एक संक्रमितको साक्षी : घर, अस्पताल हुँदै घाटसम्म

दिल शिरीष

भनिन्छ, जीवन यात्रा हो । मानिसको जीवनलाई त्यही यात्रा मानेर हेर्ने हो भने घरदेखि घाटसम्मको दूरीको यात्रा हो । यसरी हेर्दा जीवन कति छोटो जस्तो, आजै हिंडेर अर्थात् एकै दिन, एकैछिनमा पनि पुगिने जस्तो । जीवनको सरलरेखा छ । हामी पो कसरी हिंड्छौं ? सफलता–असफलता, जस–अपजस, सुख–दुःख, आँशु–हाँसो शायद यसैमा निर्भर होला ।

तर, के जन्मदेखि मृत्युसम्मको यात्रा यति सरल र सहज छ ? के जीवनलाई मानिसले यति सजिलो हिसाबले बिताइरहेका छन् त ? त्यस्तो लाग्दैन । यसमा व्यक्ति स्वयंले जीवन जटिल बनाइरहेको छ । मानिसले मानिसको जीवनमा जटिलता सिर्जना गरिदिएका छन् ।

पछिल्लो एक वर्षयता भने कोरोनाभाइरसले जीवनमा जटिलता थपिदिएको छ र वर्तमान र भविष्य अनिश्चित बनाएको छ । कोरोनापछि सर्वत्र संकट त आयो नै तर, कोरोनासँगै हर मानिसले आफ्नो जीवन र स्वास्थ्यलाई असीम प्यार र परीक्षण गर्ने अवसर पनि पाए ।

म पनि लकडाउनबीच आफ्नो जीवन, भविष्य र स्वास्थ्यबारे सोच्दै थिएँ । साँझपख मेरो छ्यामाको फोन आयो । सानो बुवालाई कोरोना भएको पाँच दिन भइसकेको रहेछ । ‘घरमै बसेका बेला बेहोश भएर ढल्नुभो । गाउँपालिकाको एम्बुलेन्स बोलाएका छौं । यहाँ कोरोना भएको भनेपछि छिमेकीहरू आउन, छुन, सहयोग गर्न पनि डराए । अहिले घरबाट तल मोटरबाटोमा तेरो दाइले एक्लै बल्लतल्ल झारेको छ, मोटो मान्छे भएकाले साह्रै गाह्रो भो तलसम्म बोकेरै पुर्‍याउन । धौलागिरि अस्पतालमा पुग्नु है बाबु ।’ यो सुनेपछि म रन्थनिएँ ।

मलाई लाग्यो अब उपचार कठिन हुनेछ । यसै साता केही प्रश्न र यस्ता फोन मलाई आएका थिए जसबाट म निकै झस्किएको थिएँ । धौलागिरि अस्पतालमा सांसद, जनप्रतिनिधि आएका रहेछन् । एक जना सर्वसाधारणले जिज्ञासा राख्दै मलाई सोधे– अस्पतालमा आज को मरेको रहेछ र ? नेताहरू सबै यतै गइरहेका छन् ? मैले अप्ठ्यारो मान्दै भनें, अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रम छ ।

अस्पताल जाने सडक छेउमै घर भएका एक व्यवसायीले भोलिपल्ट एकाबिहानै फोन गरेर सोध्नुभो, फलानो फलानो पार्टीका नेताहरू अस्पतालतिरै गइरहेका छन्, आज पनि कसैको मृत्यु भएको छ र ?

यी त केवल देख्नेले लेखेका शब्द हुन् । भोग्नेको भोगाइ अझ कति अप्रियकर र कहालीलाग्दो होला ? त्यो कहाँ शब्दमा पोखिन सक्ला र ?

यी बारम्बार दोहोरिरहेका एकै खाले प्रश्नले मन कता–कता विचलित भए जस्तो भो । यो प्रश्नको अन्तर्यमा गएर भाव, आशय विश्लेषण गर्दा सरकार, सांसद, जनप्रतिनिधि र नेताहरू जनताको जीवन बचाउन बेखबर रहने गरे पनि मृत्युमा श्रद्धा र समवेदना व्यक्त गर्न आइपुग्छन् भन्ने मनोविज्ञान जनतामा विकास भएको आभास भयो ।

म आत्तिएँ, धौलागिरि अस्पतालका मेसु डा.शैलेन्द्र बि पोखरेललाई एउटा सिरियस केस आउँदै गरेको र उपचारमा सहयोग गरिदिनुपर्ने बताएँ । राति ८ बजेतिर अस्पताल ल्याएर इमर्जेन्सीमा भर्ना गर्‍यौं । डा.शैलेन्द्र र डा.अभिषेक रेग्मीसहितको टोलीले उपचार थाल्यो ।

अचेत अवस्थामा रहेका उहाँको अक्सिजन लेभल ३०/३५ मात्रै थियो । चिकित्सक, नर्स लगायतको टीमले हामीलाई भन्नुभो, यस्तो हुने बेलासम्म पनि किन यसरी रोग लुकाएर बस्नुभएको ? अब बचाउन सक्ने सम्भावना धेरै कम छ । एकाएक हाम्रो अनुहारमा सन्नाटा छायो । हामी नाजवाफ भयौं ।

धौलागिरि अस्पतालले कोरोना संक्रमितको उपचारका लागि हरसम्भव प्रयत्न गरिरहेको छ । तर, आईसीयूमा जम्मा तीन जना मात्रै राख्न सकिने अवस्था छ । तीन दर्जन बढीलाई अक्सिजनसहित उपचार गरिरहेको छ । हामीलाई बिरामीको क्रिटिकल अवस्थाले तत्काल आईसीयूमा राख्नुपर्ने बाध्यता थियो । त्यसका लागि बेड खाली नभएकाले डाक्टरहरूले तत्काल पोखरा, काठमाडौं लैजान सुझाव दिनुभयो ।

बुझ्यौं, सहज र सुलभ रूपमा आईसीयू पाउन कठिन र लैजानै पर्ने अवस्थामा पनि ट्युब राखेर मृत्यु पत्रमा हस्ताक्षर गरेर लैजानुपर्ने रहेछ । हामी हच्कियौं र मन भारी बनाउँदै अक्सिजनसहितको उपचारमै राख्यौं ।

आईसीयू पाउन त त्यहाँ उपचाररत कोही बिरामी मर्नुपर्ने थियो । अहो ! कसैको जीवनको याचनाको निम्ति कोही मरोस् र बेड खाली होस् भनेर प्रतीक्षा गर्नुपर्ने क्षण कति भयानक र पीडादायक थियो ? म अहिले पनि सम्झिंदा अवाक् हुन्छु ।

तीन दिनपछि आईसीयू कक्षमा उपचाररत एकजना बिरामीको मृत्यु भएछ । त्यसपछि मात्रै विशेष अनुरोधमा आईसीयूमा राखेर उपचार आरम्भ गरियो । त्यो दुई दिनको अवधिको क्षण यति सकस कि केवल भगवान भरोसामा विताउनु परेको थियो ।

आईसीयूमा उपचार शुरू भएको एक साता सेरोफेरोमा काकाको स्वास्थ्यमा उल्लेख्य सुधार आयो । बोल्न, खान थाल्नुभो । हामी धेरै आशावादी भयौं । तर, अचानक अस्पतालमा उपचारका लागि लगेको १३ दिनमा देहान्त भयो । रेखदेखमा आइसोलेसनमै बसेका दाइले बुवालाई बचाउन सकिएन भनेर फोन गरेपछि म सबेरै अस्पताल पुगें ।

दाइ बाहिरिनुभो । दाइले मलाई हेर्नुभो, मैले उहाँलाई । हामी दुवै आफूलाई सम्हाल्दै रोएनौं, तर आँखाभरि दुवैको आँशु टिलपिल थियो । घरमा छ्यामा, आमा, दिदीबहिनी, भाउजू कसैलाई सीधै खबर सुनाउने हिम्मत आएन । अरू निकट आफन्तलाई भन्यौं ।

परिवारलाई मृत्यु भए पनि दुई थोपा आँशु र श्रद्धाको फूल चढाउन पाउने अवसर समेत रहेन । सानो बुवाको मृत्युमा यो बेला परिवार, आफन्त फोनबाट रुने र मृत्युपछि पनि अन्तिममा एक पटक मुहार हेर्ने धोको बाँकी रह्यो ।

मृत्यु पश्चात शव अन्त्येष्टिको क्षण साह्रै पीडादायक भयो । घाटमा चिता बनाउन शहर बस्ने केही गाउँले आएँ । नेपाली सैनिकको सहयोगमा शव अन्त्येष्टि गरियो । चिता छेउमा तीन नेपाली सैनिकले सलामी दिए, एक्लै चिता छेउ रहेका दाइले दागबत्ती दिएर श्रद्धाञ्जली व्यक्त गरे ।

सँगै आइसोलेसनमा नबसेका, कोरोना पोजेटिभ नभएका सन्तानले त दागबत्तीसमेत दिन पाएका छैनन् । यस पीडाको त झन् हिसाबकिताब नै छैन । नेपाली समाजमा ‘ज्युँदाको जन्ती, मर्दाको मलामी’ भन्ने कथन छ । तर अब यो कथन पनि कोरोनाले एकादेशको कथा बनाइदिएको छ ।

जब घाटबाट फर्किन थाल्यौं । अरू बेला किरिया पुत्रीका साथ दाजुभाइ, आफन्तको लस्कर हुन्थ्यो । एक्लै छोड्नुहुन्न भन्ने प्रचलन थियो । तर, किरिया बस्ने दाइ केवल एम्बुलेन्समा एक्लै घर जानुपर्ने विवशताले म फेरि उद्वेलित भएँ ।

गाउँपालिकाको एम्बुलेन्स आयो, चालकले पीपीई लगाए । दाइको पीसीआर रिपोर्ट आइपुगेको थिएन । एम्बुलेन्समा उनी एक्लै जाने कुरा भयो । अर्को उनकै निकट सहोदर भाइ अघि–अघि बाइकमा गए । चाहँदाचाहँदै पनि सँगै जान नपाइने या जान पनि कैयन् पटक गम्भीर भएर सोच्नुपर्ने कस्तो जमाना र धर्मसंकटमा हामी रहेछौं ?

गहिरो पीडाबोध भयो । यस्तो कठिन संकट र चुनौतीमा पनि अविचलित काम गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीको दृढता, समर्पण देखेर भने म नतमस्तक भएँ । सबै धन्यवादको पात्र छन् ।

यी त केवल देख्नेले लेखेका शब्दहरू हुन् । भोग्नेहरूको भोगाइ अझ कति अप्रियकर र कहालीलाग्दो होला ? त्यो कहाँ शब्दमा पोखिन सक्ला र ? कोरोना नभोग्दासम्म सामान्य ठान्ने भूल कदापि नगरौं । समयमै सचेत बनौं, सुरक्षित बनौं । स्रोतः अनलाइन खबर

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal