पर्यटकको रोजाइमा माग्दीको टोड्के

सन्तोष गौत

म्याग्दी,१९ असोज- म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने गर्दथे । टोड्के तत्कालीन समयमा खर्कका रुपमा पनि परिचित थियो ।

रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाईवस्तुको घुम्तिगोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । जङगलमा भएको करिब ५० मिटर लामो सुरुङमा गाईवस्तु अडिकिने र तिनलाई बाघभालुले खाइदिने हुनाले गाउँलेले टोड्को भएको ठाउँ भन्दा भन्दै ठाउँकै नाम टोड्के रहन गएको किम्बदन्ती रहेको पूूर्णगाउँका दुर्गादत्त आचार्यले जानकारी दिनुभयो । “हामी तन्नेरी हुदाँसम्म टोड्केमा गाईभैसी, भेडाबाख्राको गोठ राख्ने गरिन्थ्यो,” ७० वर्षीय आचार्यले भन्नुभयो “प्रचारप्रसार, पूर्वाधार निर्माण, सडक, सञ्चार, विद्युत सुविधा विस्तार भएपछि पछिल्लो समय टोड्के खर्कबाट पर्यटकीय स्थलमा परिणत भएको छ ।”

समुन्द्री सतहदेखि दई हजार ४३० मिटरको उचाइमा रहेको टोड्के प्राकृतिक सौन्दर्ययुक्त गन्तब्य हो । काठमाडौबाट आएका रोशन राउतले टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तनरमन दुवै चंगा बनाएको अनुभव सुनाउनुभयो । “शान्त वातावरण, सुन्दर हिमाल र शीतल हावाले टोड्केलाई रमणीय बनाएको छ,” उहाँले भन्नुभयो “बिहान घाम लाग्दा र साँझ डुब्दो घामको लालीसँगैको हिमालको दृष्य जति हेरे पनि धितै मर्दैन् ।” ऋतु, मौसम र समय अनुुसार टोड्केमा फरक फरक दृष्य अवलोकन गर्न सकिन्छ । फागुन–चैतमा टोड्केको दायाँ र बाँया रहेको जङगलमा ढकमक्क फुल्ने लालीगुराँसको दृष्य मनमोहक हुन्छ । पुस–माघमा सेताम्मे हिउँ पर्ने टोड्केमा हिउँ खेलेर रमाउन पाइन्छ । बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुने झिँका स्थानीय गमबहादुुर पाइजाले बताउनुभयो ।

“पृष्ठभूूमिमा गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लर्कनसँगै सुर्योदय र सुर्यास्तका समयमा फरक फरक दृष्य देखिन्छ,” उहाँले भन्नुभयो “शान्त वातावरण । बर्खामा भुईफुलले रंगिएको फाँटबाट देखिने शरदयामको हिमाली मुस्कान । कुहिरो र हिमालको लुकामारी । चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ ।”

स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्धारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा रहेको छ । आश्रम परिसरमा गौशाला पनि रहेको छ ।

मगरको पुरख्र्यौली नाच, सोरठी, यानीमायाँ, सालैजो, भजन कीर्तन र पञ्चेबाजामा रम्न पाउनु टोड्केको थप विशेषता हो । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको रघुुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुुर शेरमञ्जाले बताउनुभयो । “वनभोज खान जानेहरुका लागि पनि पूर्वाधारको व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुुभयो “खेल पर्यटनको सम्भावनालाई मध्यनजर गरेर टोड्केमा हाइ अल्टिच्युड खेलमैदान निर्माणाधीन छ ।”

टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ । छ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको टोड्के हिल रिसोर्ट र होमस्टेमा एक दिनमा ६० जनासम्म बास बस्न मिल्ने शौचालय सहितका कोठा र टेन्टको सुविधा रहेको सञ्चालक भीम शेरचनले बताउनुभयो । दसँै तिहार, नयाँ वर्ष, फागु पूर्णिमाको समयमा घुुम्न र बिदा मनाउनका लागि आन्तरिक पर्यटकहरु टोड्के आउने गरेका उहाँले बताउनुभयो । नव विवाहित जोडिहरुको लागि टोड्के हनिमुन गन्तब्य बनेको उहाँले बताउनुभयो ।

तालिम गोष्ठि सञ्चालन गर्न सेमिनार हल पनि छ । विद्युत, इन्टरनेट, तातोपानी सुविधा भएको रिसोर्ट तथा होमस्टेमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ । स्वर्गद्धारी आश्रमको तिर्थयात्री निवासमा पनि बास बस्न सकिन्छ । टोड्के घुमेर फर्कदा सिजनमा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ ।

बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुदै टोड्के (१४ किलोमिटर) दुरीको सडक प्रयोग गर्न सकिन्छ ।

२९ किलोमिटर दुरीको बेनी–सिम–कुुहँ–पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवत जावत गर्ने क्रममा प्राकृतिक उपचार स्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किमी दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिक स्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ ।

पैदलयात्रा गर्न चाहनेहरुका लागि बेनी देखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरवार–टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् ।

धवलागिरी हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँ र पूर्णगाउँबाट एक घण्टा उकालो हिडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे सुविधा छ ।

टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइनेखानी– झिङखानी– चौरखानी– घ्याँसीखर्क हुदै धौलागिरि हिमालको आधार शिविर र आइसफल हुदै मुस्ताङको थासाङ गाउँपालिका निस्कने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको परिकल्पना गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । टोड्के पुग्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो ।

टोड्केदेखि झिँ–पाखापानी–कोटगाउँ–रायखोर–मुलपानी हुँदै घ्यासीखर्क जोडिने धौलागिरि सेञ्चुरी पदमार्ग पनि रहेको छ । म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकले परम्परागत पदमार्ग पूर्ण रुपमा विस्थापित भएको अवस्थामा टोड्के धौलागिरि पानोरमा साँस्कृतिक र धौलागिरि सेञ्चुरी पदमार्ग महत्वपूर्ण बैकल्पिक रुटका रुपमा स्थापित गर्न सकिने सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

सडक सञ्जालले पुराना र स्थापित पदमार्गहरु मासिदै गएको सन्दर्भमा संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर समेतलाई समेटिएको यो पदमार्ग गण्डकी पदेशमै नयाँ र सम्भावनायुक्त गन्तव्यको रुपमा स्थापित हुने प्रचुर सम्भावना रहेको टे«कीङ ब्यवसायी एशोसियसन ९टान० गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुुभयो ।

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र गण्डकीले टोड्केको प्रर्वद्धनमा सघाएका छन् । पर्यटन बोर्ड गण्डकीका बरिष्ठ अधिकृत कुन्दन मिश्रले टोड्केको प्रर्वद्धनका लागि गत आर्थिक वर्षमा बुकलेट बनाएर पोखराका होटलहरुमा वितरण तथा वृत्तचित्र बनाएर सामाजिक सञ्जालबाट ‘डिजिटल मार्केटिङ’ गरिएको बताउनुभयो । टोड्के र झिँका बासिन्दाहरुले टोड्के विकास कोष गठन गरि दुई पटक गुराँस महोत्सव आयोजना गर्नुका साथै पदमार्ग, सडक निर्माण र निजी क्षेत्रको लगानी भित्र्याउन अगुवाइ गरेका छन् ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal