हल गोरु पाल्ने किसानलाई फेदीखोलामा १० हजार अनुदान

फाईल तस्विरः

वालिङ,६ असार– फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिएको छ । परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हल गोरु पाल्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । 

पछिल्लो समय गाउँगाउँमा गोरु पाल्न छाड्ने क्रम बढ्दै गएपछि हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप प्रतिहल रु. १० हजार अनुदान दिइएको हो ।

फेदीखोला गाउँपालिकाका पाँचवटै वडाबाट हल गोरुको तथ्याङ्क सङ्कलन गरी प्रोत्साहन अनुदान प्रदान गरेको हो । हल गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत २२४ जना किसान समेटिएका छन् । कुल २९० हल गोरुका लागि रु. १४ लाख ४५ हजार अनुदान वितरण गरिएको उहाँले बताउनुभयो । यो कार्यक्रममार्फत आर्थिक, सामाजिक, पर्यावरणीय र सांस्कृतिक महत्वलाई जोगाइ राख्नका लागि टेवा पुग्ने गाउँपालिकाको अपेक्षा छ ।

“हल गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानले विशेषगरी आर्थिक, सामाजिक, पर्यावरणीय, सांस्कृतिक रुपमा समेत प्रभाव पार्ने देखिन्छ,” उहाँले भन्नुभयो, “किसानको मनोबल बढाउँदै दिगो, आत्मनिर्भर र सांस्कृतिक रुपमा समृद्ध कृषि प्रणालीतर्फ सकारात्मक सङ्केत दिएको छ ।”

किसानको उत्पादन लागत घटेर आम्दानी बढ्ने, सामूहिक श्रम र पराम्परागत कृषि अभ्यासको पुनर्जीवनमा टेवा पुग्ने विश्वास उहाँको छ ।

यान्त्रिक प्रविधिहरुको प्रयोगबाट हुने जोताइको सट्टामा वातावरणमैत्री विधिको प्रोत्साहनमा जोड दिएको हो । “पछिल्लो समय गोरु पाल्ने चलन हराउँदै गएको छ, हाम्रो परम्परा मेटिँदै गएको छ,” उहाँले भन्नुभयो, “एकातिर हाम्रो परम्पराको संरक्षण हुने र अर्कोतर्फ जैविक मल घरमै उत्पादन गर्न सकिने भएकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराएका हौँ ।” यो कार्यक्रममा गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लागत साझेदारी रहेको फेदीखोला गाउँपालिका पशुपक्षी विकास उपशाखाका प्रमुख भगवानदेव यादवले बताउनुभयो ।

गाउँपालिकाले हल गोरु पालेका किसानहरुलाई प्रोत्साहन अनुदान दिनेसम्बन्धी सूचना सार्वजनिक गरेपछि वडावडाबाट निवेदन सङ्कलन भएको थियो । सङ्कलन भएका निवेदनउपर जनप्रतिनिधि तथा कर्मचारीहरु घरघरमै पुगेर अनुगमनपश्चात् प्रमाणित भएपछि सम्बन्धित किसानको बैङ्क खातामा रकम जम्मा गरिदिने भएको उहाँले बताउनुभयो । 

“एउटै किसानले पालेको एक हल गोरु अथवा दुईजना किसानको मिलाएर एक हल गोरु बनाइएको रहेछ भने पनि पालिकाले प्रोत्साहनस्वरुप ७५ प्रतिशत अनुदान दिन्छ,” उहाँले भन्नुभयो, “गोरु पाल्ने किसानहरुको सबै तथ्याङ्क सङ्कलन गरी प्रक्रिया पूरा भइसकेको छ ।”रासस

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal