मनाङका विद्यालय खुल्न थाले

मनाङ,५ फागुन– हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् ।

मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि खुल्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंले जानकारी दिनुभयो । उहाँका अनुसार केही विद्यालयका विद्यार्थी तथा शिक्षक मङ्सिरको अन्तिम साता अर्धवार्षिक परीक्षा सकेर चिसो छल्न बेँसी झरेका थिए ।

यस वर्ष हिमपात नहुँदा विद्यालय अलि छिट्टै सञ्चालन गरिएको उहाँले बताउनुभयो । “यस वर्ष यहाँ हिमपात भएन, जसले गर्दा मनाङवासी छिट्टै फर्किए र अभिभावकसँगै बालबालिका आएपछि नियमित कक्षा सञ्चालन गरेका हौँ”, प्रमुख चपाईंले भन्नुभयो ।

विगतका वर्षमा जिल्लामा मङ्सिरमा वार्षिक परीक्षा सकेर हिउँदमा चिसो छल्न बेँसी झर्ने प्रचलन थियो । गत वर्षदेखि अन्य जिल्लासँग पठनपाठनको समानताका लागि चैतमा वार्षिक परीक्षा गर्न थालिएको उहाँले बताउनुभयो ।

पुस र माघमा यहाँ बढी चिसो हुने भएकाले दुई महिना विद्यालय बन्द गर्नुपर्ने बाध्यता नै छ । फागुन १ गतेदेखि सदरमुकाम चामे र नासो गाउँपालिकाका विद्यालयमा नियमित पढाइ सञ्चालन भएको चपाईंले बताउनुभयो । उहाँका अनुसार जिल्लास्थित कार्यालयले विद्यालय खोल्न सूचना प्रकाशित गरे पनि अधिकांश विद्यालय फागुन १ गतेदेखि नियमितरुपमा सञ्चालन भएका छन् ।

माथिल्लो मनाङमा भने अझै विद्यालय खुलाउनसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । माथिल्लो मनाङमा बढी चिसो हुने हुँदा यस क्षेत्रका बासिन्दा जिल्ला नफर्किँदा केही ढिलो गरी कक्षा सञ्चालन हुने उहाँले बताउनुभयो ।

सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय आवासीयरुपमा सञ्चालन भएको छ । हिमाली क्षेत्रमा विद्यालय टाढाटाढा हुँदा समस्या हुनाका साथै विद्यार्थीलाई जिल्लामा नै टिकाउन आवासीयरुपमा सञ्चालन गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो ।

“विद्यार्थीलाई विद्यालय आवतजावतमा समस्या हुँदा विद्यार्थी घट्न थाले, जिल्ला बाहिर अभिभावकले बालबालिका राखेर पठनपाठन गराउनुपर्ने अवस्था सिर्जना हुँदा यस समस्याको समाधानका लागि आवासीय बनाएका हौँ, आवासीय बनाएपछि विद्यालयमा विद्यार्थी राम्रै छन्”, अध्यक्ष घलेले भन्नुभयो ।

सङ्घीयता कायम भएपश्चात् चामेका पाँच विद्यालयलाई एकीकृत गरी आवासीय बनाइएको उहाँले बताउनुभयो । जिल्लाका लोकप्रिय माध्यमिक विद्यालय र तिमाङस्थित गौरीशङ्कर आधारभूत विद्यालयमा आवासीयरुपमा पठनपाठन भइरहेको छ । चिसो बढी भए पनि विद्यार्थीलाई वार्षिक परीक्षामा सकस हुन्छ भनेर पठनपाठन सुरु गरिएको गौरीशङ्कर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजङ्ग गुरुङले बताउनुभयो ।

त्यस्तै थोंचेको प्रकाशज्योति माध्यमिक विद्यालय र तालगाउँस्थित भानु माध्यमिक विद्यालयमा नियमितरुपमा पठनपाठन सुरु भएको छ । भानु माध्यमिक विद्यालयमा बाढीका कारण जोखिम बढ्दा विद्यार्थी घटेका नासो–१ का वडाध्यक्ष मिनरासी गुरुङले बताउनुभयो ।

“गत वर्ष विद्यालयमा बाढी पस्दा यहाँ विद्यार्थी घटेका छन्, बाढीको जोखिम भएपछि विद्यार्थी पढ्न बाहिरी जिल्लातर्फ गएको पाइएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो । जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरिएको उहाँले बताउनुभयो । तालगाउँमा जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरिएपछि यहाँका स्थानीयले आवास निर्माण तथा मर्मत गरेपछि बसोबास गर्न थालिएको उहाँले बताउनुभयो ।

यस वर्ष हिमपात नभए पनि चिसो बढी नै छ । फागुन लागे पनि चिसो अझैँ घटिसकेको छैन । यसले गर्दा माथिल्लो मनाङका विद्यार्थी, शिक्षक तथा कर्मचारी कार्यक्षेत्रमा पुग्न सकेका छैनन् । चिसोका कारण अधिकांश स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिसमेत जिल्ला बाहिर नै छन् । माथिल्लो मनाङ क्षेत्रका शिक्षक, विद्यार्थी जिल्ला भित्रिने क्रम रहेका चपाईंले बताउनुभयो ।

माथिल्लो मनाङका बासिन्दा जिल्ला आउन ढिला गर्दा शिक्षक तथा कर्मचारीसमेत चैतमा मात्रै विद्यालय आउने गरेका स्थानीय बताउँछन् । विद्यार्थी र अभिभावकसँगै कर्मचारी तथा शिक्षक समयमै गाउँ आएर सेवा दिनुपर्ने स्थानीयको भनाइ छ ।रासस

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal