूलाई क्रमशः ढलान तथा कालोपत्रे गर्दै जाने, बाह्रै महिना यातायत सञ्चालन हुने गरी सडक निर्माण कार्यलाई प्राथमिकता दिने नगरका संवेदनशील क्षेत्र र बजार क्षेत्रमा सिसिटिभी जडान गरी सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ । कृषक सूचीकरण गरी परिचयपत्र वितरण गर्ने तथा अनुदानलाई प्रत्यक्ष उत्पादनसँग जोड्ने व्यवस्था कुरा समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

‘कृषक अनुकूलन परिस्थिति, खेतबारीमा हाम्रो उपस्थिति’
आँधीखोला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिलाई विशेष प्राथमिकतामा राख्दै किसानमुखी कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको १९औँ गाउँसभामा अध्यक्ष विश्वनाथ पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘कृषक अनुकूलन परिस्थिति, खेतबारीमा हाम्रो उपस्थिति’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने गरी विभिन्न कार्यक्रम अघि सारिएको छ।
उत्पादन बढाउनेदेखि बजारीकरण, यान्त्रीकरण, सिँचाइ, बिमा, अनुदान र प्रविधि विस्तारसम्मका कार्यक्रम समेटिएका छन् । किसानलाई उत्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाइने नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ । किसानको खेतबारी र गोठसम्म प्राविधिक सेवा पु¥याउने, कृषि यन्त्र तथा आधुनिक प्रविधि लागतमा साझेदारी गर्ने र किसानलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
स्थानीय स्तरमा उत्पादन हुने सुन्तला, कागती, किवी, ड्रागन, एभोकाडो, अकबरे खुर्सानी, कफी, केरा, कुरिलो लगायतका उच्च मूल्यका बालीको व्यावसायिक उत्पादन विस्तार गरिने भएको छ । ‘आँधीखोलाको पहिचान, सुन्तला–कागती अभियान’लाई थप प्रभावकारी बनाउँदै बाँझो जमिन उपयोग गर्ने विशेष कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ । किसान सूचीकरण कार्यक्रमलाई निरन्तरता दिँदै किसान परिचयपत्रलाई सेवा तथा सहुलियतसँग जोडिनेछ ।

कृषकले भोग्दै आएको बाँदरको समस्या नियन्त्रण कार्यलाई पालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ । यसका लागि प्रभावकारी कानूनी व्यवस्था गर्न सम्बन्धित निकायसँग समन्वय गरिने उल्लेख गरिएको छ । यस्तै ‘कि आफैँ खेती गरौं, नभए जग्गा लिजमा दिऔं’ भन्ने अवधारणाअनुसार भूमि बैंक स्थापना गर्ने, सामूहिक खेती प्रवद्र्धन गर्ने तथा कृषि सहकारीमार्फत उत्पादन र बजारीकरणलाई जोड्ने नीति पनि अघि सारिएको छ । गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष पौडेलले आँधीखोला गाउँपालिकाको विकासको मुख्य आधार कृषि भएको बताउनुभयो ।

कालीगण्डकी गाउँपालिकाको नीति तथा कार्यक्रमः ‘विदेश होइन बिजनेस’– कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम गाउँघरका युवा पुस्ता विदेश पलायन हुने क्रम तिब्र रुपमा बढेको भन्दै ‘विदेश होइन बिजनेस’ भन्ने नारा सहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
अध्ययन तथा रोजगारीको बहानामा युवाशक्ति विदेसिने क्रम तिब्र बनेसंगै गाउँपालिकाले स्थानीय स्तरमै रोजगारीको सिर्जना गरेर युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्य नीति तथा कार्यक्रममा लिइएको छ ।
गाउँपालिकाको १९औँ गाउँसभामा कार्यवाहक अध्यक्ष सावित्रा कोइरालाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा समृद्ध, प्रविधि तथा वातावरणमैत्री आत्मनिर्भर कालीगण्डकी बनाउने लक्ष्य लिइएको छ । युवा उद्यमशीलता विकास कार्यक्रम मार्फत स्वरोजगारका अवसर सिर्जना गरी वैदेशिक रोजगारीको विकल्पका रूपमा स्थानीय उद्यमलाई प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्दै “भाषा संस्कृतिको सम्मान, कालीगण्डकी गाउँपालिकाको शान” भन्ने नारासहित सांस्कृतिक संग्रहालय स्थापना गरिने छ । विभिन्न जातजाति, भाषा, संस्कार, संस्कृति, चाडपर्व र मेलाको संरक्षण तथा प्रवद्र्धनका साथै आदिवासी जनजाति, दलित तथा अल्पसंख्यक समुदायको पहिचान जोगाउन विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पर्यटन र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन ‘घर–घरमा रोजगारः होमस्टेबाट आर्थिक सुधार’ अभियान सञ्चालन गरिने भएको छ । होमस्टे पूर्वाधार विकास, डिजिटल प्रवद्र्धन, स्थानीय परिकारको ब्राण्डिङ तथा पर्यटन व्यवसायीका लागि विशेष सहुलियत र प्रोत्साहन प्याकेज उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
अर्जुनचौपारी गाउँपालिकाले ५० युनिटसम्म विद्युत् महशुलमा छुट
अर्जुनचौपारी गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उत्पादनशील क्षेत्रमा संलग्न परिवारलाई ५० युनिटसम्म विद्युत् महशुलमा छुट दिने उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन एवं पूर्वाधार निर्माण कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
पालिकाले विगत चार वर्षमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै आगामी वर्षलाई परिणाममुखी कार्यान्वयनको वर्षका रूपमा अघि बढाउने जनाएको छ । गाउँपालिकाले विद्यालय तहमा सञ्चालन हुँदै आएको एआई आधारित सिकाइ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रत्येक विद्यालयमा ‘ट्यालेन्ट मेन्टर’ र ‘स्पोट्र्स कोअर्डिनेटर’ शिक्षकको व्यवस्था गरिने नीति लिइएको छ ।
साथै, ‘चेन्ज मेकर्स क्लब’ मार्फत नेतृत्व विकासका कार्यक्रम सञ्चालन गरिनेछन् । कक्षा १ देखि ८ सम्म संस्कार शिक्षालाई अनिवार्य बनाउँदै वैदिक सदाचार, योग, बुद्धका पञ्चशील तथा पञ्चमहायज्ञमा आधारित पाठ्यक्रम लागू गरिने भएको छ । शिक्षक क्षमता विकास, पठन सीप सुधार र विद्यालय शिक्षा सुधार अभियानलाई समेत निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा ‘नागरिकलाई टेवा, घरघरमा स्वास्थ्य सेवा’ कार्यक्रमलाई थप विस्तार गरिने भएको छ । यसअन्तर्गत मनोसामाजिक परामर्श सेवा समेत समावेश गरिनेछ । ‘कृषि र पशुपालन समृद्धिको आधार’ भन्ने अवधारणासहित गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्ने नीति अघि सारेको छ ।

नेपालकै पहिलो नवग्रह मन्दिरलाई केन्द्रमा राखेर धार्मिक पर्यटनलाई थप व्यवस्थित बनाइने भएको छ ।

ताजा

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

२०८३ असार ३० गते, मंगलवार

मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस

२०८३ असार २९ गते, सोमबार

वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित

२०८३ असार २८ गते, आईतवार

श्रमजीवी पत्रकारको करार नतोड्न  नेपाल पत्रकार महासंघको आग्रह

२०८३ असार २६ गते, शुक्रबार

मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ

२०८३ असार २६ गते, शुक्रबार

विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले

२०८३ असार २६ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal