गाउँमा सडक पुग्यो, मासिए सम्पदा

गलेश्वर (म्याग्दी), १९ माघ-  उप्किएका छपनी र लथालिङ्ग परेका ढुङ्गा । वरिपरि सिस्नो र वनमाराको जङ्गल । लेउ लागेको कुवामा पातैपात । बाटैमा भेटिने बाँदर, तित्रा र कालिज भेटिने बेनी नगरपालिका*२ बगरफाँटदेखि वडा कार्यालय रहेको ज्यामरुककोटको भकुण्डेचौर जाने पुरानो गोरेटो बाटोको अवस्था हो यो ।

गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि जिल्लाका प्रायः सबै ठाउँका पुराना गोरेटो बाटो र बिसाउने चौतारीका अवस्था यस्तै छ । सडकका कारण गाउँ पुग्ने गोरेटा बाटा नासिएका छन् । सडकबाटै मानिस आवतजावत गर्ने भएपछि मर्मत सम्भारको अभावमा गाउँ पुग्ने गोरेटो बाटा भत्किएका छन् भने कतिपय बाटोको त नामोनिसान पनि मेटिएको छ ।

“गोरेटो बाटोको नामोनिसान छैन । जताततै मोटर गुड्न थालेपछि यात्रुले थकाइ मेटाउने चौतारी तथा बिसाउनी नासिएका छन् । कुवा, धारो र पँधेरा देखिन छोडेका छन्”, खबराका यामबहादुर घिमिरे भन्नुहुन्छ, “वनजङ्गल पनि उराठलाग्दो बनेका छन् । मानिस आउन छोडेपछि जङ्गल त घना भएको छ । घाँस दाउरा र स्याउला, प्रयोग गर्न छोडेपछि त जङ्गलको बाटो हिँड्न पनि उराठ लाग्दो छ ।”

गोरेटो बाटो नासिँदै गएपछि गाउँको सुन्दरता र मानिसबीचको आत्मीयता पनि कम हुँदै गएको खबराका चन्द्रबहादुर कार्की बताउनुहुन्छ । “डिम्मराको उकालो उक्लेर गौडालाउनेको चौतारीमा पुगेपछि आँत हरर्र हुन्थ्यो । यहाँको सितल हावा र चिसो पानीले बेनीदेखि उकालो बाटो हिँडेर गौडालाउनीसम्म आइपुग्दाको दुःख बिर्साउँदथ्यो”, उहाँ भन्नुहुन्छ, “बाटो हिँडेर घरमा आउजाउ गर्दा, बाटोमा भेटिएका दौतरीसँग दुःख सुखको कुरा गर्दै हिँड्दा, अनि साँझमा घर आएर महीसँग मकै चपाउँदाको आनन्द अब कहाँ पाउनु ?” 

गाउँ गाउँमा पुगेका सडकका कारण गाउँलेलाई सुविधा र सास्ती दुवै मिलेको बताउनुहुन्छ, मालिका गाउँपालिका वडा नम्बर २ का टेकबहादुर विक । “बस्ती बस्तीमा गाडी आउँछ, दरबाङ, बेनी जहाँबाट मगायो त्यहीँबाट सामान घरको आँगनमा नै ल्याइपुर्याइदिन्छ । बिरामी हुँदा अस्पतालसम्म गाडी चढेरै जान पाइन्छ यो त राम्रो हो”, विक भन्नुहुन्छ “तर, वर्षामा  भने न गाडी आउँछ न माटो बग्न रोक्निछ । पहिरोले उठिबास लगाउने डर हुन्छ ।”

वातावरणीय मूल्याङ्कन नगरिकन जथाभावी खनिएका ग्रामीण सडकले गाउँको सौन्दर्य त नास भएको छ नै, भूस्खलन र बाढी पहिरोको जोखिम पनि बढाएको छ । भिरालो भूगोलमा  भएका गाउँ थप जोखिममा परेका छन् । ती गाउँसम्म जाने गोरोटो बाटो नासिए पछि गाउँलेलाई घुमाउरो बाटो प्रयोग गरेर गाउँसम्म पुग्नुपर्ने बाध्यता छ । “सडक खन्दा घुमाउरो (नागबेली) पारेर खान्छन्, गाउँका खोल्सा खाल्सी, सत्तल, पाटी, चौतारो, कुवा, गोरेटो केही पनि बचेनन्”, धौलागिरि गाउँपालिका ५ मल्काबाङका कर्म छन्त्याल  भन्नुहुन्छ, “गाडी चढेर गाउँमा नौला मान्छे त आउँछन् तर सहर बजार झरेका आफन्तलाई भेट्न चाडपर्व नै कुर्नुपर्दछ ।”

सडकले गोरेटो बाटो मासेपछि बस्ती पनि टाढा टाढाजस्ता भएका छन् । पहिला छोटो गोरेटो बाटो प्रयोग गरेर एक गाउँदेखि अर्को गाउँमा पुग्न सकिन्थ्यो तर अब गोरेटो बाटो नै नरहेपछि सडक हुँदै जाँदा घुमाउरो हुन्छ । चाहेको बेलामा छिमेकीकहाँ पुग्न पनि नसकिने अवस्था भएको उहाँको भनाइ छ । सडकले गोरेटो बाटो मात्रै मासेको होइन, ग्रामीण पहिचान बोकेका अनेकौँ सम्पदा पनि नासिएका खबराका चन्द्रबहादुर कार्की उल्लेख गर्नुहुन्छ ।

उहाँ बेनी ज्यामरुककोटको गोरेटो बाटो नासिएपछि राजा भर्तिवम मल्लका अङ्गरक्षकले हातहतियार उध्याउने बञ्चरेढुङ्गा अस्तित्वविहीन भएको छ भन्नुहुन्छ । भर्तिवम मल्लले पानी खाने गरेको राजकुवा अहिले पुरिने अवस्थामा पुगेकाले स्थानीय बुद्धिजीवी टीकाबहादुर कार्कीको पहलमा संरक्षणको प्रयास गरिए पनि त्यो प्रयास पर्याप्त नभएको कार्कीको भनाइ छ ।

यस्तै त्यसबेलाका राजा र उनका सहयोगी शिकार खेल्न जाँदा आराम गर्ने गरेको कैडा लाउनेको चौतारो अवशेषका रुपमा रहेको र अहिलेसम्म मर्मत गर्नेतर्फ कसैको ध्यान नपुगेको स्थानीय बूढापाका बताउँछन् । “नासिएर गएका सम्पदालाई फिर्ता ल्याउन नसके पनि यहाँको इतिहाससँग जोडिएका बचेको प्राकृतिक सम्पदा संरक्षण हुन नसक्नु ज्यादै दुःखद कुरा हो, इतिहासको संरक्षण गर्न सकिएन भने भोलिको पुस्ताले हामीलाई सराप्नेछ”, स्थानीय सोही ठाउँ निवासी टीकाबहादुर कार्की गुनसो गर्नुहुन्छ । 

गोरेटो बाटो (पदमार्ग) मासिएपछि घोडेपानी पुनहिल जस्ता पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या पनि घट्दै गएको र उनीहरुको बसाइ पनि कम हुँदै गएको छ । पर्यटक घट्नुको प्रमुख कारण कच्ची सडकले पदमार्गलाई विस्थापित गर्नु नै  मानिएको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रमा बढ्दो कच्ची सडक र धुलोका कारण विदेशी पर्यटकको आकर्षण घट्दै गएको घोडेपानीका पर्यटन व्यवसायी क्या डमबहादुर पुन बताउनुहुन्छ । 

“पर्यटक यहाँ गाडी चढ्न र पिज्जा, बर्गर खानमात्र आउने होइनन्, रमणीय डाँडाकाँडा र पहाडमा पदयात्रा गर्न आउने हुन्, अब सडक नै  सबै पदमार्गलाई विस्थापित गर्दै खनिएका छन्, कच्ची सडकमै पर्यटकलाई धुलो धुँवा खुवाएर हिँडाउनुपर्छ, यो उनीहरुलाई मन पर्ने कुरा भएन”, उहाँको गुनासो छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको म्याग्दीमा ४५ वडा छन् । ती वडामध्ये धौलागिरि गाउँपालिका-१ गुर्जाबाहेक अरु सबै वडाका बस्तीमा सडक पुगेको छ ।रासस 

ताजा

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal