माछाले कुर लगाउने छैन ठाँउ, आँधीखोला दोहन श्रवणकुमारको इतिहास संकटमा
सुशील सुवेदी
स्याङ्जा,३१ वैशाख– आँधीखोलामा माछाले कुर लगाउने ढुंगासमेत बाँकी नरहनेगरी मनलाग्दी र अनियन्त्रित दोहन भइरहेको छ । साथै, श्रवणकुमारको इतिहास जोडिएको यो खोलाका महत्वपूर्ण शिलाहरू पनि जोखिममा परेका छन् ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको आँधीखोलामा लोपोन्मुख माछा संरक्षण गर्दै माझी समुदायको आयआर्जन वृद्धि गर्न ५ हजार माछाको भुरा छाडिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गण्डकी प्रदेश सरकारको कार्यक्रम अन्तर्गत पुतलीबजार नगरपालिकाको समन्वयमा माछाको भुरा छाडेको हो ।
स्थानीय जातको सहर माछा लोपोन्मुख अवस्थामा पुगेको भन्दै सहर माछा सहित अन्य जातको माछा आँधीखोलामा छाडिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले जनाएको छ ।
यो कार्यक्रमले माछा मारेर जिविकोपार्जन गर्दै आएका माझी समुदायलाई रोजगार सँग जोड्ने केन्द्रका प्रमुख बज्रकिशोर ठाकुरले बताउनुभयो । खोलाबाट अनियन्त्रित ढुङ्गा निकासी हुँदा माछा प्रजनन्मै प्रत्यक्ष असर गरेको ठाकुरको भनाई छ ।
खोलामा ढुङ्गा नै नभएपछि माछाको प्रजनन्मा समस्या पर्ने बताउँदै उहाँ भन्नुहुन्छ, ‘हामीले माछा त छाड्यौँ, तर यसको संरक्षण गर्नु सबैको जिम्मेवारी हो । स्थानीय सरकारले नदीजन्य वस्तु अवैध उत्खनन्् रोक्न आवश्यक छ ।’
प्रदेश सरकारको मत्स्य विकास तथा प्रवद्र्धन कार्यक्रम अन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको ८० हजार र पुतलीबजार नगरपालिकाको ९५ हजार रुपैयाँ लागतमा यो कार्यक्रम लागू गरिएको हो ।
यही कार्यक्रम अन्तर्गत माछापालक किसानलाई निवेदनको आधारमा उन्नत जातको कार्प माछाको भुरा समेत प्रदान गरिने विज्ञ केन्द्रले जनाएको छ । निजी क्षेत्रबाट माछा पालन गर्ने किसानलाई प्रोत्साहन गर्न यो कार्यक्रम वार्षिक रूपमा सञ्चालन गरिँदै आएको पुतलीबजार नगरपालिकाका नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताउनुभयो ।
आँधीखोलामा छाडिएको माछा संरक्षण गर्न अनियन्त्रित नदीजन्य वस्तुको उत्खनन्मा रोक लगाउन स्याङ्जाभित्र सबै पालिकाको समन्वय आवश्यक रहेको क्षेत्रीको भनाई छ । नगरप्रखु क्षेत्री भन्नुहुन्छ, ‘जिल्लाको सबै पालिका मिलेर हाम्रो सभ्यता जोगाउनुपर्छ, आँधीखोलाबाट क्षणिक फाइदा होइन, दीर्घकालीन फाइदा उठाउन सके यहाँ पर्यटकको आकर्षण बढाउन सकिन्छ ।’
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको आँधीखोला स्याङ्जाको आँधीखोला गाउँपालिका चिलाउनेबासबाट शुरू भएर स्याङ्जाकै कालिगण्डकी गाउँपालिकाको आँधीमुहानमा टुङ्गिन्छ । यस खोलाको महिमा धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।
उक्त ग्रन्थ अनुसार धार्मिकपात्र श्रवण कुमारले आफ्ना अन्धाअन्धी माता पितालाई तीर्थव्रत गराउने क्रममा प्यास लागेको र पानी भर्न गएका श्रवण कुमारलाई शिकार खेल्न गएका राजा दशरथको बाणले लागेर मृत्यु भएपछि पुत्र वियोगमा अन्धाअन्धी मातापिताले बगाएको अश्रुधारा नै आँधीखोला भएको विश्वास छ । आँशुको धाराबाट बनेको दहलाई अन्धाअन्धी दह र खोलालाई अन्धाअन्धी खोला अपभ्रंश भइ आँधीखोला भएको जानकारहरू बताउँछन्। ।
तर, पछिल्लो समय आँधीखोलामा बढ्दै गएको अवैध उत्खनन्ले आँधीखोलाको धार्मिक मात्र होईन प्राकृतिक अस्तित्व समेत ओझेलमा पर्न थालेको छ । खोलाबाट अनियन्त्रित ढुङ्गा निकासी भएको कारण माछाले अण्डा पार्ने ठाउँ नै नभएपछि माछाको अस्तित्व नै लोप हुने अवस्थामा पुगेको छ ।
वार्षिक रूपमा स्याङ्जामा ६ वटा पालिकाले आँधीखोलाको प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन तयार गर्ने गरेका छन्। तर, यसको नियमनकारी निकाय र अनुगमन फितलो हुँदा तोकिएको मापदण्ड विपरीत नदीजन्य वस्तुको उत्खनन् हुँदै आएको छ ।
यस्ता क्षेत्रको अनुगमन गर्ने निकाय जिल्ला समन्वय भएपनि स्थानीय सरकारले मनोमानी गरेको गुनासो जिसस स्याङ्जाका उपप्रमुख दिलीपकुमार बगाले बताउँनुहुन्छ । बगाले भन्नुहुन्छ, ‘वार्षिक रूपमा ठेक्का लगाउन र राजस्व संकलन गर्न मात्र वातावरणीय प्रभाव मूल्यांकन गरिन्छ । ठेक्का लगाएपछि स्थानीय सरकार कहाँ लुक्छ भन्ने पत्तै हुन्न । खोलाको दोहन चरम रूपमा भएको छ ।’
धार्मिक तथा ऐतिहासिक महत्व भएकै कारण स्याङ्जाबासीले आँधीखोलालाई आफ्नो सभ्यताको रूपमा मान्ने गरेका छन्। तर, क्षणिक लाभ लिनको निम्ति आँधीखोलामा गरीने अवैध उत्खनन् र स्थानीय सरकारले राजस्व संकलन मात्र गर्न आह्वान गर्ने ठेक्का पट्टाले गर्दा स्याङ्जाको सभ्यता र अस्तित्व नै जोखिममा पारेको छ ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार























