पाइप लाइनबाट घरघरमा ग्यास

झलनाथ खनाल

कैलाली,१ भदौ- कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी हुनुहुन्छ ।

दाउराकै भरमा जीवनयापन गर्दै आउनुभएका उहाँलाई पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने विश्वास थिएन । तर हिजोआज चौधरीको घरमा पाइप लाइनबाट ग्यास उपलब्ध छ । वर्षौँदेखि दाउराबाट खाना पाक्ने उहाँको घरमा अहिले खाना ग्यासमा पाक्न थालेको छ ।

“नजिकै जङ्गल छ । दाउराको समस्या हुँदैन । आर्थिक स्थितिले ग्यास सिलिन्डर किन्न सकिएको थिएन । दाउराकै भरमा अहिलेसम्म जीवनयापन हुँदै आएको थियो”, चौधरी भन्नुहुन्छ, “अहिले घरमा पाइप लाइनबाट ग्यास पुगेको छ । यो त सोचेकै थिइँन ।”

टीकापुर नगरपालिका–५ स्थित सामुदायिक चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण गरिएको बायो ग्यास प्लान्ट सञ्चालनमा आएपछि स्थानीयको घर–घरमा पाइप लाइनबाट ग्यास पुगेको हो । स्थानीय धनादेवी चौधरी ग्यास उपलब्ध भएपछि दुःखका दिन सकिएको बताउनुहुन्छ ।

“दाउराको भरमा खाना पकाउन समस्या थियो”, उहाँ भन्नुहुन्छ, “अहिले एक घन्टामा खाना पाक्छ । समयमा काममा जान सकिएको छ । भाँडाकुडा माझ्न पनि समय लाग्दैन । हाम्रा लागि नसोचेको भएको छ ।” ग्यास नियमित नहुँदा भने कहिलेकाहीँ समस्या हुने गरेको चौधरीको गुनासो छ ।

ग्यास प्लान्ट परीक्षणमा रहेकाले नियमित भने छैन । अहिले दिनमा चार घन्टा ग्यास आउने गरेको स्थानीय फरहरि थारू बताउनुहुन्छ । उहाँले कहिलेकाहीँ भनेको समयमा ग्यास नआउने र खाना पकाउँदै जाने हुँदा समस्या भएको भन्दै नियमित गर्न आग्रह गर्नुभएको छ ।

ग्यास प्लान्ट परीक्षणका क्रममा हुँदा स्थानीयले निःशुल्क ग्यास उपभोग गर्न पाएका छन् । दुई महिनादेखि परीक्षणका लागि ग्यास प्लान्ट सञ्चालनमा रहेको छ । ग्यास नियमित भए वर्षौँदेखिको दाउराबाट खाना पकाउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीय बबिता चौधरी बताउनुहुन्छ । “दीर्घकालीन बन्ने-नबन्ने थाहा भएन, दीर्घकालीन भयो भने हाम्रा लागि धेरै राम्रो छ । हामीले नियमित खोजेका छौँ”, उहाँ भन्नुहुन्छ ।

दुई सय घनमिटर क्षमताको बायो ग्यास प्लान्टले उत्पादन सुरु गरेसँगै अहिले ५५ घरधुरीमा ग्यास पुगेको छ । ग्यास प्लान्टको क्षमता एक सय ५० घरधुरीका लागि छ । ग्यास घर–घरमा पुगेपछि वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाको छ । रु एक करोड ६० लाखको लागतमा निर्माण सम्पन्न भएको प्लान्ट निर्माणको काम नेपाल ऊर्जा विकास कम्पनीले पाएको थियो । गौशालामा चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर त्यो ग्यास गाउँमा पठाउने गरिएको छ ।

“चौपायाको गोबरलाई सङ्कलन गरेर प्लान्टमा राख्छौँ । त्यसबाट प्रशोधन भएर ग्यास बस्तीमा जान्छ । त्यसबाट निस्केको गोबरलाई कम्पोस्ट मलका रूपमा बिक्री सुरु गरेका छौँ ।” सामुदायिक चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्रीले भन्नुभयो, “गोबर पर्याप्त छैन । आवश्यकतानुसार गोबर अभावका कारण दिनमा चार घन्टामात्रै ग्यास प्लान्ट सञ्चालन हुँदै आएको छ ।”

गौशालामा कम्पोस्ट मल उत्पादन सुरु भइसकेको छ । मल भण्डारका लागि भण्डारकक्षसमेत नगरपालिकाले निर्माण गरेको छ । प्रशोधन भएर आएको गोबरबाट गड्यौला मल उत्पादनको तयारी भइरहेको समितिका अध्यक्ष बुढाक्षेत्री बताउनुहुन्छ । “एकातिर मल बेचेर आम्दानी गर्न सकिन्छ भने अर्कोतिर स्थानीयलाई सहुलियत ग्यास वितरण गरेर”, बुढाक्षेत्रीले भन्नुभयो, “नगरपालिकाले एक वर्षको लागि परीक्षणकालका रूपमा सञ्चालनको जिम्मा दिएको छ । त्यो अवधिमा गौशालालाई व्यावसायिक गौशालाको रूपमा स्थापित गरेर छाड्छौँ ।”

नगरपालिकाका इन्जिनियर नवराज जोशीले यसबाट नगरपालिकाभित्रका सामुदायिक चौपाया व्यवस्थापन हुनु, स्थानीयले ग्यास प्राप्त गर्नुका साथै खेतका लागि कम्पोस्ट मलसमेत उत्पादन हुने बताउनुभएको छ । नगरपालिकाले उक्त बायो ग्यास प्लान्टबाटै बजार क्षेत्रबाट सङ्कलन भएको फोहरको व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ । त्यसका लागि बजार क्षेत्रमा कुहिने र नहुहिने फोहरको वर्गीकरण गरेर व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था गरिएको नगरपालिकाका फोहर व्यवस्थापन उपशाखा प्रमुख लोकबहादुर बुढाले बताउनुभयो ।

गौशालासँग सुदूरपश्चिम प्रदेशको नवप्रवर्द्धन आयोजना जोडिएको छ । नगरपालिकाले प्रदेश सरकारलाई पेस गरेको प्रस्तावनाअनुसार गौशालालाई व्यावसायिक बनाउनका लागि सहयोग गरेको छ । गौशालाका गाईबाट दूध उत्पादन गरेर बजारीकरणका लागि आवश्यक भाँडाकुँडा, ग्यास प्लान्टबाट प्रशोधन भएको गोबरलाई भण्डारणका लागि भण्डारकक्ष, ग्यासका लागि बजार क्षेत्रमा सङ्कलन हुने कुहिने फोहरको छुट्टै व्यवस्थापनका लागि डस्टबिनको व्यवस्थालगायतमा सहयोग गरेको इन्जिनियर जोशीले बताउनुभएको छ ।रासस

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal