धान पकेट क्षेत्रकै बासिन्दा आयातित चामलमा निर्भर

डुम्रे,४ मङ्सिर– तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मनपर्दैन । आफ्नै खेतमा उब्जेको धानको भात खाँदै आउनुभएका उहाँ अहिले बजारको चामलको स्वाद मन नपरे पनि खानुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।

पहिले गाउँमा एउटा घरमा मसिनुको चामल पाक्दा गाउँभरि नै बास्ना थाहा हुने गरेको सम्झँदै उहाँ भन्नुहुन्छ, “पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद नै फरक छ । अहिलेको धानबाट आएको चामलको गुलियोपन छैन ।” प्राङ्गारिक मल प्रयोग खेतीपातीमा गर्ने प्रचलन नै हराएको उहाँ बताउनुहुन्छ । विगतमा प्राङ्गारिक मल र गाईवस्तुको मल हाल्दा उत्पादन राम्रो हुनुका साथै स्वादिलो हुने गरेको उहाँको भनाइ छ ।

ओझा भन्नुहुन्छ, “ढिँकी, जाँतोमा कुटानीपिसानी गर्ने भएकाले पनि स्वादिलो हुन्थ्यो । अहिले विद्युतीय मेसिनमा कुटानीपिसानी हुँदा स्वाद फरक परेको हो ।” अहिले खेतीपाती गर्न खर्चिलो भएको उहाँ बताउनुहुन्छ । लगानीअनुसारको प्रतिफल हुन छाडेपछि जग्गा बाँझै राखेर बजारबाट चामलको बोरा ओसार्ने क्रम बढ्दै गएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “भकारीको धान निकाल्नुभन्दा बजारको बोरा बोक्न सजिलो मान्छन् मानिसहरु । दुःख किन गर्छन् र ?”

आफ्नै खेतबारीमा उत्पादन भएको धान किनेर खानुपर्ने अवस्था आएको बताउँदै उहाँ भन्नुहुन्छ, “अधियाँ गर्ने मान्छे पाइँदैन । खेत बाँझै रहन्छ । आफ्नो खेत ठेक्कामा दिएर उत्पादन भएको धानलाई बजारबाट किनेर चामल खानु परेको छ ।”विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने उहाँले केही वर्षदेखि आफूले खेती गर्न नसकेको बताउनुहुन्छ ।

व्यास नगरपालिका–७ का ८० वर्षीय इन्द्रबहादुर शाहीले उत्पादन गर्न नसकेपछि बजारको चामल किनेर खानुपर्ने अवस्था आएको बताउनुभयो । “खेतीपाती गर्न सकिँदैन । छोराछोरी बजार झर्ने र विदेश जाने गर्दा खेतीपाती गर्दैनन् । भएको जग्गाजमिन बाँझो छ र किनेर बजारको चामल खानुपर्ने बाध्यता भएको छ,” शाहीले भन्नुभयो । बजारबाट किनेको चामलको मूल्य भन्दा उत्पादन लागत बढी हुने हुँदा पनि युवा पुस्ताले चासो दिन छाडेको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले धान उत्पादन बर्सेनि घट्दो क्रममा रहेको बताउनुभयो । “धान उत्पादन लागत बर्सेनि वृद्धि हुन्छ तर धानको मूल्य वृद्धि नहुँदा धान खेतीमा युवाको चासो छैन,” उहाँले भन्नुभयो । जिल्लामा जमिन बाँझिने क्रम बढ्दै गएको तिवारीले बताउनुभयो । “जबसम्म स्थानीय, प्रदेश र सङ्घ सरकारले जमिन बाँझो राख्न नपाउने नीति निर्माण गर्दैनन्, तबसम्म बाँझो जमिन बढ्दै जान्छ ।

चालू आर्थिक वर्षमा तनहुँमा धान उत्पादन वृद्धि हुने भएको छ । धान फुल्ने समयमा वर्षा भएकाले उत्पादन बृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताउनुभयो । “गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो । गत वर्ष आठ हजार सय २० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३२ हजार आठ सय २४ मेट्रिकटन धान उत्पादन भएको थियो । यसवर्ष उत्पादन क्षेत्र केही वृद्धि भएको उहाँले बताउनुभयो ।

यसवर्ष आठ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३३ हजार आठ सय ४० मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको तिवारीले बताउनुभयो । उत्पादन वृद्धि भए पनि पकेट क्षेत्रकै किसानले धान किनेर खानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

कृषि पेसाबाट विमुख
कृषि पेसामा लागत वृद्धि हुने क्रम रहेकाले यसबाट विमुख हुने किसान बढ्दै गएका छन् । आफैँले उत्पादन गर्नुभन्दा किनेर चामल खान लागत कम पर्ने भएपछि दुःख गर्न युवा नचाहने बताइएको छ । धान उत्पादनका लागि धेरैखर्च बढ्दा विदेशबाट आयातित चामल किनेर खान किसानले नै थालेको व्यास नगरपालिका–८ बर्लाचीका ७२ वर्षीय अगुवा व्यक्ति दिनानाथ लम्साल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पुरानो परम्परागत खेतीपाती गर्ने प्रचलन छैन ।”

स्थानीय उत्पादित मल, बीउ हराएको र पूर्ण रुपमा आयातित मल, बीउबिजन हुने भएकोले उत्पादन राम्रो भएको देखिने गरेको उहाँले बताउनुभयो । धेरै देखिए पनि दीर्घकालसम्मलाई अन्न नपुग्ने गरेको लम्साल बताउनुहुन्छ । तराई क्षेत्रमा जस्तो कामदार यहाँ नपाइने उहाँ बताउनुहुन्छ । रासायनिक मलको प्रयोगले माटो बिग्रने र उत्पादन घट्ने किसानको बुझाइ छ । विगतमा तनहुँ करिब धान उत्पादनमा आत्मनिर्भर रहेको मात्र होइन, अन्यत्र निर्यात समेत हुने गरे पनि हाल आयात हुने गरेको छ । व्यास नगरपालिकाअन्तर्गत साँगेफाँट, रिस्तीफाँट, सेरा, गजौडे, माझफाँट, सिसाघाट, सत्रसय, घाँसीकुवा, भानु नगरपालिकाको चुँदीफाँट, बाइसजागर, आँबुखैरेनी गाउँपालिकाको ढापटार, बन्दीपुर गाउँपालिकाको याम्पाफाँट, सत्रसयफाँट धान उत्पादनको राम्रा क्षेत्र हुन् ।

त्यस्तै, देवघाट गाउँपालिकाको बेटार, म्याग्दे गाउँपालिकाको गुणादी, अकलाफाँट, शुक्लागण्डकी नगरपालिकाको फिर्दीफाँट, क्यान्दीफाँट, मान्द्रेफाँट, भिमाद नगरपालिकाको डुम्रीबेँसी, बुढुवाफाँट, बैडीफाँट, घिरिङ गाउँपालिकाको अत्रौलीफाँट, पुट्टारफाँट, ऋषिङ गाउँपालिकाको पिपलटारफाँट लगायतका क्षेत्रमा धान उत्पादन हुन्छ । धान उत्पादन हुने यी क्षेत्रमा अहिले बस्ती विस्तारसँगै घडेरीका रुपमा खण्डीकरण गर्ने, बाँझो राख्ने क्रमले उत्पादन घट्दै गएको छ ।रासस

ताजा

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन

२०८३ जेष्ठ १५ गते, शुक्रबार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal