व्यावसायिक बाख्रापालनमा कम्प्युटर इन्जिनियर

गल्याङ,१ भदौ- कालीगण्डकी गाउँपालिका–५ बेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गर्नुभएको छ । भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गर्नुभएका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गर्नुभएको हो ।

भारतमा पढाइ सकेर विसं २०६९ मा नेपाल फर्कनुभएका उहाँले यतिबेला बाख्रापालनबाट वार्षिक रु. १५ देखि २० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । “सुरुमा घरकै तरकारी बारी जोत्न हाते ट्रयाक्टर किने”, न्यौपानेले भन्नुभयो, “हाते ट्रयाक्टरको धेरै माग भएपछि आम्दानी पनि राम्रो भयो, त्यही आम्दानीबाट बाख्रापालन सुरु गरेको हुँ ।”

न्यौपानेले विसं २०७० मङ्सिरमा रु. ७७ हजारबाट बाख्रापालन व्यावसाय सुरु गरेको बताउनुभयो । “गाउँका कृषकको हातेट्रयाक्टरले खेतबारी जोतेर कमाएको रु. ७७ हजारले तीनवटा बोयर माउ र एउटा बोयर बोका किनेर ल्याएँ, चारवटा स्थानीय जातका माउबाख्रा घरमै थिए”, उहाँले भन्नुभयो, “आठवटा बाख्राबाट भूमिका कृषि तथा पशुपालन फार्म दर्ता गरेर औपचारिकरूपमै व्यवसाय सुरु गरेँ ।”

न्यौपानेको बाख्रापालनमा करिब रु. ८० लाखको लगानी पुगेको छ । उहाँसँग हाल रु. १६ लाखमा निर्माण गरिएको आधुनिक बाख्राको खोरमा शुद्ध अष्ट्रेलियन बोयर बोकासहित शुद्ध बोयर माउ र खरी जातमा बोयर क्रस एक सयवटा माउ पाठापाठी छन् । न्यौपानेको फार्मबाट धेरैजसो बीउ उत्पादनका लागि बाख्रा बिक्री हुन्छ । यहाँ उत्पादित बाख्रा कास्की, पर्वत, धादिङ, पाल्पा, चितवन, रुपन्देहीबाट पश्चिम बर्दियासम्म र पूर्व झापासम्म निर्यात हुन्छ । फार्मबाट रु. १५ हजारदेखि साढे दुई लाखसम्म पर्ने प्रतिबाख्रा बिक्री हुँदै आएका छन् ।

न्यौपानेले करिब एक सय रोपनी जग्गामा मेन्दुला, भटमासे, डिस्मोडियम, मुलेट्रो, सिग्नल, नेपिएर सिओ थ्रि, सिओ फोर, सुपरनेपिएर, राई खनियो, निमारो, चुलेत्रो, तेजपत्ता, कपुर, बडहर, टाँकी, सुडान, जै, वर्षिम, लुसर्न, स्टाइलो, इपिलिपी, किम्बु, ग्वाटेमाला, सितलचिनीलगायत विभिन्न प्रकारका घाँसखेती गर्नुभएको छ ।

खोर व्यवस्थापन राम्रोसँग नगरिए बाख्रामा धेरै रोग लाग्ने न्यौपानेले बताउनुहुन्छ । बड्क्यौलाबाट निस्कने अमोनिया ग्यासबाट बाख्रामा रुघाखोकी, आँखामा कचेरा लिने, तुहिने, थुनेलो, ख्याउटेलगायतका रोग लाग्ने गरेको उहाँको अनुभव छ ।

“भारतमा पढ्दै जागिर गर्थेँ, जति क्षमता प्रयोग गरे पनि जागिरमा हुने सीमित तलबले आर्थिक समृद्धि हुन सकिँदैन भन्ने लाग्यो”, न्यौपानेले भन्नुभयो, “व्यवसायमा सही तरिकाले क्षमता प्रयोग गर्न सकिएमा आर्थिकरूपमा बलियो बन्न सकिन्छ भनेर कृषि पेसामा आबद्ध भएको हुँ ।” 

“अनुदानको नाममा पैसा दुरुपयोग भयो, किसानलाई पैसामा होइन उत्पादनका आधारमा प्रविधिका लागि अनुदान दिनुपर्छ”, उहाँले भन्नुभयो, गाउँका कृषकका लागि बैंकमा कर्जा प्रक्रिया झन्झटिलो भयो, गाउँमा मेरो रु. एक करोडको लगानी छ, मैले ऋण पाउँदिन तर सहरमा घरघडेरी हुनेलाई मात्र ऋण दिइन्छ ।”

विदेशमा भएको प्रविधि नेपालमा भित्र्याउन सके कृषिमा अझ राम्रो हुने उहाँको विश्वास छ । बाख्रामा हाडनाता प्रजननमात्र रोक्न सके नेपाल सजिलै मासुमा आत्मनिर्भर बन्न सक्ने न्यौपानेकोे दाबी छ । “कृषि विशाल विज्ञान हो, अध्ययन–अनुसन्धान र प्रयोग राम्रो गर्न सकियो भने नेपाल कृषिमा छिट्टै आत्मनिर्भर बन्न सक्छ”, उहाँले भन्नुभयो । विदेशमा गर्ने श्रम नेपालमै खर्च गर्ने हो भने स्वदेशमै राम्रो आम्दानी गर्न सकिने न्यौपानेको भनाइ छ । उहाँले फर्केपछि पनि नेपालमै गर्न सकिने काम रोज्न विदेशिएकालाई आग्रह गर्नुभयो ।

न्यौपानेकी श्रीमती उर्मिलाले श्रीमान्ले बाख्रापालन व्यवसायमा पाउनुभएको सफलताले निकै गर्व महसुस हुने गरेको बताउनुभयो । “समाजमा उदाहरणीय बन्छु भन्ने अठोटका साथ बाख्रा पाल्न सुरु गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “सुरुमा सशङ्कित बने पनि अहिले सबैको प्रशंसा पाएका छौँ ।” 

हाल भूमिका कृषि तथा पशुपालन फार्म बाख्रापालक कृषकका लागि अध्ययन, अवलोकन र भ्रमणको माध्यम बनेको छ । न्यौपानेले बाख्रापालनबाट पाएको यो सफलताले आफूलाई आत्मसम्मान मिलेको बताउनुभयो । युवाका लागि नमूना बाख्रागाउँ अभियानका प्रमुख सचेतक सुुशील अर्यालले जिल्लामा बाख्रापालनको सम्भाव्यता राम्रो रहेको बताउनुुभयो । उहाँले आफूले सल्लाह दिएर सञ्चालन भएका फार्म जिल्लामा उत्कृष्ट भएको बताउनुुभयो । अर्यालले युवालाई स्वरोजगार बनाउने र जिल्लालाई खसीबोकामा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको जानकारी दिनुुभयो ।

कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत देवेन्द्र पाण्डेले पालिकाभित्र कृषि गर्न चाहने सबैलाई गाउँपालिकाको सहयोग रहने भनाइ व्यक्त गर्नुभयो । उहाँले पालिकालाई स्वरोजगारउन्मुुख बनाउन कृषि क्षेत्रलाई विशेष प्राथामिकता दिएको बताउनुुभयो । पाण्डेले कृषकका समस्या र गुुनासा पहिचान गरेर निरन्तर समाधानको बाटोमा लागेको दाबी गर्नुुभयो ।रासस

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal