४८ वर्षदेखि ठेकी बनाउँदै टीका बहादुर

डम्मर बुढा मगर

बागलुङ,२३ वैशाख- शिरमा ढाका टोपी, शरीरमा पसिनाले निथ्रुक्क भिजेका कपडा । हातमा काठ र फलामका दुई थान औचार । काठेखोलाको तङ्ग्राम गाउँमा काठका ठेकी बनाउँदै गर्दा भेटिनुभयो बागलुङ नगरपालिका–१२ अमलाचौरका ६० वर्षीय टीकाबहादुर चुनारा । हुर्कंदो उमेरमा पनि काम गर्ने जोस जाँगर युवाको जत्तिकै छ उहाँमा । 

छ दशक हुँदा पनि चुनारा दैनिकजसो ठेकी बनाउने काममा व्यस्त हुनुहुन्छ । बागलुङमा मात्र होइन अन्य जिल्लाका दुर्गमसम्म पुगेर ठेकी बनाउने उहाँको मुख्य पेसा हो । कामलाई कामलाई पूजा मान्ने टीकाबहादुरले ठेकी बनाउन सुरु गरेको ४८ वर्ष भयो । उहाँले बाउ, बाजे र काकाहरुबाट १२ वर्षकै उमेरदेखि सीप सिकेर ठेकी बनाउने पेसा अँगाल्नुभएको थियो ।

चुनाराका अनुसार हिजोआज काठका ठेकीको प्रयोग निकै कम हुँदै गएका छन् । ठेकी बनाउनुका साथै यसको प्रयोगका बारेमा नागरिकलाई सचेत बनाउने काम पनि गर्दै आएको उहाँको भनाइ छ । दशक अगाडि काठका सामग्रीको बढी प्रयोग हुने गरे पनि पछिल्लो समय प्रयोगविहीन हुन थालेका उहाँले बताउनुभयो । 

आधुनिक प्रविधिको विकासले मौलिकता हराउँदै गएको चुनाराको भनाइ छ । पहिलाको तुलनामा ठेकीको प्रयोगमा कमी आउन थालेपछि परम्परागत पेसा पनि सङ्कटमा पर्न थालेको उहाँले बताउनुभयो । 

बिहान उठेदेखि रातिसम्मै काठ काट्ने, मुडा तास्ने र ठेकीका विभिन्न आकार दिने टीकाबहादुर नयाँ पुस्ताले आयातित भाँडाकुँडालाई प्राथमिकता दिँदा पेसा सङ्कटमा पर्न थालेको भन्दै चिन्तित हुनुभयो । आयातित धातुका सामग्री अति आवश्यक पर्दा मात्रै प्रयोग गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । आयातित सामग्रीको प्रयोग गर्न सहज हुने भएकाले आफ्नो सुझाव कसैले नसुन्ने उहाँको गुनासो छ ।

तीन दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा फलाम, सिल्टी, तामालगायत धातुका भाँडाकुँडा निकै कम पाइने हुँदा स्थानीयले माटा र काठकै सामग्री बढी प्रयोग गर्ने गरेको चुनाराले स्मरण गर्नुभयो । पछिल्लो समय घरै पिच्छे धातुका सामग्री आउन थालेपछि काठका सामग्री बिक्री कम हुँदै गएको उहाँले बताउनुभयो । 

गाउँका बारीमा रहेका काठबाट बनाइने काठका ठेकी आयातित भाँडाकुँडा भन्दा स्वास्थ्यका लागि फाइदा हुने भन्दै यसतर्फ कसैको ध्यान नगएको चुनाराको भनाइ छ । समयसँगै परम्परा पनि परिवर्तन हुँदै जाँदा अचेल मानिसहरु गाउँमा नबस्ने तथा गाईभैँसी नपाल्दा ठेकीको पनि प्रयोग निकै कम भएको उहाँले बताउनुभयो । 

“हाम्रो पालामा एउटै परिवारले १५/२० वटा भैँसी पाल्ने, दूध, दही र मही ठेकीमा राख्ने चलन थियो । अहिले गाउँमा मानिस बस्न छोडे, गाईभैँसी पनि पाल्दैनन् । उहिलेका बुढापाकाले सिल्टी प्रयोग गर्ने होइन भन्थे, अहिले त्यही बढी प्रयोग गर्छन्”, चुनाराले भन्नुभयो, “सिल्टीमा एकै छिन हात गोट्यो भने कति कालो लाग्छ, त्यस्तो भाँडामा खाँदा बुढापुरानाले धेरै थरीको रोग लाग्छ भन्थे । काठको भाँडाको दूध दही, तामाको भाँडाको पानी, फलामको कुँडेमा तताएको दूध खानुपर्छ भन्थे, अहिले त्यो सबै हरायो ।”

पहिले आफ्नो गाउँमा ३०/४० जनाले ठेकी बनाउने गरे पनि अहिले नयाँ पुस्ताले काम नसिक्दा चार जना मात्रै रहेको चुनाराले जानकारी दिनुभयो । यो पेसा संरक्षणमा राज्यले पनि चासो नदिएको उहाँले गुनासो पोख्नुभयो ।

गाउँपालिका र नगरपालिकाले आरन गर्ने, बाख्रा पाल्नेलाई अनुदान दिएर ती पेसामा लागनेलाई प्रोत्साहन गरे पनि ठेकी बनाउने सीप भएका र वर्षौँदेखि यहीँ पेसा गर्दै आएकालाई अहिलेसम्म कुनै पनि सम्बोधन नगरेको उहाँको भनाइ छ । ठेकी बनाउने पेसाबाटै परिवार चलाउँदै आएको भन्दै पछिल्लो समय बिक्री कम हुन थालेपछि जीविकोपार्जनमा समस्या हुन थालेको उहाँले बताउनुभयो ।

चुनारा अहिले पनि अँधियामा ठेकी बनाउन गाउँगाउँ पुग्नुहुन्छ । अँधिया प्रथा अहिले पनि कायम रहँदै आएकाले यसलाई निरन्तरता दिएको चुनारले बताउनुभयो । ४८ वर्षसम्म एउटै पेसा अँगालेर छोराहरुको लालनपालन र पढाइलेखाइसम्म गरेको सुनाउँदै अहिले आफ्ना सन्तानले सरकारी क्षेत्रमा काम गरिरहेका उहाँले बताउनुभयो । “मैले कुनै सरकारी कार्यालयमा काम गरेको भए पेन्सन पाउने उमेर भइसकेको छ”, उहाँले भन्नुभयो ।   

“मैले १२ वर्षदेखि ठेकी बनाउने पेसा अङ्गालेको हुँ, उतिबेला बा, दाइहरुसँग हिँडियो, उनीहरुबाटै सिकियो, १७ वर्षदेखि आफैं कमाउन थाले, अहिलेसम्म गर्दै आएको छु, केही वर्ष भयो व्यापार निकै कम हुँदै गएको छ । ठेकी किन्नेहरुले अहिले प्लास्किट, सिल्टीका भाँडा ल्याउन थाले”, चुनाराले भन्नुभयो, “हातपाखुरा चल्दासम्म यो पेसा धान्नेछु । युवा पुस्ताले सीप नसिक्दा पेसा सङ्कटमा पर्ने चिन्ता छ ।” राज्यले पनि ठेकी बनाउने पेसाको संरक्षण गर्न केही आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

सबैभन्दा पहिले काठ र माटोकै भाँडाको आविष्कार भएको भन्दै प्रविधिको विकासले अन्य धातुका भाँडा बन्न थालेको चुनाराले बताउनुभयो । ठेकीलाई एक मानाको रु एक हजार दुई सय पर्ने उहाँले जानकारी दिनुभयो । एउटा ठेकीलाई रु. आठ सयदेखि १० हजारसम्म पर्ने उहाँको भनाइ छ । 

ठेकीको व्यापार बढे युवाले विदेशी भूमिमा दुःख गर्न नपर्ने चुनाराले बताउनुभयो । स्थानीयस्तरमा युवालाई स्वरोजगार बनाउन तीनै तहका सरकारले विशेष योजना बनाएर रैथाने सीप तथा पेसा संरक्षण र प्रवर्द्धनका लागि कदम चाल्नुपर्ने उहाँको भनाइ छ ।रासस

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal