कालीगण्डकी नदीमा जलमार्ग निर्माण हुने

पवित्रा घिमिरे

 तानसेन, १६  जेठ– यसअघि सर्भे भएको कालीगण्डकी नदीमा जलमार्ग निर्माणको काम थालिने आगामी वर्षका लागि प्रस्तुत बजेटमा उल्लेख गरिएको छ । कालीगण्डकीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि जलमार्ग निर्माणको काम थालिने कुराले यस क्षेत्रका नागरिकमा उत्साह थपेको छ ।

पाल्पाको राम्दीबाट देवघाटसम्म जलयान सञ्चालनका निम्ति छ समूहले यसअघि नै स्थलगत परीक्षण तथा सर्भे गरेका थिए । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकीमा जलमार्ग निर्माणको काम यसै वर्ष थाल्ने बताउनुभयो । राष्ट्रिय गौरवको योजनाका रूपमा कालीगण्डकीमा पानीजहाजको अवधारणा अघि सारिएकाले यसलाई सफल बनाउन बजेटमा समावेश भएको सङ्घीय सांसद दलबहादुर रानाले बताउनुभयो ।

उहाँले काली नदीको किनारैकिनार करिडोर तथा कालीगण्डकीमा पानीजहाज सञ्चालन भयो भने छिमेकी देश भारतसम्म यहाँ उत्पादित सामानलाई बिक्री वितरण गर्न तथा सामान आयात निर्यातमा समेत सहज हुन विश्वास व्यक्त गर्नुभयो ।

सरकारले नेपालका विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज सञ्चालनका निम्ति परीक्षण गर्न नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख विपिनराज भण्डारी, जलस्रोतविद् अनुप खनाललगायतको टोलीले सर्भे गरेको थियो । उहाँले अन्तर्राष्ट्रियस्तरमा सञ्चालन हुने पानीजहाजमा नेपालको झण्डा राखेको पानीजहाज सञ्चालन गर्ने योजना रहेको र आन्तरिकरूपमा नेपालका नदीमा पानीको बहावअनुसारका साना खालका पानीजहाज सञ्चालन गरिने बताउनुभयो ।

गत चैतमा कोशी नदीमा तुम्लिङटारबाट चतरासम्म, नारायणीमा देवघाटबाट तल गण्डकसम्म, काली नदीमा राम्दीदेखि देवघाटसम्म तथा कर्णाली नदीमा जहाज सञ्चालनका निम्ति सर्भे भएको थियो । कालीगण्डकी नदीमा स्थलगत निरीक्षण गरेको टोलीले पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेकामा जोड दिएको थियो ।

जलस्रोतविद् खनालले कालीगण्डकी नदीमा नेपालमै पहिलोपटक अत्याधुनिक मेसिनबाट पानीको गहिराइ नाप गरिएको, केही ठाउँमा गहिराइ नपुग्ने तथा छेउछाउका ढुङगा हटाउनुपर्ने ठाउँमा हटाउने र अन्तर्राष्ट्रियस्तरमा भएका प्रयासलाई प्रयोग गरी तयार गरेको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिनुभयो ।

छवटा टोलीले कालीगण्डकी नदीमा परीक्षण गर्दैछन् । विसं २०४०र४१ तिर पानीको अनुमानित आकलनबाट सञ्चालन भएको जलयान पनि त्यो समयमा कालीगण्डकी नदीमा सफल भएकाले अहिले प्रविधिको प्रयोगबाट सुरक्षित हिसाबले नापजाँच परीक्षण गरिएको टोलीले जानकारी दिएको छ ।

पाल्पाको धार्मिक क्षेत्रको विकासमा बजेट
सरकारले पाल्पाका धार्मिक तथा ऐतिहासिकस्थलको विकासलाई समेटेर बजेटमा समावेश गरेको छ । धार्मिक तथा पर्यटकीयस्थल सत्यवती मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने, रुरुक्षेत्र, भैरवस्थान मन्दिरमा पूर्वाधार विकास गरिने गरी बजेटमा सम्बोधन भएको छ ।

ऐतिहासिक तानसेन पुरानो बजारका रूपमा शहरी विकास पूर्वाधार निर्माण तथा रानीघाटमा आधुनिक पूर्वाधार विकास गरिने कुराले पाल्पालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने अपेक्षा गरिएको छ ।

तिनाउ गाउँपालिकामा रहेको नेपालकै अनौठो खालको ऐतिहासिक महत्व बोकेको चिच्याएर वर माग्ने सत्यवती क्षेत्रको विकासमा सरकारले सम्बोधन गरेकामा खुशी लागेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो । केन्द्रीय बजेट करिब रु एक करोडको लागतमा काम भएको सत्यवतीमा पुनः थप योजना हुँदा स्थानीयवासी हर्षित भएका छन् ।

पहिरोग्रस्त क्षेत्रका रूपमा परिचित पाल्पा–बुटवल सडकखण्डको सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा–दोभान खण्डमा आगामी वर्ष निर्माणका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमा उल्लेख गर्नुभयो ।

कालीगण्डकी करिडोर निर्माणकार्यको निरन्तरता, पाल्पाको बाँसटारी– जोर्ते खण्डको विस्तृृत योजना बनाएर विकास गरिने, कालीगण्डकीको देवघाटबाट राम्दीसम्म जलमार्ग निर्माण गरिने, काली नदीको पानीलाई लिफ्टिङ गरी यस क्षेत्रका फाँटमा सिँचाइ प्रबन्ध गर्ने, सिद्धार्थ राजमार्गलाई दुई लेन बनाइने, तानसेनको बर्तुङमा लिफ्टिङ खानेपानी आयोजना तथा झुम्साखोलामा खानेपानी आयोजनाको काम गरिने कुराले पाल्पावासीलाई उत्साहित बनाएको छ ।

कालीगण्डकी नदीमा जलयान सञ्चालनका लागि यही वर्ष सर्भे भएकामा अब निर्माणको काम थालिने कुराले थप खुशी थपेको यस क्षेत्रका नागरिकले बताएका छन् । बजेटमा पश्चिम पाल्पामा मौसम राडारको कामलाई निरन्तरता र राम्दी तिनाउ डाइभर्सनको योजनाको बारेमा उल्लेख छ ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal