कङ्क्रिटका घरले भरिन थाल्यो खहरे गाउँ

डम्मर बुढामगर

ढोरपाटन,१८ असार- बागलुङ बजार नजिकै छ खहरे गाउँ । दशक अगाडिसम्म गाउँमा ढुङ्गाले बान्की मिलाएर छाएको छानो, सेतो कमेरो र माटोले पोतिएका घर थिए । सहरबाट नजिक सुन्दर गाउँ भएकाले घुम्न आउने मोहित हुन्थे । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमै पर्ने भए पनि खहरे गाउँलाई आधुनिकताले छोएको थिएन । मौलिक कला, संस्कृति र सम्पदा संरक्षित थिए ।

अहिले गाउँले मौलिकता गुमाउँदै गएको छ । गाउँमा मौलिक परम्परा बोकेका घर भेट्टाउनै मुस्किल छ । खर र ढुङ्गाका छाना भएका घर कम हुँदै गएका छन् । पछिल्लो समय गाउँमा घर जस्तापाताले छाइन र सिमेन्टले ढलान हुन थाले । त्यसले गर्दा गाउँको पहिचान हराउन थाल्यो । अहिले धमाधम सिमेन्ट र रडले घर निर्माण भइरहेका छन् । माटो र कमेरोको सट्टा सिमेन्ट र केमिकलका रङ लगाउने प्रचलन बढ्दै गयो । यस गाउँका वरपर थुप्रै पाटी पौवा, पोखरी र शीतलताका लागि चौतारा थिए ।

सडकका कारण पोखरी र चौतारालगायतका सम्पदा मासिँदा अहिले उजाड जस्तो बनेको छ । सडकको छेउछाउमा रहेका खेतीयोग्य जमिन मासेर नयाँ घर भवन बनिरहेका छन् । गाउँमा सहर बजारका जस्ता घर बन्दै गएपछि मौलिकता गुम्ने खतरा बढेको स्थानीय जङ्गबहादुर कार्कीले बताउनुभयो ।

साढे दुई दशक अगाडि लोकमार्गले खहरे गाउँ जोडिएपछि लामो समय गाउँगाउँकै रुपमा रहे पनि अहिले तीव्ररुपमा बजारीकरण हुन थालेको कार्कीको भनाइ छ । अहिले गाउँबाट विदेश जानेको सङ्ख्या बढेको र विदेशमा कमाएर ल्याएपछि गाउँमा पुराना घर भत्काएर सिमेन्टका पक्की घर बनाउन थालेको कार्की बताउनुहुन्छ । सहजताका लागि आफूले पक्की घर बनाए पनि घरको फाइदाभन्दा बेफाइदा धेरै रहेको कार्कीलाई आजभोलि महसुस हुन थालेको छ ।

“हाम्रो पालामा गाउँमा यस्ता घर थिएनन्, तलदेखि माथिसम्म सबै ढुङ्गा माटोका घर थिए, बस्ती पनि अहिलेको जस्तो बाक्लो थिएन तर अहिले दिनदिनै नयाँ घरहरु बन्दै गए, बस्ती थपिँदै गए, गाउँ त अहिले बजार जस्तै भएको छ”, कार्कीले भन्नुभयो, “विकास हुन त राम्रो हो, तर मौलिकता मासेर आधुनिकतालाई अङ्गाल्नु बिल्कुलै राम्रो होइन, पहिले गाउँ घरमै खेतबारीमा काम गर्ने, खेतीपाती गरेर जीवन निर्वाह गर्ने, परम्परागत घरमै बस्ने गरिन्थ्यो, अहिले सबै विदेश जान थाले, विदेशमा कमाएको पैसाले आफू जन्मे हुर्केको घर भत्काएर विदेशीको नक्कल गरेर घर बनाउन थाले ।”

पछिल्लो समय यहाँबाट चितवन, पोखरा, काठमाडौंलगायतका सुविधायुक्त सहरमा बसाइँसराइ गरेर जान थालेका छन् । गाउँ भएर पनि बजारकै सेवासुविधा पाएका स्थानीयले घर उस्तै बनाउँदै गएको स्थानीय ६५ वर्षीया चन्द्रकला क्षेत्रीले बताउनुभयो । देख्न राम्रो भए पनि गाउँमा बनेका सिमेन्टका पक्की घर स्वास्थ्यका लागि अनुकूल नभएको क्षेत्री बताउनुहुन्छ । आफ्ना छोराले विदेशमा कमाएर गाउँमा पक्की घर बनाएको जनाउँदै क्षेत्रीले पक्की घरका कारण रोगी बन्नुपरेको बताउनुभयो ।

क्षेत्री भन्नुहुन्छ, “घरमा आमा बाबालाई लिपपोत गर्न दुःख भयो भनेर छोराले पक्की घर बनाइदिए, ढुङ्गा माटोको घर हुँदा दाउरामा आगो बालिन्थ्यो, आगोमै पकाएर खाइन्थ्यो, त्यसैले शरीर स्वस्थ हुन्थ्यो, अहिले त दाउरा बाल्नै छोडियो, आगो ताप्ने ठाउँमा हिटर ताप्छन्, यसले स्वास्थ्यलाई राम्रो गरेन, चिसो लाग्ने, शरीर दुख्ने, समस्या बढ्यो, अहिले र घरघरमा एउटा होइन, दुई÷दुई वटा ग्यास चुला छन्, बरु पहिलेकै माटो ढुङ्गाको घर ठिक थियो ।”

सडकले बजारसँग जोडेर गाउँलेलाई सुविधा त बनायो, तर सुविधासँगै गाउँको सुन्दरता र मौलिक संस्कृति भने हराउने गरायो । अहिले खहरे गाउँसँगै बागलुङका अधिकांश सडक छेउमा पर्ने गाउँ बजारमा रुपान्तरण हुँदैछन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि पश्चिम पातीहाल्नेसम्म दर्जन गाउँ तीव्ररुपमा बजारीकरण भइरहेका छन् । रासस

ताजा

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना

२०८३ श्रावण १४ गते, बिहीबार

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

२०८३ श्रावण १३ गते, बुधबार

पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि

२०८३ श्रावण १३ गते, बुधबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal