कहाँ छन् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ गजलका सर्जक गिरी ?

गण्डकी,११ फागुन- गीतकार शीतल गिरी अर्थात् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ गजलका लेखक । कुनै समय अधिकांश गजलप्रेमीको ओठमै झुण्डिएको यो गीतपछि गिरी कहाँ होलान् ? के उहाँको सिर्जना यात्रा ब्रेक लाग्यो कि के भयो होला ?

हुन त कुनै पनि गीत/गजल जति चले पनि सर्जकको चर्चा कमै हुन्छ । तर त्यो बेलामा गिरी भने आफूलाई त्यसबाट केही हदसम्म मुक्त राख्न सफल हुनुभएको थियो । वि.सं.२०६७ वैशाखमा सार्वजनिक उक्त गजलले गायक प्रमोद खरेलसँगै सर्जकका रुपमा गिरीलाई पनि उचाइ दियो । सङ्गीतकार महेश खड्का पनि सो गजलबाट सफलताको अर्को सिँढी चढ्नुभयो । 

गायक प्रमोद खरेल देशविदेशका जुनसुकै मञ्चमा पुग्दा नछुटाई गाउने गजल हो ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…।’ पोखरेलीले मात्र नभई हर कोही सङ्गीत पारखीले आफ्नो प्रिय गजलका रुपमा यसलाई लिन्छन् । युवा पुस्तामाझ त झनै लोकप्रिय छ । भौगोलिक सामीप्यको मनोविज्ञानले पनि गजललाई श्रुतिमय बनाएको छ । यो गजल गिरीले काठमाडौँमा स्नातकोत्तर अध्ययनरत रहँदा गर्नुभएको थियो । 

“२०६२/०६३ मा अध्ययनका सिलसिलामा काठमाडौँमा थिएँ, कीर्तिपुरमा बस्थेँ, बाटोमा हिँड्दाहिँड्दै गजलको दुई शेर फुर्यो, कोठामा पुगेर गजललाई पूर्णता दिएँ”, उहाँले भन्नुभयो, “पहिलो पटक जन्मथलो छोड्दा एक किसिमको उदासी र छटपटीजस्तो मनमा थियो, पोखराको खुब याद आइरहन्थ्यो, त्यही भावभूमिका यो गजल तयार भएको हो ।” काठमाडौँ छँदा गीतकार विपिन किरणलगायतसँग उहाँको सङ्गत थियो । उपत्यकामा हुने साहित्यिक गोष्ठीमा गिरीले भाग लिन थाल्नुभयो । एकदिन अनाम मण्डलीमा सोही गजल सुनाउँदा गिरीले वाहीवाही बटुल्नुभयो ।

गजलको प्रशंसा भयो । साथी/शुभेच्छुकले गजल रेकर्डका लागि उहाँलाई प्रेरित गरे । काठमाडौँमै रहँदा सङ्गीतकार महेश खड्कासँग पनि गिरीको चिनापर्ची भइसकेको थियो । स्नातकोत्तरको पढाइ सकेर गिरी वि.सं.२०६४ मा पोखरा फर्कनुभयो । सोही वर्ष पोखरामा भएको चलचित्र महोत्सवमा भाग लिन काठमाडौँदेखि सङ्गीतकार महेश खड्का, गीतकार विपिन किरणलगायत पोखरा आएका थिए । पोखरा आएका बखत उनीहरु पोखरा महानगरपालिका-२४ कास्कीकोटस्थित गिरीको घरमा पुगे । साँझपखको जमघटमा गिरीले लेखेको गजलबारे गीतकार विपिन किरणले प्रसङ्ग उप्काउनुभयो । सोही माहोलमा गिरीले सुनाउनुभयो, ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…।’

“मेरो गजल मन पराएर सङ्गीतकार महेश खड्का दाइले तत्क्षण नै टेबलमा हात ठटाएर पहिलो धुन तयार पार्नुभएको थियो”, गिरीले विगत कोट्याउनुभयो, “महेश दाइले सुरुमा चलचित्रलाई भनेर सङ्गीत तयार गर्नुभएको थियो, तर पछि प्रमोद खरेल दाईको प्रणय एल्बममा गजल समावेश भयो ।” उक्त गजलले नसोचेको चर्चा र सफलता पाएको गिरीको भनाइ छ । गजलले युट्युबमा पनि लाखौँ ‘भ्युज’ पाएको छ । सुरुआतमा रेडियोमा सर्वाधिक बज्ने गजलमध्येमा पर्यो । 

“त्यसपछि पनि मेरा गीत, गजल रेडर्क भए तर त्यो जति सफल हुन सकेनन्”, उहाँले भन्नुभयो, “स्रोता, पाठकले सिर्जनामा पुनः सशक्त ढङ्गले मेरो पुनरागवमन होस् भन्ने चाहिरहनुभएको छ, म अहिले त्यसकै लागि सङ्घर्षरत छु, मेरो गीत लेखनको यात्रा रोकिएको छैन, अहिले पनि हप्तामा एक/दुई वटा गीत, गजल लेखिरहेको हुन्छु ।” उमेरले ४० काट्नुभएका गिरीको पहिलो गीत ‘केही छैन दिउँ भने गरिबीले झनै रित्तिएँ…’ वि.सं.२०५८ मा रेकर्ड भएको थियो । 

जसमा विनोद बानियाँको सङ्गीत र विमल पराजुलीको स्वर छ । ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरा…’ उहाँको दोस्रो रेकडेर्ड सिर्जना हो । त्यसयता पनि उहाँका कैँयन गीत/गजल सार्वजनिक भएका छन् । कतिपय रेकर्ड हुने चरणमा छन् । गिरीको वि.सं.२०७६ मा मुक्तक सङ्ग्रह ‘सालिक’ सार्वजनिक भएको थियो । गीत, गजल र मुक्तक लेखनमा सिद्धहस्त उहाँ पेसाले बैंकर्स हुनुहुन्छ । जागिरे जीवन सुरु भएदेखि सिर्जनकर्म केही सुस्ताएकामा भने गिरी सहमत हुनुहुन्छ । 

“जागीरले कही न केही बन्धन राख्छ, जीविकाका लागि काम नगरी पनि भएन, तर यसले सिर्जनशीलता खुम्चाउँदोरहेछ, चाहेर पनि भनेजति समय दिन सकिन्न”, उहाँले भन्नुभयो, “फेरि यसमा मलाई कुनै कुण्ठा छैन, व्यावसायिक रुपमा मेरा थोरै मात्र सिर्जना चले पनि म सन्तुष्ट छु ।” उहाँले गीत लेख्नु आफ्ना लागि एक किसिमको ‘पागलपन’ भएको बताउनुभयो । “वास्तविक अनुभूतिको तहमा ओर्लेर गीत लेखिरहेको हुन्छ, आनन्दको महसुस हुन्छ, गीत लेख्दा मेरा आँखा टिलपिलाइरहेका हुन्छन्”, गिरीले भन्नुभयो, “म बिना कसैकसैलाई…लेख्दा पनि मभित्र एउटा छटपटाहट थियो, त्यसैलाई इमान्दारपूर्वक गजलमा उतारेँ ।”

उहाँले यात्रा र भेटघाटमा उक्त गजलबारे चर्चा चल्दा सर्जक म हुँ भनेर चिनाउँदा मानिस खुसीले दङ्ग पर्ने गरेको सुनाउनुभयो । कुनै पनि गीत/गजल चर्चाको शिखरमा हुँदा पनि गीतकार भने छायाँमा पर्ने गरेको गिरीले बताउनुभयो । “कतिपय ठाउँमा त सर्जकको नामै उल्लेख नगरी गीत गाउने चलन छ, त्यसो गर्दा नमिठो अनुभव हुन्छ, कुनै पनि सफल गीतको पहिलो खुड्किलो गीत रचनाबाट सुरु हुन्छ, गीतकारलाई नजरअन्दाज गर्न मिल्दैन”, उहाँले भन्नुभयो । 

गीतकार प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहनुभएका गिरीलाई गीत लेखनसँगै संस्था हाँक्ने जिम्मेवारी पनि छ । प्रतिष्ठानले गीतकारको हकहितबारे वकालत गर्नेदेखि एकल गीत वाचन, गीत लेखन कार्यशालालगायतका काम गर्दै आएको छ । गिरीलाई बैंकको जागिरले केही समयअघि महोत्तरीको बर्दिबास पुर्याएको छ । बीस वर्षअघि पोखरा छाडेर काठमाडौँ जाँदा र अहिले बर्दिबास पुग्दाको अनुभूतिजन्य भावमा पक्कै अन्तर छ । जहाँ गए पनि गिरीलाई पोखराको यादले भने हरक्षण पछ्याइरहेको हुन्छ । उहाँकै गजलले भनेझैँ  

‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा

म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा…।’ रासस

ताजा

Does the world still need globalization? A look at the distant past offers an answer.

२०८२ पुष १ गते, मंगलवार

Does the world still need globalization? A look at the distant past offers an answer.

२०८२ पुष १ गते, मंगलवार

How will “a shared future” save the world from fragmentation?

२०८२ पुष १ गते, मंगलवार

एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

२०८२ पुष १ गते, मंगलवार

एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै

२०८२ पुष १ गते, मंगलवार

पुतलीबजार र अर्जुन चौपारीमा आगलागी

२०८२ मंसिर २८ गते, आईतवार

शिक्षकलाई पेशागत सहायता तालिम

२०८२ मंसिर २८ गते, आईतवार

एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली

२०८२ मंसिर २७ गते, शनिबार

भेषजराज साहित्य प्रतिष्ठानको ९१ औँ शृङ्खला सम्पन्न

२०८२ मंसिर २७ गते, शनिबार

माेबाइल एसाेसिएसन वालिङद्वारा गह्राैँ प्राथमिक अस्पतालाई सहयाे

२०८२ मंसिर २७ गते, शनिबार

पिस जाेनकाे विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न

२०८२ मंसिर २७ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal