‘सूचनाको हकलाई नागरिक तहसम्म पु-याउनुपर्छ’
नेपालमा सूचनाको हकसम्बन्धी संवैधानिक व्यवस्थाको प्रारम्भ २०४७ सालको संविधानबाट भएको हो । ‘प्रत्येक नेपालीले सार्वजनिक महत्त्वका कुनै पनि विषयको सूचना माग्ने र पाउने अधिकार हुनेछ’ भन्ने व्यवस्था २०४७ को संविधानको धारा १६ मा गरिएको थियो । त्यस्तै, २०६३ सालको अन्तरिम संविधानको धारा २७ मा समेत‘प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ’ भनिएको छ । यससँगै ‘तर कानुनद्वारा गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन’ भन्ने व्यवस्थासमेत गरियो । सोहीअनुसार, सूचनाको हकसम्बन्धी अधिकारलाई कार्यान्वयन गर्न सूचनाको हकसम्बन्धी ऐन, २०६४ साउन २ गते व्यवस्थापिका संसद्बाट पारित भई सभामुखबाट साउन ५ गते प्रमाणीकरण भएको थियो । उक्त ऐनको दफा १ को उपदफा (२) मा प्रस्तुत ऐन प्रमाणीकरण भएको ३० औँ दिनबाट लागू हुन्छ भन्ने प्रावधानबमोजिम २०६४ भदौ ३ गतेबाट नेपालमा सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनलाई ‘राष्ट्रिय सूचना दिवस’का रूपमा समेत मनाइँदै आएको छ । प्रस्तुत छ, सोही सन्दर्भमा सूचनाको हकको कार्यान्वयन, त्यसक्रममा देखिएका समस्या र समाधानका लागि आयोगको कार्ययोजनाका सम्बन्धमा गोरखापत्रकादीपक श्रेष्ठले गर्नुभएको कुराकानी :
राष्ट्रिय सूचना आयोग गठन भएको पनि १४ वर्ष (२०६५ वैशाख २२) भयो । यति लामो अवधि पार गरिसक्दा सूचनाको हकको कार्यान्वयनको अवस्था कस्तो छ ?
संयुक्त राष्ट्र सङ्घले समेत सुशासनको महìवपूर्ण अंशको रूपमा लिएको सूचनाको हकलाई नेपालको संविधानमै व्यवस्था गरिएको छ । लोकतान्त्रिक प्रणालीमा नागरिक अधिकार शक्तिशाली हुने भएकाले पनि सूचनाको हकलाई नागरिकस्तरमा पु-याउनु आवश्यक हुन्छ । जुन कार्य आयोगले गरिआएको छ । यस हिसाबले कार्यान्वयनको पक्ष सन्तोषजनक छ । अहिले अधिकांश सार्वजनिक निकायले सूचना अधिकारी तोक्ने, स्वतः सूचना प्रकाशन गर्ने, सूचना माग्न आउनेलाई सूचना उपलब्ध गराउने चलन बढ्दै गएको छ । केन्द्रदेखि स्थानीय तहसम्म सूचना मागकर्ताको सङ्ख्या बढ्दै गएको छ । सूचनाको हक छ, सूचना माग्न पाइन्छ र मागेपछि सूचना दिनुपर्छ भन्ने ज्ञान धेरैैमा विकास हुँदै गएको छ । त्यति भन्दाभन्दैै पनि यस क्षेत्रमा गर्नुपर्ने काम थुप्रै छन्, तर पनि सूचनाको हक कार्यान्वयनको पक्ष बलियो हुँदै गएको छ भन्ने लाग्दछ ।
सूचनाको हक कार्यान्वयनमा देखिएका कानुनी तथा व्यावहारिक समस्या केही छन् कि ?
पक्कै छन् । सूचनाको हकको कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न तालिम, प्रशिक्षण र प्रवद्र्धनका गतिविधि गरिरहँदा पनि कतिपय सार्वजनिक निकायले सूचना उपलब्ध गराउन आनाकानी गरी रहेका जानकारी आइरहन्छन् । ‘सूचना दिनु पर्दैन कि ? सूचना दिँदा अप्ठ्यारो पर्छ कि ?’ भन्ने धारणा र सोच पनि कतैकतै भेटिन्छ । कतिपय सार्वजनिक निकायले ‘सूचना दिनु हाम्रो कार्यक्षेत्रमै पर्दैन कि’ भन्ने पनि ठान्ने गरेका छन् । त्यो अवस्थामा सूचनाको हक कार्यान्वयनमा केही न केही समस्या पक्कै छन् । सचेतना अझै बढाउनुपर्ने अवस्था कायमै छ । सूचना मागकर्तामा पनि ‘सूचना माग्न पाइन्छ कि पाइँदैन, सूचना माग्दा कसरी, कस्तो सूचना मात्र माग्नु पर्छ ?’ भन्ने अन्योल पनि देखिन्छ । यस हिसाबले नागरिक तहसम्म सूचनाको हकलाई पु-याउन सकिएको छैन ।
नेपालको संविधान र सूचनाको हकसम्बन्धी ऐन कानुनले सूचनाको हकसम्बन्धी अधिकार नागरिकलाई मात्र दिएको छ । सरकारका कार्यक्रम, आयोजना, नीतिले असर पार्ने सर्वसाधारण नागरिकले पारदर्शिता, जवाफदेहिताको आशा गरेका हुन्छन् । त्यसैले पनि सेवालाई प्रभावकारी बनाउन ती नागरिकको तहसम्म सूचनाको हकलाई पु-याउन आवश्यक छ । राष्ट्रिय सूचना आयोगले पनि आफ्नो कार्यक्रम बनाउने र लक्ष्य लिनेक्रममा नागरिक तहसम्म सूचना पु-याउने गरी कार्यक्रम गर्न प्रयासरत छ । अर्को कुरा, यो कानुन बनिसकेपछि नयाँ संविधान जारी भएको, नयाँ संरचना, संस्थाहरूको निर्माण भएका वा भइरहेका छन् । सूचनाकै हकका सम्बन्धमा पनि विश्वमा थुप्रै परिर्वतन भएका छन् भने हाम्रा आवश्यकतामा पनि परिवर्तन भइरहेको हुन सक्छ । त्यसलाई ध्यानमा राखेर सूचनाको हकसम्बन्धी कानुनमा पनि केही न केही परिवर्तन गर्नुपर्ने आवश्यकता देखिन्छ । प्रायः सार्वजनिक निकायले चौमासिक रूपमा प्रतिवेदन बनाउने तर सूचनाको हकअन्र्तगत त्रैमासिक रूपमा स्वतः प्रकाशन गर्नुपर्ने कारणबाट सार्वजनिक निकायलाई समस्या परिरहेको अवस्था छ । यसबीचमा तालमेल मिलाउनुपर्ने आवश्यकता छ । सूचना मागकर्ताको संरक्षण गर्नुपर्ने आवश्यकता देखिएकोले कानुनमा त्यस्तो व्यवस्था राख्नपर्ने अवस्था छ । कतिपय सार्वजनिक निकायमा सूचना माग्न जाँदा दुव्र्यवहार हुने, हातोत्साहित गर्नेजस्ता अवस्था पनि देखिएको छ । सूचनाको हकसम्बन्धी ऐनले सूचना मागकर्ताको संरक्षण गर्न सकेको छैन । छुट्टै कानुनी व्यवस्था गरेर सूचना मागकर्तालाई सुरक्षित बनाउनुपर्छ ।
सूचनाको हकको कार्यान्वयनको प्राथमिक दायित्व सार्वजनिक निकायहरूको हो । सूचना उपलब्ध गराउने, सार्वजनिक गर्ने, स्वतः प्रकाशन गर्ने दायित्व सार्वजनिक निकायको हो । सार्वजनिक निकायको परिभाषाभित्र राजनीतिक दलदेखि, गैरसरकारी संस्था, नेपाल सरकारका सङ्घीय, प्रदेश र मातहतका निकाय, स्थानीय तहका निकाय सबै पर्छन् । ती सबैलाई समेटेर लैजानुपर्दा थुप्रै कानुनी व्यवस्थामा परिवर्तन गर्दै लैजानुपर्ने देखेका छौँ ।
सूचनाको हकको खोजी गर्दै आउनेमा विशेषगरी कुन पेसा र समुदायका मानिस बढी देखिएका छन् ?
सूचना मागकर्ताको तथ्याङ्क चाहिँ अझै पनि राम्रोसँग निकाल्न सकिएको अवस्था छैन । सूचना मागकर्ताले सार्वजनिक निकायमा सूचना माग्दा नपाएपछि पुनरावेदन गर्न आउने मागकर्ताको मात्र तथ्याङ्क हामीसँग रहन्छ । आवश्यकता चाहिँ के छ भने प्रत्येक सार्वजनिक निकायमा सूचना मागेको तथ्याङ्क उपलब्ध गराउन सक्दा मात्र सूचनाको हक कार्यान्वयनको बृहत् अवस्थाबारे थाहा पाइन्थ्यो । यसका लागि एकीकृत सूचना प्रणालीको आवश्यकता देखिन्छ । आयोगमा आएका उजुरी र पुनरावेदनको तथ्याङ्कलाई अध्ययन गर्ने हो भने सूचना माग गर्नेहरू बढी चाहिँ आमसञ्चारकर्मी र अभियन्ता नै छन् । सूचना माग गर्नेमा पनि आफ्नो विषयमा र सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने धेरै छन् । आफ्नो सरोकारका विषयमा सूचना माग्न आउनेहरूमा कतिपय सार्वजनिक निकायमा काम गर्नेहरू पनि छन् । शिक्षक, विद्यार्थी, राजनीतिक दलका व्यक्ति धेरै आउने गरेका छन् । हाम्रो लक्ष्यचाहिँ नागरिक तहसम्म पु-याउनु नै हो । सूचना माग्ने नागरिकको सङ्ख्या बढाउन सकिएमा त्यसलाई चाहिँ सफलताको रूपमा लिनुपर्छ ।
उजुरी र पुनरावेदन गरिएकामा कुन क्षेत्रको सूचना बढी मागिने गरिएको छ ?
सूचनाको माग गर्दै आयोगमा पुनरावेदन गर्न आउनेको तथ्याङ्क हेर्ने हो भने सूचना माग्ने क्रम स्थानीय तहमा बढ्दै गएको देखिन्छ । विगत वर्षमा कुुल पुनरावेदनमध्ये ५२ प्रतिशत सूचना स्थानीय तहमा माग्दा नपाएको भनी पुनरावेदन गरिएकोमा गत वर्ष ७३ प्रतिशतभन्दा बढीले स्थानीय तहबाट सूचना नपाएको कारण पुनरावेदन गरेको देखिन्छ । नागरिकको बढी सेवा, सुविधा प्रदान हुने स्थानीय तहमा नागरिकले बढी सूचनाको खोजी गर्नु भनेको स्वाभाविक प्रक्रिया पनि हो । त्यसपछि सङ्घीय संरचनाका सूचना बढी मागेको पाइन्छ । त्यसमा अनियमितता, भ्रष्टाचार, कोरोनासँग सम्बन्धित सूचनाको माग बढी भएको देखिन्छ ।
सूचनाको हकसँगसँगै गोपनीयताको हक पनि आउँछ । गोपनीयताको हकको सुरक्षामा आयोगको भूमिका कस्तो रहन्छ ?
सूचनाको हकसम्बन्धी कानुनले व्यक्तिगत प्रकृतिका सूचना सुरक्षित राख्नुपर्छ र त्यस्ता सूचना व्यक्तिको स्वीकृति नभइकन सार्वजनिक गर्न हुँदैन भनेर व्यवस्था गरेको छ । अर्कोतिर सूचनाको हकले नै व्यक्तिगत गोपनीयता र स्वास्थ्य, सम्पत्तिमा खतरा पुग्ने विषयमा सूचना प्रवाह गर्न नपर्ने भनेर राखेको छ । कानुनले नै दिन नपर्ने भनिएका सूचनालाई त्यस रूपमा लिने गरेका छौँ । गत वर्ष कोरोनाबाट मृत्यु भएकाहरूको व्यक्तिगत विवरण सार्वजनिक हुन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सूचनाको हकसम्बन्धी कानुनको प्रावधान स्मरण गराउँदै व्यक्तिगत सूचना सार्वजनिक नगर्न निर्देशन दिएका थियौँ । त्यसपछि व्यक्तिगत स्वास्थ्य विवरण सार्वजनिक हुने क्रम रोकिएको थियो । व्यक्तिगत गोपनीयतासम्बन्धी ऐन २०७५ लाई समेत ख्याल राखेर सूचनाको हक कार्यान्वयनको सन्दर्भमा काम गर्ने गरेका छौँ ।
कतिपय अवस्थामा सूचनादाता या सूचना मागकर्ताको सुरक्षाको प्रश्न पनि उठ्ने गरेको पाइन्छ । सूचना दाताको संरक्षणमा यहाँहरूको भूमिका के हुन्छ ?
कुनै पनि सार्वजनिक निकायका अनियमितता र भ्रष्टाचारसम्बन्धी सूचना दिएको वा लिएर सार्वजनिक गरेका कारणबाट सूचनादातामाथि सुरक्षा चुनौती हुनसक्छ । यस्तो स्थितिमा सूचनादाताको संरक्षण गर्न सकियो भने मात्र सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण, अनियमिता कम गर्न सकिन्छ । त्यस्ता सूचनादाताको संरक्षण गर्ने व्यवस्था सूचनाको हकसम्बन्धी ऐनले गरेको छ । यद्यपि, त्यो कानुन अहिलेसम्म कार्यान्वयनमा आउन परेको छैन । त्यसलाई कार्यान्वयनमा ल्याउन पनि सूचना दाताको सुरक्षासम्बन्धी छुट्टै नियमावली बनाउनुपर्छ भनेर यस पटक कार्यक्रमसमेत राखेका छौँ । यो बनेको खण्डमा सूचना सार्वजनिक गर्ने, बाहिर ल्याउने व्यक्तिको संरक्षण गर्न सकिन्छ । यसले सुशासन, भ्रष्टाचार नियन्त्रणमा ठूलो सघाउ पुग्छ भन्ने विश्वास छ ।
प्रमुख सूचना आयुक्तका रूपमा आउनुभएको पनि डेढ वर्ष भयो । यस अवधिमा गरेका कामलाई कसरी समीक्षा गर्नुहुन्छ ? अब कसरी अगाडि बढ्ने योजनामा हुनुहुन्छ ?
१. सूचनाको हकलाई कसरी नागरिकको पहुँचमा लैजाने, सार्वजनिक निकायलाई सूचना दिनु, सार्वजनिक गर्नु, स्वतः प्रकाशन गर्नु संवैधानिक र कानुनी दायित्व हो र यसप्रति सकारात्मक कसरी बनाउन सकिन्छ भन्नेमा नै हाम्रो जोड बढी रह्यो । कोरोना महामारीका कारण धेरै गतिविधि त गर्न सम्भव पनि भएन । यद्यपि, समसामयिक विषयमा अनुगमन र निर्देशन गरिहेका छौँ । कोरोना महामारी नेपाल प्रवेश गर्नुुअघि नै कोरोनाका विषयमा सरल भाषामा नागरिकलाई विस्तृत जानकारी दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका थियौँ । रोकथाम, नियन्त्रण, क्वारेन्टाइन निर्माण, राहत वितरणलगायत विषयमा सङ्घदेखि स्थानीय तहसम्मका निकायहरूले काम गरेका थिए । ती कामका विषयमा नागरिकले सूचना माग्न नपर्ने गरी खर्चको विवरण, राहत वितरणको विवरणजस्ता कुराहरु हरू स्वतः प्रकाशन गर्नु भनेर तीनै तहका सरकार र निकायलाई १६ बुँदे निर्देशन दिएका थियौँ । सहज रूपमा सूचना मागकर्ताले सूचना माग्न र लिन सकोस् भनेर सार्वजनिक निकायमा सूचना अधिकारीको व्यवस्था गर्न, सूचना अधिकारीको छुट्टै इमेल बनाउन, इमेलबाट समेत सूचना माग गर्न सकिने र इमेलबाटै सूचना दिने व्यवस्था मिलाउनसमेत सार्वजनिक निकायलाई निर्देशन र पत्राचार गरेका थियौँ । विगतका अनुभवसमेत ध्यानमा राखेर नयाँ रणनीतिक लक्ष्यसाथ जानका लागि सूचनाको हकसम्बन्धी पाँच वर्षे राष्ट्रिय रणनीतिक योजना बनाउने अन्तिम चरणमा छौँ । सूचनाको हक कार्यान्वयन भएर नागरिकलाई बलियो बनाउन सहयोग पुगोस् भनेर सूचना मागकर्ता, सूचना आपूर्तिकर्ताको पक्षबाट र यसमा संलग्न हुने विभिन्न सहयात्रीलाई समेत समेटेर कसरी लैजान सकिन्छ र आयोगको भूमिका अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषय रणनीतिक लक्ष्यमा राख्दैछौँ । काम गर्दै जाँदा गरिएको अनुभव के हो भने, सूचनाको हकसम्बन्धी ऐनले पुनरावेदन परेको ६० दिनभित्र टुङ्ग्याउनुपर्छ भन्ने व्यवस्था छ । कतिपय विषयमा थप विवरण माग्नुपर्नेलगायत विभिन्न कारणले ६० दिनभित्र टुङ्ग्याउन सकिएको छैन । त्यसलाई अबका दिनमा केही प्रक्रिया सरलीकरण वा परिवर्तन गरेर ६० दिनभित्रै टुङ्ग्याउने प्रयासमा छौँ ।
आयोगको समग्र कामको समीक्षा गर्नुपर्दा के कस्ता सुधारको आवश्यकता देख्नुहुन्छ ?
ट्रान्सस्परेन्सी इन्टरनेसनलले हालै सूचनाको हकसम्बन्धी क्षेत्रमा अलि बढी काम गरेका एसिया प्यासिफिक क्षेत्रका ११ वटा देशको अध्ययन गरेको थियो । दुई महिनाअघि त्यो अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो । त्यो प्रतिवेदनमा सूचनाको हकको हिसाबले अन्य देशभन्दा नेपालको अवस्था अलि राम्रो देखाएको छ । त्यसले नेपालको सूचनाको हकसम्बन्धी क्षेत्रलाई अझ बढी प्रभावकारी बनाउन केही सुझाव पनि दिएको छ । आयोगलाई थप स्वायत्तता दिइनुपर्ने भनेको छ । खासगरी वित्तीय र जनशक्तिका हिसाबले स्वायत्तकर्ता र नेपाली नागरिकले मात्र सूचना माग्न पाउने प्रतिबन्धात्मक व्यवस्थालाई परिवर्तन गरिनुपर्ने सुझाव दिएको छ । सार्वजनिक निकायले ‘यो सार्वजनिक सरोकारको विषय होइन, यसले समाजमा हानि पु-याउन सक्छ, त्यसैले दिनु हुँदैन’ भन्दै आएको हुन्छ । त्यसलाई परीक्षण गर्ने प्रणाली हाम्रो कानुनमा छैन । त्यो परीक्षण गर्ने प्रणाली राख्नुपर्छ भन्ने सुझाव पनि दिएको छ । त्यसो भएमा सूचनाको हकका क्षेत्रमा अझ बढी काम गर्न सकिन्छ ।
सूचनाको हकको महìवलाई स्वीकार गरेर संयुक्त राष्ट्रसङ्घले सेप्टेम्बर २८ का दिन सूचनामा पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने गरी निर्णय गरेको र १२७ भन्दा बढी राष्ट्रमा सूचनाको हकसम्बन्धी कानुन बनेको अवस्थामा लोकतान्त्रिक पद्धतिको महìवपूर्ण हकका रूपमा रहेको सूचनाको हकलाई थप प्रभावकारी बनाउन आयोग लागिरहन्छ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















