काठमाडौँ–केरुङ रेलमार्गमा गहन अध्ययनको काम आगामी महिना सुरु हुने

फाइल तस्विरः

सञ्चिता घिमिरे

काठमाडौँ,१५ फागुन– नेपाल–चीन जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको गहन अध्ययनको काम आगामी महिना सुरु हुने भएको छ । विज्ञ जनशक्ति थप गरेर मार्चदेखि गहन अध्ययन गरिने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।

दुई महिना पहिले विस्तृत अध्ययनका लागि चिनियाँ टोली काठमाडौँ आएर केही समय बसेर फर्किएको थियो । नयाँ वर्ष मनाउन गएको टोली फर्किएलगत्तै विस्तृत अध्ययन अघि बढाइने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले बताउनुभयो । उहाँहरु फर्केपछि आवश्यक प्राविधिक जनशक्ति पनि थप हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरु जनशक्ति थप गरेर फर्किएपछि अध्ययनले गति लिनसक्छ ।”

पहिलो चरणमा आएका व्यक्ति रेलसम्बन्धी विज्ञ रहेको प्रवक्ता चित्रकारले बताउनुभयो । त्यसमा पनि तिब्बत क्षेत्रमा रेल निर्माणमा संलग्न मान्छे आएर सर्वेक्षण गरेका थिए । ‘लिडिङ एक्सपर्ट’ आएर फिल्डमा सर्वेक्षण गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब गहन अध्ययनका लागि जनशक्ति थप गरेर आउनेछन् ।”

चिनियाँ पक्षले ‘स्टाण्डर्ड गेज’ मा निर्माण हुनेगरी अध्ययन गर्ने विभागले जनाएको छ । भारतीय पक्षले निर्माण गरेको रेलमार्ग ‘ब्रोड गेज’ मा रहेकामा विश्वमा पछिल्लो र आधुनिक मानिने स्ट्यान्डर्ड गेजमा अध्ययन हुन लागेको हो । नेपालले सकेसम्म एउटै गेज गर्दा राम्रो हुने र यसले गर्दा भविष्यमा सञ्चालन र मर्मतमा सजिलो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको सन्दर्भमा नवीनतम प्रविधि स्ट्यान्डर्ड गेज हो, भारत आफैँले पनि आफ्ना रेल स्ट्यान्डर्ड गेजमा बनाइरहेको छ ।”

नेपालमा ट्याक गेज प्राविधिक विषय मात्रै नभएर रणनैतिक विषय भएकाले पनि त्यसमा थप छलफल आवश्यक हुने प्रवक्ता चित्रकारले बताउनुभयो । नीतिगत निर्णयका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा मन्त्रिपरिषद् वा संसद्मा छलफल हुनुपर्ने उहाँको भनाइ छ ।

रेल विभागले हेर्दा एउटै गेज हुँदा सञ्चालन र मर्मतमा सजिलो हुने उहाँको भनाइ छ । संसारका धेरै देशमा गेजमा समस्या रहेको भए पनि ढिला मात्रै रेलको निर्माण सुरु भएकाले यसमा एकरुपता ल्याउन सकिने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले ढिला सुरु गरेकाले एउटै गर्न सकिन्छ ।”

चीनमा पनि केरुङबाट सिङाचेसम्म रेल निर्माण भएर सञ्चालनमा छ । त्यसबाट पश्चिम अध्ययनको काम सुरु भइसकेको र राष्ट्रिय योजनामा यसलाई समेटेर दु्रत गतिमा काम अघि बढाइरहेको प्रवक्ता चित्रकारले बताउनुभयो । अब बनाउन बाँकी चार सय किमीभन्दा बढिरहेको अनुमान गरिएको छ । चीनका लागि त्यो लम्बाइमा निर्माण गर्नु ठूलो विषय नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बेइजिङ–सङ्घाइ रेलमार्ग तीन वर्षमा बनाउने भनेको त्योभन्दा कम समयमा नै सम्पन्न गर्ने मुलुक हो, उसले गर्छु भनेपछि सक्नेछ ।”

नेपालको सीमासम्मको रेलमार्ग निर्माण गर्नुमा चीनको आफ्नो प्रयोजनसँगै नेपाललाई पनि लक्षित गरेको उहाँले बताउनुभयो । चीनको नेतृत्वमा आएका नेताहरुले विगतदेखि नै नेपालसँग रेलमार्गमार्फत जोडिने कुरामा चासो देखाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो रेलमार्ग चाँडो निर्माण हुँदा त्यसबाट नेपाललाई मात्र फाइदा छ ।”

रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालले नयाँ वर्ष मनाउन चीन फर्किएको टोली आएपछि नै अध्ययन अघि बढ्ने बताउनुभयो । अध्ययन साढे तीन वर्षमा सकाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

पुसमा आएको टोलीले नक्सा देखाएर अहिले ल्हासाबाट सिङाचे आइसकेको र सिङाचेबाट यताको डिपिआर भइरहेको जानकारी दिएको उहाँले बताउनुभयो । नक्सामा यता आउँदा जोडिँदै आउने देखाएको उहाँले जानकारी दिनुभयो । सो रेलमार्ग नेपालभित्र ७२ किमी रहेको छ ।

केरुङबाट रसुवागढी हुँदै रेलमार्ग काठमाडौँतर्फ आउने विभागले जनाएको छ । तिब्बतभित्र केरुङबाट माथि एउटा ताल रहेको र त्यहाँबाट यता छुट्टिएर आउने उहाँले बताउनुभयो । तालबाट मानसरोवर जाने मार्गबाट छुट्टिएर यतातर्फ आउने गरी रेलमार्गको अध्ययन हुनेछ ।

रेलमार्ग निर्माणमा कति लगानी आवश्यक पर्छ, समय र कठिनाइ केके छन् भनी पत्ता लागेपछि नै निर्माण कसरी बनाउने भन्ने छलफल हुने महानिर्देशक विसुरालले बताउनुभयो ।रासस

ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट

२०८१ फाल्गुन १ गते, बिहीबार

इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता

२०८१ माघ ३० गते, बुधबार

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

२०८१ माघ ३० गते, बुधबार

गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

२०८१ माघ ३० गते, बुधबार

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

२०८१ माघ २८ गते, सोमबार

शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया

२०८१ माघ २८ गते, सोमबार

कास्की कारागारमा पानीको समस्या

२०८१ माघ २८ गते, सोमबार

चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला

२०८१ माघ २८ गते, सोमबार

वालिङमा माेटरसाइकल दुर्घटना हुँदा युवककाे मृत्यु

२०८१ माघ २८ गते, सोमबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal