सङ्कटमा परम्परागत ढुङ्गाखानी

गलकोट,२९ पुस–  जैमिनी नगरपालिका राङ्खानीका स्थानीय गम्भीर विश्वकर्माको उमेर ५५ नाघ्यो । पन्ध्र वर्षको उमेरदेखि स्थानीय ढुङ्गाखानीमा काम गर्दै आउनुभएका उहाँले ढुङ्गाखानीमा काम गरेको ज्यालाबाटै परिवार पाल्दै आउनुभएको छ ।

जैमिनी नगरपालिका–७ जैदीस्थित हर्दिया ढुङ्गाखानी स्थानीय सरस्वती निम्न माध्यमिक विद्यालयको जग्गामा छ । परम्परागत रूपमा घर छाउनका लागि प्रयोग गरिने ढुङ्गाको पछिल्लो समय व्यापार घटेपछि ढुङ्गाखानीमा काम गर्दै आउनुभएका गम्भीरसहित नौ जनाको पेसा सङ्कटमा परेको हो । पहिला १५ देखि २० मजदुरले काम गर्ने ढुङ्गाखानीमा कोरोना महामारीपछि घटेर नौ जनामा सीमित भएका छन् । 

“पन्ध्र वर्षको उमेरदेखि ढुङ्गाखानीमा काम गर्न थालेको हुँ, त्यसबेला रु ११ मा एक हात बिक्री हुने ढुङ्गा अहिले रु एक सय ३५ मा बिक्री भइरहेको छ, परिवारको लालनपालन र छोराछोरीको शिक्षादीक्षा यही ढुङ्गाखानीबाट गरियो”, विश्वकर्माले भन्नुभयो, “अहिले ढुङ्गासमेत त्यति राम्रो निस्किँदैन, निस्केका ढुङ्गा पनि बिक्री गर्न समस्या छ, अहिले जताततै जस्ताले छाएका र आरसिसी घर निर्माण हुन थालेपछि ढुङ्गाखानी सङ्कटमा परेको छ ।”

हाते औजारको सहायताले ढुङ्गा निकाल्दै आएका मजदुरले पछिल्लो समय दिनभरि काम गर्दासमेत हात–मुख जोर्न समस्या हुन थालेको बताएका छन् । “सुरुबाटै यही काम गरियो, अरू काम गर्न सिकिएन, अहिले ढुङ्गा निस्कन मुस्किल छ, खानीभित्रभित्रै पसेको छ भने व्यापार घटेर गएको छ, निकालेको ढुङ्गा कहिले बिक्री हुन्छ थाहै हुन्न”, अर्का ढुङ्गाखानीमा काम गर्दै आएका मजदुर हिमबहादुर श्रीसले भन्नुभयो ।

“अन्य स्थानमा आधुनिक औजारको प्रयोगबाट ढुङ्गा निकाल्दा छाप्ने, आधुनिक घरमा टास्ने गर्दा राम्रै बजार पाएका सुनेका छौँ, यहाँ त्यस्तो छैन, हातले मिलाएको ढुङ्गा घर छाउनबाहेक अन्त काम लाग्दैन, घर अहिले जस्ताले छाउन थाले, आरसिसी भवन बनाउन थाले, अब ढुङ्गाखानीमा काम गरेर पेट पाल्न सकस छ”, उहाँले भन्नुभयो । पहिला यही ढुङ्गाखानीबाट परिवार लालनपालन र शिक्षादीक्षा गर्दै आएका मजदुर ढुङ्गाखानीको व्यापार घटेपछि विस्थापित हुने क्रम जारी छ । 

ढुङ्गाखानीमा काम गर्ने बुढापाका बितेर गए भने युवा विदेश पलायन हुँदा ढुङ्गाखानी सञ्चालनमा ल्याउनै समस्या भएको स्थानीय ढुङ्गा व्यापारी मनिकर्ण क्षेत्रीले दुःखेसो गर्नुभयो । क्षेत्रीले ४५ वर्षदेखि मजदुरले निकालेको ढुङ्गा विभिन्न स्थानमा पु¥याएर बिक्री गर्ने काम गर्नुहुन्थ्यो । तर अहिले घर छाउने ढुङ्गाको महत्त्व घट्दै गएपछि यहाँको ढुङ्गाखानी समस्या परेको उहाँको भनाइ छ । उहाँले आधुनिक ढुङ्गाको चलन कायमै रहे पनि हाते औजारको प्रयोगबाट निस्किएका ढुङ्गा घर छाउनमात्रै काम लाग्ने भएकाले समस्या भएको बताउनुभयो ।

“पहिला ढुङ्गा पु¥याउनै मुस्किल हुन्थ्यो,  यहाँको घर छाउने ढुङ्गा जैमिनी, बरेङ, गुल्मीलगायतका स्थानसम्म पुग्दथ्यो, अहिले ढुङ्गाले घर कमै मात्र छाउन थाले, जस्तापाता र ढलान गरेर घर बनाउँदा ढुङ्गा बिक्री हुनै छाड्यो”, क्षेत्रीले भन्नुभयो, “ढुङ्गाखानीमा आधुनिक प्रविधिको प्रयोग गरेर छाप्ने र पक्की घरमा टाँस्ने ढुङ्गा निकाल्दा राम्रो बजार हुन्थ्यो होला, ढुङ्गाखानी भिरालो जग्गामा छ, विद्युत् पु¥याउन समस्या छ ।”

परम्परागत तरिकाले सञ्चालनमा आएको ढुङ्गाखानी दर्ता भएर सञ्चालनमा आउन नसक्दा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुपरेको ढुङ्गाखानीमा काम गर्ने मजदुरले बताएका छन् । उनीहरूले ढुङ्गा निकालेवापतको केही रकम ढुङ्गाखानीको जग्गा भएको स्थानीय विद्यालय सरस्वती आधारभूत विद्यालयमा जम्मा गर्ने गरेका छन् । अहिले ताराखोलाको ढुङ्गा प्राङ्गण, सडक तथा पदमार्गमा छाप्ने तथा घरको भित्तामा टास्ने कार्यका लागि होटल, मन्दिर तथा घरधनीबाट अत्यधिक माग आउने गरेको छ ।रासस

ताजा

नागरिकको स्वास्थ्य पहिलो प्राथामिकतामा: मन्त्री पाठक

२०८२ मंसिर २१ गते, आईतवार

नागरिकको स्वास्थ्य पहिलो प्राथामिकतामा: मन्त्री पाठक

२०८२ मंसिर २१ गते, आईतवार

प्रथम वालिङ सडक खाना महोत्सव सुरु

२०८२ मंसिर १७ गते, बुधबार

सातौं राष्ट्रपति रनिङशिल्डको उपाधी भुरुङ चौकीले जित्यो

२०८२ मंसिर १७ गते, बुधबार

More than legends: How folk tales bind past and present

२०८२ मंसिर १६ गते, मंगलवार

नेपाल विचरणमा प्रेमिल चरा

२०८२ मंसिर १६ गते, मंगलवार

मौलिक खाना प्रवर्द्धनका लागि सडक महोत्सव

२०८२ मंसिर १६ गते, मंगलवार

वालिङमा सडक खाना महाेत्सव हुने

२०८२ मंसिर १५ गते, सोमबार

भाग्याेदय माविले स्वर्ण महोत्सव मनाउने

२०८२ मंसिर १३ गते, शनिबार

चुनावी सुरक्षा तयारी सुदृढ गर्न प्रधानमन्त्री कार्कीको सेनालाई निर्देशन

२०८२ मंसिर १२ गते, शुक्रबार

कारागार मर्मत नहुँदा कैदीबन्दी बाहिरै

२०८२ मंसिर १० गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal