बाँड्न नमिल्ने गर्भावस्था, प्रसव र स्तनपान
भावना पोखरेल
केही वर्षअघि जब म ७/८ महिनाको गर्भवती थिएँ, समाचारमा करिना कपुरको बच्चासहितको फोटो देखेँ। ताइमूर अलि खान वास्तवमै ‘सुपर क्युट’ थिए। म पनि कल्पना गर्न थालेँ मेरो बच्चा कहिले देख्न पाउँला भनेर।
सबै दम्पत्तिलाई जस्तै हाम्रो लागि पनि विशेष थियो, बहुप्रतिक्षित सन्तान थियो। त्यसैले गर्भावस्था र प्रसव मलाई खासै गाह्रो लागेन। तर वास्तविक कठिन समय तब आयो जब स्वभाविक रुपले आउनु पर्ने दूध आइदिएन।
मैले धेरै प्रयास गरें। खानेकुराहरु, औषधि, जडिबुटी, सेकाउने, मसाज गर्ने आदि थाहा पाए जति उपाय गरें। डाक्टरहरुसँग परामर्श, जान्ने बुझ्नेले सुझाएका उपायहरु सबै गरेर एक डेढ महिनामा झन्डै नुस्खा नम्बर ५० सम्म पुग्यो होला, ‘ट्राइ’ गर्दा गर्दै तर हात लाग्यो निराशा मात्रै।
आफ्नो सन्तानलाई सबैभन्दा राम्रो र स्वस्थकर ढंगबाट हुर्काउँ भन्ने सबैलाई हुन्छ। मलाई पनि सिजरियन अप्रेशनमा काम गर्दा खेरी ओहो! सबै कुरा प्राकृतिक ढंगबाट हुनु राम्रो हो भन्ने लागि रहन्थ्यो। सबैले त्यो अवसर पाउँदैनन्। मलाई त्यो बाध्यता आइपरेन।
अब मलाई ठूलो तनाव भइरहेको थियो। आफ्नो शिशु भोको रहँदा कुनै पनि आमाको मन शान्त रहन सक्दैन। मातृत्व हरेक नारीको रहर हो। यसलाई सम्पूर्ण नारीत्वसँग जोडेर हेरिन्छ। सारा स्त्री जातिलाई ‘माता’ को रुपमा सम्मान गरिन्छ।
एउटा ‘परफेक्ट’ आमा बन्नु अहिलेको पुस्ताको पनि चुनौतिपूर्ण कामहरु मध्ये एक हो। मेरो मातृत्वको पहिलो गाँसमै ढुंगा लागेको थियो। जिन्दगीका धेरै आरोह अवरोह भए होलान्। यो असफलतामा धेरै संवेदनशील भएँ।
यहाँ आफूभन्दा बढी मूल्यवान जीवनको नाजुक अवस्था थियो। मसँग नचाहँदा नचाहँदै फर्मूला दूध खुवाउनुको विकल्प थिएन। त्यो खुवाउन गर्नुपर्ने तयारी, झन्झटिलो तालिका, खुवाएपछिको समस्या कति हो कति।
आफ्नो शिशुको रुवाइ, छटपटी, घट्दो तौलले अत्यास लाग्थ्यो। रातभरि अनिदो बसी दूध चुसाउने प्रयास गरिरहन्थेँ। सुत्केरी शरीरले थकान, अनिन्द्रा, तनाव, धान्न सकेन सायद, मलाई फरक महसुस हुन थाल्यो।
मलाई याद आयो कि मलाई ‘पोष्टपार्टम ब्लू’ भयो। यो सुत्केरी अवस्थामा हुने अस्वभाविक ‘मुड स्विङ’ हो। त्यो बेलाबाट सुरु भएको मेरो स्तनपान सम्बन्धी चासो अहिलेसम्म पनि कायमै छ।
अहिले अगस्ट महिनाको पहिलो साता ‘स्तनपान सप्ताह’ नेपाल सरकारले र सहयोगी संस्थाहरुले पनि यसको महत्वलाई प्रचार गर्न र प्रोत्साहन गर्न खोजेको देखिन्छ। संचार माध्यम, सामाजिक संजालमा जब यस्ता सामाग्री देख्छु तब खुसी लाग्छ।
हाम्रा पहिलेका पुस्ताभन्दा हामी कति भाग्यमानी छौं। दूध बढाउन महिलालाई विशेष पौष्टिक भोजनको वर्णन दूध कसरी सही ढंगबाट चुसाउने, कामकाजी महिलाहरुलाई कसरी स्तनपानको अवधि बढाउन सकिन्छ भनेर नीति निर्माण, सार्वजनिक स्थलहरुमा स्तनपानमैत्री संरचना निर्माण आदि कुराहरुमा जोड दिनु साँच्चै सकारात्मक पक्षहरु हुन्।
पहिलेको तुलनामा सुधार आए पनि अहिले पनि चुनौतिहरु धेरै छन्। र समस्याहरु पनि थपिँदै छन्। बढ्दो सिजरियन डेलिभरीको संख्या, कसैको रहर होला, कसैको बाध्यता। शल्यक्रियाबाट हुने सुत्केरीबाट जन्मेको पहिलो घन्टाभित्र स्तनपान गराउन बाधा हुन्छ।
‘एक्सक्लुसिभ ब्रेस्टफिडिङ’ अर्थात् ६ महिनासम्म साथै दुई वर्षसम्म आमाको दूध मात्र खुवाउने, भनेर भनिए तापनि यसको व्यवहारिक पक्ष सबैलाई सहज छैन। गाउँघरमा निरन्तर कृषिकर्म चलिरहेकै हुन्छ भने सहरमा पनि अधिकांश युवा अवस्थाका महिलाहरु व्यापार, व्यवसाय, जागिर वा अध्ययनमा संलग्न भइरहेकै हुन्छन्।
यो प्रजनन उमेर नै यस्तो अवस्था हो जहाँ युवा वर्गले सबैकुरा समयमै व्यवस्थापन गरी सक्नुपर्ने बाध्यता छ। पढाइ पूरा गरिसक्नु पर्ने, रोजगार वा आर्थिक रुपले आत्मनिर्भर बन्नुपर्ने, जीवनसाथी रोजेर सेटल हुने, महिलाहरु २५-३० भित्र, पुरुषहरु ३०-३५ सम्ममा सन्तान जन्माइसक्नु पर्ने कुराहरु हाम्रो समाजले अघोषित रुपमा निर्धारण गरेका चेकलिस्ट हुन्।
यही बेलामा महिलाहरुले क्यारियरले भर्खर गति लिन थालेको हुन्छ जसमा झ्याप्प ब्रेक लाग्छ। सबै महिलाले यो ब्रेकको सुविधा लिन पनि पाउँदैनन्।
पिठ्यूमा नानी बाँधेर घरधन्दा गरी रहेकी गृहिणी हुन्, या झोलुङो लगाएर पसल कुरिरहेकी साहुनी हुन्, या छेउमा बच्चा सुताएर खेत गोडिरहेकी महिला हुन्, या काखमा बच्चा लिएर ल्यापटपमा काम गरिरहेकी महिला, उनीहरुले आफ्नो जीविकोपार्जनमात्र गरेका छैनन्। समाज, परिवार, राष्ट्रलाई पनि केही न केही योगदान दिएका छन्।
यस वर्षको स्तनपान सप्ताहको नारा रहेछ ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी।’ प्रजनन सम्बन्धि कार्य प्रकृतिले महिलालाई नै दिएको छ। न महिनावारी बाड्न मिल्छ न गर्भावस्था न प्रसव, न स्तनपान। यी सबै स्वतः नारी जातिको जिम्मेवारीमा आएका छन्।
हामीले यी प्रकृया सहज बनाउन गर्न सकिने कार्यहरु हुन्छन्- एउटा श्रीमानले बच्चाको अन्य स्याहारमा संलग्न भएर, घरपरिवारले घरायसी काममा सहज बनाइदिएर, रोजगारदाताले सुत्केरी बिदाको अवधि बढाएर स्तनपान गराउने समय दिएर, नीति निर्माताले अनुकूल नीति नियम बनाइदिएर, सरोकारवालाहरुले सार्वजनिक ठाउँमा पनि स्तनपान गर्न सकिने संरचना बनाइदिएर इत्यादि।
बसमा बच्चाको आमालाई सिट दिएर नै किन नहोस्, सबैले जिम्मेवारी बोध गरियो भने त्यो कार्य सहज हुन्छ। सबैभन्दा ठूलो कुरो आफ्नो विचारमा पनि परिवर्तन हुन जरुरी हुन्छ। यो कुनै लज्जाको विषय होइन। यसलाई प्रोत्साहन गरौं भन्ने संस्कृति विकास गर्नुपर्छ। घरबाट बाहिर निस्कने वित्तिकै ठाउँ नभएर बोतलको दूध खुवाउनु पर्ने बाध्यता नहोस्। हामीले स्तनपानलाई जोड दिउँ भनिरहँदा त्यसमा आइपर्ने समस्याको समाधान पनि दिन सके बल्ल न्यायपूर्ण हुन्छ।
के आमाहरु क्यारियरको दौडमा सन्तानप्रतिको ममता त्याग्दै गएका हुन्? वा उनीहरुको पनि यो प्रतिस्पर्धी दुनियाँमा अलि बढी नै मेहनत गर्नुपर्ने बाध्यतामा छन्?
के आधुनिक महिलाहरु आफ्नो सुन्दरताको बढी नै सचेत (अथवा भ्रमित) हुन थालेका हुन जसले गर्दा आफ्नो सन्तानको दीर्घकालीन स्वास्थ्यको भन्दा आफ्नो फिगरको बढी पर्बाह हुन थालेको हो?
के यी नयाँ आमाहरु शिशुलाई अमृतपान गराउन अल्छी मानेर पाउडर दूध खुवाउन सजिलो महसुस गरेका हुन्? अथवा कोसिस गर्दा गर्दै पनि केही उपाय नलागेपछिको बाध्यता हो?
ठूलो त्याग, दुःख र संघर्षपछिमात्र पाइने पद हो आमा। आमाको महानताको महिमामानको अगाडि पुरुषका ठूलो जिम्मेवारी पनि ओझेल परेको छ। आधुनिकतासँगै बढ्दै गएको विलासिता, श्रम गर्न नचाहने अलिकति पनि दुःखबाट विचलित हुने पुस्ता पनि हुर्कंदै गइरहेको छ।
केही कुरा प्रकृतिले हाम्रै भागमा छुट्याइदिएको छ। जतिसुकै प्रविधिको विकास भए पनि प्रजननको जिम्मेवारी अझै मानव शरीरले बहन गर्नु पर्ने छ। मेडिकल साइन्सले जति प्रगति गर्दै गएको छ, त्यति नै नयाँ स्वास्थ्य समस्याहरु पनि थपिँदै गइरहेका छन्।
डेढ वर्ष हुन लाग्यो एउटा भाइरसले संसारलाई आफ्नो मुठीमा लिएको छ। महिला स्वास्थ्यमा पनि नयाँ-नयाँ समस्या उत्पति भइरहेका वा बढिरहेका छन्। उदाहरणको लागि पिसिओडी पाठेघरमा हुने मसिनो पानीफोका हो। यसले हर्मोन गडबढ बनाएर महिनावारी, तौलमा असर पुर्याउँछ, तथा सुत्केरी अवस्थामा दूध पनि न्यून मात्रामा आउँछ।
अहिले यो धेरै महिलामा बढ्दै गइरहेको छ। किनकी यो जंक फूड सेवन, अनिद्रासँग बढी सम्बन्धित देखिने मानिएको छ। यसको समाधानको लागि हामीसँग ठोस उपाय छैन। न हामी पूर्णरुपमा ग्रामिण जीवनयापन गर्न सक्ने अवस्था छ, न पूर्णरुपमा रसायनिक विषादी रहित खानेकुरा खान सम्भव छ।
यो अवस्था आउने जोखिम न्यूनीकरण र तयारी गर्न सकिन्छ। ग्रामीण महिलाहरुलाई सही पोषणको ज्ञान दिन सकिन्छ भने वा निम्न आय हुनेहरुलाई डाइटिङ प्रकृतिलाई निरुत्साहन गर्नु पर्ने हुन सक्छ।
हाम्रो देशमा ‘ल्याक्टेसन काउन्सिलिङ’ को विशेष छैनन्। आमाको दूध संचय गर्ने ब्यांक केही दिन अघिबाट मात्रै प्रसूति गृहमा सुरुआत भएको छ। स्तनपानको महत्वलाई जोड दिएर जति चेतनामूलक कार्यक्रम गरिन्छ।
यसका कठिनाइलाई हल गर्ने प्राविधिक सहयोगमा पनि वृद्धि गर्नु पर्ने आवश्यकता देखिन्छ। त्यो विशेषज्ञ परामर्श हुन सक्छ। विभिन्न सहायक सामग्री प्रयोग सबै वर्गको पहुँचमा पुग्यो भने अझै सहयोगी हुन सक्छ।
यो कोरोना महामारी अन्त्य नभइसकेको अवस्थामा अर्थतन्त्र धरासायी भएको अवस्थामा, जनजीवन अस्तव्यस्त भएको अवस्थामा फेरि कोभिडका बिरामीले अस्पताल भरिन थाले भन्ने समाचार आउँदै गर्दा, निश्चित रुपमा स्तनपानका कुराले हाम्रो मनमा धेरै महत्व नपाउन सक्छन्।
तर आवाजविहीन शिशुको निम्ति त्यही नै सबैथोक हो। र आमाको निम्ति पनि बच्चा नै सबैथोक हो। यस वर्ष स्तनपान गराइरहेकी आमाको चित्रमा पनि मास्क लागेको छ। कोभिड संक्रमित आमाले पनि स्तनपान गराउन मिल्छ। हातको सरसफाइमा भने झनै बढी सर्तकता अपनाउनु पर्छ।स्रोतः सेतोपाटी
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















