भेडापालककाे कथा: पाँच दशकसम्म भेडीगाेठमा बास

हरिकृष्ण शर्मा

मुक्तिनाथ(मुस्ताङ), १९ असाेज-  हाँस्दै खेल्दै पढ्ने उमेरमा भेडा लिएर मुस्ताङ थासाङ गाउँपालिका अन्तर्गतको टुकुचेमा आएका नरबहादुर भण्डारीले बुकीखर्कमा बस्न थालेको साढे पाँच दशक भयो । २०२७ सालमा १३ वर्षको उमेरमै भेडा लिएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, सांझापानीबाट मुस्ताङको लेकमा पुगेका भण्डारीले ५५ वर्ष भेडीगोठमै बिताउनुभयो । 

६८ वर्षीय भण्डारी चार हजारभन्दामाथिको उचाइमा रहेका खर्कमा भेडा चराउन लैजानुहुन्छ । मुस्ताङको बतासे याकखर्कमा पाँच महिना बिताउने नरबहादुर जेठ लाग्नासाथ बेँसीबाट भेडीगोठ उक्लिएर असोजमा भेडा बेच्न, चाडपर्व मनाउन बेँसीतिर झर्नुहुन्छ । तत्कालीन समयमा हजुरबुवाले तीन सय भेडा भाग लगाउँदा बुवाको भागमा परेका भेडाबाट बाजे, बुवाको पुख्र्यौली पेसालाई निरन्तरता दिनुभएका नरबहादुरसँग अहिले छ सयभन्दा बढी भेडा छन् । 

नरबहादुर भन्नुहुन्छ, “मेरो रमाउने उमेर सबै भेडीगोठमा बित्यो, गाउँसहरको रमाइलो महसुस नै गर्न पाइनँ, यो बुढेसकालमा पनि भेडा चराउँदै बसेको छु ।” गाउँमा रहेको मुक्तिधाम माविमा कक्षा ९ मा पढ्दापढ्दै भेडा लिएर मुस्ताङमा आएपछि पढाइलाई निरन्तरता दिन नपाएकोमा नरबहादुरलाई अहिले पछुतो छ । नरबहादुर भन्नुहुन्छ, “पुख्र्याैली पेसा अँगाल्दा, झोलामा भएका पुस्तक छाडेर हिड्नुप¥यो, अब त बाँचुन्जेल भेडीगोठमै बिताउँछु ।” नरबहादुरले भेडापालन सुरु गर्दा एक भेडाको पाँच मोहर अर्थात् दुई रुपियाँ पचास पैसामा बिव्रmी गर्ने गरेकोमा अहिले एउटा भेडाको मूल्य २० देखि २४ हजार रुपियाँ र खसीलाई ३५ देखि ४० हजार रुपियाँसम्ममा बिक्री गर्नुहुन्छ । चरन क्षेत्र, गोठालाको अभावका कारण सामान्य बिरामी हुँदा गोठमै बिताउनुपर्ने बाध्यता रहेको नरबहादुरको दुःखेसो छ । उहाँले भन्नुभयो, “चरन क्षेत्रमा अनेक दुःख छ । वन्यजन्तुबाट भेडा जोगाउनै मुस्किल छ । बजारसम्म ल्याएर बिक्री गरेपछि मात्रै मेहनतको फल मिल्छ ।” 

बुढेसकालमा लेकको चिसो सिरेटो, वर्षासँगै चरन क्षेत्रबाट अलगिएका भेडाको बथान खोज्न हप्तादिनसम्म भोकभोकै हिँडेको कहालीलाग्दो दिन सम्झदा पेसा नै छाडेर हिँड्न मन लाग्ने नरबहादुरको भनाइ छ । उहाँले भेडाको सुरक्षाका लागि भोटे कुकुरसमेत पालेकाले वन्यजन्तुबाट जोगाउन सजिलो भएको छ । भेडापालनमा ज्यानै जोखिम मोलेर बिताएका अत्यन्त दर्दनाक समय अहिले सजिलै सामाना गर्न सक्ने भएको र भेडापालनबाट घरखर्चसँगै केही सम्पत्तिसमेत जोडेको बताउँदै पेसामा दुःख भए पनि आर्थिक अभावबाट भने मुक्त भएको उहाँले बताउनुभयो । 

पाँच छोरा र तीन छोरीमध्ये छोराहरूको पहिलो रोजाइ विदेश भए पनि जेठो छोराले आफ्नो पेसालाई निरन्तरता दिएको बताउनुभयो । नरबहादुर भन्नुहुन्छ, “मैले विदेश जाने अवसरसमेत छाडेर भेडीगोठ रोजेको थिएँ, अब त बुढापाकाले छाडेपछि गोठ पनि बिस्तारै हराउँछन् भन्ने चिन्ता छ ।” भेडापालनमा लागेकालाई अनुदानसहित विभिन्न सुविधा दिएर युवापुस्तालाई आकर्षित नगरे अबको एक दशकमा चरन क्षेत्रबाट भेडापालन हराउने र वनपाखा सुनसान हुने उहाँको भनाइ छ । राज्यका निकायबाट पशुपालनको क्षेत्रमा अझै पनि पहुँचवालालाई रोज्ने गरिएकाले पुख्र्याैली पेसालाई निरन्तरता दिएकालाई अन्याय भएको भण्डारीको भनाइ छ ।

विभिन्न किसिमका रोग हटाउने खोपसहितका सुविधाबाहेक सरकारी अनुदान, सेवासुविधा भेडीगोठसम्म उक्लिदैनन् तर बेँसीमै सिमित हुने गरेको उहाँको भनाइ छ । मुस्ताङको लो–घेकर दामोदरकुण्ड, ल्होमन्थाङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा भेडाच्याङ्ग्रा हुन्छन् भने थासाङ, घरपझोङ गाउँपालिका पहाडी क्षेत्रको चरन क्षेत्रमा समेत भेडापालन हुने भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले बताउनुभयो । चरन क्षेत्रमा रहेका भेडीगोठमा केन्द्र तथा गाउँपालिकाको पशु शाखाबाट पिपिआर रोगविरुद्धको खोप, खोरेतलगायतका अन्य भ्याक्सिन नियमित लगाउने गरिएको केन्द्र प्रमुख अर्यालले बताउनुभयो । थासाङ गापा अन्तर्गतको थाक सात सय क्षेत्रका मुख्य लेक बतासे (याक) खर्क, मार्चे, मुलि, ह्याङ्देन, ठुलो बुकी र दहबुकीमा मुस्ताङ र म्याग्दीका भेडापालक कृषकको गोठ छन् ।गाेप

ताजा

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal