‘नेपालमा कार्ल मार्क्स बस्छन्’ भनेर न्युजविकले छापेको त्यो चर्चित अन्तर्वार्तामा मदनले के भनेथे ? (पूर्णपाठ)
विराट अनुपम
इटहरी,३ वैशाख– जननेता मदनकुमार भण्डारी नेपालमा सबैभन्दा बढी नाम लिइने लोकप्रिय कम्युनिस्ट नेता हुन् । राज्यको कुनै कार्यकारी भूमिकामा नपुगी विश्व चर्चित बन्ने सम्भवतः उनी एकमात्रै नेता हुन् ।
भन्डारीको व्यक्तित्वको व्याख्या गर्दा धेरैले अमेरिकी म्यागाजिन न्युजविकलाई कोट गर्छन । न्युजविकले ३० वर्षअघि मदनको अन्तरवार्ता लिँदै हेडलाइन बनाएको थियो- ‘इन नेपाल, कार्ल मार्क्स लिभ्ज’ अर्थात ‘नेपालमा कार्ल मार्क्स बस्छन् ।’
कतिपयले ‘नेपालमा कार्ल मार्क्स अझै जिवित छ’ लेखिएको भनेर पनि कोट गरेका छन् । तर, सन १९९१ को मे २७ (विसं २०४८ जेठ १३) मा छापिएको अन्तरवार्तामा भने त्यस्तो वाक्य छैन । सन १९३३ मा स्थापना भएर न्यु योर्क शहरबाट संचालित न्युजविक साप्ताहिक म्यागाजिनमा माइकेल लिट्भिनले अन्तरवार्ता लिएकी थिइन् ।
नेपाल प्रेससँगको सम्पर्कमा आएकी लिट्भिने किन ‘मार्क्स’सँग मदनको तुलना गर्नु भएको ? भन्ने प्रश्नमा केहि बोल्न चाहिनन् । कुनै बेला न्युजविकदेखि दि न्युयोर्क टाइम्ससम्ममा पत्रकार र फोटोपत्रकार भएर काम गरेकी लिट्भिनन अहिले अमेरिकाको आर्किटेक्चर फोटोग्राफरको रुपमा परिचित भएको फोटोग्राफि कोपले उल्लेख गरेको छ ।
उनै लिट्भिनले लिएको तीस बर्ष अगाडि १२ प्रश्नहरु सोधेर काठमाडाैंमा लिएको मदन भण्डारीको अन्तरवार्ताको पूर्णपाठ, मदन-आश्रित स्मृति दिवसको सन्दर्भ पारेर नेपालप्रेसले नेपाली भाषामा अनुवाद गरेको छ ।
नेपालमा कार्ल मार्क्स बस्छन्
मदन भन्डारी नेपाल कम्युनिस्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) का महासचिव हुन् । नेपालमा गत साल भएको प्रजातान्त्रिक आन्दोलनले राजतन्त्रलाई नहल्लाउन्जेलसम्म कुनै राजनीतिक दलहरुको कानूनी हैसियत थिएन भने भण्डारीलाई थोरैमात्रै नेपालीले चिनेका थिए ।
यद्यपि, गत साताको संसदीय चुनावमा काठमाडाैंका चुनावी मैदानहरुमा कम्युनिष्टहरुले विपक्षीलाई नराम्रोसँग हराए र देशभर राम्रो उपस्थिति जनाए । मदन भण्डारी आफैंले अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चुनावमा हराए । आशावादी भण्डारीले चुनाव हुनु केहि दिनअगाडि न्युजविककी माइकेन लिट्भिनसँग कुराकानी गरेका थिए । कुराकानीको सारांशः
अन्य देशहरुमा कम्युनिष्टहरु असफल भइरहेको बेलामा तपाईं कसरी सफल हुने सोच्नु हुन्छ ?
साम्यवादको मुख्य उद्देश्य भनेकै समाजका अत्याचार, भ्रष्टाचार र अन्यायहरुको अन्त्य गर्नु हो । यदि विगतमा त्यो नीति कार्यान्वयनका शिलशिलामा केहि भूलहरु भए भने पनि यसको अर्थ यो हैन कि साम्यवादका उद्देश्यहरु असफल भए । जहाँसम्म हाम्रो पार्टीको सवाल छ, हामीले प्रजातन्त्र स्थापनाको निर्णय गरेका छौँ । र, हामी जनताबाट निर्वाचित भएपछि मात्रै सत्तामा जानेछौँ ।
मैले तपाईंसँग उत्तर कोरियाली नेता किम इल सुङका पुस्तकहरु देखेँ । उनको बारेमा तपाइँको धारणा के छ ?
किम इल सुङ एक सफल कम्युनिस्ट र नेता हुन्, जसले उनको देशको क्रान्ति र विकासमा योगदान गरेका छन् । म उनका सबै कुराको तारिफ गर्दिन । र, मलाई उनको बिचार नै पच्छ्याउनुपर्छ जस्तो पनि लाग्दैन ।
माओको लेखनी बारेमा ?
हाम्रो देशका दुरदराजका केहि युवाहरु चिनियाँ क्रान्तिको इतिहास अध्ययन गरिरहेका छन् र यसबाट सिकिरहेका छन् ।
नेकपा (एमाले)ले चीन, सोभियत युनियन र उत्तर कोरियाका कम्युनिस्ट पार्टीहरुसँग कसरी तुलना गर्छ ?
ती सबै पार्टीहरु मुक्ति, समानता र न्यायमा आधारित समाजको स्थापनामा सक्रिय भएका छन् । ती देशका कम्युनिष्ट आन्दोलनहरु विभिन्न रुपले विकसित भएका छन । चीनमा सशस्त्र संघर्षबाट उनीहरुले मुक्ति पाएका थिए भने नेपालमा हाम्रो शान्तीपूर्ण आन्दोलन भयो । चीन र उत्तर कोरियाले विदेशी प्रभुत्व र हस्तक्षेप सामना गरिरहेका छन् । नेपालमा पनि हामीहरुले वैदेशिक हस्तक्षेप, सम्राज्यवाद र क्षेत्रीय प्रभुत्वको विरुद्ध आवाज बुलन्द गरिरहेका छौं ।
केही गैरकम्युनिष्टहरु भन्दैछन् कि तपाँइले चीन र भारतीय कम्युनिष्ट पार्टीहरुबाट आर्थिक सहयोग लिइरहनु भएको छ ?
यो झूठ हो । हामीले चिनियाँ, कोरियाली , भारतीय कम्युनिस्ट पार्टीहरु कतैबाट पनि न आर्थिक वा भौतिक सहयोग मागेका छौं न त हामीले लिएका नै छौं । यी आरोपहरु हाम्रा विपपक्षीहरुले लाइरहेका छन् जसले वास्तवमा विदेशी सहयोग लिइरहेका छन् ।
जात व्यवस्था र धार्मिक स्वतन्त्रतामा तपाईंको पोजिसन के हो ?
हामी विभिन्न जाजजातीहरुमा हुने सामाजिक विभेद अन्त्य गर्न चाहान्छौं । तर, हामी विभिन्न जातजातीका संस्कृति, रहनसहन र धर्मको सम्मान गर्छौं । केहि पाका मान्छेहरुमा जात व्यवस्थाको भावना अझैसम्म पनि छ । हामी उनीहरु बिरुद्ध शक्ति प्रयोग गर्न चाहादैनौं ।
यदि उनीहरुको चेतना नै त्यहि हो भने हामी शिक्षित बनाउने प्रयास गर्छौं । तल्लो जातकोलाई अपमान गर्ने कसैको अधिकार हुँदैन भने कसैलाई पनि उच्च जातलाई सम्मान गर्न बाध्य गराउनु हुँदैन । हामी धर्म निरपेक्ष मुलुक बनाउन चाहान्छौं । सबैले आ-आफ्नो धर्म मान्न पाउनेछन् । राज्य सबै धर्महरुमा तटस्थ हुनेछ ।
तपाईं तपाईंको देशका जमिनदारहरुलाई कस्तो व्यवहार गर्नुहुन्छ ?
हामी अहिलेका जमिनदारहरुबाट जमिन लिन्छौं । र जस्ले खनजोत गरेको छ उसैलाई दिन्छौं । हामी अत्यन्तै शान्तिपूर्ण तरिकाले प्रयास गर्नेछौं । र, हामी पैसा नदिकनै जमिन लिने छैनौं । यदि जमिनदारले मानेनन् भने मात्रै हामी उनीहरुविरुद्ध बल प्रयोग गर्न बाध्य हुनेछौं ।
तपाई कलेक्टिभिजेसन (निजी जमिन जफत गरेर सामुहिक खेती गराउने सोभियत संघको प्रचलन)को पक्षमा वकालत गर्नुहुन्छ ?
हामी यसलाई कार्यान्वयन गर्न बल प्रयोग गर्ने छैनौं । तर, जनताको सेवा गर्न हामी नमूना सहकारीहरु स्थापनामा भने प्रोत्साहन गर्नेछौं ।
नेपालमा कम्युनिष्टको बहुमत आएमा वैदेशिक सहयोग कटौती हुने भन्ने कुरामा तपाई कत्तिको चिन्तित हुनुन्छ ?
कम्यनिष्ट सत्तामा आएकै कारणले नेपालमा वैदेशिक सहायता कटौती गर्नुपर्ने कुनै कारण नै छैन । तर, हामी हाम्रो देशको स्वतन्त्रता, मानप्रतिष्ठा र सार्वभौमसत्ताको मूल्य चुकाएर भने कुनै पनि वैदेशिक सहयोग माग्ने छैनौं । हामीलाई वैदेशिक सहयोग भन्दा यी कुराहरु महत्वपूर्ण छन् ।
भारततर्फ तपाईं कस्तो खालको पररास्ट्र नीतिको वकालत गर्नुहुन्छ?
भारतसँग विगतमा केहि असमान र अपमानजक सम्झौताहरु भएका छन् । हामी सन्धीको समीक्षा गरेर पुनरावलोकननको प्रयास गर्नेछौं । हामीलाई असमान र अपमानजनक हुने प्रावधानहरु हटाउन चाहान्छौं । हामीले चाहेको एकै कुरा भनेको चीन र भारतसँग समधुर सम्बन्ध बनाउनु हो । हामी न चीनपरस्त हुन चाहान्छौं न भारतपरस्त ।
जतिबेला नेपालमा जनताहरु राजतन्त्रबिरुद्ध आन्दोलनमा थिए, ठीक त्यति नै बेला अरु धेरै देशहरुका जनताहरु त्यहाँका कम्युनिष्ट शासकविरुद्ध उठेका थिए । यदि नेपालमा पनि यस्तै भयो भने तपाईं के गर्नुहुन्छ ?
हामी शक्तिमा हुन्जेल त्यस्तो कुनै प्रदर्शनहरु हुने छैनन् । तर, कहिलेकाही असामाजिक तत्वहरुले समाजमा भाँडभैलो मच्चाउने प्रयास गर्छन । यदि त्यस्ता प्रकारका मान्छेहरुले भाँडभैलो मच्चाउन खोजे भने हामी राज्यको शक्ति प्रयोग गर्दैनौं । तर, हामी जनताहरुलाई परिचालन गर्छौं । यदि उनीहरुले हाम्रोविरुद्ध प्रदर्शनहरु गरे भने हामी जनतालाई हाम्रो पक्षमा प्रदर्शन गर्न आग्रह गर्छौ । हामी प्रहरीको शक्ति प्रयोग गर्दैनौं । स्रोतः नेपाल प्रेस
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार






















