‘हेर्दाहेर्दै श्रीमती पुरिइन्… म बाँच्न सफल भएँ’

बुनु थारु

काठमाडौँ,१४ असोज- राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहनुभएको छ । उहाँका आँखाले कसैलाई खोजिरहेका छन् । उहाँका शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन ।

रिमालको शरीरको दायाँ भागमा बढी क्षति पुगेको देखिन्छ । इमरजेन्सीको बेड नं २१ उपचाररत ६८ वर्षीय रिमाललाई आफू घाइतेभएको भन्दा पनि आफ्नी अर्धाङ्गिनीसँग बिछोड भएको पीडाले पिरोलेको छ ।

चिन्तित मुद्रामा रिमालले भन्नुभयो, “म बाँच्न सफल भएँ तर खाना बनाइरहेकी मेरी श्रीमती पहिरोमै छिन् । उद्धारका लागि डोजर पुग्न सकेको छैन रे ।” आफूलाई अप्ठ्यारो परेका बेला हरदम साथ रहने जीवनसाथीको याद नआओस् पनि कसरी ?

रिमालको दायाँपट्टीको करङ फुस्किएको छ । उहाँको उक्त भाग चलेको छैन । मङ्गलबार अपरेशन हुने भनिएको छ । चौरी देउराली गाउँपालिका–६ काभ्रेका रिमाललाई शनिबारको उक्त कहालीलाग्दो दिन सम्झिँदा मन अमिलो हुन्छ । उहाँलाई समय ठ्याक्कै याद छैन, सायद बिहानको ११ बजेको हुनुपर्छ । श्रीमती पवित्रा भान्सा कोठामा खाना पकाउँदै थिइन् । रिमाल छेउकै घरको बार्दलीमा बसिरहनुभएको थियो । बिहीबारदेखि परेको अविरल वर्षाले राम्रो सङ्केत दिइरहेको थिएन । एक्कासी माथिबाट आएको पहिरोले घर पु¥यो । हेर्दाहेर्दै श्रीमती पुरिइन् ।

पहिरोमा परेको दुई घण्टासम्म उहाँले उद्धारका लागि गुहार गर्नुभयो । हारगुहार गर्दागर्दै बेहोस हुनुभयो । चार घण्टापछि होस खुल्दा उहाँले आफूलाई एकैपटक अस्पतालका बेडमा पाउनुभयो ।

आइतबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका रिमालले पहिरोले घर लग्ला भन्ने कहिल्यै नसोचेको बताउनुभयो । गला अवरुद्ध पार्दै उहाँले भन्नुभयो, “विसं २०४६ सालमा त्यो घर बनाएको हो । यो पालि यस्तै भयो ।”

ट्रमामै उपचाररत दक्षिणकाली नगरपालिका–९ फर्पिङका ३० वर्षीय सुजन बस्नेत पेसाले सवारी चालक हुनुहुन्छ । शनिबार लगातार वर्षा भइरहेको थियो । गाडी पन्छाउन सडकमा पुग्नै लाग्दा माथिबाट एक्कासी आएको लेदोसहितको पहिरोले उहाँलाई हुत्याएर पानीमा लग्यो । तुरुन्तै उद्धार गरेर नजिककै अस्पताल लगियो । उहाँकी श्रीमती सीताले आइतबार दिउँसो ३ बजेतिर थप उपचारको लागि उहाँलाई ट्रमा ल्याएको बताउनुभयो । सुजनलाई हात, खुट्टा, घाँटी, करङमा चोट लागेको छ ।

हालसम्म ट्रमा सेन्टरमा १५ जना घाइतेको उपचार भएको छ । उहाँहरूमध्ये छ जना उपचारपछि घर फर्कनुभएको छ । सेन्टरको विपद् व्यवस्थापनको फोकल पर्सन इन्दिरा पाण्डेका अनुसार मुख्यतः बाढी पहिरोबाट प्रभावित घाइते धादिङ, काठमाडौँ, रामछोप, दोलखा, काभ्रेबाट आएका छन् । उहाँले भन्नुभयो, “चोटपटक लागेका ‘जटिल केश’ नै आएका छन् । ‘रिफरल केश’ पनि छन् । हालसम्म एक जनाको सर्जरी भएको छ भने तीन जनाको सर्जरी गर्ने तयारीमा छौँ ।”

त्यसैगरी वीर अस्पतालमा हालसम्म एक जना मात्र घाइतेको उपचार भएको अस्पतालका इमरजेन्सी विभाग प्रमुख डा सुरेशन नेपालले जानकारी गराउनुभयो ।

पाटन अस्पतालमा हालसम्म १० जना बाढी पहिरोबाट उद्धार गरिएका घाइतेको उपचार भएको छ । तीन जना डुबेका घाइते र सात जना पहिरोमा परेका उपचार गरिएको अस्पालका निर्देशक डा रवि शाक्यले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “सात जनाकै डिस्चार्ज भइसकेको छ । डुबेका मध्ये दुई जना डिस्चार्ज भएको र एक जना उपचाररत छन् । किस्ट मेडिकल कलेजबाट रिफर भएर आएका छ वटा केश रहेका छन्, जसमा दुई जना डिस्चार्ज भइसकेका छन् ।”

सशस्त्र प्रहरी बल नेपालले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरोको घटनाबाट ८९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाले विपद्बाट उद्धार गरिएका घाइते बिरामीको निःशुल्क उपचार गर्न पत्राचार गरिसकेको छ । उद्धार गरिएकालाई स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकश्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ ।रासस

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal