बुढ्यौलीमा पनि आरनकै भर

रामपुर (पाल्पा), १३ भदौ– कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै हुनुहुन्छ अमरबहादुर विक । उहाँ उमेरले ६४ पुग्नुभयो । तर यो पेशाले अझै छोडेको छैन । बुढ्यौली लागेसँगै अरु कसैको भन्दा उहाँलाई भर आरनकै छ । त्यो हिजोभन्दा आज झन बढ्दो छ ।

दिउँसोको चर्को घाममा आरनमा पसिना काढ्दै हँसिया, कोदालो, कुटो, बञ्चरोलगायत फलामका औजार बनाउने काममा उहाँको जीवनचर्या बितिरहेको छ । उमेरले बुढ्यौली टेक्यो, नातिनातिना, परिवारसँग घरमै आराम गर्ने बेलामा आरनमा बसेर घन ठटाउँदै हुनुहुन्छ । यो उहाँको रहर नभएर बाध्यता हो ।

रामपुर नगरपालिका–८ कुमराङ बस्ने विकले यसरी नै सानो झुप्रोमा बसेर घन ठटाएरै पाँचदशक बिताउनुभयो । जीवनको उत्तरार्दमा आइपुग्दा पनि आरन व्यवसाय धान्नु उहाँको बाध्यता नै भएको छ । उहाँ भन्नुहुन्छ, “मैले १४ वर्षको उमेरबाट नै घन ठटाएर आरनको काम शुरु गरेको हुँ, अहिलेसम्म पनि यो कामबाट मुक्ति पाउन सकेको छैन । पढाइलेखाइ नभएपछि आफूले जे जानियो त्यही काम समातियो ।”

घरमा बाउबाजेले धान्दै आएको आरन सीप र व्यवसायलाई उहाँले अहिलेसम्म निरन्तरता दिनुभएको छ । यस व्यवसायमा युवापुस्ताले भने चासो दिएका छैनन् । “जवानीमा त बिहानीको झिसमिसे उज्यालो हुन नपाउँदै आरन शुरु गर्थें, ग्राहक पनि भरिभराउ हुन्थे, काम राम्रै चलेको थियो, रात परेको पनि कामले पत्तो पाउँदैनथे यसरी नै काम गरेरै उमेर ढल्कियो”, उहाँले हिजोका दिन सम्झँदै भन्नुभयो ।

बिहान गाउँघरमा भाले बास्न नपाउँदै सबेरै उठेर आरन चलाउने विकको अहिले भने उमेर ढल्कँदै गएपछि जवानी अवस्थाकै जस्तै काममा छिटो, छरितो नभए पनि दैनिकी भने आरनमै बितिरहेको छ । पहिला तामाको पनि काम गर्ने विकले हिजोआज भने उमेर ढल्कँदै जाँदा फलामजन्य औजारको मात्रै काम गर्नुहुन्छ । फलामको कामबाट अहिले दैनिकजसो करिब रु एक हजार कमाइ गर्नुहुन्छ । ढल्कँदो उमेरमा पनि विकले व्यवसायलाई निरन्तरता दिनुभएको छ ।

रामपुर नगरपालिका–८ को कार्यालयले मुख्यमन्त्री रोजगार कार्यक्रमबाट गत आर्थिक वर्षको अन्तमा आरन व्यवसाय चालाउने व्यवसायीलाई विभिन्न सामग्री सहयोग गरेको छ । रु २० हजार बराबरको रकमबाट दुई जना आरन व्यवसायीलाई जस्तापाता, घन, चिम्टालगायतका सामग्री सहयोग गरेको वडाध्यक्ष बोमबहादुर नामजाली बताउनुहुन्छ ।

रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने ६२ वर्षीय इन्द्रबहादुर विकले पनि आजसम्म आरन व्यवसाय धानेकै हुनुहुन्छ । आफ्नै घरको एक छेउमा बसेर ग्राहकको रोजाइअनुसारका फलाम, तामा लगायतका सामग्रीलाई हातले कुँदेर तयार पार्नुहुन्छ ।

“हामी विश्वकर्मा समुदायको पुरानो पेशा सबैले गाउँमा छाड्दै गएका छन्, आरनमै बसेर पङ्खा घुमाएर नियमित काम गर्ने कमै छन्, हामीले त बाँचुञ्जेल सक्दासम्म दुःख सुखले व्यवसाय धानौँला, अबका सन्ततिले यसमा चासो भने दिँदैनन्”, उहाँले भन्नुभयो ।

विकले यो व्यवसाय गर्न थालेको चारदशक भयो, हिजोआज सबैले यो पेशा छाड्दै गए पनि उहाँले भने आफूले सकुञ्जेलसम्म व्यवसायलाई निरन्तरता दिने अठोट गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरमै बसेर एक महिनामा रु २० हजार देखि रु ३० हजारसम्म कमाउन सकिन्छ, यसले मेरो जीविका चलेकै छ, अरुले व्यवसायलाई निरन्तरता नदिँदा हाम्रो पुख्र्यौली व्यवसाय नै सङ्कटमा पर्दै गएकामा दुःख लागेको छ ।”

हातले कुदेर बनाइएको कोदालो, बञ्चरो साइज हेरेर रु ६०० देखि एक हजार, हँसिया रु १०० देखि ३०० सम्ममा बिक्री गर्ने गरेको विकले बताउनुभयो । गाउँघरमा कोइलाको अभाव हुँदै जाँदा आरन व्यवसाय चलाउन समस्या परेको विकको भनाइ छ ।

हातले कुँदेर कलात्मक रुप दिइ गाग्री, ताउला, अम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हँसियालगायत विभिन्न सामग्री लामो समयसम्म टिकाउ हुने भएकाले पनि आरनबाटै तयार पारिएका सामग्री खोजी खोजी घर घरमा प्रयोग गरिन्छ ।

यस व्यवसायमा युवापुस्ताले चासो नदिनु, गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानका रुपमा रहेको पुरानो आरन व्यवसाय नै लोप हँुदै गएको छ । पुरानो व्यवसाय संरक्षण नहँुदा समुदायको चिनारी नै लोप हुन थालेपछि रामपुर नगरपालिका–४ मा आरनसम्बन्धी औजार व्यवसायीलाई उपलब्ध गराइएको छ ।

वडाले बजेट विनियोजन गरी जस्तापाताको छानो, आरनमा काम गर्न प्रयोग हुने पङ्खालगायत सामग्री यसअघि नै व्यवसायीलाई सहयोग गरिएको वडा सदस्य सीमादेवी राना बताउनुहुन्छ ।

“आरन व्यवसायलाई संरक्षण गर्न वडाभित्र भएका व्यवसायीलाई विभिन्न आवश्यक सामग्री उपलब्ध गराइएको छ, यदि कोही व्यवसायी व्यवसाय गर्न चाहानुहुन्छ भने उहाँहरुलाई वडाले सहयोग गर्नेछ”, वडा सदस्य रानाले भन्नुभयो ।

युवापुस्ता आरनसम्बन्धी सीप सिक्न छाडेर विदेशतिर लाग्नु, गाउँमा बसेर पुरानो पेशा सम्हाल्ने कुनै युवा नहुँदा आरन व्यवसाय हराउँदै गएको पाकापुस्ता बताउनुहुन्छ । गाउँघरमा भने आरन चलाउने युवा कमै छन् । एक दशकअघि यस क्षेत्रमा ५० भन्दाबढी आरन व्यवसाय सञ्चालनमा थिए । अहिले भने कमैले मात्र व्यवसाय चलाएको पाइन्छ ।रासस

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal