चिस्यान केन्द्र बनेपछि आलु भण्डारणमा सहज

दमौली (तनहुँ),१८ चैत- तनहुँको म्याग्दे गाउँपालिकामा निर्माण सम्पन्न भएको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको भण्डारण गरी उचित मूल्यमा बिक्रीवितरण गर्ने उद्देश्यसहित गत वर्ष माघमा निर्माण थालिएको चिस्यान केन्द्र सम्पन्न भएर बिहीबारदेखि सञ्चालनमा आएको हो ।

म्याग्दे गाउँपालिका–३ बिरुवामा चिस्यान केन्द्र निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चिस्यान केन्द्र निर्माणका लागि गतवर्ष पुस १ गते पासा कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो । 

रु एक करोड ४७ लाख चार हजार छ सय ४७ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । दुईतले भवन एक सय ९५ दशमलव ८५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । चिस्यान केन्द्रमा कृषकले उत्पादन गरेका आलु, फलफूल, तरकारीलगायतका वस्तु राखिनेछ ।

अधिकारीले भन्नुभयो, “कृषिजन्य वस्तु भण्डारणका लागि चिस्यान केन्द्रले सहयोग पुग्नेछ, त्यसका कारण कृषकले उचित मूल्य पाउनेछन्, अधिकारीका अनुसार चिस्यान केन्द्रको क्षमता दुई सय मेट्रिकटन छ ।” 

चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव रुक्मिता घिमिरेले चिस्यान केन्द्रमा भण्डारणका लागि प्रतिकिलो रु. १० शुल्क कायम गरिएको छ । गाउँपालिकाभित्रका कृषकलाई भने ५० प्रतिशत अनुदान दिइनेछ । उहाँले भन्नुभयो, “चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिले भण्डारणका लागि शुल्क निर्धारण गरेको छ, चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका कृषकलाई प्रतिकिलो रु पाँचमात्रै शुल्क लाग्नेछ ।”

घिमिरेले कृषकलाई वडाका टोल विकास संस्थामार्फत एकमुष्ठ आलु सङ्कलन गरी चिस्यान केन्द्रमा भण्डारण गर्न सूचीत गरिएको जानकारी दिनुभयो । आलु सङ्कलन गर्दा प्रत्येक बोरा ५० किलोको हुनुपर्ने निर्णय गरिएको उहाँको भनाइ छ । 

घिमिरेका अनुसार बोरामा सङ्कलन गरिएका आलु कम्तीमा खनेको १५ दिनपछिको र बोक्रा बाक्लो भएको हुनुपर्नेछ । त्यस्तै टोलविकास संस्थामार्फत आउँदा किसानले आफूले चिन्ने गरी बोरामा सङ्केत नाम राख्नुपर्नेछ ।

म्याग्देले समृद्ध गाउँपालिका निर्माणका लागि कृषिलाई प्राथमिकतामा राखेको छ । कृषकले कृषिजन्य वस्तु उत्पादन गर्ने तर समयमा बिक्री हुन नसक्दा समस्या हुँदै आएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । “यो समस्या समाधानका लागि चिस्यान केन्द्र अतिआवश्यक थियो, यसले गर्दा कृषकले उचित मूल्य पाउनेछन्”, श्रेष्ठले भन्नुभयो । 

उत्पादित वस्तु समयमा बेच्न नसक्ने हुँदा सड्ने र वस्तु घाटामा बेच्नुपर्दा व्यवसायमा असर पर्ने देखिएकाले गर्दा चिस्यान केन्द्रमार्फत वस्तुको भण्डारण गरिने श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकलाई उत्पादनमा प्रेरित गर्ने वस्तुको बजारीकरणमा सहयोग गर्ने गरी पालिका अगाडि बढेको छ, चिस्यान केन्द्र सञ्चालनपछि कृषक आफैंले उत्पादित वस्तुको भण्डारण र बिक्री गरी आयआर्जन गर्न सक्नेछन् ।”

म्याग्दे गाउँपालिकाका कृषक केही वर्षयता सामूहिक आलुखेतीतर्फ आकर्षित छन् । विगतमा धान, मकै, गहुँजस्ता अन्नबाली लगाइने ठूला फाँटमा कृषकले अहिले सामूहिकरुपमा आलुखेती गरिरहेका छन् ।

यसअघि केही कृषकले निर्वाहमुखी आलुखेती गर्ने गरेकामा गाउँपालिकाले व्यावसायिक आलुखेती गर्न प्रोत्साहन गरेपछि कृषक सामूहिकरुपमा आलुखेतीतर्फ आकर्षित भएका हुन् । 

विगतका वर्षमा व्यक्तिगतरुपले निर्वाहमुखी आलुखेती गर्दै आएकामा गाउँपालिकाले आलुखेतीमा अनुदान दिन थालेपछि समूह बनाएर आलुखेती गरिएको कृषक लक्ष्मी भण्डारीले बताउनुभयो । चिस्यान केन्द्रको अभावमा विगतमा आलु कुहिएर जाने समस्या रहेको जनाउँदै उहाँले अब चिस्यान केन्द्र सञ्चालनमा आएपछि सहज हुने बताउनुभयो । गाउँपालिकाको साँगे, रानीटारी, थर्पु, पयर, धयरे, छाङपाटन, पीपलडिहीलगायतका क्षेत्रमा सामूहिक आलुखेती भइरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।रासस

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal