पुरातात्विक महत्वका बालधारा संरक्षणको पर्खाइमा

जमुना वर्षा शर्मा

पोखरा,८ साउन – पोखरा प्राकृतिक सुन्दरतासँगै धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदताले पनि उत्तिकै परिचित छ । आफ्नै विशेषता र मौलिकताले सजिएको पोखरामा एक सय वर्षको इतिहास बोकेका  बालधाराको पुरातात्विक महत्व रहे पनि ती सबैको संरक्षण हुन नसक्दा लोप हुने अवस्थामा पुगेका छन् । 

बालधाराको इतिहास हेर्दा सन् १९७७ मा तत्कालीन चिफ इन कमान्डर बबर शमशेरले आफ्ना नाबालक छोरा बाल शमशेरको स्मृतिमा बनाएको पाइन्छ  । बाल शमशेरको १४ वर्षको उमेरमा निधन भएको थियो । तत्कालीन समयमा पोखरामा पानीको निकै हाहाकार थियो । बबर शमशेरले आफ्नो छोराको वार्षिक स्मृतिमा पोखरेलीको तिर्खा मेट्न पोखराका विभिन्न स्थानमा १४ वटा धारा निर्माण गर्नुभएको सम्पदाप्रेमी एवम् पोखराका पुराना फोटो सङ्कलक सुनिल उलक बताउनुहुन्छ । 

“त्यसताका पोखरामा पानीको निकै दुःख थियो, खोलानाला तालतलैयाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता थियो । बबर शमशेरले १४ वर्षीय छोराको निधन भएपछि उनको सम्झनामा १४ वटा बालधारा बनाएर धेरैको तिर्खा मेटाउने काम गर्नुभएको थियो । सबै धारामा एउटै शिलालेख देख्न सकिने भएकाले यसबाट पनि त्यो इतिहास झल्कन्छ”, उलकले भन्नुभयो ।  

उहाँका अनुसार अहिले केही संरक्षण भएका छन् भने केही अतिक्रमणको चपेटामा परेर लोप भइसकेका छन् । बालधाराकै पानी खाएर हुर्केको अनुभव सुनाउँदै उलक भन्नुहुन्छ, “बालधाराको पुरातात्विक महत्व छ त्यसैले यसको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ भनेर बालधारा संरक्षण समिति गठन गरेर पहल गरेका हौँ ।” 

आफैँ समितिको संयोजकसमेत रहनुभएका उलकले बालधाराले तत्कालीन समयमा पोखराको इतिहासलाई बुझ्न पनि मद्दत पुग्ने बताउनुभयो । जुन जुन वडामा बालधारा रहेका छन्, ती ठाउँमा स्थानीय र वडा जनप्रतिनिधि मार्फत् संरक्षणका लागि पहल गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार भैरवटोल, मोहरियाटोल, नालामुख, पालिखेचोक, बागबजार, भीमसेन टोल, रामकृष्णटोल, सिद्धार्थचोक, सिमलचौर, तेर्सापट्टि, रानीपौवाको शोभा भगवती मन्दिर र दूरसञ्चारअघि,  माटेपानीको ९पुछारको धारा० साँघुमुखमा बालधारा निर्माण गरिएको थियो ।

हाल भैरवटोल, नालामुख, रामकृष्णटोल, सिमलचौर, तेर्सापट्टि र माटेपानीको पुरानोधाराको संरक्षण भएको छ भने बाँकी धाराहरु सम्बन्धित वडामार्फत संरक्षणका लागि पहल भएको उहाँले जानकारी दिनुभयो । साँघुमुखको र दूरसञ्चार अगाडि भने धारा भएको ठाउँ नै मानवीय अतिक्रमणमा परेको छ । योसँगै सिद्धार्थचोकमा धाराका केही सामग्री भेटिए पनि त्यही ठाउँमा भवन बनिसकेकाले त्यहाँ पनि बालधारा पुननिर्माण गर्न सम्भावना कम देखिएको छ । 

पोखरा महानगरपालिका–५ पस्र्याङ बालधारामा आउने पानीको मुहान थियो । त्यस ठाउँलाई धारापानी भनिन्छ । आज पनि त्यो ठाउँ धारापानीले नै परिचित छ । इतिहासको दृश्य बोकेको, तत्कालीन समयको अवस्थालाई अध्ययन गर्न सकिने पुरातात्विक महत्व बोकेका यस्ता सम्पदाको संरक्षणमा सम्बन्धित निकायले चासो दिन नसक्दा केही बालधारा भएका स्थानमा घर र पर्खालहरु बनेर इतिहास मेटिएको उहाँको भनाइ छ । 

विसं २०२२ मा पोखरेलीले भोटीखोला योजना आएपछि पानीको सहजता हुन थाल्यो । बालधाराको पानी पनि अन्यत्र लगिएपछि धारामा पानी सुक्न थालेको उहाँको बुझाइ छ । ऐतिहासिक र पुरातात्विक संरचनाको संरक्षण आवश्यक रहेकाले आफूहरुले चासो दिएको उलकले बताउनुभयो । 

पोखराको सुन्दरतामा पुरातात्विक महत्व बोकेको धाराको उस्तै शैलीमा संरक्षण सम्वद्र्धन हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुहुन्छ संस्कृतिकर्मी तीर्थ श्रेष्ठ । “बालधाराको पुरातात्विक महत्व छ, यस धाराले तत्कालीन समयमा पोखरामा खानेपानीको अभावको अवस्था रहेको पुष्टि गर्छ भने अर्कोतर्फ पानी खुवाउने पुण्य कार्र्यलाई पनि जोड दिएको बुझ्न सकिन्छ ।” बिट्रिस शैलीका ती धाराहरु निकै आकर्षक थिए भने मान्छेलाई मात्र नभएर गाईवस्तुलाई पनि पानी खान मिल्ने गरी बनाइएको उहाँ स्मरण गर्नुहुन्छ । 

पोखरी खनेर, कुवा बनाएर, वरपीपल चौतारो छेउछाउमा मूलको पानी ल्याएर हाम्रा अग्रजहरुले पुण्य कर्म गरे जस्तै बबर शमशेरले पनि आफ्नो छोराको स्मृतिमा पोखरेलीको प्यास मेटाउन धारामार्फत पोखरेलीलाई पानी खुवाएर पुण्य कमाएको बताउनुभयो । बालधारा निर्माणले पोखरामा आधुनिक धाराको विकास पनि सुरुआत गरेको थियो । यो धारा बनेपछि खोलानालामा पुगेर पानी बोकेर ल्याउनुपर्ने बाध्यता पनि हटेको थियो । 

श्रेष्ठले आफ्नो स्मरणमा भएसम्म १४ वटामात्र नभएर अझै बढी भएको अनुमान गर्नुभयो । “मलाई अझै बढी भए जस्तो लाग्छ यसका बारेमा थप अनुसन्धान गर्न सकिन्छ ।” खानेपानी संस्थानले यी धारामा आउने मुहानलाई लिएर सार्वजनिक स्थानमा पानी वितरण गरे पनि बालाधाराको संरक्षणमा चासो नदेखाएको उहाँको भनाइ छ । ‘बालधारा संरक्षण अभियान समिति’का सदस्य एवम् राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका निर्वतमान अध्यक्ष विष्णुहरि अधिकारी बढ्दो सहरीकरणले घरघरमा पानीको धारा आएर सार्वजनिक धाराको महत्व घटे पनि बालधारा पुरातात्विक महत्व भएकाले संरक्षण आवश्यक रहेको बताउनुभयो । 

साँघुमुखमा रहेको धाराको पानि खाएर हुर्केको स्मरण गर्दै अग्रज फोटो पत्रकार विश्व शाक्य तत्कालीन समयमा पोखरेलीको तिर्खा मेटाएको बालधारा एउटा इतिहासको चित्र भएकाले यसको संरक्षणमा स्थानीय र सरोकारवालाहरुले पहल गर्नुपर्ने बताउनुहुन्छ । 

“हामीले पानी खाएर हुर्केको साँघुमुखको त्यो बालधारा खोइ कता छ ? अहिले त साँघुमुख भन्ने नाम पनि उच्चारण भएको सुनिँदैन, इतिहास बोकेका ठाउँका नाम र संरचनालाई सम्पदा संरक्षणकर्मीले विशेष चासो दिएर जोगाउनुपर्ने हो”, उहाँले भन्नुभयो ।रासस

ताजा

सेतीवेणीमा दर्शनार्थीकाे भिड फाेटाे फिचर भिडियाे सहित

२०८१ बैशाख १ गते, शनिबार

सेतीवेणीमा दर्शनार्थीकाे भिड फाेटाे फिचर भिडियाे सहित

२०८१ बैशाख १ गते, शनिबार

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

२०८० चैत्र ३० गते, शुक्रबार

गल्याङ महाेत्सव आजदेखि सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

नयाँ वर्षका अवसरमा होमस्टेमा घुइँचो

२०८० चैत्र ३० गते, शुक्रबार

जंगलमा लागेको आगो गाउँमा पसेपछि ढिकिडाँडामा १ घर सहित ४ गोठ जल्याे

२०८० चैत्र २७ गते, मंगलवार

आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

२०८० चैत्र २७ गते, मंगलवार

निशुल्क शिक्षाको प्रावधान भित्रका केहि लुप्त चुनौतिहरु

२०८० चैत्र २५ गते, आईतवार

एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे

२०८० चैत्र २५ गते, आईतवार

गण्डकीका मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीको सपथ

२०८० चैत्र २५ गते, आईतवार

गल्याङ महाेत्सव चैत ३० देखि हुने

२०८० चैत्र २४ गते, शनिबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal