म निराश छैन
हामीले नगरेको हो, गर्न नजानेको हो। खोट हामीमा छ, नेपालमा होइन।
सनत न्यौपाने
हाम्रो देश नेपाल
देश भनेको एक मेगा सिस्टम हो। समाज, स्रोत, शासन र मूल्य–मान्यताहरूको यो बृहत् र विशाल प्रणाली नेता र शासकको भरमा मात्र चलेको हुँदैन, यो प्राकृतिक, पार्थिव र ब्रह्माण्डीय अनेकन शक्तिबीच विभिन्न सन्दर्भ र सापेक्षताका आवश्यकता र प्राथमिकताका नियमहरूबीच परिचालित हुन्छ। नागरिकले जीवनलाई मानव बनेर नजिकबाट बुझ्न खोज्ने हो भने राजनीति, अर्थनीति, रणनीति, आदि धेरै नीति व्यर्थ नै त होइन, तर देशको समग्रताको सन्दर्भमा शक्तिहीन भने लाग्छन्।
यस प्रकृतिको संग्रहालय, हिमखण्ड र शान्तिको सबैभन्दा उँचो देशमा जन्मेर स्वचिन्तन गर्न पाउनुको भाग्य अतुलनीय–अमूल्य छ। आध्यात्मवाद र भौतिक–कामनाहरूबीचको अलमल नै हाम्रो समृद्धिको प्रस्थान बिन्दु हो। जसरी हामी एक मानवरूपमा अद्वितीय छौं, हामीले निर्माण गर्नुपर्ने ‘स्व:’ र समृद्धि पनि अद्वितीय नै हुन्छ, हुनुपर्छ। नेपाल आयातित नीति र कुनै पाहुनावाद, दर्शन वा चिन्तनले आकलन गर्न सक्नेभन्दा माथिका सम्भावनाहरूले भरिएको एक अति उर्बर राष्ट्र हो। जसले ‘भौगोलिक उचाइ’को महत्त्व बुझेको हुँदैन, जसले हिमाल–पहाड र तराईको त्रिकोणीय उपज विधि बुझेको हुँदैन, जसले माटो–ढुंगा–पानीलाई सुन देख्न सक्दैन, जसले झुप्रोमा प्रेम देख्न सक्दैन र जसले माता–पिताको जिम्मेवारीबोधमा भाग्य देख्न सक्दैन, उसले कहिल्यै पनि नेपाल बुझ्न सक्दैन– बनाउने त कुरै भएन।
नेपाल अनेकन समृद्धिको प्रोटोटाइप गर्न सकिने एक विश्वव्यापी प्रयोगशाला हो। अहिले नेपालमा सपना सकिएको छ। नेपालले नयाँ मूलमन्त्र मागेको छ। व्यवहारीकरणको ‘मायोपिक’ नक्सा र सोचको म्याद सकिएको छ। अब नवीन, अर्कै स्तरको, ट्रेन्डब्रेकिङ, ऊर्जावान्, महŒवाकांक्षी सपना चाहिएको छ। तर यस अद्भुत राष्ट्रको मूलमन्त्र त्यो द्रष्टाले मात्र कोर्न सक्छ, जसले घाँसपात गरेको होस्– विश्वको शीर्ष विश्वविद्यालयमा पढेको होस्, पचासौं देश हेरे–देखेको होस्– नाभी नेपालमै जोडिएको होस्, जीवनी लोभ–पापबाट दगिएको नहोस्– नैतिक साहस र बलिदानको प्रशंसित प्रमाण होस्। त्यस्तो मान्छे भेटिन्छ ? भेटिन्छ तर अनुरोध गरेर बोलाउनु पर्छ, निवेदन दिएर आउँदैन।
निराशाको ओसार–पसार, व्यापार
कहिल्यै बाटोमा समेत एकजना पनि बेखुसी नदेखिने मेरो देशमा मैले धेरैपछि धेरैलाई निराश देखेको छु। तर वास्तवमा भित्रैबाट निराश भने छैनन् जस्तो लाग्छ। यो माटोमा निराशा उब्जनी नै हुँदैन। निराशा आयात भएको हुनुपर्छ र त्यसले घरेलु आशामा समेत ऐंजेरु हालेको छ। विदेशी रहनसहन, विदेशी सुशासनको अल्पज्ञान, अति सूचनाको अशांकनले विदेशमा गर्नुपर्ने श्रम, विदेशले गरेको महासंघर्षपूर्ण इतिहास र स्वनिर्माणमा गरेको लगानीलाई मौन राखेर हामी लागू औषधिजस्तै निराशाको चक्की साथीभाइ, आफन्त, सामाजिक सञ्जालमार्फत नियमित सेवन गरिराखेका छौं। देखासिकीमा भित्रिएको यो निराशा महामारी बनेर ‘नेपाल खत्तम भइसक्यो, अब विदेश नै जानुपर्छ’ भन्ने ‘अचेतन ड्राइव’ फैलाइराखेको छ। डीभी, विदेशी शिक्षा र रोजगार एजेन्ट, ग्रिनकार्ड–पीआर धारकहरूले आफ्नो व्यवसाय र ज्वलन्तता प्रदर्शनका लागि कोट्याइदिएको यो हिमपहिरोले अहिले आशा, उत्साह, जाँगर, कर्म, जिम्मेवारी आदि सबै बोट–बुट्ट्यान ढलाएर राखेको छ। विशेषगरी विभिन्न शीर्षकको शरणार्थी भिसामा गएका गैरशरणार्थीहरूले आफ्नो भित्री लज्जा र हीनता लुकाउन ‘नेपालको भविष्य छैन’ भन्ने मिथ्या चलाखीपूर्वक जीवनलाई खुसीसँग होइन, जीवनशैलीसँग तुलना गराई फैलाइरहेका छन्, हामी सतर्क हुनु जरुरी छ।
निराशाको घरेलु उत्पादन पनि छ, उपज उही आयातित निराशाबिजको। निराशा र आलस्य परिपूरक हुन्। जो अल्छी हुन्छ, उसलाई आफ्नो आलस्यता छिपाउन आफू निराश प्रदर्शन गर्ने बाध्यता हुन्छ। अल्छी र जागरहीनहरू सबै निराश भएको देख्न रुचाउँछन्। नेपाली पहिलाभन्दा धेरै अल्छी भएका छौं। हामीलाई कर्म गर्नभन्दा ‘देश खत्तमै भो’ भन्न सजिलो लाग्न थालेको छ।
जसरी फोहोर पानीमा लामखुट्टे फैलिन्छ, भ्रष्टाचारमा पनि निराशा फैलिन्छ। भ्रष्टहरूले सपनाको दलाली गर्न निराशाको खाल्डोमा पहिला सबैलाई धकेल्छन्। र निराशाको डर देखाएर निकाल्ने आश्वासनको व्यापार गर्छन्। म नेपाली शिक्षकहरूलाई पनि अति जिम्मेवार ठान्छु। यो कस्तो प्रतिभा, संस्कार र मानसिकता उत्पादन गरिरहनुभएको उहाँहरूले ? आशा नै नभाको शिक्षा कस्तो शिक्षा ?
विपक्षी दलहरू पनि अति जिम्मेवार छन् निराशावादलाई। वजनयुक्त सुझाव, रचनात्मक समाधान दिन असफल विपक्षी दलहरू नकारात्मक भाषण, हिलो छ्यापाछ्याप, आरोप, आक्रोशले जति सरकारलाई क्षति गरे भन्ने सोच्छन्, त्योभन्दा बढी देश र आफैंलाई नकारात्मक बनाइरहेका छन्। क्षमता र हिम्मत भए समाधान, विचार र सिर्जनाको कुरा गरून् न।
अर्को निराशाको सञ्चार नेपाली सञ्चारले पनि गरेको छ। जे बिक्छ त्यै पस्किने अनि ‘लाइक र भ्युज’ कुर्ने। निराशाले संक्रमित समाज भ्रष्टाचार, दुर्घटना, विश्वासघात, बदला, गतिरोधका समाचारको भोको हुन्छ, जुन खोजी खोजी ब्रेकिङ बनाउने तँछाड–मछाडमा निकालिदिने कदाचारबाट नेपाली मिडिया मुक्त हुनु जरुरी छ। दूरदर्शिताबिनाको न समाचार उत्कृष्ट हुन्छ, न पत्रकारिता। मिडियाले समाजलाई आशावान् बनाउने जिम्मेवारी र सामर्थ्य राख्छ।
‘नेपाल रिटर्ण’हरूले आफू आशावान् भइकन पनि नजानेर निराशा थपेका छन्। उनीहरूको अपेक्षा र वास्तविकताबीचको अन्तरले स्पष्ट रूपमै उनीहरूलाई अनुत्प्रेरित गरेको त होला तर घर बनाउन कहाँ सजिलो छ र ? घर बनाउनु बाध्यता होइन, छनोट हो र त्यो लामो यात्रा हो। तर घर बनाउने आँट गरेकोमा उनीहरूको जयजयकार नै गर्नुपर्छ। नजानिँदो रूपमा उनीहरूबाट फैलिएको त्यो निराशावाद क्षणिक हो र क्षणिक नै रहोस्। नेपाल रिटर्णहरू आशाका प्याकेट हुन्।
यसरी यहाँ एउटा ठुलो संयन्त्र नै बनेर ऐन, स्रोत अभाव, अनुपस्थिति आदिको टेको लगाई नेपालको सरकारी अड्डाले सेवाग्राहीलाई, सब्जिमन्डीले कृषकलाई, न्यायालयले पीडितलाई, एयरपोर्टले यात्रीलाई, ठेकेदारले राष्ट्रनिर्मातालाई, गैरआवासीयले आवासीयलाई, दाताले सरकारलाई, अनि कर्मचारीले राजनीतिज्ञलाई र राजनीतिज्ञले कर्मचारी र जनतालाई निराशाको उत्पादन तथा परिसञ्चरण गरिरहेछन्। यो निराशाको ग्रहणयुक्त संयन्त्र भत्काउनु जरुरी छ। यो संयन्त्र सपनाको प्रकाशमा तहसनहस बनाउन सकिन्छ। सपना, मूलमन्त्र, भिजन चहियो। त्यस्तो सपना देख्ने भेटिन्छ ? भेटिन्छ, तर अनुरोध गरेर बोलाउनुपर्छ, निवेदन दिएर आउँदैन।
आशाका टुसाहरू
धेरैलाई थाहा होला तर सन्दर्भका लागि फेरि दोहोर्याउँछु– एउटा चिनियाँ बाँसको रुख हुन्छ, जसमा टुसा लाग्न पाँच वर्ष लाग्छ। पाँच वर्षसम्म यो भुइँमाथि आउँदैन तर यसलाई दिनहुँ मलजल गरिरहनु पर्छ। पाँच वर्षपछि (यो जमिनबाट फुटेपछि) यो पाँच हप्तामा ९० फिट अग्लो हुन्छ। समय रेखा फरक होला तर हाम्रो विकास र हाम्रो माटो यही कथा हो। हामीलाई राम्ररी भन्दिने कोही छैन र हामी सुन्न पनि तयार छैनौं। तर विगत सय वर्षमा हाम्रो देशमा धेरै विकास भएको छ र अब झन् हुनेवाला छ।
विकास खप्लक्क आउँदैन, विकासको क्रम हुन्छ। सयौं वर्ष पुरानो प्रजातन्त्र भएको देश, बन्दरगाह भएको देश, अर्बौं जनसंख्या भएको देशसँग हाम्रो तुलना गर्न मिल्दैन। हामी हामी हौं। हिमाल, नदी, जडीबुटी, गोर्खाली, शान्तिको देश हौं। हाम्रो विकास त्यै ढाँचाको हुन्छ। विकास भुइँमै फल्छ, आकाशमा फल्दैन। हामीले हाम्रो भुइँ चिन्नु जरुरी छ। शिक्षा, चेतना, पूर्वाधार, राजनीति, सबैमा हाम्रो विकास भएको छ। पत्यार लाग्दैन ? जाँगर भए स्वतन्त्र (न राजावादी, न माओ, माक्र्स लेनिनवादी, न बीपीवादी)लाई सोध्नु, जाँगर नभए बूढापाकालाई सोध्नु– जीवन कसरी चल्थ्यो र अहिले कसरी चलिरहेको छ।
अलिअलि बुद्धि, मेहेनत लगाउँदा त नेपाल यति विकास भयो। राम्ररी गरे के नहोला ? आशावादी होउँ, अरूलाई पनि आशावादी बनाउँ। हाम्रो भविष्य उज्ज्वल छ, जसरी नि जाज्वल्यमान बनाउनु पर्छ।
निराशावादको अल्छीपनाले हामी स्वविचारसमेत सापटमा लिन्छौं। अनि हामीलाई सत्य कहाँ नसिब होला ? चेतना पलेँटी मारेर बसेर अपुताली वा उपहारमा आउँदैन, चेतनाका लागि दौडिनु पर्छ, सत्यको खोजीमा, कर्मको रेसकोर्समा। पुर्खा, पुराना नेता, अभियन्ता, देशी–विदेशी, नायक–खलनायक, सबलाई धन्यवाद दिएर अगाडि बढौं। भूतभन्दा भविष्य महŒवपूर्ण छ। देशको बाँसको टुसाले भुइँ फोड्न लागेको छ, ९० फिटको समृद्धिभित्रका सम्भावनाहरू केलाउन थालौं।
अपूर्ण सम्पूर्णको सम्भावना हो, सुरुआत त्यही नै हो। देश बन्न सम्पूर्ण बनिहाल्नु पर्दैन, केही अपूर्णहरू पूर्ण हुन थालेपछि मनसुनको वर्षाजस्तै समृद्धि बर्सिन थाल्छ। मैले नेपालका मुख्य समस्याहरू र निराशाहरू अन्त हुँदै गरेको संकेतहरू भेटेको छु :
अति राजनीतीकरण : नेपालको एउटा ठूलो समस्या अति राजनीतीकरण हो। जहाँ पनि कार्यकर्ता भर्ती, भनसुन, सोर्सफोर्स, नातावाद, पक्षपात गर्न दलहरू आफ्नो अधिकार र जिम्मेवारीसमेत भन्ठान्छन्। तर अहिले शिक्षामा राजनीतीकरणविरुद्ध विभिन्न विद्वान् विदूषीहरू जसरी लागिरहनु भएको छ। त्यसले अति राजनीतीकरण भत्काउने पक्का छ। त्यो अभियान विश्वविद्यालयबाट संस्थान, मन्त्रालय, आयोग सबैतिर पुग्नेछ। यो अभियान सफल होस्। आशावादी बनौं, सघाऔं पनि।
दिशाहीनता : स्पष्टताको अभाव पनि हाम्रो समस्या हो। हामी हाम्रो मुख्य दक्षता र प्रमुख शक्तिहरूको बारेमा स्पष्ट थिएनौं। तर हालै हामीले जलविद्युत्, आईटी र जनशक्ति हाम्रो मुख्य शक्ति हुन् भन्ने पत्ता लगाइसकेका छौं। अब हामी यत्तिको स्पष्टताका साथ अघि बढ्छौं नि, यसले हामीलाई समृद्धिको यात्रामा पुर्याइछाड्छ। ‘सूत्र’ पत्ता लागिसकेको छ कि अब हामी आशावादी बनौं। एक फड्को मरिनेछ र त्यस्तै एक एक फड्कोले समग्र विकासको भर्याङ चढिनेछ।
भ्रष्टाचार : भ्रष्टाचार हाम्रो गम्भीर समस्या हो। तर सूचना–प्रविधिको विकाससँगै सबै सरकारी सेवामा द्रुत ‘डिजिटलाइजेसन’ अघि बढ्नेछ। यसले ठूलो मात्रामा भ्रष्टाचार घटाउनेछ। भ्रष्टहरू पनि अब अघाएका, थाकेका र नांगिएका छन्। अति उपभोगले भ्रष्टहरूलाई नै भ्रष्टाचार ‘बोरिङ’ भइसकेको छ। आशा गरौं– आईटी र आत्म शुद्धीकरणले भ्रष्टाचारलाई धेरै नै पराजित गर्नेछ।
राजनीतिक इच्छाशक्ति : राजनीतिज्ञहरूले पनि आत्मबोध गर्न थालेका छन्। परिवर्तन गर्न नसक्नेहरूका लागि शासन समाप्त हुँदैछ। खराबहरूको प्राकृतिक अन्त्य भइरहेछ। नयाँ नेता र पार्टीहरू बनिरहेका छन्। राजनीतिक वातावरण उथलपुथल छ, तर नयाँ हुरीले बादलहरू बढार्दै छ। नेपाली राजनीति सफा हुँदैछ जसले एक दशकभन्दा कम समयमा सबल व्यवस्था ल्याउनेछ। सुशासनको कामना गरौं, आशावादी बनौं।
मानसिक गरिबी : नागरिक सचेतना कम छ, जीविकोपार्जनमा भन्दा मनमा गरिबी बढी छ। ब्रेन ड्रेनको कारण, एक ‘खल्लो अनुपस्थितिहरूको’ वैराग्यले राष्ट्रलाई सताइरहेको छ। तर आगामी पाँच वर्षमा यहाँ ‘रिभर्स ब्रेन ड्रेन’ हुने ठूलो सम्भावना छ र हाम्रो गाउँ, सहर, समाज मानिसहरूले भरिपूर्ण हुनेछ। नेपालको ‘आईटी रिभोलुसन’ तिनैले नेतृत्व गर्नेछन्। विदेशका सिकाइहरूले हामीलाई अपग्रेड गर्नेछ र डा. भगवान कोइराला, डा. प्रमोद ढकाल, कुशल नेत्री सुमना श्रेष्ठ, डा. सन्दुक रुइत, महावीर पुनहरूले हामीलाई विचार, आचरण र प्रेरणाले सशक्त बनाउनेछन्। मानसिक गरिबीको यो नाली छिट्टै पार गर्नेछौं, आशावादी हौं।
जलवायु परिवर्तन : हामी जुन भूगोलमा छौं, जलवायु परिवर्तन हाम्रा लागि अत्यन्त महŒवपूर्ण छ। जलवायुमा हाम्रो नकारात्मक योगदान धेरै कम भए पनि त्यसको प्रभावबाट हामी बढी नै असुरक्षित छौं। हाम्रो ज्ञान, तयारी र चेतना अत्यन्तै कम छ। यसमा हाम्रो नियन्त्रणमा थोरै छ तर यो एउटा एजेन्डा हो जसले हामीलाई संसार नै ढक्ढकाउने बहाना दिन्छ। विचार, प्रयोग र उत्कृष्ट अभ्यासहरूका साथ विश्वलाई नेतृत्व गर्ने अवसर पनि दिन्छ। बुद्धको शान्ति र सगरमाथाको उचाइपछि जलवायु परिवर्तनको नेतृत्वले हामीलाई विश्वव्यापी मञ्च प्रदान गर्नेछ भन्ने आशा गरौं।
नैराश्यता : मानिसहरू रटिरहेका छन् कि ‘सिल्भरलाइन’ देखिएन, ‘टनेलको’ अर्को छेउमा उज्यालो देखिएन। तर मैले प्रशस्तै देख्छु। नेपालको पहिलो यातायात सुरुङ नागढुंगा–सिस्नेखोलामा मैले उज्यालो देखेको छु। यो सुरुङ नेपालको नव–पूर्वाधार मोडेलको पहिचान हो। म अब नेपालमा सयौं टनेल देख्छु र हरेक टनेलको अन्त्यमा उज्यालो देख्छु। तिलगंगाले बनाएको लेन्समा उज्यालो देख्छु। तनहुँ जलविद्युत्को सुरुङको छेउमा उज्यालो देख्छु। ग्वार्को फ्लाईओभरमा उज्यालो दौडेको देख्छु। नेपालका आईटी कम्पनीभित्र झलमल्ल उज्यालो देख्छु। नेपाल र विदेशमा बस्ने सबै नेपालीको अनुहारमा उज्यालो देख्छु। म धेरै आशावादी छु– केही १५÷२० यस्ता सफलता र अग्रगामी कार्यहरूले नेपाललाई आशा, ऊर्जा र खुसीले भर्नेछ।
नेपाल अनेकन समृद्धिको प्रोटोटाइप गर्न सकिने एक विश्वव्यापी प्रयोगशाला हो। अहिले नेपालमा सपना सकिएको छ। नेपालले नयाँ मूलमन्त्र मागेको छ। व्यवहारीकरणको ‘मायोपिक’ नक्सा र सोचको म्याद सकिएको छ। अब नवीन, अर्कै स्तरको, ट्रेन्डब्रेकिङ, ऊर्जावान्, महत्त्वाकांक्षी सपना चाहिएको छ।
अब यस्तै केही स्विचहरू थिचिऊन्, केही बत्तस्हरू थप बलून्, नेपालको अँध्यारो, निराशा सबै हराउनेछ। चमक्क उज्यालो चाहिँ उपयुक्त गतिमा बनाउँदै जाउँला।
आशावादी म
म सुखी छु छैन खासै मतलब गर्दिनँ, खुसी चै असाध्यै छु। मलाई पनि आयातित निराशावादले ‘तँ सुखी छैनस्, त्यसैले खुसी छैनस्’ भनेर धेरै नै मनाउन खोज्यो, तर सकेन। मलाई आफूमाथि र आफ्नो देशमाथि ठूलो विश्वास छ। म मेरो आमाबुवासँगै दालभात खाएर अफिस जान पाउँछु। म चाडपर्व परिवार साथीभाइसँगै मनाउन पाउँछु। मैले हितैषीको जन्ती–मलामी छुटाउनु पर्दैन। मेरो छोरो मलाई फुर्सद नभएको बेला मेरो काकाकोमा वा छिमेकीकोमा बस्छ। मैले बोलाउँदा शुभचिन्तकहरू दौडेर आउँछन्। म यहाँ निर्धक्कसँग हिँड्छु। मलाई कुनै युद्धको डर छैन, कुनै क्षेप्यास्त्रले हान्ला भन्ने त्रास छैन। यो उमेरमा पनि सानोतिनो उपद्रोव गरेर हिँड्न र स्वयं ‘म’ बनेर हिँड्न ‘अफोर्ड’ गर्न सक्छु। ज्ञान–गुन, दर्शन–चिन्तनको कुरा गर्न विद्वान्, ऋषि, जोगी, सन्न्यासीको कमी छैन। आर्यघाट गएर जीवन रुजु गर्न सक्छु। म निराश छैन।
हो, अहिले केही समस्या पक्कै छन् र तुलनात्मक रूपमा पहिलाभन्दा बढी छन्। दैनिक कति धेरै सञ्चालन कठिनाइ आर्थिक चुनौतीहरूले घेरिनु पर्छ। सबैले ‘पैसा छैन’ भन्छन्। महँगोमा पढे पढाइ महँगो नै छ। राम्रो अस्पताल पनि महँगो नै छ। कलकारखाना थालिएका छन्। रोजगारी पाउन बढी क्षमतावान् हुनुपर्या छ। बैंकले सजिलै ऋण दिएको छैन। यहाँ, उहाँ, जहाँ पनि घुस चाहिएको छ। तर यो समस्या जहाँ पनि हुन्छ। यो लडाइँ सबैले लडिरहेका हुन्छन्। बरु हाम्रो यो लडाइँमा हामी एक्लो छैनौं– हामीसँग टिम, परिवार, साथीभाइ सबैसाथ छन्।
अनि यो समस्याको अन्त्य छैन त ? पक्का छ। दलहरूले चाहे ‘विगर नेसनल एजेन्डा’ बनाएर एक दिनमै ऐन, संविधान, शासन पद्धति, सामाजिक, आर्थिक र कूटनीतिक हितमा परिमार्जन गर्न सक्छन्, नगरेका पो हुन्। यसपालि अर्थमन्त्रीले धर्म नछोडी र बुद्धि लगाएर बजेटमार्फत साहसी र ऊर्जावान् कार्यक्रममात्रै ल्याए भने पनि धेरै समस्या हल हुन्छन्। मनिटरी पोलिसी अलि विवेकशील र रचनात्मक आयो भने अरू समस्या हल हुन्छन्।
प्रधानमन्त्री, परराष्ट्र मन्त्री र राजदूतहरूले अहंकार र बेवकुफपना छोडेर काम गरे भने विदेशी लगानी मजाले आउँछ। नेपालले मलाई बिल गेट्ससँग भेटेर सरकारको डिजिटल रूपान्तरणका लागि सामाजिक उत्तरदायित्व कोषमार्फत काम गर्न फकाउने अधिकार देओस्, म गर्न सक्छु भन्ने आँट र आत्मविश्वास छ। मैले त गर्न सक्ने हैसियत राख्छु भने मेरा अग्रजहरूले किन गर्न नसक्नु ? यहाँ ढंग, साहस, वजन र ‘करिश्मा’ भएको मान्छे मात्र चाहिएको छ। त्यस्तो मान्छे भेटिन्छ ? भेटिन्छ। तर अनुरोध गरेर बोलाउनु पर्छ, निवेदन दिएर आउँदैन। म आशावादी छु कि अब नयाँ सपना, द्रष्टा, योजनाकारहरू बोलाइनेछन्। गाउँ, सहर, विश्वबाट मेधावी नेपालीहरू ‘हेडहन्ट’ गरेर बिन्ती गरेर नेपाल बनाउन ल्याइनेछन्।
हामीले नगरेको हो, गर्न नजानेको हो। खोट हामीमा छ, नेपालमा होइन। अलिअलि बुद्धि, मेहेनत लगाउँदा त नेपाल यति विकास भयो। राम्ररी गरे के नहोला ? सकारात्मकताले सम्भावनालाई जन्म दिन्छ, नकारात्मकताले निराशालाई। सकारात्मक होउँ,आशावादी होउँ, अरूलाई पनि आशावादी बनाउँ। हाम्रो भविष्य उज्ज्वल छ, जसरी नि जाज्वल्यमान बनाउनु पर्छ।स्रोतःअन्नपूर्ण पोस्ट
ताजा
Does the world still need globalization? A look at the distant past offers an answer.
२०८२ पुष १ गते, मंगलवार
Does the world still need globalization? A look at the distant past offers an answer.
२०८२ पुष १ गते, मंगलवार
How will “a shared future” save the world from fragmentation?
२०८२ पुष १ गते, मंगलवार
एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै
२०८२ पुष १ गते, मंगलवार
एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै
२०८२ पुष १ गते, मंगलवार
पुतलीबजार र अर्जुन चौपारीमा आगलागी
२०८२ मंसिर २८ गते, आईतवार
शिक्षकलाई पेशागत सहायता तालिम
२०८२ मंसिर २८ गते, आईतवार
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली
२०८२ मंसिर २७ गते, शनिबार
भेषजराज साहित्य प्रतिष्ठानको ९१ औँ शृङ्खला सम्पन्न
२०८२ मंसिर २७ गते, शनिबार
माेबाइल एसाेसिएसन वालिङद्वारा गह्राैँ प्राथमिक अस्पतालाई सहयाे
२०८२ मंसिर २७ गते, शनिबार





















